एक पुरिया जीवनजल नहुँदा आमा गुमाउनु परेको त्यो क्षण

  • ईश्वर देवकोटा

522084_10150732678549151_1423164656_nनौ बर्षको उमेरमा अर्काको घर पठाए । पराई घर गा’को दिनदेखि दुनियाँको सेवा गर्यो । सराप खायो । जुठा भाँडा माझ्यो । भनाई खायो । आज मलाई सन्चो छैन, बिरामी छु भनेर सुत्न नपाइने । औषधिको नाममा तितेपाती थिचेर दिन पनि बुहारीले कतै न बल्ली भएर आफैलाई निमोठ्छे भन्ठान्ने सासुको शासनमा बुहार्तन धानेका हामी । वर्षेनी छोरा छोरी जन्मिए । छोराछोरी हुर्केका बेला दुई हल असारको मेलालाई खेताला खोज्नै नपर्ने आफ्नै छाउराले पुग्थ्यो ।  उबेला अहिलेका जस्ता गामगाममा अस्पताल, डाक्टर हुँदैनथे । घरका लोग्ने मान्छे स्वास्नी सुत्केरी हुने दिन पक्का पक्कि भो भन्ने थाहा पाए त्यो दिन घरमा भात खान फर्केर नि आउँदैन थिए । ‘जा बन तिर गएर पाएर ल्या’ भन्ने सासुपनि हाम्रै आँखाले देख्या भोग्या हो ।  अहिले मेरै नातिनीलाई घरकै कथा सुनाएँ भने ओठ लोप्र्याउँछे ।  पत्यार लागे पो ।

घरमा पाहुने आउँथे । घरका आइमाई मुख पर्दैनथे । घर ब्यबहार लेनदेनका कुरा छोरीबुहारीले पत्तो पाउदैन थे ।  बरु गाम्लेले कुरा काट्न थाले पछि थाहा हुन्थ्यो । हाम्रा नि राम्रा नाम हुन्थे । आफ्नै नामले बोलाउन कुनै लोग्नेले जानेनन् । जमाना कस्तो थियो अहिले अन्दाज समेत लाउन सक्दैन मान्छेले । माइतीमा बाउआमाले राखी देको नाम घर गए पछि सासुले अर्कै नामले न्वारन गर्न भ्याउँथिन । मेरै सासुको नाम “मथुरा” । उनको नाम मथुरा भन्ने मैले उनि बितेको एक बर्ष पछि श्राद्धमा पण्डितले ‘नानीको बाउलाई आमाको नाममा तर्पण दिनु’ भन्दा पो थाहा पाएँ । नत्र ठुली भन्थे सबैले । ससुरा बा जेठा भा’को भएर उनि उनकै सासुले रखिदेको नामले “ठुली” भाकी भन्ने मैले थाहा नै पाइन ।

मेरो बिहे गर्दा चप्पल लाउने चलन थिएन । एक बर्षपछि बाले तीजमा माइत जाँदा बेनिघाटबाट एक जोर चप्पल ल्याईदिए । त्यो लाएर घर आएँ । जीवनमा पहिलो पल्ट हो भुइमा नटेकी हिँड्न पा’को । चप्पल लाउनुपनि अहिलेका गामका आइमाइले पिलेन चढे जस्तो भो । त्यो बेला कालो रङ्गको जाली चप्पल थियो । घर पुग्ने बेला सासुले थाहा पाइन् भने मर्छिन भनेर लुगामा पोको पारेर बलै लुकाएर घर भित्र छिराएँ चोयाले बुनेको पेटारोमा लुगा फाटो राख्ने चलन थियो । त्यहि पेटारोमा लुगाफाटोले छोपिने गरि चप्पल लुकाएँ । बर्ष भरिनै त्यो चप्पल झिकेर लाउने आँट आएन । आओस पनि कसरी ? गाममा कसैले लाउँदैन थिए । पछि माइत जाँदा पिताम्बर काकाकी कान्छी छोरी बहिनिलाई दिएँ । फुरुक्क हुँदै उसैले लगाई ।

उबेला बुहारीले पाउने भनेको दशैमा खद्दरको घरबुना फरिया र एकसरो चोलो किन्दिथे । चप्पल त लोग्ने मान्छेले नि लाउँदैन थिए ।  गाममा नै जुत्ता सिलाउन लाएर ससुराबाले लाएर हिँड्ने गर्थे । छालाको जुत्ता छोएपछि सुन पानीले चोखिनुपर्ने, हामीले देखेको मात्रै हो कहिले छुन पाको होइन मैले आफ्नै बाउले किनिदेको चप्पल त अर्को एक बर्षसम्म झिकेर लाउन सकिन । अहिले म आफै कुर्तासुरवाल लाएर हिँड्छु भन्दा आफैले पत्याउन सक्दिन ।

बिहे गरेको तेस्रो बर्ष साउनको महिना थियो । यो बेला अहिले जस्तो रेडियो टिभी थिएन । खबर ल्याउने लाने डाँक अड्डामा मेरै बाका साइला काका छोरा नाताले दाई पर्ने कारिन्दा थिए । ति एक दिन हाम्रा घरमा आए । ससुरा बा सँग खै के कुरा गरे । बिहान भरि अगेनाको छेउमा, कुँडो पाकुन्जेल उनीहरुको गफ सकिएन । गफ’नि अरु बेला जस्तो थिएन । घरका जहानले समेत सुनलान् झैँ गरेर गुनगुन गरे । खानासाना खाए । सासुले हामी तिन’टि बुहारीलाई एकैचोटी खान बोलाईन् । बुहारीलाई मकैको च्याँख्लासँग अलिकति चामलको भात थालको छेउमा पस्केर दिने चलन थियो । पाहुनालाई दाल, तरकारी, अचार विचार, घिउ, महसमेत टक्र्याउने चलन थियो ।

चिनीको चलन थिएन । कान्छो देवर आठ कक्षा पढ्न टारको स्कुल गएदेखि घरमा चिनी ल्याउन थाले । अनि चियाको चलन बस्यो । त्यो पनि आइमाईले खाने हैन झैँ गर्थे । पाहुनाका अगाडी देखाउन चै दिन्थे । खाना खान बस्दा थालको च्याँख्लामा मकैको भुस राम्रोसँग नपखालिएको प्रष्ट देखिन्थ्यो । नरुची नरुची मुछ्यो । चिसो हुन्थ्यो । च्याँख्लाका कप्टेराले आफैलाई आँखा तरे झैँ लाग्थ्यो । मुछेर खान एक थरि तिहुन हुन्थ्यो । दाल पकाए अरु तरकारी पकाउने चलन पनि थिएन । मासको दाल र च्याँख्लाका कप्टेराले चिसोले सुलिएको पेट सहि नसक्नु दुख्थ्यो । खाना खाईसकेपछि सिधेनुन बिरेनुन पानी तताएर नखाए उभिने तागत हुँदैनथियो । घरमा खानेकुराको अभाव भएर यो सब भएको थिएन । हामीलाई गाम्लेले साहुकै बुहारी भन्थे ।

बुढा ससुराले तिन सरखारको पालामा दरबारमा काम गरेर नाम कमाका रे भन्थे । त्यै नामले ससुराले गाममा न्याय निसाफ गर्दै हिँड्दा र’छन् । खानदानी घर भनेर मलाई यो घरमा पारेका रे । खानदानी घरको खुवाई त यस्तो गरिब गुरुवाका कस्ता हुँदा हुन् जस्तो लाग्नी । दिउसो भोक लागेको बेला सासुले सम्झेर खाजा दिने कोहि कोहि दिन हो । खाजा दिएकै दिन पनि भुटेको मकै, फुलफुल चै लोग्ने मान्छेका थालमा हाल्दिन्थे । आइमाई जतिलाई ठेट्ना । दुई छाकको भरमा उभिएको ज्यानले आधा दर्जन छोरा छोरी हुर्काउनलाई दूधका लाम्टा चुसाउन पुगेकै थियो । ज्यानमा रस यत्तिकै आउने र’छ उमेरमा ।

काका दाई घरमा आ’को दिन सासुले हामी तिन’टि बुहारीलाई एकै पटक खाना पस्केर दिँदैमा मलाई अनौठो लागेको थियो । जर्जर पर्ने सासुको बोली फेरिएको थियो । लाग्दै थियो, दाइका अगाडी नखरा पारेकी हुन् । च्याँख्ला नरुचेपछि मोहीसँग मुछेर खाने गर्थें । मैले त्यो दिनपनि सासुसँग एक गिलास मोही मागें मुछेर खान । सासुले सिलबरको कचौरामा बिटमा औंला समेत राख्न नमिल्ने गरि दारको ठुलो ठेकोबाट मोही सारेर थालभन्दा अलि पर राखिदिइन् । लम्केर मैले तान्न खोजें । मोहीले भरिएको कचौरा समाउन खोज्दा खोज्दै चिप्लियो । मोही पोखियो । सासुले मुख फोरिन् । “यिनका भाग्यमा सेतो थोपा खाने लेख्या भा’पो हुनी । अर्काले द्या’नि टिपेर खान सक्दिन ।” मोही पोखिनु र मेरो भाग्यको के नाता थियो सोध्न मन थियो सासु सँग । तर सोधिन । खानेबेला सरापेपछि त्यसै त्यसै खान मन लागेकै थिएन । मुछेको भात छोडें । थाल टिपेर हिडें । मुछेको भात लगेर ताउलोमा हालें । मैले हरदिन फालेको च्याँख्ला दशैका लागि पालेर राखेको खसीलाई दिने गर्थें । माइली बुहारीको पुरापातले हुर्काको पाठो भनेर ससुरा बेला बेला गाम्लेलाई खसी देखाउँदै मलाई खिसी गर्थे ।

उता काका दाई ससुरा बासँग अझै कुरा गर्दैरहेछन् । मैले मुख चुठेको ठाउँमा नै गएर बोलाए –“ नानी तँ म सँग माइत जान पर्यो, लिन आ’को । बाले लिएर आइज भन्या छन् । बिरामी छन् । ‘छोरी भेट्छु’ भनेर बस्या छन् । दुई दिन बसेर आउलिस् । पुर्याउन बरु अरु कोइ नआए मै आम्ला । मैले बिदा माग्देको छु ।”

सात महिना भाथ्यो माइत नगा’को । बा हट्टाकट्टा नै थिए । एक्कासी दाइको कुराले मन चिसो भो । फेरी लिन नै पठाउने खालका बा आमा’नि हैनन् । कतै सार्है बिरामी हुन् कि भन्ने लाग्यो । मन आत्तियो । सासूलाई गएर सोधें –“दाई त मलाई लिन आएछन् । बा बिरामी छन् रे । जान के गर्नी होला ।”  सासुले ठाडो जवाफ दिईन् “गए भै हाल्यो नि, ढस्सा पार्न पर्छ ?” मैले त्यसैले अनुमति सम्झें । देउरानी र जेठानी मेलामा गए । म सँग बोल्दा नि बोलेनन् ।

दाईसँग म माइत हिंडे । बिहानभरि ससुरासँग बोलेका दाई मसँग बाटो भरि बोल्नै खोजेनन् । हिँड्दा नजिकपनि पर्दैन थिए । दाईको अनौठो ब्यबहारले म भित्र भित्र सशंकित थिएँ । तर सोध्न सकिन । घरबाट निस्कँदै १२ बजेको घाम ढल्केको हुनपर्छ । छायाँ पूर्वतिर सरिसक्या थियो । सरासर हिडे ४ घण्टाको बाटो हो माइत पुग्न । दाइले मलाई ३ घण्टा नै नपुग्दै माइती डाँडो टेकाएछन् । घडी थिएन हातमा । घर नपुग्दै बाटोमा ठुलोबा कि बुहारी भेटें । उसले पनि खुलेर बोलेझै लागेन । न सन्चो बिसन्चो सोधी न न केहि । “ए दिदि’नि आईपुग्नु भएछ ।” यति भनि टुलुटुलु हेरीरही । मैले ‘के छ त घर तिर’ भनें । उसले सुनिन वा सुनेर नि जवाफ फर्काइन । हिँड़ाईले थाकेकाले मैले दोहोर्याएर सोधिन पनि ।

दाई अलि पर पुगेर मलाई कुरिरहेका थिए । मैले ‘हिड्दै गर्नुस म आउँ’छु भनें । माइती गाम देखेपछि त्यसै मन फुरुंग हुनुपर्ने । तर त्यो पटक केहि फरक लाग्दै थियो । माइती घर नपुग्दै तिन चार जनाको संख्यामा आइमाइहरु गौंडामा बाटो बथानेर बसेका रहेछन् । म नजिक पुग्ने बित्तिकै काकीले हात समातिन् । ठुली आमाले मन थाम्न सकिनछिन् । डाँको छोडेर रोइन् । म झस्किएँ । के भै रहेछ कसैले मलाई बताएकै थिएन । मलाई लाग्यो बा साँच्चै सार्है बिरामी छन् । कि  मरिसके । मैले सोध्नपनि सकिन । कसैले भनेन पनि । मलाई घिसारे । तिन कान्ला माथिको घरको आँगन पुर्याउन ती आइमाइहरु जोडतोडले लागे । म सकेसम्म ज्यान छोडीरहेकै थिएँ । लाग्दै थियो, मैले सबै वास्तविकता थाहा पाईसकें । अब म किन त्यो घर जानु ? त्यो आँगन टेक्नु ।

आँगनमा पुगेपछि घरको पुर्व पट्टिको तुलसीको मोठ वरिपरी पोतेको देखें । रातो माटो र गोबरले । धुपको आधि जलेको ठुटो तुलसीको मोठ्मा सल्किरहेकै थियो । धुपको धुवाँले वरिपरीको वासनानै अर्कै थियो । मान्छेहरु केटाकेटीलाई नजिक नआउन् भनेर लखेटिरहेका थिए । पिताम्बर काका गाममा अलि हाट्टहुट्ट गर्ने गर्थे । त्यहाँपनि उनको पारा उही थियो । अरु सबै मलिन थिए । उनले एक्कासी भने –“छोराहरु कता गए लौ आमालाई बाहिर ल्याउन पर्यो । नानीलाई मुख हेर्न दिएर घाट लैजान पर्यो । भरे मलामी फर्किन रात पर्छ । बास बस्ने ठाउँ छैन “ मेरो शिरमा एकै पटक आकाश खस्यो । मैले टेकेको धर्ति भासियो । म जमिनमा लडें । मैले त्यस पछि धमिलो रङ्गीन तरंग मात्र अनुभव गरें ।  दृश्य देखिन ।  मान्छेका गुनगुन सुनिरहें ।  मान्छेहरुले मेरो शरीरमा पानी खन्याए । होशमा ल्याउन । वास्तवमा म पूर्ण बेहोस भने थिइन । मात्र मलाई त्यहाँ को कुनै चित्र हेर्नु थिएन । म सकि नसकी आँखा बन्द गरिरहने कोशिसमा थिएँ । धेरै बेरपछि त्यतिका मान्छेको सामु मेरो केहि लागेन । मलाई आँखा खोल्न बाध्य पारे । मलाई मेरै जन्म घरले किन यसरी ढाँटयो भन्ने लागिरह्यो । तैपनि कसैलाई सोध्न सकिन । म नबोली बसिरहें । आँसु पनि बहन छोडेको थियो । मन भित्र रिसको ज्वाला दन्किएको थियो आफनै भनौदाहरुमाथि । मेरा अगाडी आए भने निमोठी दिन्छु जस्तो लागेको थियो ।

आमालाई जलाएर साँझ मलामी फर्किए । सबैभन्दा अगाडी आइपुगेका बालाई मैले मुखै मुखमा थुकें । कसैसँग नबोली । एक्कासी । बाले मेरा हात च्याप्प समाते । दुईवटै । उनले दुई शब्द मात्र बोले “यो बौलाई, यसलाई थुन्देओ ।” यति मात्र बोले ।

हो म न बौलाई बस्नै सकेको थिइन । म साँच्चिकै सन्तुलन गुमेको सरह थिएँ । मलाई बेखबर राख्ने र ढाँटनेहरुलाई बाँकि राख्दिन भन्ने लागेको थियो । मलाई घरको पिढीमा एउटा खाटको छेउमा अँधेरो कुनामा लगेर राखे । अधेरो कुनामा बत्ति बालिदिनसम्म कसैले सम्झिएनन् । मैले अँधेरो कुनाबाट चिच्याएर बालाई बोलाएँ । “बा मेरो आमा फिर्ता लेउ । मेरो आमालाई कहाँ फालेर आयौ ।” ठुली आमाले मलाई हकारिन् – दिमाग नभाकी बौलाई । तेरी आमा खरानी भैसकी । गण्डकीले खाइसक्यो । बाउले काँबाट ल्याउँछ । नाटक गर्छेस चुप्प लगेर बस नकचरी कहिँ नभाकी ।” दाजुहरु केहि बोलेनन् ? उनीहरुलाई अर्को पिढीमा कोरा बारेर राखिसकेका थिए । लाग्थ्यो म त्यहाँ हुनु नै ठिक थिएन । म नै बोझ थिएँ । बाले मैले सुनोस् भनेर नै ठुलो स्वरमा बर्बराउदै भित्र बाहिर हिडेको देखें । बाले भनेको एउटा नमिठो वाक्य मुटुमा बिझिरह्यो । बाले फतफताउंदै भित्र बाहिर गर्दा भने “यो अर्काकी भैसक्या नासोलाई किन बोकेर ल्याउन पर्नी हो कुन्नि ! कहिले काम सकिन्छ र जान्छे अनि सन्चो हुन्छ ।”

मेरो छाती अब आँटले भरिँदै आयो । बाले जे भने ठिक भने जस्तो लाग्यो । म एक छिनपनि यो घरमा बस्दिन भन्नेमा पुगिसकेको थिएँ । मैले आफुलाई बन्धन मुक्त भएको अनुभव गर्न थालें । त्यसदिन देखि मलाई यो संसार कहिल्यै आफ्नो लागेन । यहाँ समाज भन्छ, छोरीहरुका जन्म घर र कर्म घर हुन्छ । बा भन्छन्- “उ अर्काकी नासो हो । उ एक दिन पराई घर जान्छे । फर्किने उसको कुनै अधिकार नै छैन ।” पराई घर पुगेकै दिन सासुससुरा भन्छन्- “दोश्रो घरबाट उ आएकी हो । उ अर्काकी सन्तान हो ।” म सँगै जवाफै नमिलेको एउटा प्रश्न छ -“भगवानले छोरीहरुलाई कुन घरका निम्ति यस धर्तीमा जन्म दिए ?”

म त भन्छु, छोरीहरु हो तिमीहरु सबै यस धर्तीका स्वतन्त्र चरा हौ । तर जसको कुनै पखेटा छैन । तिम्रो बास बस्ने कुनै आफ्नो बासस्थान छैन । तिमीले आफ्ना सन्तानलाई जन्म दियौ भने तिमीले बाहेक अर्कोले कुनै आश्रय दिन सक्दैन । आमा सृष्टिमा एक अंश हो जसले मात्रै आफ्ना सन्तानलाई आफ्नो भन्ने आँट गर्छे ।

मैले तेह्र दिनको काजक्रिया नसकिदै ठुली आमासँग आमाको मृत्युको कारण सोधें । आमा ‘पेट दुख्यो’ भन्दै सिकिस्त बिरामी हुँदा हुँदै साउन मासको मेलापात धान्दिरहिछिन् । लगातारको झाडापखालाले च्यापे पछि बल्ल घरका मान्छेले थाहा पाएछन् । त्यो समय, समय यति सम्म अज्ञान थियो कि गाउँका बैद्य भनाउँदाले पखाला लाग्दा झोलको नाममा पानी समेत खान हुँदैन भन्ने अर्ति दिएछन् । पानी खाए झन् बढी पखाला लाग्छ भनेकाले बाले एक थोपा सुनपानी समेत नदिदा आमाले धर्ति छाड्नु परेको रहेछ । आमाले अन्तिम पल्ट ‘छोरीको मुख हेर्छु । म अब धेरै बाँच्दिन’ भन्नु भएछ । लोग्ने मान्छेका बोलवाला चल्ने त्यो समयले आइमाईका कुरा सुन्दैन थियो । बेला छँदैं कसैले मलाई खबरसम्म गरेनन् । अहिलेको समय भएको भए एक कल टेलिफोनमा सन्चो बिसन्चो थाहा पाउने रहेछु । एक पुरिया जीवनजलले मेरी आमा बाँच्ने रहिछन् । यो सृष्टिमा एक अंश आमा मैले बेखबर गुमाउनु नपर्ने रहेछ ।

तपाइँको प्रतिक्रिया