केपी काकालाई फेसबूके चिठी
-भानुभक्त आचार्य
काकालाई फेसबुके चिट्ठी ।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा यो सरकारका प्रति यति धेरै गुनासोहरु छन्, तपाइँले थाहै पाउनु भएको छैन होला । कुनै देशको प्रधानमन्त्रीले ‘थाहै पाइन’ भन्नु जत्तिको सजिलो र थेत्तरो उत्तर अरु कुनै हुँदैन । मलाई एउटा कुरा लागिरहेको छ— तपाइँ र तपाइँका वरिपरिका मान्छेहरु कोरोना भाइरसकै मौकामा अर्थ बटुलेर, रणनीति बनाएर आगामी निर्वाचनमा समेत चौका हान्ने दाउमा हुनुहुन्छ । तर यस्तै पारले त त्यो बेलासम्ममा जनता नै नरहन पनि के बेर ?
काका, अरु देशहरुले आफ्ना नागरिक हवाइजहाज चाटर्ड गरेरै भए पनि लगिरहेका छन् । कतिपयले त हामी नेपालमै सुरक्षित छौं भन्दा पनि आफ्ना नागरिकलाई जबर्जस्ति गरेरै लगिरहेका छन् । अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, भारत, बंगलादेश आदि । यद्यपि ती देशमा नेपालको भन्दा खराब स्थिति छ कोरोना भाइरसका कारणले । नेपाल एअरलाइन तिनलाई पुर्याउन खटिरहेको छ । तर, तपाइँको सरकार सिमानामा अलपत्र परेका आफ्ना देशका नागरिकहरुलाई देशभित्र १५ दिन क्वारेन्टाइनमा राख्न सक्ने हैसियतमा छैन । तिनीहरु पानीजहाज, घरघरमा ग्यास र रेलका गफ सुनेरै भोट दिनेहरुमध्येका हुन् । अब अर्को चुनावमा के गफ दिनु ?
काका, हाम्रो देशका नागरिकहरु सिमापारी घामपानी सहेर खुला पाखामा छन् । महाकाली पारी भेला भएका नेपालीको हरिबिजोग त शब्दले वर्णन गर्न सकिन्न । तिनीहरुलाई भारत सरकारले लगभग बेवास्ता गरेको छ । तिनीहरुलाई सुत्ने, खाने र विरामी भए उपचारको व्यवस्था छैन । कोरोना सर्ने डरका बीच भिडभाडमा नेपालीहरु भोकभौकै बसेका छन् । कसैकसैले त्यो असह्य स्थितिबाट छुटकारा पाउन महाकाली नदी पौडेर पार गर्ने जमर्को गरेका थिए । तिनीहरुलाई कट्टु मात्रै लगाएको अवस्थामा गिरफ्तार गरेर प्रहरी चौकी लाँदै गरेको फोटो÷भिडियो हामीले देख्यौं, तपाइँले देख्नु भएन होला । आमाको मृत्युमा समेत घर आउन नपाएर महाकाली पारी नै काजकृया गर्दै गरेको फोटो सामाजिक सञ्जाल र अनलाइन मिडियामा भाइरल भइरहेको छ । कतिदिन देखि गास न बास भएर मानिसहरु आफ्नो घर हिँडेका छन् । जागिरदाता एवम् घरभेटीले मजदुरका परिवारलाई असहयोग गरेका छन् । सरकारी राहत समेत साथमा नागरिकता नहुनेले पाएको छैन । गास न बास भएर घर हिँडेकालाई प्रहरीले बाटोमै भाटा हानेका छन् । कतिलाई बिचबाटोबाट अघि बढ्न दिइएको छैन । उनीहरु न गन्तव्यमा पुग्न सक्छन् न फर्किन । हिजो मात्रै पुलमा लगाएको छेकबार माथि उक्लेर पुल पार गर्न खोज्दा खोलामा जाकिएर एक बटुवाको मृत्यु भयो । के सिंहदरबार र बालुवाटारमा बसेकाले जनताका यी अनेक हण्डर देख्दैनन् ? अघिल्लो वर्ष झापाको हडिया बुधबारेमा सडकमै गाडी रोकेर तपाइँले एउटा बालकलाई एक हजार थमाएर ‘अब यो देशका नागरिकले भोकै मर्नु पर्दैन’ भनेको बिर्सिनुभो ? काठमाडौंमा डेरा गरेर बस्ने, दिनहुँ ज्यालादारी गर्ने, सानोतिनो पसल चलाएर दिनहुँ गुजारा गर्ने मानिसलाई तपाइँको सरकारले के सहयोग गर्यो ? कुनै जवाफ छ ?
काका, तपाइँको सरकारका मुख्य सल्लाहकार विष्णु रिमाल हुन् । उनी मजदुरकै नेतागिरी गरेर त्यहाँ पुगे । देशभरि मजदुरका नाउमा अनेक संगठन छन् । सबैभन्दा बढी शक्तिशाली संगठन र नेतृत्व नेकपाकै छ । चुनावको बेला हुँदो हो त ती मजदुरलाई खोजीखोजी गाडीमा राखेर आमसभास्थलमा ल्याउने, घर पुर्याउने, खाजापानीको व्यवस्था गर्ने, घरमा चालम, सारी पुर्याइदिने, खेतमै पुगेर सघाइटोपल्ने लगायतका अनेक नाटक हुन्थे । संविधानमा समाजवाद उन्मुख सरकार लेखिएको छ । सत्तामा त्यो समाजवादको व्याख्या गरेरै बुढो भएका नेताहरु छन् । फेरि दोहोर्याउँछु— नेपालकै झण्डा हालेको पानीजहाज, घरघरमा पाइपबाट ग्यास, विजुली बस र पूर्वपश्चिम विद्युतीय रेलका गुड्डी हाँकेर तपाइँ सत्तामा पुग्नु भएको होइन ? यस कार्यकालमा तपाइँले वाइडबडी काण्ड, यति होल्डिङ्, अस्गर अली, गोकुलप्रसाद बाँस्कोटा ओम्नी समूह लगायत अनेक भ्रष्टाचारको आरोपी व्यक्ति तथा समूहलाई चोख्याउने भन्दा गतिलो के गर्नु भएको छ ? सोच्नुहोस् त ।
काका, अहिले अरब राष्ट्रका कतिपय नेपाली कामदारहरु कम्पनीले निकाली दिएको र आफू सडकमा अलपत्र परेको कुरा सार्वजनिक गरिरहेका छन् । यता तपाइँको सरकार ‘लकडाउन इज लकडाउन’ भन्दै टसको मस भएका छैन । तिनै कामदारको रेमिट्यान्सले चलेको सिंहदरबार र बालुवाटारले बैदेशिक रोजगारीमा गएका मानिसहरुको दुःखलाई अनदेखा गर्नु भनेको वर्तमान सरकार र नेकपा मात्रै होइन, पूरै देशका लागि आत्मघाती गोल हो । छयालीस सालदेखि तपाइँका गफ सुन्दै भोट हाल्दै आइयो । अहिले थाहा भो तपाइँका गफको वजन कति रहेछ ।
काका, मृगौला फेरिएलगत्तै तपाइँ सक्रिय हुन सक्नुभो । त्यसका लागि बधाइ एवम् अझ सक्रियताका लागि शुभकामना । तर, तपाइँका मृगौला जत्तिकै छरितो सँगले तपाइको आखा र कानले पनि काम गर्न सकोस् । जनताका गुनासाहरु मिडिया र सोसल मिडियामा छरपस्ट छन् । अब अर्को टेलिभिजन सम्बोधनभन्दा अघि नै केही गर्नुहोस् ताकि टेलिभिजनमा देखिने बेलामा यति त गरे भन्न पाइयोस् । फेरि मैले थाहै पाइन भन्न नपरोस् ।
तपाइँको भतिज,