‘नेपाल पत्रकार महासंघ तिन वटा पार्टीको भर्तिकेन्द्र’

journo-2

नेपाल पत्रकार महासंघमा राजनिति हुन्छ । पत्रकार भनिएपनि कुनै न कुनै पार्टीको सदस्य, आन्तरिक कार्यकर्ता नबनी महासंघमा पुग्दैनन् । स्वतन्त्र पत्रकारले स्थान पाउँदैनन् । महासंघ राजनिति गर्ने, आफ्ना पार्टीका कार्यकर्ता भर्ति गर्ने थलो हो । यस्ता गुनासा सुनिँदै आएको हो । अहिले त झन केहि पत्रकारहरुले नेपाल पत्रकार महासंघ तिन पार्टीका कार्यकर्ताको भर्तिकेन्द्र भएको लिखित आरोप मात्रै लगाएनन् । महासंघमा तिन प्रमुख पार्टीले सिन्डिकेटनै लादेको भन्दै लिखित ध्यानाकर्षणपत्र बुझाए ।

नेपालका हरेक राजनितिक पार्टीका आआफ्ना संगठन छन्, पत्रकारका । नेपाली कांग्रेसको प्रेस युनियन । नेकपा एमालेको प्रेस चौतारी । माओवादी केन्द्रको प्रेस सेन्टर । नेपाल पत्रकार महासंघमा यिनैको बोलवाला र प्रभाव चल्छ । सदस्यता बितरणमासमेत यिनको समझदारी बन्छ । यिनले सिफारिस गरिदिए उध्योगपती, ब्यापारी, प्रहरी, सेना, सुराकी जसलेपनि पत्रकारको हैशियत पाउँछन् । अहिलेपनि यहि भैरहेको छ । हाल यिनले आफ्ना कार्यकर्ता भर्ति गर्ने, तिन मुख्य पार्टीका पत्रकार मिलेर मनोमानी गर्ने, सिण्डिकेट लाद्ने गरेको भन्दै अन्य पत्रकारले बिरोध जनाएका हुन् । यसरि लिखित रुपमा बिरोध गर्नेमा क्रान्तिकारी पत्रकार महासंघ छ । यो महासंघलाई फेरि नेकपा माओवादी बिप्लव समूहको भन्ने आरोप लागेको छ । जुन समूहको भएपनि यिनले केहि जायज मागभने उठाएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतको नेतृत्वमा गएको एक टोलीले नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टसँग भेटेर नेपाल पत्रकार महासंघ तिन पार्टीको भर्तिकेन्द्र भएको, पेवा बनाएको, ब्यापारी र गैह्र पत्रकारले सदस्यता पाएको लगायतका आरोप हाकाहाकी लगाएको हो । राउतको टोलीले गैरपत्रकारहरुको सदस्यता खारेजी गर्न र नेपाल पत्रकार महासंघलाई सक्कली श्रमजीवि पत्रकारहरुको साझा संगठन बनाउनुपर्ने माग राखेको छ । यस्तो गर्ने आँट र हिम्मत त के हुनु अध्यक्ष विष्टसित ? यस्तो गर्न लागे उनैको अधिकार धरापमा परिहाल्छ । क्रान्तिकारी पत्रकार महासंघको टोलीले नेपाल पत्रकार महासंघलाई सक्कली पत्रकारको छाता संगठन बनाउन माग गरेका छन् ।

journo

उनीहरुले गैरपत्रकार, निष्क्रिय पत्रकार, उद्योगी, व्यापारी, कर्मचारी, राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु (जो प्रत्यक्षरुपले पत्रकारिता पेशामा संलग्न छैनन्)लगायतको सदस्यता खारेज गर्न माग गरेका छन् । र, नेपाल पत्रकार महासंलाई सक्कली (क्रियाशिल) पत्रकारहरुको साझा संगठन बनाइयोस् भन्दै लिखित ध्यानाकर्षण गरेका छन् ।

महासंघका अध्यक्ष महेन्द्र विष्टले के गर्ने ? तिनका गुनासा सुने । कमीकम्जोरी सच्याएर जान तयार छौं । सबैको साझा संस्था बनाउन तयार छौं त भने । तर त्यो कसरि गर्ने ? अहिले नेपाल पत्रकार महासंघमा विष्टको बहुमत छैन । महासचिव उजिर मगर छन् । उनका पक्षमा बहुमत छ । मगर माओवादी केन्द्रको कोटाबाट महासचिव हुन् । महा संघमा उनैको निर्णय चल्छ । बहुमतक आधारमा । अर्थात् माओवादी केन्द्रको निर्देशन अनुसार अहिले नेपाल पत्रकार महासंघ चल्छ । गुनासा जति महेन्द्र विष्टलाई सुनाएर के गर्नु ?

जे होस, क्रान्तिकारि पत्रकार महा संघले पत्रकारहरुको हकहितका पक्षमा केहि जायज मागहरु भने पक्कै उठाएको छ । महा संघभित्र हुने अनियमितता, चलखेल र गैह्र पत्रकारहरुलाई गरिने सदस्यता बितरणका बारेमापनि सार्वजनिक गरिदिएको छ ।

क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघलाई बुझाएको ध्यानाकर्षण पत्रको पूर्ण पाठ :

‘श्री अध्यक्ष ज्यू

नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय, संचारग्राम, तिलगंगा, काठमाडौं ।

विषय : ध्यानाकर्षण पत्र ।

अध्यक्ष ज्यू,

‘क्रान्तिकारी पत्रकार महासंघ’ श्रमजीवि पत्रकारहरुको नेतृत्वदायी संगठन हो । स्थापनाकालदेखि नै यस महासंघले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन, पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी, सम्पादकीय स्वतन्त्रता, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, साना लगानीका तथा जनपक्षीय मिडियाहरुको संरक्षण र संवद्र्धन, श्रमजीवि पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेण्टी, मिडियामा वैदेशिक र अपारदर्शी लगानीलाई निषेध, मिडियाका कन्टेन्टको समावेशिकरण, निष्पक्ष, मर्यादित, जिम्मेवार र जवाफदेहीपूर्ण पत्रकारितालगायतको पक्षमा खह«ोरुपमा वकालत गर्दै आएको छ ।

हाम्रो महासंघ ‘नेपाल पत्रकार महासंघ’लाई छाता संगठन मान्दछ । हाम्रो संगठनले उठाएका उल्लेखित विषय पनि नेपाल पत्रकार महासंघले पनि आफ्नो कार्यसूचिमा राखोस् र त्यसको प्रभावकारी कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरोस् । हामी गम्भीर रुपले ध्यानाकर्षण गराउन चाहन्छौं । यसका अतिरिक्त निम्न विषयहरुमा हामीले विशेष ध्यानाकर्षण गराउन आवश्यक ठानेका छौं ।

१. हाम्रो संगठनलाई नेपाल पत्रकार महासंघको नेतृत्वले वेवास्ता गर्दै आएको छ र प्रायः निर्णय प्रक्रिया, विविध सरोकार राख्ने कार्यक्रममा हाम्रो संगठनलाई सहभागी गराएको छैन । हाम्रो संगठनप्रतिको निषेधकारी व्यवहार सच्याइयोस् र नेपाल पत्रकार महासंघलाई साँच्चैको छाता संगठनको भूमिकामा स्थापित गरियोस् ।

२. नेपाल पत्रकार महासंघका हरेक निर्णय प्रक्रियामा तीन ठूला राजनीतिक पार्टीहरु नेपाली कांग्रेस सम्बद्ध प्रेस युनियन, नेकपा (एमाले)सम्बद्ध प्रेस चौतारी र नेकपा (माओवादी केन्द्र) सम्बद्ध प्रेस सेन्टरको ‘सिन्डिकेट’ लादिएको छ । हाम्रो संगठन यसको कडा शब्दमा विरोध गर्दछ । नेपाल पत्रकार महासंघलाई तीन ठूला संगठनका कार्यकर्ताहरुको भर्तिकेन्द्र र पेवा नबनाइयोस् । जोडदार माग गर्दछ ।

३. नेपाल पत्रकार महासंघको आवधिक चुनाव नजिकिदैछ । महासंघले शुद्धीकरण अभियान चलाओस् । गैरपत्रकार, निष्क्रिय पत्रकार, उद्योगी, व्यापारी, कर्मचारी, राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु (जो प्रत्यक्षरुपले पत्रकारिता पेशामा संलग्न छैनन्)लगायतको सदस्यता खारेज गरियोस् । र, नेपाल पत्रकार महासंलाई सक्कली (क्रियाशिल) पत्रकारहरुको साझा संगठन बनाइयोस् ।

४. देशैभरबाट धेरै क्रियाशिल र योग्यता पुगेका पत्रकारहरु नेपाल पत्रकार महासंघको सदस्यता लिनबाट बञ्चित भएका छन् । आफ्नो अनुकूलतामा नयाँ सदस्यताको लागि आवेदन खुल्ला गर्ने र बन्द गर्ने नगरियोस् । आस्थाको आधारमा भेदभाव र बाधा अड्चन खडा नगरियोस् ।

५. महासंघको आसन्न चुनावमा गरिने अमर्यादित गतिविधि र अपारदर्शी चलखेललाई निषेध गरियोस् । पेशागत हिसाबले अमर्यादित ठानिने ‘जाँड रक्सी’को प्रयोगलाई प्रतिबन्ध लगाइयोस् ।

अन्तमा, हाम्रो संगठनले उठाएका उल्लेखित विषयहरु सम्बोधन नगरिने, हामीप्रतिको अपमानपूर्ण र निषेधकारी व्यवहारलाई नसच्याइने हो र सहकार्यको ढोका बन्द गरिने हो भने क्रान्तिकारी पत्रकार महासंघ वैकल्पिक महासंघको रुपमा अगाडि बढ्न बाध्य हुने पनि यसै ध्यानाकर्षण पत्रमार्फत् अवगत गराउन चाहन्छौं ।’

इन्द्र राउत

अध्यक्ष

(तस्विर -मूलबाटो डटकमबाट साभार)

तपाइँको प्रतिक्रिया