डरलेनै हो त माओवादीलाई दिएका भोट ?
ठूला ठालु हुँ भन्नेले जे गरेपनि ठिक हुन्छ। जति लुटेपनि लुट हुन्न। जति कुम्ल्याएपनि सानातिनाले बोल्न पाइन्न। जति दबाएपनि निसाहाराहरु उठ्न पाईन्न। तलका जनता भनेको भेडा बाख्रा सरह हुन। तिनले गोठाले जे भन्यो त्यहि मान्नुपर्छ। जता देखायो लुरुलुरु त्यतै जानुपर्छ। यहि सोच्छन हाम्रा नाम मात्रका नेताहरु। हिजो जनताले नेपाली कांग्रेसलाई पटक पटक सरकार बनाउन दिए। यिनलाई लाग्यो-अब जनतालाई जे गरेपनि, जति दबाएपनि, जति लुटेपनि बाँचुन्जेल हाम्रै राज हो। सकेजति कमाउ, भएजति सबै लुट, मिलेसम्म देशलाई कंगाल पार्न बाँकि नराख। यिनले बाँकि भनेको चर्पीको गन्हाउटो बाहेक केहि राखेनन लुट्नकालागि।
एमालेलाई त्यसै भने जनताले। २०४८ सालमा एमाले भन्नासाथ जनता गर्ल्याम्मै उर्लियो। एमाले भनेको जनता, जनता भन्नुनै एमाले जस्तो लाग्थ्यो। तर उसको मथिंगलमा पनि उही लुटको राजले छोडेन। दुखि र गरिबलाई वास दिउँला, कापि र कलम दिउँला, एक पेट पाल्न जाउलो र पानी दिउँला, अत्याचारीका टाउका दबाउँला, जिन्दगिलाई कसैको धम्किमा पर्न दिनबाट जोगाउँला भन्दै बाचा गरेर उ सरकारमा गएको थियो।
जनतालाई सधै छलछाम गर्न सकिन्छ ? सधै अन्धकारको ढकनीले छोपेर राख्न सकिन्छ ?
आखिर लुटको राज्य कतिदिन चल्छ? जनताले सजाएँ दिनेनै भए। त्यसका बिरुद्द बोल्ने को भयो? माओवादी। उसले यो मुलुक ठग्नु र ठगिनुको कारण बताउँदै गाउँ पस्यो। एमाले र कांग्रेसका नेता भने गाउँबाट राज्य लुट्न शहर पसे। माओवादीले जनतालाई कतै धम्कि त दियो होला। तर उसले धम्कि मात्रै दिएनछ भन्ने अहिले देखियो। उ जनतासँग बस्यो, उसैसँग खायो। सुख हुँदा जनताकै मझेरीमा नाच्यो। दुख पर्दा त्यहि रोयो। कतै खोस्यो त कतै लुट्यो। तर अधिकार केहो, कसरि पाइन्छ भन्ने पनि सिकायो। सुतेकालाई ब्युँझायो, ब्यँुझेकालाई उठायो। उठेकालाई साथ लिएर हिँड्यो। ठुला र बडा, अग्लो र होचो, छुत र अछुत, महिला र पुरुष, हुने र नहुने, न्याय र अन्याय ,सानो र ठुलो बिचको भेदपनि खुलायो। पशु सरह जिउन बाध्य भएकालाई मानव हुन सिकायो। सँगै सुतेपछि धक्का सक्का लाग्छ, गल्ति कमजोरि हुन्छन भन्ने हेक्का राख्नपनि मनग्गे खर्चियो। शहरमा बसेर पजेरो चढ्दै जनतालाई सधै नांगै र भोकै राख्नेका कर्तुतपनि जनताका अगाडि देखायो। जनतालाई टाठा बनायो।
अहिले माओवादीले जित्नुको परिणाम त्यहि हो। त्यहि देखेर जनताले लौ गर्छौं भन्नेलाई मौका दिउँ भने। तर आफुलाई टाठाबाठा र जान्ने सुन्ने भन्ने सामान्ति सोचका तथाकथित बुद्दिजिवीहरु अहिले माओवादीलाई त्रासका कारण भोट दिएका हुन भन्दै छन। यो भनेको जनतालाई अबुझ ठान्ने, सधंै दासकारुपमा राख्न खोज्नेहरुको सामान्ति सोच हो। जनतालाई सधंै गाईगोरु र भेडा बाख्रा सरह राख्न सिकाउनेहरुबाट लिएको शिक्षा , सोच, फल र परिणाम।
यदि गाउँका जनताले त्रासका कारण दिएको भए काठमाडौंका जनताले किन दिए ? काठमाडौं र अझ उपत्यकामा त माओवादीबाट पिडितहरु गाउँ छोडेर आएकाहरु छन भन्ने गरिन्थ्यो। त्यसो हो भने के उपत्यकाका जनतालाई त्यो त्रास थियो ? उपत्यकामा भएको माओवादी जितलेपनि देखाउँछ कि जनता अघिल्ला सरकारहरुबाट आजित भएका छन। हायलकायल पारिएका छन। अबभने राज्य सन्चालन र संरचना बदल्ने नयाँ माग लिएर आएको माओवादीलाई एक पटक भएपनि चाख्न चाहन्छन। माओवादी जितको मुल कारण त्यहि हो। यिनले हारे फेरि अशान्ति फर्किन्छ कि भन्ने मानसिकताले मन्द भुमिका खेले होला वास्तबिक कारण भने त्यो होइन ।




