“माधव नेपाल कुन ब्वाइफ्रेण्डको नाम हो, यार….!”
-सरोजदिलु विश्वकर्मा
म विहान कार्यालयमा पुग्दा एक जमात केटाकेटीहरु कफीको गफमा हाहा र हिही गरिरहेका थिए । तिनकै छेऊमा म चियाको सुर्को तानिरहेको थिएँ । अघिल्ला प्रधानमन्त्रीले राजीनामा दिएपछि एउटाले पत्रिका हेर्दै भन्यो “ए केटा हो ! को प्रधानमन्त्री भयो, तिमीहरुलाई थाहा छ ? त्यै माधवे चोर भयो नि !” संगैको केटीले भनी । अर्किले थपी “को माधव भन्या …. ?” एउटा जगल्टा परेको ठिटोको उत्तर थियो “ल, माधव खनाल पनि थाहा छैन तँलाई ?” उसलाई माधवज्यूको थरपनि एकिन रै’नछ । “मलाई मेरो वोईफ्रेण्डको नाम त के हो थाहा छैन, को हो त्यो माधव साधव, या….! झ्याऊ लाग्छ, राजनीतिको कुरा सुन्दा ।” संगै गलललल हाँस्यो उठ्यो । यस्ता उल्फट्याङ्ग गफहरु ती शिक्षित युवा र युवतीवीच धेरै वेरसम्म चलिरहे । मैले उनीहरुको विवेक र यो देशमा तिनको उपदायतालाई मनन गरेँ ।
पुतलीसडक न्युप्लाजामा एउटा कफीसपमा प्रायः धेरै यस्ता अनुहार देख्न सकिन्छ, जस्लाई आफ्ना कतिवटा गर्लफ्रेण्ड र वाईफेण्ड छन्, थाहा हुँदैन । यिनको धन्दा वावुले गरीव जनताले पाउनु पर्ने रकमसम्म ओगटेको अकुत सम्पतिमा नीजि कलेज धाउँनु हो । र प्रत्येक दिन कलेज छोडी यस्तै कफीसपहरुमा हाहा र हिही गर्नु हो । कतिलाई चोभार, गोदावरी, दक्षिणकाली, त्रिभुवन पार्कमा नाङ्गा नाङ्गै लण्ठिएर बसेको पनि जो-कोहीले देख्नसक्छ । यस्ता वेलगाम् युवाहरुको दुर्दशा देख्दा यिनको अभिभावक र महङ्गो शुल्क लिएर यिनको भविष्य निर्माण गर्ने ठेक्का लिएका गुरुहरुको नैतिक योग्यतामाथि समेत प्रश्न गर्न मन लाग्छ ।
म बस्ने मंगलवजार एरिया र वानेश्वरको पुरानो मेलम्ची कार्यालय अगाडिसमेत यस्ता तरुनी-तन्नेरी भेट हुने अखडाहरु छन् । दिउँसो विभिन्न कलेजबाट उरान्ठेउलादेखि साँझपख भाङ्रै कटटु लगाएर मोटरसाईकल नचाउँदै आउने ठिटाहरु र गुप्ताङ्ग मात्र छोपेर हिड्ने घरानिया परिवारका ठिटीहरुसम्म यहाँ जम्मा हुने गर्दछन् । ती कलिला ठिटीहरु दिनैपिच्छे फरकफरक ठिटाहरुसंगै वेसरम् दिनदहाडै थुतुनो जोड्न कुनै हिच्किचाहट मान्दैनन् । ठिटाहरु पनि आआफ्ना हिजोका गर्लफ्रेण्ड आज अर्कैलाई दिएर आज अर्कैको गर्लफ्रेण्डसंग मस्त हुन्छन् । मेरै साथीभाईहरु जो एकदुइवटाका बाबु बनिसकेका छन्, यस्ता पढेलेखेकै तरुनीहरु देखादेख तिनका गर्लफ्रेण्ड बन्न संकोच मान्दैनन् । आखिर सम्झौता न रहेछ, प्रेम, यौन तथा विवाह । र, यस्ता युवा-युवतीले जहिलेपनि नेताहरुलाई तथानाम गालीगौज मात्र गरेको सुनिन्छ भने यिनलाई जन्माउनेहरु प्रायः कसरी पैसा सोहोरौं र तिनै लगाम र घन्टीविनाका सन्तानलाई पोसौं भन्नेमा मात्र केन्द्रित छन् । यिनले दक्षिणी सीमाको उत्पीडन र पहाडको पहिरो अनि जाँजरकोट र रुकुमको झाडापखाला भोगेका देखेका छैनन् । संखुवासभा र गुल्मीको पहिरो, सत्पकोशीका बाढी पीडितलाई दैखेका छैनन् । वरु तिनलाई देख्दा यिनीहरु पंखा लगाउँछन् ।
ठमेलको कुरा नगरौं । वागवजारका गल्लीमासमेत कार्तिके डाँगाहरुले एउटा कुकुरनीलाई चारैतिरबाट घेरा हालेजस्तो एउटा तरुनीलाई धेरै ठिटाहरुले बाँधेर बसेको जोकोहीले पनि देख्न सकिन्छ । आउने जानेहरुले थुकुन्, सरापुन् या उस्को नङ्गनता देखेर मुख छोपुन । तरुनी पनि त्यसमै गर्व गर्दछे र ती प्रत्येक युवाहरुका अङ्ग-प्रत्येङ्गसंग आनन्द लिइरहेकी हुन्छे ।
५।६ वर्षअगाडि पनि वानेश्वरमा केही ठिटाहरुको यस्तै उल्फट्याङ्ग गफ सुनेको थिएँ । एउटा सेक्सी मिलन भन्ने डनको शुभचिन्तक रहेछ । त्यसले भन्दै थियो-“मिलन बोसले त यो वानेश्वर एरियाका प्रायः केटीहरु टेस्ट गरिसकेको होला यार ।” आज मलाई कताकता यी युवायुवतीहरुको हरकत देख्दा लाग्छ- के ती तन्नेरी र तरुनीहरु कतै तिनै मिलन वोशहरुका खजानाका लागि त होइनन् ? जसलाई राजनीति सुन्दा झ्याऊ लाग्छ, राजनीति गर्नैलाई सराप्छन् । नेता देख्दा घिनाउँछन् । वरु यी तरुनी तन्नेरीहरु आलोपालो खुलेआम लस्पसिएर हिड्न कुनै संकोच मान्दैनन्, जसलाई सडकमै बसेर चुरोट उडाउनु र सार्वजनिक स्थलमै थुतूनो र गुथुनो जोड्न कुनै संकोच हुँदैन । १६ वर्षै उमेरभित्र २।४ वटा ब्वाइफ्रेण्ड फेरिसक्नु सामान्य कुरा हो । त्यसैमा यिनका अभिभावकहरुले समेत यिनलाई पुरस्कृत गर्दछन् । तर हामीले नेता र राजनीतिप्रति जति नै असन्तुष्टि पोखेता पनि वास्तवमा यी नेताहरु नहुने हो भने यी युवाहरु गल्लीगल्लीमा लुटिने छन् । दिनदहाडै काटिने छन् । युवतीहरु दिनदहाडै सडकमा नांगिने छन् । लुटिने छन् । लुटाउने छन् । कोही मानिस जुनसुकै वेला मार्न र मारिन सक्दछ । अर्थात मानव जीवन नै पशुतुल्य हुने छ ।
दुई वर्षजति अगाडि हो, वर्तमान मन्त्रीद्धय- मिनेन्द्र रिजाल, शंकर पोख्रेल, सुदर्शन मगर, गगन थापा र शर्मिला कार्कीसंगै गोर्खा जाँदा यी युवाको वारेमा हामीले यात्राभरी छलफल गरेका थियौं । युवा नेता गगन थापाले हिसाव गर्नु भयो- यस्ता एक युवाले एस्एल्सी पास गर्दासम्म औषत १० लाख खर्च गर्दारहेछन् भने आईए पास गर्दासम्म १३ लाख र विएसम्म १६ लाख यो मुलुकलाई घाटा लगाउँदा रहेछन् । त्यसको प्रतिफल यो मुलुकलाई दिने भन्दा त्यति नै खर्च गरेर उनीहरु विदेश पलायन हुनै गर्दछन् । यसरी सरदरमा एउटा युवा तयार गर्न राष्ट्रले ३० लाख खर्च गर्दोरहेछ । तर किसानले मानो रोपेर मुरी फलाउँछ । यसको अर्थ हो-किसानले १६० गुणा यो मुलुकलाई उत्पादन दिन्छ । त्यसको आधारमा यी धनाढ्य तथा मध्यमस्तरका प्रतियुवाले देशलाई ४८ करोड तिनुपर्ने थियो । भैगो, १० गुणाको अपेक्षा गर्दापनि ३ करोड त उत्पादन हुनुपर्ने हो । तर सो ३० लाखसमेत डुवाएर ऊ हराउँछ र विदेशमा लुकेर नेपालीलाई गन्दैन । नेतालाई सत्तोसराप गर्छ । सिंगो राष्ट्रलाई लोप्पा बनाएर देखाईदिन्छ । पछि, यिनै युवाहरुमध्ये केही राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, ठूलाठूला विजिनेस हाउस तथा बैंकिङ सेवाहरुमा देखा पर्दछन् । यिनले नै विभिन्न वहानामा सभ्य, र यो देश र समाजका लागि केही गरौं भन्ने अर्का युवालाई विभिन्न अवसरबाट फेरिपनि वञ्चित गरिरहेका हुन्छन् । कोही भने शिक्षक शिक्षिका भई कलिला वालवालिकाहरुलाई उनीहरु जस्तै बाटोमा निर्देश गरिरहेका हुन्छन् ।
प्रसंग फेसवुकको पनि हो । आधुनिक घरानिया र शहरीयाहरुका लागि फेसवुक विश्वमै चर्चित छ । कहिलेकाही म पनि फेसवुकमा ‘लगईन’ गर्छु । सो पेसवुकले मलाई मनोवल नै दिएको छ किः मलाई मात्र होईन, ती वरिष्ठ नेताहरुलाई पनि गालीको खाँचो हुदैंन रहेछ । जवकि, सरोजदिलुहरु मात्र होईनन् गिरीजा, माधव, प्रचण्ड र बावुरामहरुसमेत गालीका पात्रहरुमा पर्दारहेछन् । उक्त सञ्जालमा माओवादी नेताद्धय, प्रचण्ड, बावुरामका विवरणहरु पनि राखिएका छन् । उहाँहरुसंग प्रत्येक्ष चिठ्ठी वार्ता र विचार आदानप्रदान गर्न सजिलो छ । तर यी शहरका युवाहरु, जो राजनीति सुन्न चाहदैंन, तिनको काम विहान उठेदेखि वेलुकासम्म खानु र विमोचन (दिशा) गर्नु मात्रै हुन्छ । तिनले अति अश्लिल शब्दहरुको प्रहार प्रचण्ड, वावुराम, माधव, झलनाथ, गिरिजामाथि लगाएको देख्दा मलाई हाम्रो मुलुकको भविश्यप्रति गहिरो चिन्ता लाग्छ किः हामी कस्ता युवाहरुको उन्नती र उनीहरुद्धारा समृद्ध नेपालको भविश्य खोजीरहेका छौ ?





