स्पेन र फ्रान्समा आठ नेपालीमा कोरोना संक्रमण

ददि सापकोटा

फ्रान्स — स्पेनका सात र फ्रान्सका एकगरी ८ नेपालीमा कोरोना भाईरस संक्रमण भएको छ । स्पेनको बार्सिलोना निवासी सात नेपाली मध्ये एक जना गत सोमबारदेखि आईसीयूमा छन् ।

उनीसहित अन्य दुई जना बार्सिलोनास्थित हस्पिटल दे सान्त खोवान देस्पि अस्पतालमा छन्। सुरुमा रुघा खोकी लागेपछि निमोनिया होला भन्दै बसेको र स्वास्थ्य अलि खराब भएपछि अस्पताल पुग्दा चिकित्सकले कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरी अस्पतालमै भर्ना गरेको जानकारी एनआरएनए स्पेनका पूर्व अध्यक्ष चिन्तामणी सापकोटाले दिए।

अन्य चार जना नेपाली मध्ये ३ जनलाई बार्सिलोनाकै हस्पिटल सेन्टपाउ भन्‍ने अस्पतालमा राखिएको छ। ती गत आठ दिनदेखि अस्पतालमा उपचारका क्रममा छन्। बाँकी एक जनामा कोरोना भाइरस पोजिटिभ भएपनि अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीहरुको निगरानीमा बार्सिलोनाकै एक होटेलमा राखिएको बार्सिलोनाका पत्रकार विजय शर्मा दर्पणले टेलिफोनमा  बताए।

संक्रमित भएका अन्य केहीमा पोजिटिभ संक्रमण भएतापनि अवस्था सामान्य देखिएपछि चिकित्सकहरुले घरमै आराम गर्ने सल्लाह दिएर अस्पतालले डिस्चार्ज गरेको थियो। त्यसपछि घरमा आराम गरेर बस्दै गर्दा घरका अन्य सदस्यहरुलाइपनि सरेको नेपालीहरुले बताएका छन् ।

अहिले संक्रमित र तिनका परिवार र उनीहरुसँग सम्पर्कमा रहेकाका सबैको अस्पतालले स्वास्थ्य परीक्षण गरिरहेको छ।

यस्‍तै स्विजरल्याण्डको सीमा नजिक फ्रान्स निवासी एक नेपालीलाई पनि कोरोना भाइरस लागेको छ। मुलुज निवासी उनी अहिले आफ्नै घरमा आइसोलेसनमा बसेका छन्। टाउको दुख्ने, ज्वरो आउने, नाकबाट पानी जम्ने र खोकी लाग्ने भएपछि स्वास्थ्य परीक्षण गराउँदा कोरोनाका लक्षण देखिएपछि चिकित्सकले आइसोलेनमा बस्न सल्लाह दिएका थिए ।
(साभार – ईकान्तिपुर डटकम)

तपाइँको प्रतिक्रिया