राजा निकाल्न बल प्रयोग गरिने
गणतन्त्र नेपाल त हुने नै थियो। त्यो तेस्रो जनआन्दोलन लगत्तै हुनुपर्थ्यो। केहि पार्टीका नेताहरुको कमजोरीले भएन। गणतन्त्र नेपाल होला होला भन्दा भन्दै पनि जन आन्दोलन भएकै वर्ष दिन भन्दा बढि बित्यो। जन आन्दोलनसँगै गणतन्त्र घोषणा नगर्नाले बिदेशी स्वदेशी प्रतिगमनकारि धेरै चलखेल गर्ने मौका पाए। नेताहरुले के गर्ने हुन। कतै अनेक नाम, पगरि र निहुँमा राजा राख्ने त होइनन भन्ने शंका थियो। तर अब चाहि गणतन्त्र नेपाल घोषणा हुने भएछ। आज नेकपा (माओवादी) का बरिष्ठ नेता डा बाबुराम भट्टराइले पोखरा गएर जेठ १५ गते गणतन्त्र घोषणा हुने बताएका छन। कुनै पनि हालतमा कुनैपनि आवरणको राजतन्त्र नराख्ने पनि उनले ठोकुवा गरेका छन।
यदि राजाले सुरुक्क नारायणहिटी नछाडे बल प्रयोग गरिने पनि बताएका रहेछन। कस्तो खालको बलप्रयोग गरिने चाहि खुलाएनछन। भनेपछि अब राजा ज्ञानेन्द्रलाई राजदरबार लखेट्न अर्को लडाई चाहिएला जस्तो देखियो। किनभने राजा कुनैपनि हालतमा सुरुक्क नरायणहिटि नछाड्ने बताइसकेका छन राजावादीहरुले। राजाको भावना नबुझि पक्कै त्यसो भनेका छैनन उनीहरुले। राजामा झन आत्मविश्वाश देखिएको भनिएको छ। त्यो आत्मविश्वाश पनि त्यत्तिकै अवश्यै देखापरेको छैन। तर राजाले नारायणहिटी छोडेनन भने साँच्चिकै कस्तो खालको बल प्रयोग गरिएला त? अनि अहिलेसम्म राजा र राजतन्त्रको मात्र बफादारी आएको नेपाली सेनाले के गर्ला?




