नेपाल र डेनमार्कबिचको मैत्रीपूर्ण भलिबल खेल र त्यसका केहि वास्तविकता
-पूर्ण बन्धन / कोपनहेगन
डेनमार्क र नेपालको दौत्यसम्बन्धको पचासौं वर्षगाँठको अवशर पारेर गत मे महिनामा डेनमार्कमा सम्पन्न मैत्रीपूर्ण भलिबल प्रतियोगिता भव्य हुँदाहुँदै विभिन्न कारणले निकै विवादमा रह्यो । आयोजना गर्नेले प्रयाप्त सूचना यथेष्ट तरिकाले समाजका हरेक पक्षसम्म पुगाउन नसकेर हो या, समाजका अनेकौं मुख भएका तत्वहरुले बुझेर पनि कुनै राजनैतिक कलुषित भावनाले हो भएको भन्दा फरक खालका हल्लाहरुमा आयोजक लगायत एनआरएन र भलिबल राष्ट्रिय टोलीनै विवादमा तानियो ।
नेपालप्लसमा समाजमा चलेका हल्लाका आधारमा एउटा आलेख एकछिनका लागि झुलुक्क देखियो र त्यस समाचारको श्रोत नखुलेको भनेर शीर्षकमात्र कायम राखेर समाचार हटाईयो । त्यसैको हाराहारीमा पंक्तिकारलाई नै आयोजकले समेत शंका गरे । मैले जे सुने र जसका मुखबाट सुनें, केहि व्यक्तिहरु जो स्वयं खेलमैदानमा विभिन्न स्वयंसेवकीय भूमिकामा रहेका थिएले समेत मेरै घरमा आएर नेपाली खेलाडीले मर्यादाहीन भएर खेले, रीसले भलिबलले डेनिस खेलाडीलाई हिर्काए, डेनिस रेफ्रीले नै एग्रेसिव नखेल भनेर चेतावनी दिए जस्ता कुराहरु पनि सुनाए । केहिले त यतिसम्म भने, नेपाली राष्ट्रिय टोली नै होईन, त्यसमा चौधरी नामका फलानाफलाना खेलाडी नै छैन, हामी पनि भलिबलका ज्ञातामध्येका एक हौं, हामी पनि भलिबलका नियम कानून देखि मर्यादासम्म बुझ्दछौं, देसकै वेईजत गराउने गरी यो खेलको आयोजना गरी डेनमार्कको एउटा जाबो क्लबसंग हराउने षड्यन्त्र भयो पनि भने । सुन्दा कुरा हो जस्तो पनि लाग्ने भएकोले पंक्तिकारले नै यसमा केहि कुरा छ भनेर लेख्ने मनसायका साथ लागि पर्ने वाचा सामाजिक सञ्जाल मार्फत नै गरेको पनि हो । त्यही वाचा पुरा गर्नका लागि यो जानकारी पस्कँदैछु ।
नेपालएक्स्पोको तयारीमा व्यस्त भएकोले भलिबल प्रिय खेल भएतापनि हेर्न जान नपाएकोले खेल सकिए पछि डेनमार्क छोड्नै लागेको बेला भए पनि राष्ट्रिय टोलीका कोच जगदिश भट्टजीलाई भ्याईनभ्याई भेटियो । त्यसैबीच डेनमार्कमै भलिबल खेलको अभियानलाई साकार रुपदिने मित्र विष्णु पौडेलजीको असामयीक देहवसान भयो । आयोजक मित्रहरु त्यसमा व्यस्त भए । नेपालएक्स्पो पनि सकियो र आयोजकव्दय पर्यटन दूत दिपक सापकोटा र गैरआवाशीय नेपाली संघका अध्यक्ष दिपेन्द्र चूडालका साथ गत हप्ता विस्तृत छलफल पनि भयो । त्यसै छलफल र सोधखोजका आधारमा उक्त विवादस्पद चर्चाको चिरफाडको निश्कर्ष निम्न अनुसारको रह्यो ।
म लेख्दा आफू प्रति र कलमप्रति पूर्ण वफादार भएर लेख्छु । त्यसरी लेख्दा कसैको कुनै कारणले विनाकारण या अनाहकमा जो सुकैको पनि चरित्र हत्या हुन्छ भने, त्यसले न्याय पाओस भन्ने मान्यतामा यस खोजमा लागि परेको हुँ र यदि दोषी देखिएमा जो सुकै भए पनि उसको असली चरित्र बाहिर ल्याउन कसैको डर र त्रासमा पनि पर्दिन भनेर यो खोजमूलक आलेख तयार पार्दैछु । यस आलेखले एकातिर जसको चरित्र हत्या गर्न खोजिएको थियो त्यसले न्याय पाओस् र जसले यस्ता अर्नगल कुराहरु फैलाएर समाजमा विताण्डा मच्चाउने प्रयास गरेका थिए, आईन्दा जसका सामुन्ने जे भने पनि कमसेकम व्यक्तिगत गुनासो गर्ने भाइ र बहिनीहरुले मेरा सामुन्य त्यसता कुरा गर्ने दुष्साहस नगरुँन् । असल काम जसले गरे पनि प्रशंसा गर्ने, खराब काम जसले गरे पनि विरोध जनाउने मेरो व्यक्तिगत बानी खोजपत्रकारितामा पनि झल्कियोस भन्ने अभिप्रायका साथ यो आलेख तयार पारेको छु ।
हालसम्म भेटिएका खोजमूलक तथ्यहरू यस्ता छन्ः
१. डेनमार्क खेल्न आएको टोली राष्ट्रिय टोली नै थियो । जसमा १२ जना खेलाडी, २ जना सहयोगी प्रबन्धक र १ जना कोच गरी १५ जना सहभागी थिए । कुल खेलाडीहरु मध्ये राष्ट्रिय खेल खेल्नकै लागि योग्य मध्येका १२ जनालाई तत्काल उललब्धताको आधारमा खेलकुद परिषदले नै छानेर पठाएको थियो, त्यसमा कोचले व्यक्तिगत चिनजानका आधारमा कुनै चन्द या थापालाई हाल्ने र चौधरीलाई पन्छाउने काम भएको छैन ।
२. राष्ट्रिय खेल टोलीको मर्यादा र भिलोअर नामक साधारण क्लबको सन्दर्भमाः भिलोअर क्लब डेनमार्कको सबैभन्दा उत्कृष्ट खेलाडी क्लब, राष्ट्रिय प्रतियोगिता विजयी क्लब हो चानचूने होईन । रह्यो कुरा मैत्रीपूर्ण खेल भएकोले ट्रफी या टुनामेन्टको नियम बाहिर रहेर, मात्र मैत्रिक पहिचानका लागि खेलिएका अभ्यास खेलको दायरामा नेपाली खेलाडी टोलीलाई डेनमार्कमा खेलाएको गौरब हासिल गराउने एक सकारात्मक प्रयास थियो । त्यसले हारेर नेपालको वेइजत भएको अर्थ लगाईनु, मात्र राजनैतिक पूर्वाग्रह देखियो । किन कि उक्त खेल कुनै देसबीचको प्रतिष्पर्धा थिएन ।
३. खेलका नाममा मानव तस्करी समेत गरेको आरोप सम्बन्धमाः खेलाडी १५ जना बाहेक, आयोजकले एकजनाको नाममा पनि भिषा सिफारिस गरेको छैन, दूतावासले पनि कुनै त्यस्ता नक्कली खेलाडीलाई भिषा दिएको छैन । राखेपका सदस्य सचिव र राष्ट्रिय योजना आयोगका सदस्य गरी सरकारी २ जना कर्मचारी नेपाल सरकारकै खर्चमा आधिकारिक काजमा आएका, सबै सहभागीहरु नेपाल फर्कि सकेको जानकारी आयोजकव्दय दिपक सापकोटा र दिपेन्द्र चूडालले दिएका छन् ।
४. खर्च र आम्दानी सम्बन्धमाः सम्पूर्ण सहभागी खेलाडीहरुको बसोबास, हलको भाडा र खानाको सम्पूर्ण जिम्मा भिलोअर क्लबले व्यहोरेको । खेलाडीको टिकटका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट चन्दा संकलन भएको, प्रवेश शुल्क लिएको, पर्यटन बोर्डको कुनै आर्थिक सहयोग नलिएको भन्ने आयोजकको दावी रह्यो ।
५. नेपाली दूतावास डेनमार्कले खेलाडी समूहलाई एकदिनको डिनर गराएको, अन्य डिनरहरु जेएसएस, ओनएफ, एनपिपिएफ, एनआरएन र सिपिएच इडियू ट्रावलले संयूक्तरुपमा रकम उठाएर ब्यहोरेको ।
६. फैलिएको हल्ला निराधार हल्ला, आयोजकलाई होच्याउने मनसायले रचिएको पूर्वाग्रही कृयाकलापको मात्र एक घृणित रुप हो भन्ने आयोजकहरुको दावी रहेको छ ।
त्यसैले यसबाट पर्न गएको असहजतालाई सहजता मिलोस्, अनावश्यक चरित्र हत्या गर्न खोज्नेहरु दुरुस्ताहित होउन्, असल काम गर्नेहरुलाई थप बल पुगोस् । अझै पनि माथि उल्लेखित कुराहरु गलत हुन भन्ने यदि कसैसंग सवुत प्रमाण छन् भने [email protected] मा इमेल पठाउनु भएमा सोधखोज पक्रिया जारी रहने वाचा गर्दछु ।





