नर्वेका भुटानी कती मनकारी
उनीहरु नेपाली भाषा बोल्छन् । तर नेपाली होइनन् । ति आफ्नै थातथालो गुमाएर सात समुद्र पारी पुग्न वाध्य भएका छन । भुटानी सरकारले तिनलाई जन्मथलोबाट खेद्यो । आफ्नै देशबाट ति रुँदै कराउँदै नेपाल आएर वर्षौं बसे । वर्षौं नेपाल बिताएका तिनको अली अली माया बसेपछी ति फेरी नर्वे पुगे । त्यहँ भाषा मिल्दैन । संस्क्रिती र परम्परा अलग छ । तिनले नर्वेमा धेरै पाखुरा खियाउनु छ, बाँच्नैका लागि । रुँदै रुँदै थातथालो गुमाएर नर्वे पुगेका तिनलाई आफ्नै जीवन भारी छ, गह्रुंगो छ । तिसित आफू जन्मेको थलो, आफू खेलेको आँगन छैन । आफ्ना छर छिमेकी र आफन्त टाढिएका छन् । आफ्नो सम्पत्ती र मेरो थलो भन्ने पनि छैन । तर पनि मनका धनी छन ति । तिनको आत्मा विशाल र फराकिलो छ । नेपालमा भूकम्पले सारा गुमाएका दुखी, निसहाय र कलीला वालवालिका सम्झेर, तिनको तस्विर देखेर नर्वेका नेपालीको मन भक्कानिन्छ । शायद आफ्नो थातथलो, आफ्नो घर गुमाउनुपर्दाको पीडा तिनले झन बढी महसुस गर्दा हुन् । त्यसैले, नर्वेको उत्तरी भागमा पर्ने अल्टामा बस्ने नेपाली भाषी भूटानीले मन खोलेर चेपाङ वालवालिकालाई सहयोग दिए । त्यसको माध्यम नर्वेमा बसेर पत्रकारिता, सामाजिक काम गर्दै आएका टेक गिरी बनेका हुन ।

त्यसो त टेक गिरी त्यहाँका भूटानी नेपालीलाई साथ दिने, नर्वेका विविध गाह्रा साह्रामा तिनलाई सहयोग र सुझाव दिने नर्वेमा भिजेका नेपाली हुन् । त्यसैले नेपाली भाषी भूटानीसित ऊनको सानीध्यता छ । नेपालमा भूकम्पले बिजोग
पार्यो भन्ने जानेका भूटानीले स्वतर्फूर्त रुपमै यो सहयोग (करीब ६४ हजार नेपाली रुपैयाँ) जुटाएर टेक गिरीमार्फत पठाए ।
टेक गिरीको फेरि आफ्नै बेदना छ । उनका आफन्तहरु मध्ये कसैको घर भत्केको छ । कसैको घर चिरिएर बस्नु र भत्काउनु भएका छन् । कतै आफन्त परेका छन् । यस्तो बेला उनले तिनलाईपनि साथ दिनै पर्यो । उता अन्य केहि संघसंस्थाले भूकम्प पिडितकालागि उठाएको आर्थिक अभियानमापनि साथ छोड्नु भएन । ति सबैतिर सहयोग गरेरपनी टेक गिरिले आफ्नी पत्नी र अल्टाका मनकारी बानिया परिवारको तर्फबाट यो रकम पठाएका हुन् ।
उनले रकम पठाएपछी भने ‘मेरा आफन्तकै घर भत्किएका छन् । कोही साथी दोलखातिर पिडितलाई सहयोग गर्दै हिँडेका छन् । तपाई (ददि सापकोटा) फ्रान्सबाट सबै छोडेर पिडितलाई सहयोग गर्दै हिँडेको देखेर साथीलाई साथ दिन, समर्थन जनाउनपनि यो सहयोग गरेका हौं । रकम सानो भएपनि समर्थन र साथमा छौं भनेर भावना देखाउन खोजेका हौं ।’
कहाँ जान्छ त यो रकम ?
यो रकम मध्ये १६ हजार मकवानपुर काँकडका चेपाङहरुलाई गएको सानीवार दिएको राहतमा खर्च गरियो । अब बाँकी रकम करिब एक सय बिस्थापित चेपाङ वालवालिकाको हेरचाह गर्न खटिने स्वयंसेवीलाई सानो सहयोगका रुपमा जाने छ । तिनलाई मासिक चार हजारका दरले एक वर्षको ४८ हजार रुपियाँ दिईने छ । यो रकम ह्यापिनेस नेपाल फाउण्डेशनका तर्फबाट मासिक रुपमा दिइने छ । यसो गर्नुको कारण के हो भने साना वालवालिकाहरु स्कूल जाने बेला कोही झोला, कोही किताब भुलेर पुग्छन । कोही ढिलो गर्छन् । कोही चेपाङ छात्रावासमा अनेक बिठ्याइँ गरेर, खेलेर बस्छन । लुगा लगाउन जाँदाइनन । पढ्ने बेला खेल्छन् । हो तिनलाई निगरानी गर्ने, असल कार्य सिकाउने र परिचारिकाको काम गर्न भनेर एक वर्षकालागि राखिएको हो । यो काम गामबेशी चेपाङ वालवालिअक संरक्षण केन्द्रको ब्यवस्थापना गर्दै आएका केपी शर्मा किरणको अनुरोधमा गरिएको हो ।
यसो गर्दा दोहोरो कल्याण भएको छ । यता गामबेशीलाई परिचायिका नभएर गाह्रो । उता अहिले परिचायिकाको रुपमा सहयोग गर्न गएकी मिरा महतो स्नातक तहमा पढ्न आर्थिक अभावले समस्यामा थिईन । आर्थिक रुपमा बिपन्न परिवारकी उनलाई क्याम्पसको फिस तिर्नपनि मुस्किल परेको थियो । अब यो सहयोगले उनलेपनि ढुक्कसित पढ्न पाउने छिन् ।









