एभरेष्ट चढ्नेलेनै शुरुगरे “एभरेष्ट बिरुद्द” विश्वब्यापी अभियान
नेपालको सर्बोच्च शिखर कुन हो ? एभरेष्ट होइन र ? कसैले होइन भन्यो भने ? नजिकै भए वरिपरि जे भेट्टायो त्यसैले हानिदैन त ? तर विश्वको सर्बोच्च शिखर एभरेष्ट होइन भनेर यहाँ एउटा अभियाननै शुरु भएको छ । त्यसको लागि एउटा संस्थानै गठन गरिएको छ। जसको नाम हो सगरमाथा मिल ए आँ अर्थात सगरमाथा हजार एक।
अझ चाख लाग्यो कुरा त के छ भने विश्वको सर्बोच्च शिखर एभरेष्ट होइन, भन्नु हुन्न भन्ने ब्यक्ति नै त्यस्ता हुन जसले त्यहि चढेर विश्वकिर्तीमान कायम गरेका छन। उनी एक जना फ्रान्सेली हुन। एभरेष्टमै बिना प्राण वायु (अक्सिजन) २३ घन्टामा चढेर उनले पहिलो फ्रान्सेली किर्तीमानपनि कायम गरेका छन।
अहिले “एभरेष्ट” बिरोधी अभियानमा छन उनी। त्यसैकोलागिपनि भनेर उनले त्यो संस्था गठन गरेका हुन। उनी हुन मार्क बाता। अहिले सम्मको यो खबर सुन्दा तपाइहरुलाई खुब रिस उठे होला। तर पर्खिनुस। रिसाउनु पर्ने होइन त्यसो गरेर उनले हाम्रो हिमालको लागि न्याय गर्न खोजेका छन। बरु हामी नेपालीले गर्न नसकेको न्याय।
अघिल्लो महिना उनीसँग मेरो भेट भयो। भेट हुनासाथ समान्य गफगाफपछि हिमालको कुरा शुरु भयो। सगरमाथा चढेका आरोही। एडमण्ड हिलारी उनलाई भेट्न आउने रहेछन। जिवनका ४० वर्ष त हिमाल चढेरै बितेका। आधा उमेर भन्दा बढी जोखिमलाईनै झुकाएका। त्यस्ता मानिससँग अरु के विषयमा कुरा गर्ने ?
मैले कुरा निकाल्न थाले। उनले सामान्य योजनाहरु सुनाए। भनिहाले-मैले सगरमाथा हजार एक भन्ने एसोसियन खोलेको छु। त्यसको एउटा कर्तब्य “एभरेष्ट बिरोधी अभियान सन्चालन गर्नु” हो। म चित खाएँ। आफ्नै देशको त्यत्रो सम्पत्ती, सम्पदा, गौरवलाई यो त्यसो भन्छ। मन तात्यो। कान रन्कियो। अब यो गोरासँग झगडा पर्ने भो भन्ने सोचें। तैपनि केहीबेर कुरा त सुनौं। राम्ररि सुने झन बुझिएला। जति बुझ्यो उती सजिलो होला भनेर सुनें। पछि आफैलाइ अचम्म लाग्यो।
मैले बुझेको भन्दा त ठ्याक्कै उल्टो रहेछ उनको अभियान। उनको कंसिलीको रौ जुर्मुराउने रहेछन एभरेष्ट भनेको सुन्नासाथ। रिसले रहेछ। उनले भन्दै गए-त्यो नेपाली हिमाल । नेपालीको सम्पत्ती। नेपालीको गौरब र गाथा। त्यसको नाम सगरमाथा हो। त्यो स्थानिय नाम हो। उनीहरुको आफ्नो भाषाको। त्यसको अर्थ छ, भाव छ। त्यसलाई बिगार्ने अधिकार अंग्रेजहरुले कहाँ बाट पाए। किन पाए ? र किन दिइयो ? उनी त गज्जबका मानिस रहेछन।
सगरमाथा जस्तो सुन्दर नाम बिगारेर एभरेष्ट भनेर कुनै ब्यक्तिको नाममा बदली गर्नु हुन्न भन्ने उनको तर्क रहेछ। नेपालीको नामलाई अतिक्रमित गरेर एभरेष्ट नाम फैलाएकोमा उनको आपत्ती दह्रो देखियो। उनी मलाई राँक्किदै भन्दै थिए-त्यति राम्रो, सुन्दर नाम, जुन वास्तबिक नाम हो। अहिले त्यहि नाम भन्यो भने कसैले चिन्दैन। अनि त्यो अंग्रेज एउटाले भारतबाट देख्यो भन्दैमा त्यसैको नामबाट राख्ने? बिदेशीले जे जे देख्छन तिनका नाम त्यसैगरि बदलेर बिदेशीका नाममा राख्दै जाने? उनले प्रश्नपनि तेर्स्याउन छोडेनन। अझ उनी त भन्दै पो थिए त-त्यो एभरेष्ट भनेको दुर्गन्धित नाम हो रे ! हाम्रो सभ्यता र सस्क्रितिमाथीको आक्रमण हो रे! अनी उनले एक दनक पत्रकारलाईपनि दिईहाले-पत्रकारहरुको ठुलो हात हुन्छ यस्तो कुराको बिरोध गर्न, सच्याउन। तर सबै पत्रकार त्यही एभरेष्ट भन्ने शब्दकै पछी लाग्छन किन ?
जिवनमा उनले पेरु, यूरोपका सबै जसो प्रमुख हिमाल, बोलिभिया, पाकिस्तान, भारतका हिमालहरु चढेका रहेछन। नेपाल कति पटक जानु भो नी भनेर सोधेको त, यसो अन्कनाए उनी। अनी भने-खोइ कति कति पटक। कसले गन्यो र? कम्तिमा ५३,५४ पल्ट त भए होला नी !!!
उनले सगरमाथा हजार एक भन्ने संस्था यूवाहरुलाई हिमालबारे आकर्षण गराउन, तालिम दिन, हौसला गराएर हिमालमा पठाउन, सहयोग गर्न रहेछ खोलेको। कुनैपनि हत्या, हिंसा बिरुद्द काम गर्ने योजना पनि रहेछ। र उनको एउटा सशक्त योजना अन्तर्गत पर्ने रहेछ त्यो “एभरेष्ट बिरोधी अभियान” पनि।
उनलाई अहिले हिमाल संबन्धि प्रवचन दिएरै भ्याइ नभ्याई रहेछ। एक महिनामभित्रमा उनले मलाई लेखेका केहि ईमेल देखेरै म दंग खाएँ। कहिले पेरुमा, कहिले बार्सिलोना (स्पेन) त कहिले जर्मनी र अजेन्टिनाबाट हो भन्छन। अनी उनी जहाँ जहाँ जान्छन त्यहाँ त्यहाँ एभेरेष्ट भन्ने लाई “सगरमाथा भन्नुस” भन्दै हिँड्ने रहेछन। नेपालको भरमार प्रचार प्रसार गर्ने रहेछन।
र उनी पुग्छन त्यस्तै अर्जेन्टिना जस्ता नेपाल नसुनेका र नेपालको आकर्षण, चासो र चिन्ता नभएका मुलुक। अनी सुनाउँछन नेपाल के हो भनेर। कम्सेकम हामीले गर्नु पर्ने काम गर्दै हिँडेका छन उनी। यो अभियान मलाईपनि खुबै मन पर्यो। के छ तपाईको बिचार ? कम्तिमा नभनौं है त अब देखि हामीपनि एभरेष्ट ? अनी भनौं आफ्नै मौलिक नाम सगरमाथा !!!





