सहमतिको राजनिति थाल्यो माओवादीले
जति आलोचना गरेपनि नेकपा (एमाले) लाई केहि कुरामा प्रशंसा गर्नै पर्छ। जहाँ, जसरि, जुन शर्तमा भएपनि सरकारमा टाँस्सिइरहने परम्परालाई तोडेकोमा। हो, एमालेले त्यो गन्हाउने परम्परालाई तोडेको छ सर्लक्क सरकारबाट राजिनामा दिएर। जनताले विश्वास नगरेको भन्दै। त्यतिनै राम्रो संस्क्रितिको थालनी गरेका छन नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालले। निर्वाचनमा नराम्ररिपराजय भोगेपछि उनले राजिनामा दिए आफ्नो पदबाट। त्यति मात्रै गरेनन। जस जति आफुले लिने र अपजसजति अरुका टाउकामा लाद्ने परम्परालाईपनि तोड्दै उनले पार्टीको हारको प्रमुख जिम्मेवारी आफुले लिए। यसले पक्कैपनि धेरैलाई पाठ सिकाउने छ।
हो, नेताहरु असल भए देशमा एउटा थिति बस्छ। राम्रो थिति र संस्क्रितिको विकास नेताहरु स्वयं उदाहरण बनेर जनतालाई सिकाउनु पर्छ। देखाउन सक्नुपर्छ। आजै नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले अर्को उदाहरणिय संस्क्रिति देखाउने प्रयास गरेका छन। आफ्नो पार्टीको बहुमत हुँदाहुँदै उनी आज नेकपा (एमाले) का निवर्तमान महासचिव नेपालको निवास गए। उनीसँग बिनम्रताकासाथ मिलीजुली सरकार गठनका लागि आग्रह गरेका छन। नेकपा माओवादीको बहुमत भएपनि आफुले सहमतिको राजनिति गर्न चाहेको बताएछन। आगामी सरकार मिलेर बनाउन उनलाई आग्रह गरेका छन।
हुनत नेकपा (एमाले) ल यसलाई कसरि लिन्छ हेर्न बाँकिनै छ। तर पटकपटक गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी र ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा देउवा सरकारमा गएको एमालेलाई माओवादी सरकारमा नजाँदा एक खाले नैतिक अप्ठेरो भने पक्कै पर्ने छ। राजाको शासनमा जान हुने, राजाका आज्ञापलकहरुको पार्टीलाई प्रधानमन्त्री मानेर सरकारमा जाने वा बैधानिकता दिन हुने तर एउटा वामपन्थि सरकारमा जान भने किन नहुने ? प्रश्न उठ्ने छ। सरकारमा जाने वा नजाने निर्णय एमालेको । कम्सेकम यसले माओवादी सहमति, सुझबुझ र राष्ट्रिय मुद्दामा एक भएर जान चाहन्छ भन्ने सन्देश चाहि पक्कै दिने छ। यसले माओवादीको साख घटाउने छैन बरु बढाउने छ।




