प्रधानमन्त्रिको भान्से टिमलाई किन पाठ नसिकाउने ? : महाविर पुन
आविष्कार केन्द्रलाई डेढ करोडको अनुदान बारेको मेरो पोस्टले धेरै साथीभाईहरु जाग्नु भएको छ । यो धेरै राम्रो कुरा हो । र तपाईहरुलाई जगाउनको लागी नै ति कुराहरु लेखेको हो । सत्य कुरा थाहा पाए पछि तपाईंहरु ले बिचार गर्नुहोस । अब म कसैको नाम नलिईकन किन त्यस्तो लेख्नुपर्यो भनेर बयान दिन चाहान्छु । उहाँहरु कै गोपनियताको लागी म नाम भन्न चाहन्न र नाम क,ख ग भनेर राखेको छु ।
हिजो मैले भान्से टीम भनेको प्रमको एकदमै नजिकको टीमलाई भनेको हो जसलाई अंग्रेजीमा किचेन क्याबिनेट पनि भन्दछन। उहाँहरु संग एस एम एस मा र फोनमा भएको कुराहरुबाट सुरु गर्न चाहन्छु। स्मरण रहोस कि मलाई राजनीतिमा कत्ति पनि चासो छैन र मैले साना, ठुला, पहाडिया, मधिसे, जनजाती उच्च बर्ग, निम्न बर्ग आदि सबै राजनैतिक पार्टीहरुलाई एकदमै समान दृष्टिले हेर्दछु र राजनैतिक क्रियाकलापबाट एकदमै टाढा बस्न चाहान्छु।
घटना नं १: करिब ८ महिना अगाढी भान्से टीमका “क” नामक व्यक्तिले मलाई आफ्नो परिचय दिंदै “हामी तपाइंको पक्षमा छु । You are doing great. म मेरो ठाउँ बाट सक्ने हजुरलाई सहयोग गर्छु” भनेर एसएमएस आयो। राष्ट्रिय आविष्कार केन्द्रको सबै कुरा तपाईंको “फलानो” साथीलाइ थाहा छ र उसै संग कुरा गरे हुन्छ अथवा केहि कुरा सोध्नु छ भने You can call me भनेर जबाफ दिएँ । त्यस पछि हिजो सम्म उक्त व्यक्ति संग कुनै सम्पर्क भएन ।
घटना नं २- त्यसको दुई महिना जति पछि “ख” नाम गरेको एकजना उपल्लो स्तरको नेता र मेरो शुभेच्छुकले मलाई फोन गरेर भन्नु भयो – “दाई मैले “ग” भन्ने नेताज्यूलाई फोन गरेर तपाइंलाई जसरी पनि मद्दत गर्नु पर्छ भनेको छु र उहाँको फोन नं ……… हो । उहाँ प्रम क एकदम नजिकमा हुनुहुन्छ। उहाँलाई फोन गर्नुहोस”। मैले उहाँलाई फोन त गरिन । तर दुइ पटक भेट भयो। एक पटक होटेल सांग्रिलाको एउटा कार्यक्रममा र अर्को पटक नयाँबानेश्वरमा। उहाँले मलाई राम्रो संगनै चिन्नुहुने रहेछ र “हामी पक्कै सहयोग गर्छौं” भन्नु भयो। मैले आविष्कार केन्द्रको बारेमा भनें र गत बर्ष सरकारलाई बुझाएको प्रस्तावको कपि दिएँ। प्रमसंग कुरा गरेर फोनमा सम्पर्क गर्छु भनेर भन्नु भयो। फोन आएन । अनि मैले दूई महिना अगाढी उहाँलाई एसएमएस लेखेर “कुरा गर्नु भयो त” भनेर भने तर जवाफ आएन र मैले पनि केहि भनिन।
घटना न ३- पांच महिना अगाढी भान्से टीमको “घ” भनिने अर्को प्रभावशाली नेतालाई पनि लाजिम्पाटमा भेटियो। भेट्ने बित्तिकै उहाँले भन्नु भयो – “तपाइंको अभियानलाई मैले बाबुराम भट्टराईजी प्रम हुँदा पनि मद्दत गर्न खोजेको हो । तर त्यति बेला सकिएन । तर अहिले त म सकेसम्मको सहयोग गर्छु र प्रम संग कुरा गर्छु”। अनि मेरो फोन पनि टिपेर लैजानु भयो। उहाँलाई राष्ट्रिय आविष्कार केन्द्रको बारेमा सबै कुरा प्रष्टसंग थाहा छ। दुइ महिना अगाडि उहाँले फोन गरेर मलाई आफ्नो निवासमा नै बोलाउनु भयो र भन्नु भयो – “मैले प्रम संग कुरा गरें। प्रम ले यति धेरै पैसा राष्ट्रिय आविष्कार केन्द्र लाई दियो भने त मलाई मारीहाल्छन नि भन्नु भयो, के गर्ने?” मैले उहाँलाइ भने – “मैले आफ्नो लागी भिक्षा मागेको होइन। राष्ट्र निर्माणको लागी सहयोग मागेको हो र यदि प्रमलाई दिन मन छैन भने ठिकै छ। हामीले महादानबाट नै केन्द्र बनाउछौं”। मैले यसो भन्दा उहाँले “बीस करोडले हुन्छ कि हुन्न” भनेर भन्नुभयो। मैले बीस करोड अनुदान र बाँकी ऋणको रुपमा दिएपनि हुन्छ भनेँ। उसो भए म फेरी प्रमसंग कुरा गर्छु र तपाईंलाई फोन गर्छु भन्नु भयो। केहि फोन आएन। चुनाब पछि मैले उहाँलाइ दुई पटक एसएमएस लेखें तर जवाफ आएन।
घटना नं ४ – चुनाब भन्दा करिब दुई हप्ता अगाढी मलाई उद्योग मन्त्रीले फोन गरेर कहाँ हुनु हुन्छ दाइ भनेर सोध्नु भयो। मैले काठमान्डूमा छु भनें। उहाँले फुर्सद छ भने मन्त्रालय आउनुस न त भन्नु भयो र म मन्त्रालय गएँ। उध्योग मन्त्रालयको तर्फबाट मैले के मद्दत गर्न सक्छु भन्नु भयो। मैले प्रष्ट संग भनें – आविष्कार केन्द्रलाई दिगो बनाउनको लागी १० मेघावाटको बिद्दुत बनाउन हामीलाई ५० करोड चाहिएको हो । तर यो कुरा उद्योग मन्त्रालयले दिन सक्दैन। त्यसैले उद्योग मन्त्रालयले मलाई कसरी मद्दत गर्न सक्छ भन्ने कुरा मलाई थाहा छैन भनेर मैले भनें। उहाँले “अहिले हामी के के कामहरु गर्दै छौं” भनेर सोध्नु भयो र मैले पनि हामीले गर्न गई रहेको Medical Drone, EV, Incubator, Rice Harvester आदिको कामहरु हुनेवाला छ भनेर भनें। चुनाब पछी एकदिन त्यहाँको सहसचिबले बोलाएर के के हुँदैन छ भनेर सोध्नुभयो र मैले पनि मन्त्रीलाई भने कै कुरा भनें। सहसचिबजीले हाम्रो प्रोपोजल माग्नु भयो र मैले सो प्रोपोजल वेबसाईटमा नै छ र डाउनलोड गर्न सकिन्छ भनें। त्यसपछि त हिजो बेलुकी ६ बजे तिर उद्योग मन्त्रीले प्रेस सम्मेलन गरेर आँखा अस्पताल र आविष्कार केन्द्रलाई अर्को बर्षको बजेटमा सहयोग गर्ने भनेर घोषणा गर्नु भएछ।
तर तथ्य कुरा के हो भने उहाँ चार पाँच दिन मात्र मन्त्री पदमा रहनु हुनेछ। अर्को हप्ता नयाँ मन्त्री आउने छ र नयाँ मन्त्री आए पछी नयाँ सचिब आउने छ। त्यस्तो अवस्थामा के हुन्छ भन्ने कुरा मैले चार बर्षसम्म र चार ओटा प्रधान मन्त्रीको पालामा भोगेको कुरा नै हो। हिजो नै पैसा दिएको होइन भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। त्यस्तो कुराहरुलाई राम्रो संग नबुझिकन लिने नलिने भन्ने कुरा नै आउँदैन। एउटा नेताले बोलेको कुरा कति प्रतिशत पुरा हुन्छ भन्ने कुरा सबैलाई थाहा नै छ नि होइन र ?
घटना नं ५- हिजो दिउँसो तिर मैले त्यत्ति कै ठट्टा गर्न घटना नं १ मा उल्लेख गरेको भान्से टीमको “क” नामक व्यक्तिलाई “मद्दत गर्छु भनेको होइन त, खोइ त मद्दत गरेको” भनेर एसएमएस लेखें। बेलुकी ७ बजेर ४४ मिनेट जाँदा “१।५ करोड” भन्ने जवाफ आयो। अनि मैले ” कसले?, कहाँ बाट? कसरी? भनेर सोधें। उता बाट यस्तो जवाफ आयो – 9851032097 once you call to udhyog mantri nabindraraj joshi” भन्ने जवाफ आयो. अनि मैले रिसको झो*कमा “लाज लाग्दैन” भनेर लेखदा त्यसको उत्तर यसरी आयो – “सर मसंग किन । म त सुरु देखि नै लागेको हो”।
यदि क भन्ने व्यक्ति सुरुदेखि नै लागेको भए किन उद्योग मन्त्रीलाइ देखाउनु पर्ने? कत्ति न मैले उद्योग मन्त्री नचिनेको जस्तो गरेर चिनाउनु पर्ने ? आफुले नै उद्योग मन्त्रीलाई भनसुन गरेर महाबीर पुन लाई डेढ करोड दिए जस्तो गर्ने ? त्यति धेरै आश्वासन दिने तर केहि नगर्ने भान्से टीमलाई अब त्यसो नगर्नु होला है भनेर किन पाठ नसिकाउने ?
यहि पृष्ठ भूमीमा हिजोको पोस्ट लेखिएको हो साथीहरु. मलाई गाली गर्ने र सराप्ने साथीहरुले मलाई र मेरो कामलाई नचिनेर र कुरा नबुझेर गाली गरेको हो भन्ने कुरा मलाई प्रष्ट संग थाहा छ. त्यसैले जति गाली गरे पनि मलाई पटक्कै रिस उठ्दैन । कति साथीहरुले “महाबीरलाई दिएको समर्थन फिर्ता” अथवा U turn भनेर पनि लेख्नु भएको छ। ठिकै छ समर्थन फिर्ता लिएपनि। तर मलाई के कुरामा बिश्वास छ भने उक्त फिर्ता लिएको समर्थन तपाईंहरुले फेरी दुई चार बर्षमा यतै फिर्ता गर्नु हुनेछ। यसो किन हुन्छ भने मैले मेरो लागी मात्र होइन कि तपाईंहरुको भलाईको लागी नै काम गर्दैछु। याद राख्नुहोस कि गौतम बुद्धलाई पनि सुरुका दिनहरुमा धेरैले सराप्ने र गाली गर्ने गर्दथे। हेर्दै जानुस र सम्पर्क राख्दै गर्नुहोस। धन्यबाद।
(पुनको फेसबूकबाट)






