बिदेशमा बस्ने नेपालीमा पनि यस्तो जातिय भेदभाव ?
पेरिसबाट हिँडेको धेरै समयपछि भाई आशिष उपाध्यायले बेल्जियमबाट फोन गरे । रमाईलो लाग्यो । उनी पेरिसमा बसेर पढ्दा हाम्रो भेट बाक्लै हुन्थ्यो । प्रत्यक्ष भेट नहुँदापनि दूरभाष यन्त्रले नजिक्याउँथ्यो । तर उनलाई पेरिसमा पढ्न अनूकुल भएनछ । अनि भर्खरै विवाह बन्धनम उनिएका उनी बेल्जियम हिँडे संगिनीलाई साथै डोर्याउँदै । फोनमा मैले उनलाई सोधें-‘भाइ के छ त त्यहाँको हालखबर ? कसरि बित्छन् दिन ?’ उनका कुरा सुनेर त म छक्कै परें एकछिन । त्यहाँ त नेपालीहरुका यति धेरै समूह र एसोसिएसन रहेछन् कि गन्ति गरेर साध्यनै नलाग्ने । नेवार, थकाली, गुरुङ, शेर्पा, मगर, राई, तामाङ, लिम्बू हरेकका समूह । छुट्टा छुट्टै एसोसिएसन ।
बिदा कसरि मनाउछौ त आशिष भनेर सोधें । क्याम्पसका साथीहरुसित बिताउने भने । बाहिर निस्क्नै मन लाग्दैन दाई भन्न थाले । ओहो यहाँ पेरिसमा हुँदा नेपाली जमघटमा टुप्लुक्क देखापर्ने यिनलाई त्यहाँ निस्कनै मन नलाग्ने के भएछ भनेर अचम्म लाग्यो । बेल्जियम सानो देश । बाहिर निस्कनासाथ नेपाली प्रशस्तै भेट हुने । यति धेरै नेपाली छन् कि कसैको पिजा हट छ । कसैको सेकुवा कर्नर । कसैका नेपाली सामान बेच्ने पसल । कोहि रेस्टुरेन्ट चलाउँछन् । फेरि हरेक राजनितिक दलका छुट्टा छुट्टै संगठन । एउटा संगठनले नपुगेर फेरि तिनका पनि युवा संगठन । महिला संगठन । चितवन, बाग्लुङ गरेर जिल्ला जिल्ला पिच्छे संगठन । बाहिर निस्कनासाथ तपाई कुन पार्टीको भनेर सोध्ने रहेछन् । त्यसैका आधारमा निकट ठान्ने कि टाढा । भेदभाव त्यहिँबाट शुरु भयो ।
त्यहाँ चितौनेले चितौने खोज्ने रहेछ जागिर दिन । बाग्लुङेले बाग्लुङकै खोजि गर्ने रहेछ कतै काम खाली भयो भने । चितवन, बागलुङको भए काम छिटो पाइन्छ रे । जातिगत रुपमा नेवार भए । अथवा फलानो एसोसिएसनको भनेर नेवार एसोसिएसनको देखाउन सके छिटो पाइने रहेछ । उनी भन्दै थिए-‘दाई एक जना बाहुनलाई काम चाहिएको थियो । काम खालीपनि रहेछ । तर भेटिएको कामपनि दिइएनछ किनभने काम दिने गुरुङ र काम खोज्ने बाहुन परेकोले ।
नाक थेप्चो छ कि चुच्चो । आँखा घुम्पाके छन् कि अर्कै । मधेशी जस्तो देखिन्छ कि पहाडिया ? हेर्नुस त बिदेशमा बस्ने नेपालीहरुपनि यति धेरै चिरामा बिभाजित । जात पात र रंग अनि शारिरिक बनोटका भरमा भेदभाव । कुनै संगठनमा लागेको छैन भने त कसैले नपुछ्ने । कसैले नगन्ने । भोजपनि नेवार भोज, बाहुन भोज, शेर्पा भोज, थकाली भोज । पुरै जातिय ढंगले गर्ने ।
दुख पनि कतिसम्म गर्ने रहेछन् नेपालीले त्यहाँ ? आशिषले सोधे-‘ दाई छुट्टि कहिलेको तपाईको ?’ मैले आइतबार र सोमबार भनें । ओहो राम्रो रैछ नी‘ भने उनले । किन र बाबु दुई दिन त पाइन्छ नी साप्ताहिक बिदा भन्दा जवाफ फर्काए ‘यहाँ त हप्तामा सातै दिन काम गर्छन् दाई‘। कोहि कोहि त बिदा बस्नेपनि होलान् नै हुन त । तर अधिकांशको हालत भने चौबिसै घण्टा बिदेशीको हलोमुनी सातै दिन नारिने रहेछ । कति जोतिने रहेछन् काममा भने ‘केहि नेपालीको कम्मर नचल्ने, कसैको ढाड नचल्ने भएर काम गर्न नसक्ने भएपछि हालसालै नेपाल फर्किएछन् । शरिरनै नचल्ने हुँदासम्म कस्तो काम गरेका होलान् ? शरिर खत्तमै पारेर कमाएको पैसा कसकालागि होला ? त्यसले कस्तो सन्तुष्टि देला ? बिदेशमा नेपालीका राम कहानी अचम्म अचम्मका छैनन् त ?





