मेरो सवारी छ सहरमा

  • ईश्वर देवकोटा

Ishwor Devkotaकलिलै उमेरमा गोर्खाबाट काठमाडौँ छिरेको मान्छे म ।  भलै पृथ्वीनारायणले झैँ नुवाकोट र किर्तिपुर आक्रमण गर्दै यो नेपाल खाल्डो छिर्नुपर्ने बाध्यता मलाई थिएन ।  कारण समय बेग्लै, आधुनिक युग ।  यहि आधुनिक युगमा समयले निकै कोल्टो फेरीसकेको छ ।  कोल्टे फरेको यो समयमा म आफैले आफैले विशिष्ट ठानिरहेको छु ।  आफ्ना आँखाले देखेका, कानले सुनेका जो कोहिभन्दा कम्ति मैले आफूलाई किन ठान्नु ।  जन्मँदै बाहुनका कुलमा, त्यसै त्यसै उपल्लो ओहोदाको बनाईदिराखेका रहेछन् पहिल्यै ।  आफूले केहि जोडन् जुटाउन नपर्ने, पुर्ख्यौली सम्पत्तिमा उछित्तो गर्दै खाइखेली हुर्क्यो । अब सहर छिरेपछि मेरो सान नै बेग्लै नभएर भयो र ? अहँ ।

हिजो आज सहरमा मेरो दिनदिनै सवारी चल्छ । सवारी चल्नु अघि मेरो भव्य तयारी चल्छ । पूर्वबाट घाम उदाउनु अघि पश्चिमी मुलुकको कन्सेप्टमा चाइनिज प्रविधिले बनेको समय देखाउने यन्त्र सिरानी छेवैबाट कराउन थाल्छ, टीटीटी टि .. टीटीटी टि .. ।

आँखा मिचेर जवर्जस्ती त्यसलाई सिकारी आँखाले बलै हेर्यो, ५ बजाएको हुन्छ । त्यसको टीटीटी टि .. टीटीटी टि ..बन्द गर्यो फेरी सुत्यो । झ्याप्प एक निद्रा फेरी सुत्यो, “यु नो हु केयर्स नि ।” धेरै सुत्यो भनेर गालि गर्ने बाउ छैन, सराप्ने आमा’नी छैनन् । अलरामको बलरामनै बन्द भए पछि ७ बज्दा मेरो दोश्रो कुखुरो बास्छ । त्यो बस्ने कुखुरो गेटको घन्टी हो ।

पल्लो कोठमा म सँगै डेरा गरि बस्ने दाजु नाइट गार्डको जागिरे छन् । बिहान ६ बजेसम्मको डियुटी सकेर मेरो निद्रा भंग गर्न सात बजे सबेरै हाजिर हुन्छन् । उनका अगाडी आफू झुसे भएर निसक्न भएन । मेरो उठाईको गतिमा गिएर अप हुँदै जान्छ । गार्ड दाजुलाई घर भरिकाले मेजर साप भन्छन् । हुन चाहिँ उनि आर्मीमा भर्ति भएपछि तालिम गर्दागर्दै आत्तिएर टाप दिएका बहादुर रहेछन् । बेला बेला मेरो समेत सलाम भेट्छन् ।

मेरो सवारीको तयारीमा उनि यति मात्रै सहयोगी हुन् की उनले मलाई हरेक बिहान बेलैमा उठाउँछन् । म आफैलाई भाग्यमानी ठान्छु ।

ग्याँस चुल्होमा प्याट्ट आगो पारेर चिया पानी बसाए पछि, दाँत टल्काउने कार्यकर्म । धोईपखाली गरेर एक चरण ऐना हेर्न पुग्यो ।  मिसिक्क हाँसेर दाँत हेर्यो, केटाकेटीमा बेलामा नफुकलेका दाँत के हेर्न हुनी हुन् र । बाख्रालाई घाँस हाल्ने टाटना र तेरो दाँत फरक छैन भन्दै आमा हकार्थिन्, यो बैसमा समेत हेर्न हुने कहाँबाट होस् ।

उता चिया उम्ल्यो ।  कपमा खन्यायो । सानामा स्कुलमा पढेका दुइदुना चार वाला दुनोट अहिले राजधानीमा खानेकुराको स्वरुपमा समेत उही नामले भेटिन्छ । अघिल्लो दिनको बासी भएर होला अलि अलि ठुस्स अमिलो गन्हाइ नै हालेको भएपनि साहुजीले आजैको हो भर्खर ल्याको भन्दिए पछि हुन्छ, त्यो किनेर सधै लग्यो चियामा चोप्यो ग्वाम ग्वाम ।  पेटको इन्जिन भगवानले कमसल चै राख्दैनन् रहेछन् क्यार,  कहिले सम्मको वारेन्टी ग्यारेन्टी हो कुन्नि अहिलेसम्म कन्डिसनमा चलेको छ । कहिले काहीं वाक्क ट्यार्र हिसाब गर्ने चै गर्या छैन ।

चिया पछि मेरा लागि भान्छा म आफै तयार गर्छु भन्ने कुरा सुनाउन पाउँदा हृदयदेखि गर्व गर्छु । तर कहिलेकहिँ पकाउँछु धेरै जसो अल्छि गर्छु, भन्न पो हुँदैन त इज्जेतको सवाल छ । बाले छोरो “अरु जेजे भएनी नेपाल छिरेसी कुलको इज्जेत जोगाएस् ।” भनेर दशैमा आशिक थमाउँथे । बाहुनको छोरो दिनदिनै नुहाउनु पर्छ भन्ने मान्यतालाई घरबेटीका लोभी मनले मात्र हैन, नगरवासीलाई काकाकुल बनाउने खानेपानी लिमिटेडको समेत मिलेमतोमा लिमिटेड बनाइदिएका छन् । म पानीदेखि तर्किने जाँगर नभएको महासयलाई खुदो परेको अवस्था, खुलेर सुनाउन नभएपनि यसमा मेरो हजुरीबाट कुनै गुनासो ब्यक्त गर्न चाहन्न ।  तर कहिले कहिँ पिउने पानीमै समेत शंकट आइपर्दा पाउरोटी पार्टी, चिउरा दालमोठ भोजनमै समेत मेरो साँझ बिहानको पेटपूजा सम्पन्न हुन्थ्यो ।  भलै अहिले त्यो पनि समस्या टर्यो, मेरो कोठे दरबारमा जार भित्र्याउने गर्या छु ।

कुरो बुझ्नुस, पहिलेको गाम तिरका जार र अहिलेको जारमा बिल्कुल भिन्नता छ । पहिले जार भेट हुँदा ओठ मुख सुक्थ्यो रे । अहिले जार घरमा आएपछि सुकेका ओंठ मुख भिजाउन पाइन्छ । राजधानी सहरका हर घर जारविहिन छैनन् होला । जारका कुरा गर्दागर्दै भन्न खोज्या हजार कुरा छुट्लान् भन्ने डर भो । जब म खानपिन गर्छु । जुठाभाँडा साँझका लागि थन्क्याउछु अनि पुन: आफ्नै सवारीको तयारीमा लाग्छु । बाहुन हुनुको एउटा लफडा झुसे दारी काट्छु । बिजुली भएपो आइरन लाउनु, मुजा परेका सर्ट पाइन्ट दुइ दुइ झट्का फड्कार्यो सुकुटे जिउमा उन्यो । एक पटक ऐना हेर्यो । एक काँधे झोला बोक्यो । झोला भित्र एक पत्तो कागज, देखाउनकै लागि भएनी बजारमा धेरै बिकेको साहित्यको पुस्तक घुसार्यो । गोजीमा स्मार्ट मोबाइल त्यसको एउटा आन्द्रो त्यान्द्रो जो छ, एक एक ठोसो कानका दुइ द्वारमा ठेसेर सानदार रुपमा निवास स्थानबाट मेरो सवारी निस्किन्छ ।

निवास स्थानबाट निस्कने बित्तिकैदेखि अरुले आफूलाई वास्ता गर्छन् गर्दैनन् कुन्नि तर मलाई कुन कुनले आँखा लाए भनेर म याद गरिरहेको हुन्छु ।  देख्नेले भनोस् कि “उ फलानो त निस्कियो |” मेरो सवारी लावालस्कर बिहिन हुने गर्छ, नत साथमा कुनै पहरेदार ।  म मेरो सुराक्षाका निम्ति सदैव सक्षम छु ।  सुरक्षाका नाममा मैले मेरो सवारीका निम्ति अहिलेसम्म कसैलाई सास्ती दिनु परेको छैन । निजि सवारी साधन बिहिन मेरो सवारी कम्युनिष्ट नेता द्वय चित्रबहादुर केसी र नारयणकाजी श्रेष्ठको भन्दा नी बिल्कुल अलग ठान्छु ।  मेरो सवारीका बारेमा कुनै समाचार भन्न मिल्दैन ।  अखबार र रेडियोमा त प्रकाशन प्रशारण गर्ने बिषय वस्तु नबनोस् पनि । किनकि म मेरो बिल्कुलै प्रचार चाहन्न ।  किनकि म आम मानिस हुँ र मेरो सवारीको गन्तब्य बिल्कुल फरक छ । त्यसैले मलाई त मेरो सवारी उच्च लाग्छ |

जबमा चोकमा माइक्रोबस वा बसको पर्खाइमा उभिएको हुन्छु । मेरा निम्ति जतिसुकै यात्रु खाँदाखाँद भएपनि ति सवारी साधन टक्क अडिन्छन् ।  मेरो सेवामा एकजना कलिला उमेरका भाई हतासिँदै उत्रिन्छन् ।  दाह्री काटेका बेला “दाई जाने हो भन्छन् , नकाटेका दिन् अंकल जाने हैन” भन्छन् ।  म माइक्रोबसको भित्र सम्म नियाल्छु ।  बस्ने सिट नभरिएको भेट्नुलाई गौरव ठान्छु । मेरा पाइला अघि बढ्छन् । अघिल्तिरकै सिट खाली देख्छु, सिटमा बस्छु । ‘दाइ यो अराक्षण सिट ।’ म झस्किन्छु । ए “सरी सरी ” बाले दशैमा सम्झाएका इजेत दिमागमा आइपुग्छ सम्झाउन । “उल्टो सिटमा बस्नुस्, यो महिला सिट हो ।  उल्टो सिट नै सहि ओर्लिन त मिलेन । बस्नै पर्यो ।

माइक्रोबस भित्र पसे पछि दुनियाँले “खलासी” नाम दिएको भाईले यात्रुलाई चाहिँ अंकल, दाइ, आमा दिदि बहिनीलाई छिनको छिनमै दश रुपियाँ, पन्ध्र  रुपियाँ हुँदै अठार, उन्नाइस, बिस रुपियाँ दरका पैसा बाहेक अरु देख्दैन । लाग्छ, अब म मान्छे होइन, कुनै निर्जीव वस्तु बन्दै छु । म सवार सवारी जब अघि बढ्छ, तब सुरु हुन्छ ड्राइभर भनाउँदोको मुखारविन्दबाट अत्यन्त घृणित शब्दहरुका साथ छुद्र गर्जन । लाग्छ उ आफ्नो सवारी होइन संसार हाँकीरहेको छ । हुन पनि हो, उसले सम्झिए’नि न सम्झिए’नि उ आफूसँगै सवारीमा सवार यात्रुको अमूल्य जिन्दगी हत्केलामा राखेर हाँकीरहेकै हुन्छ एउटा सुरक्षित गन्तब्यका लागि ।

चालकले पहिलो श्रापवाणी छोड्छ । चालक र यात्रुकै सुरक्षाका लागि खटिएका ट्राफिक प्रहरीलाई । भलै ट्राफिक प्रहरीको कानमा प्रत्यक्ष पर्दैन । त्यसपछि उसले अर्को बाणी पैदल हिँडेका पैदल यात्री, साइकल यात्री, स्कुटर यात्री  त्यसमा पनि महिलाले चलाएका स्कुटर बिशेषमा पर्छन् । कहिलेकाहिँ मोटरसाइकल चढ्ने केहि चालक महानुभावहरुका कानमा तिनका छुद्र बाण मौकाले परे भनें चै फेला पर्छन् । मुक्कामुंग्री नै चल्दा पनि रमिते बन्ने चै सवारी साधन भित्रका हामी निरिह प्राणी नामका जन्तु हुन्छौं । ड्राइभर र खलासी नामका महासयहरुले प्रहार गरेका प्रदुषित बोलि थाहा पाउने चाहिँ भाडा छुटका परिचय पत्र देखाएर जाने यात्रु, भाडा कम दिने यात्रु, अनि साना बालबच्चा लिएर यात्रा गरि बालबच्चाका भाडा नतिरी जाने यात्रु पर्छन् । एउटा कुरा अचम्म लाग्छ, सार्वजनिक सवारीमा साना बालबालिकाका लागि भनेर कुनै सार्वजनिक सिट छैनन् न त आरक्षण नै । तिनैलाई सरापेका शब्द सुनिरहँदा लाग्छ मुख भित्र धारिलो औजार छिराएर सदाका लागि मुख नै च्यातिदिउँ । मेरो जस्तै इज्जतका सवाल भएका यात्रु हुँदा रहेछन् की कुन्नि । कसैले एक शब्द चुँ बोलेको सुनिँदैन । कसैले बोलि हाल्यो भने समर्थन कसैले गर्दैन । अरे बाबा, सार्वजनिक सवारी हाँक्ने चालक र सहचालक देखि यात्रु त्यसरी थर्कमान भएर हिँड्नुपर्ने .. ओहो कस्तो मेरो सवारी ।

मेरो सवारी कहिलेकहिँ शिष्टता र मृदुभाषी बोलीचाली भएका सवारी साधनमा’नि हुने गर्छ | ति पनि सार्वजनिक नै हुन् । कहिलेकहिँ मात्रै जुर्ने त्यो अवसरमा एकै दिनको तिनीहरुको ब्यबहारले’नि ति सबै छुद्र बोलिब्यबहार भएकाहरुलाई बिर्साईदिन्छ । लाग्छ, तिनको’नी बुद्दि बेलैमा फिरिदिए मेरो सवारी हरदिन कति सानदार हुने थियो । उधारोमा कहिल्यै नचढेको मेरो सवारीले आफु थोत्रो भएको बहनामा कतिपटक बाले वर्षभरि पसिना बगाएर जोडी दिएका नयाँ पोशाक शरीरमा उनेको पहिलो दिनमै च्यातिदिएको गुनासो आफैसँग छ । तरपनि मैले सुनाउने ठाउँ छैन । साँझ बिहान कलेज र काममा हिँड्ने यात्रुले कहिलेसम्म क्षमत भन्दा बढी यात्रु बोक्ने सार्वजनिक सवारी चढेर घर आइपुग्दा एउटा युद्ध लडेर लखतरान भएको योद्धा झैँ निशब्द भएर भोलिको अर्को युद्ध लड्न तयार भैराख्नुपर्ने हो खै । समयमा नपुर्याए’नी गन्तव्यमा पुर्याएको छ भन्ने मात्र आशमा यो अझै मेरो सहारा छ ।  कयौं नियम भएरपनि बेनियम चलिरहेको यो सहरमा निर्वाध रुपमै आज पनि तपाइँ धेरैको जस्तै मेरो पनि सार्वजानिक सवारी छ ।

तपाइँको प्रतिक्रिया