सुदूरपश्चिमको महक अमरगढीमा बितेका क्षण
- डा. हरिकुमार श्रेष्ठ / स्युचाटार, काठमाडौँ
(डडेल्धुरा बजार एक भाग)
रिम्स नेपालको कामले काठमाडौँबाट धनगढी गएको १२ औँ दिनसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको आगो ओकलिरहेको सूर्यको रापमा पिल्सिराखेको थियो यो जीवन । त्यसैले, २० वर्षको अन्तरालमा पुनः रमणीय तथा सिलत डडेलधुरा जाने योजना अहोभाग्य नै थियो मेरो लागि । प्रचण्ड गर्मीलाई तिलाञ्जली दिँदै मलगायत याक नेपालका अध्यक्ष बलबहादुर रोकाया, कार्यकारी निर्देशक डबलबहादुर बम, वित्तिय तथा प्रशासनिक अधिकृत काजिराम चौधरी, रीतु चौधरी, रीम्स नेपालकी क्लस्टर अधिकृत भागरथी शाही र जिल्ला कृषि विकास कार्यालय, कैलालीका बाली संरक्षण अधिकृत कोमल शाही हुईंकियौँ डडेलधुरातिर ।
हाम्रो यो भ्रमणको मुख्य उद्देश्य भनेको लिवर्ड नेपालले रिम्स नेपाल र याक नेपालसँगको सहकार्यमा अमरगढीमा सञ्चालन गर्ने घर बगैँचा आयोजनाको शुभारम्भ गोष्ठिमा भाग लिनु थियो । ड्राइभर फुच्चे चौधरीले गाडी सुमधुर गतिमा अगाडि बढाउँदै थिए । हामी बिच भएको रमाइलो गफले त मलाई त अत्तरिया कटेको पनि पत्तै भएनछ । एक्कासी हरियाली डाँडा पाखासँग आँखा लोभिँदै जुध्न पुगेपछि मात्रै थाहा भयो कि हामी गोदावरी पुलको समिपतिरै पुगिसकेका रहेछौँ ।
सायद वर्षादको समयले पनि होला डाँडाकाँडा हरियालीले भरिपूर्ण थियो । प्राकृतिक विभितताले धनी छ नेपालका कुना र कन्दराहरु । यहाँका बोट बिरुवाहरुलगायत सबै प्राकृतिक दृश्यहरु स्वस्फूर्त उब्जिएका हुन् । त्यसैले त मरुभूमीबाट आएका पर्यटकहरु त दङ्दास पर्दछन् यी मनमोहक र मनोरम दृश्यहरुलाई चुम्दै त्यसैभित्र रुमल्लिन पाउँदा । किनकि, साहित्यकार दामोदर पुडासैनीले “नमेटिएका चित्रहरु”नामक पुस्तकमा लेखेका छन् कि “युएईमा एक रुख हुर्काउन करिब पन्चान्नब्बे लाख पचहत्तर हजार रुपियाँ खर्चन पर्ने रहेछ” । त्यसैले पो बुझेका छन् बोटबिरुवाको महत्व तिनीहरुले । तर हामी कहाँ त बिना योजना ढालिन्छ रुख । बनका दलाल र भ्रष्ट कर्मचारीहरुको मिलेमतोमा बनाइन्छ मरुभूमी रित्याएर हरियाली । तर यस डडेलधुरा क्षेत्रमा भने अन्य क्षेत्रतिरजस्तो त्यति रुख काटिएको नदेखिए तापनि मेरो पहिले र अहिलेको परिस्थितिलाई तुलना गर्दा भने केही क्षति अवश्य भएको देखिन्छ ।
गाडिभित्र बलबहादुर रोकाया र डबलबहादुर बमको हसिमजाक र मर्मस्पर्सी शब्दहरुको साथै दुई चेली र मिलनसार साथीहरुको उपस्थितिले जीवन्त भएको थियो हाम्रो यात्रा । नागबेली आकारका असँख्य पहाडी घुम्ति, कुइनेटाहरु र मनमोहक प्राकृतिक सृङ्खला र दृश्यहरु छिचोल्दै अगाडि बढ्दै जाँदा बा; दृश्यले पनि तरंगित बनाउँथ्यो मेरो मानसपटल । अनि पो कुत्कुत्याइरहन्थ्यो सिर्जनाहरु । त्यसमाथि पनि जङ्गलका चराचुरुङ्गी तथा कीराहरुको आवाजले यात्राको रौनक अर्कै थियो । ठाउँठाउँमा देखिएका पशुपन्छी र लहलहाउँदो खेतिपातिले त झन् मनै कल्पाएको थियो । जति बाटो नाप्दै जान्थ्यौँ त्यति नै मनमोहक दृश्य र सितलताले लोभ्याएको थियो हामीलाई डडेलधुरातिर । बाटोमा गाडिको त्यति चाप थिएन, कताकति फाटफूट जम्का भेट हुन्थ्यो । त्यसैले होला बाटोमा होटेल ब्यवसाय त्यति राम्रो नफस्टाएको पनि ।
पानी प्यास र भोकले सबैको पेट दाबिएकोले स्फूर्ति सेलाएको थियो । त्यसैले बाटोमा कैलालीकै फन्टुडे बजारमा गाडी रोकी पस्यौँ श्री जोरायल होटलतिर । त्यहाँ एक जोडि बृद्दाले घरमै विभिन्न थरिका मिठाइहरु, निमकिन, समसालगायत अन्य खानाका परिकारहरु बनाएर बिक्री गर्दा रहेछन् । त्यसैले हामीले निमकिनको साथमा चियाको चुस्कीले भोक मेटाउने प्रयास ग¥यौँ । त्यो दिनको खाना मैले अलि ढिलै खाएकोले मलाई भने भोकको त्यति आभाष भएको थिएन तापनि ५। ७ टुक्राले मुख बिटुल्याएँ । अल्कोहल, क्याफिन र निकोटिनबाट अलि टाढै रहने हुनाले चिया लिने त कुरै भएन । तर बाहिरपट्टि पाकेको स्थानीय केराको हाता डोरीमा तुन्द्रुङ्ग झुण्डिएर हामीहरुतिर नै एकटकले टोलाई हेर्दा पनि हामी कसैको मन चुम्न सकेन त्यसले । मुख त लोभिएको थियो मेरो, तर हिम्मत गरिन मैले पनि ।
ब्यापारी जोडी उमेरले ६० वर्ष आसपासका जस्ता देखिए तापनि निकै नै हसिला, फुर्तिला र उर्जाशिल देखिन्थे । तर ब्यवस्थापन पक्षभने निकै नै कमजोर थियो विचरा ! उनीहरुको त्यो अदम्य साहसी आत्मा र पौरखी हातहरुले मलाई पनि उर्जा थपिदिएकोले उनीहरुप्रति सम्मान गर्दै नतमस्तक भइ नमन गर्दछु । उनीहरुले हामीहरुलाई एक गहन पाठ सिकाए कि, पैसाकै लागि विदेसिनु पर्ने रहेनछ । यदि ब्यवस्थित किसिमले कुनै पनि ब्यापार ब्यवसाय गर्न सकेमा अरबको मरुभूमीमा सूर्यले ओकलेको आगोको मुस्लोभित्र बसी बालुवाको ढिस्कोमा सुन फलाउने हात यदि नेपालमा प्रयोग गरिने हो भने यहाँका प्रत्येक कुना र कन्दरामा हिरा फलाउन सकिन्छ भन्ने यो नै दह्रो आधार हो ।
तर सरकारको युवापुस्तालाई पलायन बनाउने नीतिले देश अबको २० वर्षपछि निकै नै ठूलो सङ्कटमा पर्ने देखिन्छ । रेमिट्यान्सको भरका देशको आर्थिक अवस्था सुध्रियो भन्नु अल्पदृष्टि मात्र हो । त्यसैले, दिगो आर्थिक सामाजिक विकासको लागि त युवा शक्तिलाई देशभित्रै उत्पादन क्षेत्रमा लगाउनु अपरिहार्य छ भने विज्ञहरुलाई घर फर्कने र फर्केकालाई उचित स्थान दिएर काममा लगाउने वातावरण वनाउन जरुरी छ । फ्रि भिसाको लोभमा पारी देशका होनाहार युवालाई सधैँभरी विदेशतिर लावालस्कर लगाएर पठाउनुभन्दा स्वदेशमै काम गर्ने नीति ल्याउनुपर्दछ । रोजगारीको लागि विदेश जानु कसैको रहर हैन, त्यो उनीहरुको वाध्यता हो ।
खाजा खाएपछि हामी रमाउँदै विस्तारै ठाउँ ठाउँमा फोटो खिच्दै करिब ५ घण्टापछि हाम्रो गन्तब्य स्थान अमरगढी पुग्यौँ । कार्यक्रममा आउने सहभागीको लागि तीनवटा होटलहरु बुक गराइएको थियो । लिबर्डबाट आएका ब्यक्तिहरु रोशन पुडासैनी, परशुराम बि.के., शम्भु बस्नेत र नरबहादुर अम्गाईंको साथै घर बगैँचाका हाम्रा नयाँ साथीहरुसँगको भेटघाटपछि धनगढीबाट गएको हाम्रो टोली भने न्यु सनसाइन होटलमा बस्ने निधो गरियो र लागियो त्यतैतर्फ ।
पहरा रसाएजस्तै होटलका कोठाहरुको सिलिङबाट तप्पतप्प पानी चुहिएर नाजुक अवस्थामा भए तापनि हाम्रो बसाइ त्यहिँ नै र;ो । होटल निकै नै खर्च गरेर बनाइए तापनि सरसफाइलगायत ब्यवस्थापन पक्ष निकै नै कमजोर थियो । बेलुकी खाना खाने बेला भइसके तापनि हाम्रो टोली बेलुकीको सितन पानीतिर लागियो । त्यहाँ कतिपय मानिसहरु झोलुङ्गो बनेको दृश्यले खानेलाईभन्दा नखानेलाई निकै नै आनन्द हुन्थ्यो । किनकि यस्तो दृश्य नदेखेको पनि निकै लामो समय भइसकेको थियो । बेलुकी ९ बजेपछि मात्र हाम्रो खानपीन भयो र लाग्यौँ निद्रादेवीको शरणमा । तर त्यहाँ चुहिएको पानीको ओशको कारण ढुसीको गन्धले स्वासप्रस्वासमा असर पार्दछ कि जस्तो लाग्यो यदि केहि दिन त्यहिँ बस्ने भएमा । ढोका लगाएपछि त झनै हावा विहिन बन्दै गयो टालिएर ढोकाका छिद्रहरु पनि । जे होस् बाटोमा निकै नै घुम्तिहरु पार गर्दै आएकोले सिथिल बनाएको शरीर निधाउनलाई समस्या भएन ।
भोली बिहान जुलाई १३, २०१५ का दिन सबेरै उठेर आफ्नो नित्य कार्यपछि लागियो गोष्ठि सञ्चालन हुने ठाउँतिर । अनि, त्यसपछि जिल्ला विकास समितिको कार्यालयतिर स्थानीय विकास अधिकृत ज्ञानराज पाण्डेसँग भलाकुसारी गर्न । किनकि, उनलाई हामीले प्रमुख अतिथिको रुपमा चयन गर्ने निर्णय गरेका थियौँ । त्यसैले उनकै ब्यस्त समयको ख्याल गरी सोहिअनुसार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरियो र ९ बजे सञ्चालन गर्ने कार्यक्रमलाई १०ः३० बजेतिर सारियो । तर त्यसभन्दा अगाडि पनि रोशन पुडासैनीबाट एक प्राविधिक कक्षा सञ्चालन भए तापनि प्रमुख अतिथिको उपस्थितिपछि मात्र हाम्रो औपचारिक कार्यक्रम अगाडि बढ्यो ।
कार्यक्रमको उद्घोषण कार्य डबलबहादुर बमबाट भएको थियो भने अध्यक्षता बलबहादुर रोकाया र प्रमुख आतिथ्यतामा ज्ञानराज पाण्डेबाट । परीचय कार्यक्रमपछि गोष्ठि उद्घाटन प्रमुख अतिथिबाट भएको थियो । स्वागत मन्तब्य म आफैँले गरेको थिएँ भने कार्यक्रमको जानकारी रोशन पुडासैनीबाट, मन्तब्यको क्रममा जिल्ला कृषि विकास कार्यालय, बैतडी र कैलालीका अधिकृतहरु क्रमशः लक्ष्मी पण्डित र कोमल शाही र प्रमुख अतिथि थिए । कार्यक्रमको पहिलो शत्रको समापन अध्यक्षबाट मन्तब्य र धन्यवाद ज्ञापनसहित भएको थियो । कार्यक्रममा मन्तब्य राख्ने ब्यक्तिहरु सबैले यस कार्यक्रमलाई पूर्णरुपले सहयोग गरी सफल बनाउने र दिगो रुपमा अगाडि बढाउन पहल गर्ने पनि प्रतिवद्धता दिइएको थियो । त्यस्तै गरेर मन्तब्यकै क्रममा कृषकलाई नगदको सट्ठा जिन्सी सामग्री उपलब्ध गराउँदा, विषादिमाभन्दा प्राङ्गारिकमा जोड दिँदा, सरकारी निकायले पूरा नगरेका काममा पनि सहयोग गर्दा कार्यक्रम बढी प्रभावकारी र दिगो हुने कुरामा पनि जोड दिइयो ।
उक्त कार्यक्रममा, लिवर्ड नेपाल, रिम्स नेपाल, याक नेपाल, जिल्ला विकास समितिको कार्यालय, जिल्ला विकास कार्यालयहरु र नयाँ साथीहरुको उपस्थितिले जीवन्त तुल्याएको थियो । वास्तवमा घर बगैँचाको अर्थ, यसको मर्म तथा महत्व र गरिव, असहाय, दलित, जनजातिहरुको भोजनमा घर बगैँचाले कसरी पोषकतत्व उपलब्ध गराइ उनीहरुको स्वास्थ्यमा दिगो सुधार ल्याउनुको साथै आयआर्जनमा बृद्धि, वातावरण संरक्षण, लोप हुन लागेका बिरुवा तथा प्राणीको सम्बर्धन तथा संरक्षण, बाली विभितता बृद्धि गर्नसक्छ भन्नेजस्ता कुराबारे जानकारी गराइएको थियो । सुदूरपश्चिमाञ्चल क्षेत्रमा घरबगैँचा आयोजना फेज ४ कैलाली, अछाम, डोटी, डडेलधुरा र बैतडीमा निकै नै उपलब्धिमूलक हुने ठहर गरियो ।
गोष्ठि बाहेक फुर्सदको समयमा सुदूर पश्चिमको महक अमरगढी र त्यहाँका प्राकृतिक सृङ्खलाहरु, किल्ला, उग्रतारा मन्दिरको दर्शन गर्न कस्को मन रम्दै न र ? त्यसैले, त्यहाँको उग्रतारा मन्दिर र अमरगढी किल्लाको भ्रमणको लागि कल्पनामा डुब्न थालेँ । पहिलो दिनको कार्यक्रम समापनपछि सहभागी साथीहरुलाई उग्रतारा मन्दिर जाने आग्रह गरी हामी केही जना त्यतातिर लहसियौँ । जब हामी अमरगढीको बागबजारबाट डडेलधुरा–बैतडी राजमार्गको पश्चिमपट्टि करिब ५ किलोमिटरको दूरीमा अवस्थित उग्रतारा मन्दिर हेर्न भनेर के अगाडि बढेका थियौँ, आँखाका डिलहरुले एक सुन्दर, रमणीय र शान्त हरियाली फाँटको बीच रङ्गीचङ्गी भइ सिँगारिएर हाम्रै प्रतिक्षामा बसेको मन्दिरलाई देख्यौँ । टाढाबाटै पनि मनमोहक देखिने त्यो दृश्यले आकर्षण गरी कसलाई पो जुरुक्क जुरुक्क उचाल्दैनथ्यो र । गाडिले सडक नाप्दै गए तापनि हाम्रा आँखाहरुले देखेभरिका ती दृश्यहरु सुम्सुम्याउँदै र नाप्दै एकैछिनमा मन्दिर परिसरमा पुग्याँै ।
मन्दिरको बाहिरी ढोका प्रवेश गर्दा नै जुत्ताचप्पल लगाउन र मन्दिरभित्रको उग्रतारा देवीको फोटो खिच्न मनाही गरिएकोले हामीले अक्षरस पालना पनि ग¥यौँ । हाम्रा मठ, मन्दिर र देवलहरु जहिले पनि कला र कौशलताले भरिपूर्ण हुन्छन्, त्यहाँ पनि त्यस्तै नै पाइयो । मन्दिरको बाहिरी मुख्य ढोकाबाट भित्र छिर्दादेखि मन्दिर नपुग्दासम्म बाटोको दायाँ बायाँ हिन्दुधर्मशास्त्रअनुसारका विभिन्न देवीदेवताका आकृतिहरु लामबद्ध ठडिएका थिए उनीहरुको नामसहित । तर कुनै नाम भने ठडिएको आकृतिभन्दा फरक थियो, जुन यथासक्य चाँडो सच्याउन जरुरी छ । मन्दिर पनि त्यस्तै कला र कौशलताले भरिपूर्ण थियो । यसको साथै मन्दिरको गेटमा ठडिएका सेनारुपी स्तम्भ पनि मानिसलाई कम्ति झुक्याउनेखाले थिएनन् ।
हामी विस्तारै अगाडि बढ्दै नेपाली मण्डप शैलीको मन्दिरभित्र पूजाकक्षमा गई पुजारीबाट टीका थापेपछि केही समय मन्दिरसम्बन्धी जानकारी लिने उद्देश्यले पुजारीसँग भलाकुसारी गर्ने समय लिइयो । पुजारीको भनाइअनुसार उग्रतारा (भगवती) सुदूरपश्चिमकै ठूलो शक्तिपीठ रहेछ । धार्मिक कथनअनुसार, उक्त भगवतीको सिला किसानले हलो जोत्दा हलोको फालिमा गढेर सिलाबाट निरन्तर रगतको धारा बग्दा खोला बग्न शुरु भयो र पछि विस्तारै रगत बग्न बन्द गरिएपछि त्यहाँ मन्दिर स्थापना भएको किंबदन्ति छ । हाल त्यो खोलाको नाम तलन्वा खोलाको नामले परिचित छ । त्यसैले पनि हिन्दुधर्मावलम्बीहरु महाअष्टमीमा पूजाआजाको लागि निकै नै घुईचो लाग्ने पनि जानकारी मिल्यो ।
हामीहरु सबैलाई मोहनी लगायो उग्रताराले र पो झुम्मिरहेथ्यौँ र घुमिरहेथ्यौँ यसकै वरिवरि कहिले भक्तजन त कहिले पर्यटक अनि कहिले आफ्नै आन्तरिक रुप बदल्दै । यति मात्र हैन भरखरै मात्र घरबगैँचाको गोष्ठिमा सहभागी भएर आएकोले मैले मनमनै रेखाङ्कन गर्न पनि भ्याइहाले कि त्यहाँ मानिस बस्ने आवास वरिपरि पनि एक ब्यवस्थित घरबगैँचा बनाउन पाएमा त्यहाँका पुजारी तथा सेवकहरुले नियमित रुपमा खानामा पौष्टिक तत्व पाउने थिए । पुजारीको कुराअनुसार त्यहाँका एक ब्यक्ति दर्जनौ वर्ष भयो फलाहारले मात्र जीवन चलाएको, जसलाई पनि जीउन सहज हुने थियो ।
वास्तवमै, यो क्षेत्र अमरगढीको एक सुसज्जित आलङ्कारिक बहुमूल्य गहनाको रुपमा रहेको पाइयो । यसको महत्व अवश्य पनि दिनानुदिन बढ्दै जानेछ भन्ने विश्वासमा छु । तर यसको प्रचारप्रसारमा भएको कमीलाई ब्यापकता ल्याउन जरुरी छ, जसले गर्दा विश्वभरिका हिन्दु धर्मावलम्वीहरुलाई आकर्षण गर्न सक्नेछ । कुनै पनि मठमन्दिरको महत्व त्यहाँ पूजापाठ गर्न जाने भक्तालुहरुको संख्यामा पनि भरपर्दछ, नकि कुनै जातजाति र धर्मको घेरा वा बार लगाएर । त्यसैले उग्रताराको दायरालाई फराकिलो बनाइ विश्वसामु परिचित गराउन त्यहाँ कुनै पनि धर्म वा जातजातिको लक्ष्मण रेखा कोरेर सीमित बनाइनु हुन्न भन्ने मेरो मान्यता छ ।
(उग्रतारा मन्दिर छेउ)
सूर्यले क्षितिजसँग मितेरी गाँस्ने बेला भएकोले कुर्दिनँ भन्न थाल्यो समयले हामीलाई । त्यसैले हामी पनि गोधुली साँझसँग लुटपुटिइ बस्ने बेलाको सङ्केत मिलेकोले मनमस्तिस्कले विदा नदिए तापनि सकिएन अल्झिन त्यो रमणीय, शान्त पुण्यभूमीमा । त्यसैले करिब एक घण्टाको बसाइपछि लाग्यौँ अमरगढी बजारको वासस्थानतिर ।
त्यहाँ पुग्दा रिमरिमिएको थियो समय । त्यसैले “जहाँ जानु बारी कर्कलोको घारी” भनेजस्तै कतिपय होटलतिर झोलुङ्गाका दृश्यहरुको कमी थिएन त्यहाँ । सायद, नेपालको कुनै कुना र कन्दराहरु यो अवस्थाबाट अछुतो र अपवाद छैन जस्तो लाग्छ । कतिले त मिर्मिरेमा भालेको डाँकोसँगै काउण्टर प्याक चलाउँदारहेछन् र पो सिँगौरी खेल्दारहेछन् डुग्रिँदै सडकमा । उनीहरुको मुखारवाणी नै लालमोहर, त्यसैले त्यस्ता ब्यक्तिको लागि कुनै पनि सिद्धान्त, कार्यविधि र पद्धतिको केही महत्व हुँदैन । यसको उचित किसिमले ब्यवस्थापनको लागि सरकारले विशेष नीति, नियम तथा कानून बनाइ चेतनामूलक कार्यक्रम सञ्चालन गरी कडाईका साथ नियम कानून अवलम्बन गर्नुपर्दछ ।
आज अलि भोक पनि लागेकोले र रातमा साथीहरुसँग धेरै लामो समयसम्म नबस्ने निर्णय गरी खानापीनतिर होटेलमा लागियो । तर त्यहाँ पनि उस्तै थियो वातावरण । धुमपान निषेध भनेर लेखिए तापनि भित्र पसेपछि त कुहिरोभित्र रुमल्लिएको कागजस्तो पो बनिन लागियो अनि उकुस मुकुस पनि । “अचानाको पीडा खुकुरीलाई के थाहा” भने झैँ उनीहरुले हाम्रो समस्या के बुझ्थे र । किनकि, उनीहरु त्यसरी नै रमाउन जमेका थिए त्यहाँ । केहि नियम कानून त छन्, तर सबै ढड्डामा सीमित भएकाले कार्यान्वयनमै समस्या छन् । अनि कसले मान्ने नियम कानून र बनाउने देश ? विस्तारै तुवाँलो हराउँदै गयो । हामी पनि खानापीन गरी लाग्यो विछ्यौना तताउन तिर भोली बिहान अमरगढी किल्ला दर्शन गर्ने अभिलाशा बोकेर ।
आजभन्दा करिब २० वर्ष अगाडि पनि अमरगढी किल्ला पुगेको थिएँ । तर त्यतिखेर अमरगढी किल्ला भने समय नमिलेको कारणले प्रवेश गर्न सकेको थिइनँ र “आकाशको फल आँखा तरी मर” जस्तै भएको थियो मेरो लागि । अनि खडेरीले जलेको पूmलजस्तो भएको थियो तन मन । भोको र प्यासी बन्दै बित्दैगयो कैयौँ वर्ष यो मनमोहक दुर्लभ स्थान अमरगढी किल्लाको मुहार खोली हेर्न । त्यसैले त निरन्तर रहर चल्दै लोभ्याइरहेको थियो मेरो मन । जसलाई यसरी पोखेको छु गजलका केही शेरहरुमा ।
अनायासै मन गलिरहेछ अमर ।
समयले पनि छलिरहेछ अमर ।
खडेरिले नासिँदा स्वप्नको बगैँचा,
फक्रिँदो पूmल नि जलिरहेछ अमर ।
छु भोको र प्यासी मुहार तिम्रो खोली हेर्ने,
त्यसैले त रहर चलिरहेछ अमर ।
साच्चै नै, यस पटकको यात्रामा भने यो धोको पनि पूरागर्ने सोँचाई थियो । त्यसैले, जुलाई १४ को दिन बिहानै साथीहरुलाई तताउँदै ७ बजेतिर मलगायत १० जनाको टोली लाग्यौँ अमरगढी किल्लातिर । त्यहाँ त प्रवेश समय विहान ९ बजे लेखिएकोले फेरी निकै नै निन्याउरो बन्यो यो अनुहार । तापनि एकपटक अनुरोध गरियो । हामीलाई भित्र प्रवेश गर्ने सुवर्ण अवसर मिल्यो । मनभित्र रङ्गी चङ्गी पूmलका वास्ना रङ्मङियो र फुरुङ्ग बन्दै प्रवेश टिकट लिएर हामी निकै नै सफा, छोँटो र सुन्दर नागवेली उकालो चढेर छि¥यौँ किल्ला भित्र । जहाँ छचल्कियो मनभित्रका शब्दहरु देखेर त्यहाँका मनमोहक दृश्यहरु ।
अमरगढी किल्ला त्यो घुमेर हेर्दा ।
रमणीय दृश्य हृदयमा बेर्दा ।
हर्षको सीमाले फुरुङ्ग जगत,
मन कति चङ्ग गुफाहरु फेर्दा ।
असफलताबाट सिकिकन पाठ,
भइयो सफल बीसाँै बर्ष ठेर्दा ।
धन्यवाद साथी गरायौ सयर,
दियौ कति ज्ञान कुराहरु केर्दा ।
हो, वास्तवमा हाम्रो सहयोगको लागि खटेका पोखरा घर भएका सेनाका एकजना गुरुङ् थरका भाइले हाम्रो जिज्ञासाअनुसार धेरै कुराको जानकारी गराउनुभयो हामीलाई । चारैतिर पर्खाले घेरिएको करिब ६,५०० फिटको उचाइमा अवस्थित अमरगढी किल्ला डडेलधुरा सदरमुकामकै उचो स्थानमा पर्दोरहेछ । यसको निर्माण श्री ५ रणबहादुर शाहको शासनकालमा राजकुमार बहादुर शाहको नायवीमा नेपाल एकीकरणको सिलसिलामा आजभन्दा करिब २२५ वर्ष पहिले वि.सं. १८४७ भाद्र ३१ गते आईतवार गोरखाली फौजले डोटी विजय हासिल गरेपछि त्यस ठाउँको सुशासनलाई सुदृढ र विस्तार गर्न अमरसिँह थापा त्यस क्षेत्रको प्रथम प्रशासकको रुपमा नियुक्त भएपछि निर्माण गर्न लगाइएको रहेछ । यसै ठाउँलाई आधार बनाएर अमरसिँह थापाको रणकुशलताले धौलीथानालगायत स्थानहरुमा सफलता हासिल गरेपछि वि.सं. १८७३ मा अंग्रेजहरुसँगको लडाईँमा पनि महाकाली वारीको संरक्षण भएको थियो । त्यसैले नेपालको सार्वभौमिकतामा यस किल्लाको सामरिक महत्व धेरै पाइन्छ ।
यो किल्ला कलात्मक तवरले ढुङ्गाबाट बनेको छ । उक्त किल्लाभित्र लडाई गर्न चारैतिर शैनिकका लागि गुफा बनाइएका छन् भने शत्रु छल्नसक्ने बाटाहरु पनि बनाइएका छन् । हिजोआज किल्लामाथि हुर्केका रुखहरुले यसको झनै सोभा बढाएको रहेछ । किल्लाको भित्रपट्टि भाग एक चक्कर लगाएपछि त्यहाँको बिच भागमा अवस्थित उग्रभैरव मन्दिरको पनि अवलोकन दर्शन गरियो । तर त्यहाँको सडक निर्माण कार्यले रानीको पानी लिन जाने भित्री सुरुङ् मार्ग भने ध्वस्त भइसकेको रहेछ, जसलाई जोगाउन सकिने थियो । सडक योजनाकारको अदूरदृष्टिको कारणले पूरातात्विक महत्वका सम्पदा नाश गरिनु निकै नै दुःखदायी हो । यस क्षतिको जिम्मेवारी कस्ले लिने त?
नेपालको जनयुद्धताका त्यहाँका ब्यापारी तथा ब्यवसायीको पैसा सङ्लन तथा संरक्षण गर्नको लागि यो किल्ला प्रयोग भएको कुराको पनि जानकारी पाइयो । अमरगढी किल्लाबाट दक्षिणतर्फ लम्बिएको बजार घना जङ्गलको माथि हुँदा त्यहाँको सुन्दरताको बयान गर्न पनि सक्दिनँ म । त्यसैले सकेको फोटोहरु खिच्नमै ब्यस्त भइयो । यसो वरपर हेरेको हामी ४ जना साथीहरु मात्र बाँकी रहेछौँ र अरुले त हामीलाई छाडेर गइसकेछन् । तापनि हामी निकै रमायौँ र हामीलाई यसरी लोभ्यायो कि,
अमर किल्लाको सयर गरियो आज ।
कस्तो बास्ना र मोहमा परियो आज ।
रीक्तताले सारङ्गीजस्तै थियो दिल,
मर्मस्पर्शी ज्ञानले सबै भरियो आज ।
तँ आँट म पु¥याउँछु भनेको सुन्थेँ,
खेलमैदानमा लुरे नि दरियो आज ।
वास्तवमा, यो किल्लाको सयर गरेपछि त हामीभित्र यसको मर्मस्पर्शी ज्ञानका शब्दहरु हाम्रो लागि दिमागी नक्शा नै बनेर बस्यो अब त । त्यसैले पनि कसैले अमरगढी किल्लाको कुरा गर्दा दह्रोसाथ पाईला टेकेर भन्नसक्ने भइयो ।
(अमरगढी किल्ला छेउ)
त्यहाँ अवस्थित हालको जिल्ला प्रहरी कार्यालय, ससस्त्र प्रहरी वेस क्याम्प र दूरसंचारको कार्यालय रहेको ठाउँ नै त्यतिखेरको सैनिक परेड खेल्ने मैदान हो भन्ने पनि भनाई रहेछ । वि.सं. २०४६ सालपछिको परिवर्तन पश्चात २०५४ सालमा उग्रतारा, घटाल, खलंगा, भूमीराज, रहश्रलिङ्ग गा.वि.स.हरुलाई ११ वडामा विभाजन गरी अमरगढी नगरपालिका निर्माण गरिएको पाइन्छ । हाल अमरगढी किल्लामा नेपाली सेनाका करिब २० जना सुरक्षाकर्मीहरुले सुरक्षा दिइरहेका छन् । नेपालको दुईवटा किल्लामध्ये पूर्वको सिन्धुलीगढी र पश्चिमको पूर्ण जीवित र आफ्नो छुट्टै पहिचानसहित रहेको ऐतिहासिक, पौराणिक, धार्मिक किल्लाका रुपमा अमरगढी किल्ला निकै नै लोकप्रिय छ । त्यसैले नेपाल सरकारले पूर्वको सिन्धुलीगढीलाई पनि अमरगढीजस्तै बनाउन सके झनै हाम्रा किल्लाहरुको महत्व बढ्न जानेछ ।
करिब एक घण्टाको सयरपछि साबिक कार्यक्रम सञ्चालन भएको होटलमा आइ नास्ता खाएर लाग्यौँ कक्षा कोठातिर जहाँ हामी दिनभरी नै ब्यस्त थियौँ । कार्यक्रम सकिएपछि पनि नयाँ साथीहरुको लागि नियुक्ति सम्झौता पत्र तयार गर्नमै म र भागरथी शाही करिब बेलुकी ८ बजेसम्म ब्यस्त भयौँ । आजै धनगढी फर्कने सुरमा बसेका हामी विविध कारणले त्यहिँ बस्न वाद्य भयौँ । जे होस् मेरो यो यात्रा धेरै कारणहरुले स्मरणीय रहेको छ । जीवनमा एकपटक अवश्य पनि डडेलधुराको महक चुम्नुपर्ने भन्ने लागेको थियो, त्यो अहिले पूरा भएको छ ।
सन्दर्भ सामग्रीहरु
१.अनका । अमरगढी किल्लाको एक झलक । अमरगढी नगरपालिका कार्यालय (अनका), डडेलधुरा ।
२.नयाँ विकल्प (२०१३) । उही सुन्दर पश्चिम फेरि एकपटक डडेलधुरातिर । नयाँ विकल्प डट विक्ली नेपाल डट कम । नोभेम्वर १३, २०१३ । http://nayabikalpa.weeklynepal.com/2013/11/13/article-item01384332757/ .








