आज गर्व छैन मलाई नेपाली हुनुमा
- ईश्वर देबकोटा
गत सेप्टेम्बर ११ हो तर २०१५, आतंकको इतिहासमा १४ वर्ष अघि ओसामाविनले आफ्नो दानवीय चरित्र लेखे । यो दिन हाम्रै घर दैलामा आततायीहरुले ठुलै उन्नति गर्दैछन् । बलेको तराई जलेर खरानी हुदैछ । टोल टोलमा मान्छे मार्ने प्रतिस्पर्धा नै चलेको छ । समाचारमा सुनियो, सामाजिक सन्जालमा छ्यापछ्याप्ती छ । आज एम्बुलेन्स भित्रका घाइते थुतेर कुटेर मारियो ।
ज्यादतिको नि हद हुन्छ । घाइते त्यो पनि उपचारका लागि अस्पताल हिडेको एम्बुलेन्सबाट थुतेर हत्या गर्ने दानवी चरित्र शाब्दिक रुपमा “घृणित” छ । कानुनीरुपमा दण्डनीय छ । आज मधेश लगायतका अन्य क्षेत्रबाट उठेको बिरोध राज्यसँग हो कि जहान बच्चा पाल्न नुनपानीका निम्ति बर्दी लगाउन बाध्य कर्मनिष्ठ प्रहरी सँग हो ? हिजो घोषित युद्धमा होमिएकाले देखेका दुश्मन पनि त्यै पुलिस, अहिले आतंकको शिकार पनि त्यै पुलिस । पुलिस अनि जनता मारेर ल्याउन खोज्या राज्य चै कसका लागि हो सोच्नु पर्दैन ? राज्यले निषेधाज्ञा जारी गर्न पाउँछ, तर निषेधको राजनीति गर्न पाउदैन ।
कयौं सजिलो बाटो हुँदा र छँदा छँदै मानव हत्याको क्रुर मार्ग पक्रिने राज्य र आन्दोलनरत भनिएका दलीय नेतृत्वको खोपडीमा अलिकति पनि सचेतता कोचिदिने क्षमाता हामी निरिह नागरिकमा रहेन । हामी मौन ब्रतमा छौं कि रमिते हौं मनमनै विचार गरौँ । अधिकारवादीहरुले प्रतिबेदनका पाना मात्रै बार्षिक रुपमा गनिदिने अनि राष्ट्रसंघलाई भन्दिने हो कि… यो भयानक भिडन्त रोक्न आफैतगारो बनेर उभिदिने पनि हो । तस्बिर खिच्न हिडेकाहरुमाथि तरवार चलेको छ । कलेज हिडेकाहरु कुटिएका छन् । झुपडी हुनेहरुका जलेका छन् । महलमा सुरक्षा गार्डको ब्यबस्था छ । २०औ दिन देखि राज्य नगरमा कर्फ्यु जारि गरि चरो मुसो गनेर बसेको छ ।
गोलिगठ्ठा तेर्स्याएर राजधानीमा सामल भित्र्याको फुर्ति गर्छ राज्य । यो स्वार्थी राजधानी बजारमा २ रुपिया भाउ सस्तो भयो भनेर फुकिदिए मख्ख पर्छ, राजधानी बाहिरको समाचार कानमा पर्यो भने घरपरिवार आफन्त सम्झेर आँशु झर्छ । के यहि हो राज्य ? यहि हो सरकार ? यहि हो समाज ? यहि हो हामीले खोजेको परिवार ? के यहि परिवारको सदस्य हूँ ? के यसैमा गर्व छ मलाई आफू नेपाली हुनुमा ?
मलाई नेपाली हुनुमा आज गर्व छैन ।





