धादिङ : घर बनाउने सामान पाईन्न वर्षा केले कटाउने ?
कास्कीबाट हिजो फर्के लगत्तै धादिङका पत्रकार साथी महिन्दो वाईवासित भेट भयो । फेसबूकमा । धादिङको अती बिकट सेमजोङ गाविसका ९ र ६ वडामा राहत नपुगेको । मानिसहरुलाई असाध्यै आपत परेको । बिकट भएकाले कोही नजाने । नुवाकोटसित सिमा जोडीएकाले यता धादिङको आँखा नपर्ने । उता नुवाकोटले धादिङका भन्ने । त्यसैले मारमा परेको रहेछ । वाईवाले यसो बताएपछि यता केही राहत दिने सल्लाह भयो । आजै पहिलो चोटी प्रत्यक्ष भेट भएका प्रकाश सुबेदीलाई आग्रह गरेर म यता आएँ ।
धादिङबेशी आउँदा छ बज्यो । पुरा घरहरु बुर्लुङ बुर्लुङ लडेका । मानिसहरुको अनुहारपनि निन्याउरो । जती सकिन्छ किलाकाँटी, छड, जस्ता लगेर घर छाप्रोसम्म हाल्न पाए हुन्थ्यो भनेर मानिसहरु धादिङबेशी झर्दा रहेछन् । तर सामान नपाईने । सामानको अभव रहेछ । अन्नपूर्ण पोस्ट दैनिकका धादिङ संवाददाता मनिष दुवाडीले असाध्यै मेहनत गरे । महिन्दो र दुवाडीले हामीले खोजेका सामान कहाँ कहाँ पाईन्छ भनेर खुब चहारे । सिलो बटुलेझैं पसल पसल पुगेर धातुको डोरी, डिटोल साबुन, चुना, घन लगायतका सामान खोज्न लागे महिन्दो र मनिष । खोजेजति सबै नपाएपनि धेरै सामान पाइयो । धादिङको अवस्था बुझियो ।
मेरा पुराना मित्र ध्रुब थापापनि यहीँ धादिङबेशीमा भेटिए । हार्डवेयर पसल चलाएर बसेका रहेछन् । उनलेपनि सामानकालागि सहयोग गरे, सुझाव दिए । बेलुका स्थानिय होटेलमा खाना खाइयो । होटेलमा थुप्रै युवाहरुको भिड थियो, खाना खाने । ति युवाहरु सबै भूकम्पले गरेको क्षतीका विविध क्षेत्रमा काम गर्न आएका रहेछन् । सामानको केही मेसो मिलाएर हामी महिन्दोको घरतिर लाग्यौं । लाईट बालेर झलुंगे पूल तर्नुपर्दो रहेछ । हामीले बिहान सबेरै सामान राख्ने गाडीमा । बिहानै सेमजुङ जाने योजना गर्यौं। । सेमजोङ पुग्न जम्मा ३० किमी छ रे । त्यती बाटो गाडीमा जाँदापनि तिन घण्टा पो लाग्दो रहेछ ।
सरकारले निर्माण सामाग्रीमा नियन्त्रण गर्ने भनेपछि सामाग्रीको झन अभाव भएको रहेछ । हार्ड वेयर पसल खोलेका ब्यापारी ध्रुव थापा त्यही सुनाउँदै थिए । सरकारले नियन्त्रण गरेपछि सामान जती एकै ठाउँमा थुप्रिने भयो । जिल्लाभरिका मानिस सदरमुकाम आउँछन । सामान्न पाइन्न स्थानिय पसलमा । न त सरकारलेनै फटाफट दिएको छ । पसलमा भएको भए चारैतिरका मानिसहरुले फरक फरक पसलबाट लिन्थे । भिडपनि कम्ती हुन्थ्यो । भनसुन गर्नपनि पर्थेन । ‘आखिर पसलेले पनि निर्माण सामाग्री खाने त होइन । तोकेको दरमा आवश्यक पर्नेलाई बेच्ने न हो । सरकारको यो नितिले त स्थानियले झन सामाग्रीनै पाएका छैनन् । वर्षा लाग्ने बेला भो अब झाप्रो बनाउनपनि जस्ता र अन्य सामाग्री नपाएपछी ति कहाँ बस्ने ?’ ध्रुव थापाले भने ।












