पत्रकारको कार्ड लिने ? पाइन्छ सजिलै
धेरै मित्र, शुभचिन्तकले सोध्नु भो ‘मलाईपनि पत्रकारको कार्ड चाहियो सर, कसरि पाउन सकिन्छ नेपाल पत्रकारमहा संघको कार्ड ?’ भनेर । त्यसैले सबैकालागि हित हेरेर केहि सुझाव दिने प्रयास गरिएको छ, पत्रकारको कार्ड लिनकालागि ।
पत्रकारिता पेशा जति सम्मानित छ । त्यो भन्दा दशौं गुणा बढि पत्रकारको कार्डको मूल्य छ, पत्रकारिता गर्ने भन्दा त्यो कार्ड बढि सम्मानित छ । त्यो कार्ड जोखिम लिन रुचाउने, अध्ययनशिलले लिन्छ । रातदिन नभनी समाचारको ध्याउन्नमा दगुरिराख्नेले लिन्छ । टुक्रिएका, छरिएका, शब्दहरुलाई मलजल गरेर, जोडेर शब्दका खेती गर्ने मान्छे हो पत्रकार । तर युरोपमा त्यो लागूहुन्न । हुन त नेपालमापनि भएको छैन । ठग, फटाहा, ब्यापारी, डाँका, नेता, दलाल, जासुस, सेना, प्रहरी सबैका हातमा छ पत्रकारको प्रमाणपत्र । तर युरोपमा अलि फरक के छ भने यता लेख्नै पर्दैन । नेपालमा कुनै पत्रिकाको सम्बाददाता भनेर भएपनि लेखाउन सक्नुपर्छ । आफ्ना नाममा कसैलाई लेखाएर एकाध लेख, समाचार भएपनि छपाएर देखाउनुपर्छ कुनै पत्रिकामा । तर यता युरोपमा त्यस्तो छैन ।
पहिले एमाले, नेपाली कसंग्रेस वा केन्द माओवादीको सक्रिय कार्यकर्ता भएको लेटर प्याड सहितको चिठ्ठि बनाउनुस् । पार्टी समर्थित पत्रीका जुन पार्टीकापनि छन् । आफ्नो पार्टीलाई दबाब दिएर सम्बाददाता हो भनेर लेखाउनुस् । हो त्यो चिठ्ठी भएपछि महासंघले नाकाका चालले सदस्यता दिन्छ । किनकि त्यहाँकापनि ९९ दशमलव नौ प्रतिशत पार्टीका लेबल लागेकै छन् । यति गरेपछि पाइहाल्नुहुन्छ । यतिले काम नगरे तपाईको पार्टीको दह्रो नेता समात्नुस् उसले भनेपछि रुम्ला झैं गरेर, ‘बिगतमा गल्ति भो हजुर सर’ भन्दै सदस्यता दिहाल्छ त्यो पत्रीकाले ।
यता पत्रकारको कार्ड भिर्न नेपालमा भन्दा सजिलो छ । दालभात खाने, नाच कार्यक्रम, बार्बाक्यु खाने कार्यक्रम धेरै हुन्छन् युरोपमा नेपाली समूदायको । पार्टीका भात्रि संगठनहरुको बैठकपनि निकै हुन्छ । तिनका समाचार लेखिदिनुस् । सानो, छोटो लेख्दापनि चल्छ । त्यो नसके नेपालका पत्रिका हेर्नुस् । सानासाना नाम नभएका समाचारलाई आफ्ना नाममा लेख्नुस्, तल र माथिका हरफहरु उल्टोपाल्टो पारेर । सके अलिअलि फेर्नुस् । त्यति गरेपछि तपाईले लेख्ने गरेको सिद्द हुन्छ ।
नेपालमा नेपाल पत्रकार महासंघले अलि बुझ्न खोज्छ । तर पत्रपत्रीकाले सिफारिस हानिदिएपछि, अन्य कसैले लेखेका तर नाम नभएका समाचारमा ‘फलानाले लेखेको हो” भनेर पत्रिकाको सिफारिस भएपछि महासंघको केहि सिप लाग्दैन, सदस्यता दिनैपर्छ । तर यता युरोपमा झन सजिलो छ । कपी गरेको समाचार आफूले लेखेको भनेर बुझाएपनि पाइन्छ । नेपाल पत्रकार महासंघ युरोपको सदस्यता आबेदन खुल्छ, दुई वर्षमा एक पटक । त्यो बेला माथिका सुझाव अपनाएर सदस्यता फार्म भर्नुभए सदस्य बन्न सकिन्छ । महासंघका सदस्य मध्ये एक दुई जनालाई यस्सो आफ्नो बनाउने, निकट राख्ने र सदस्यता लिने बेला ति समर्थकले अलि चर्कोसित तपाईको समर्थन गरिदिए भनेपनि सजिलो हुन्छ ।
त्यति गरेपछि सदस्यता पाउनुहुन्छ । त्यतिले काम नगरे अर्कोपनि उपाय छ । नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधीहरु बेला बेला युरोप भ्रमणमा आउँछन् । ति आएका बेला धोको फेरेर दुई चार ठाउँ घुमाइदिनुस् । जाँडपानी, बार र रेस्टुरेन्ट लगेर यस्सो ब्यवस्था गरिदिनुस् । एकदमै समर्थक र प्रशंसक बन्नुस् ।
जसरिपनि सदस्यता लिनै मन छ भने यस्सो नेपालबाट यता आउने टिकटको ब्यवस्था गरिदिनु भो भने पक्का हुन्छ । त्यतिलेपनि अझै लागेन भने एउटा आइफोन किनेर ‘सरलाई’ भन्दै खुस्स गोजीमा हालिदिनु भयो भने सदस्य होइन महासंघ युरोपको कार्यसमितिमै पदको दाबी पुग्छ । केन्द्रबाट लाहाछाप लाग्छ । यताकाले तपाईलाई राख्न नचाहेपनि कसैको केहिसिप लाग्दैन । केन्द्रमा तालाचाबी हुनाले तपाई सदर भैहाल्नुहुन्छ ।
ठूला पार्टी मध्ये कुनै एउटा समातेर त्यो पार्टी निकटको नेपालको पत्रिकाले ‘फरेन करेस्पोन्डेन्ट’ भन्दै सिफारिस ल्याउनु भो भने त झन अन्य केहि गर्नै परेन । त्यति गर्न सकिहालिन्छ किनकि हरेक पार्टीका दुई चारवटा लगानी भएका पत्रिका छँदै छन् । आजकाल पत्रकार बन्न जोखिम लिनुपर्दैन । आँटिलो बन्नु छैन । दुख बेसाउनुपनि पर्दैन । सिपपनि चाहिन्न । यस्तो सजिलो उपाय हुँदा हुँदै जुत्ता खियाउँदै, जोखिम मोलेर, अर्काको दुस्मनी बन्दै किन बन्नुहुन्छ पत्रकार ? सजिलोसितै बन्नुस् ।





