नेपाली खोज्दै जापानीले दिए सहयोग र समवेदना

  • छबि सापकोटा / जापान

chhabilal-sapkota-japanकेहि दिन अघि एकजना जापनीज मेरो रेस्टुरेन्टमा आउनुभयो| मैले ग्राहक नै सम्झेर उहालाई रेस्टुरेन्ट भित्र स्वागत गरे । रेस्टुरेन्ट भित्र छिरे लगत्तै आफ्नो शिष्टता प्रदशन गर्दै उहाले भन्नु भयो ” मलाई माफ गर्नुहोस् म अहिले लन्च खान आएको होईन । जापनीजहरु सानो कुरामा पनि कति नरम हुँदै अनुशासित बन्छ्न । यही अनुशासन र मिहिनेत नै जापनीज जनताको पहिचान हो । यिनिहरु आफु कहिल्यै पनि ठुलो हुन खोज्दैनन । अर्काकै गल्ति किन नहोस् सट्टामा आफुनै झुकेर माफ गर्नुहोस्, माफ दिनुहोस् भनेर उल्टो आफु सानो बन्दै फर्की फर्की टाउको झुकाउदै माफि माग्छ्न ।

रेस्टुरेन्ट भित्रै उहाले भाबुक स्वरमा भन्नु भयो ‘अप्रिल २५ तारिख  शनिबारको दिन हजुरहरुको देश नेपालमा आएको ७.९ रेक्टरको भूकम्पले हामी सम्पूर्णलाई मर्माहित तुल्याएको छ । यस दुखद समयमा मृत आत्माहरुको चिर शान्तिको कामना गर्दै मृतकको परिवार र आफन्तमा धैर्य धारणको कामना अनि सम्पूर्ण घाईते र पिडित परिवारलाई नेपाल सरकारले जति सक्दो छिटो राहत को ब्यबस्था मिलाइदियोस ।  हामीले टेलिभिजनमा देखेका दर्दनाक दृश्यले हामीलाई धेरै दुखि तुल्याएको छ ।

उहाका यिनै भाबुक शब्दले अगि सम्म हसिलो मुद्रामा बोलिरहेको  मेरो नेपालि मन मलिन हुदै आँशुमा परिणत हुन लाग्दा लाग्दै आफुलाई सम्हाल्ने प्रयास गरे| मेरो अनुहारमा देखिएका मलिनताको धब्बालाई उहाले पढी सक्नु भएछ र भन्नु भयो । यस्तो जटिल परिस्थितिमा धैर्यता र हातेमालो बाट नै चोट र ब्यथाहरु टाढिदै जान्छन ।  त्यसैले धैर्य गर्नुस यो नै महानता हो| उहाको सम्बाद संगै मैले हाई हाई (संवादको बेलामा हामीले हजुर हजुर भने जस्तै शब्द) गर्दै अगि बढियो ।

उहाले भन्नु भयो  ‘२०११ मार्च ११ मा जापानमा आएको ९.० रेक्टरको महाभूकम्प र यस्ले निम्ताएको सुनामीले पनि जापान र जापानी जनतालाई ठुलो क्षति पुर्याएको छ ।  त्यसैले दैबी प्रकोपको पिडा कस्तो हुन्छ भन्ने कुरा जापानी जनता र सरकार दुबैलाई राम्रो अनुभब छ ।  आज नेपालको यस दुखद घडीमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा सरकार, बिभिन्न संघसंस्था , र व्यक्तिगत रुपमा पनि धेरै सहयोग प्रदान भैसकेको छ । हाम्रो जापान सरकारले पनि ठुलै धनराशी र उद्दार टोलि पठाएर नेपाललाई सहयोग गरेको छ तपाईलाई थाहा नै होला ।

उहाको यी शब्दलाई म एक नेपालिको नाताले जापान सरकारले गरेको सहयोग प्रति एक जापानी नागरिक समक्ष धन्यबाद प्रकट गरे| हाम्रो एकछिनको संबाद पछि उहाले आफ्नो झोला बाट एउटा खाम निकाल्दै मेरो हातमा थमाउनु भयो| बन्द खाम हातमा लिदै मैले सोधे होईन हजुर यो के को पत्र हो ?

उल्टो खामलाई सुल्टो पार्दै म तिर देखाउनुभयो । खामको बाहिर पट्टी भुकम्प सम्बेदना लेखिएको रहिछ र त्यस्को ठिक तल तान्माची टाउन सबैले लेखिएको थियो । उहाले यी शब्द गुगलबाट ल्याङ्ग्वेज ट्रान्स्लेट गरी लेखेको हो, यस्को अर्थ ठिक छ ? भनेर सोध्नु भयो । मैले मलिन मुद्रामा ठिक छ भने ।

उहाले भन्नु भयो ‘तपाई हाम्रो शहरमा ब्यापार गरेर बस्ने बिदेशी भए पनि हामी सबै मानब हौ , हाम्रो सबभन्दा नजिकको नाता भनेकै  मानबता हो| मानब भएर मानब लगायत सम्पूर्ण सृष्टिको दुख नबुझ्ने व्यक्त्ति मानबको रुपमा मानब मुकुण्डो धारी दानब हो । ति जापनीजको यो बिचार सार्है राम्रो लाग्यो मलाई । मैले उहाले दिएको खाम हातमा खेलाउदै मनमनै सोचे यस खाम भित्र हामीलाई सान्त्वना र धैर्यताको लागी लेखिएका कुनै पत्र होला | अनि मैले उहालाई सोधे ‘मैले त जापनिज पढ्न जान्दिन कुनै साथीलाई पढ्न लगाएर मैले यस्को अर्थ बुझौला भने ।

उहाले भन्नु भयो ‘अर्थ बुझ्न त्यति गाह्रो छैन’ उहाले आफै खाम खोलेर देखाइदिनु भयो । खाम भित्र त जापानी येन ¥२००००|- ( झन्डै नेपाली १६३५४ रुपिया जति) पो रहेछ । म झसंग भए र सोधे ‘ओहो……हजुरले यति धेरै सहानुभूति देखाउनु भयो हाम्रो लागी यो नै काफी छ । हजुरले दिएको यो पैसा म कसरी स्वीकार गरु ? तपाईले मलाई कुन आधारमा यति धेरै पैसा दिनुहुन्छ ? के तपाईलाई बिश्वाश छ यो तपाईले दिएको पैसा मेरो हातबाट नेपालका भुकम्प पिडितको हात सम्म राहत बनि पुग्छ ?

मेरा सारा प्रश्न अविछिन्न सुन्दै गए पछि उहाले जबाफ दिनु भयो ‘ तपाईकाे देशमा घटेको दैविक घटनालाई जापान सरकारले जति राहत रकम र उद्दार टोलि खटाएर सहयोग गर्यो यो सम्पूर्ण जापानीजको साझा सहयोग हो । तर यो सहयोग हामी तपाईको छिमेकीको नाताले हाम्रो यो तान्माची क्षेत्र भित्रका घर घर बाट उठाएर तपाईको देशका केहि पिडितलाई भएपनि खाना नपाएका, बस्न नपाएका, रोगले ग्रसित बिरामीलाई एक छाक खाना खुवाउनु होस् । जतिलाई पुग्छ एक एक वटा लुगा लगाइदिनुहोस , रोगले बाटोमा छटपटि  रहेकोलाई अस्पताल सम्म पुर्याइदिनुहोस भन्दै मानवताको हिसाबले गरिएको सहयोग हो ।

मेरा बाँकी प्रश्नको उत्तरमा उहाले भन्नु भयो ‘हामीलाई बिश्वास छ यो पैसा पक्कै नै पिडितको हातमा पुग्छ ।  किनकि तँपाई नेपाली हुनुहुन्छ । तपाईहरुमा ईमान्दारिता छ, तपाईहरुमा  आत्मसम्यता छ ।  तपाईहरुमा  एकरुपता छ ।  तपाईहरु गरिब हुनुहुन्छ तर मिहिनेति र स्वाबलम्बी हुनुहुन्छ । नेपालीको इमान्दारिता र बहादुरीताको कदर गर्दै मैले नजानेको गोर्खाली फौजका एतिहासिक कथाहरु सुनाउन लाग्नुभयो ।

उहाले भन्नु भयो ‘हामीले समाचार र पत्र पत्रिकामा पनि देखेका छौ यस्तो विपतको घडीमा नेपालीहरु कति सौहाद्र तरिकाले हातेमालो गर्दै सहयोगको लागि अगि बढेका छन । यो तपाईहरु नेपालीको एकरुपता र हातेमालो सदैब यस्तै रहिरहेमा भोलिका दिनमा नेपाल पनि छिट्टै बिकाशको गतिमा दौडन सक्छ । उहाले जापानमा बस्ने नेपालीले भुकम्प पिडितको लागि गरेको राहत संकलनको हिर्दय देखि नै प्रसंशा गर्दै भन्नु भयो ‘तपाईहरु धेरै मिहेनेतिला हुनुहुन्छ ।  आफ्नो देश र अरु नेपालीको समस्यालाई आफ्नै समस्या झैँ बुझ्नु भएको छ ।  देख्छु तपाईहरु बिहान आफ्नो डिउटी शुरु हुनु भन्दा अगि पनि डोनेशन बक्स लिएर स्टेशन स्टेशनमा सहयोगको अपिल गरिरहनुहुन्छ । दिउसोको रेस्ट समयमा पनि साथीहरु जम्मा भइ पुनः सहयोगको अपिल गर्दै स्टेशन स्टेशनमा बस्नुहुन्छ । हामीलाई यो एकरुपता धेरै मन पर्यो ।  त्यसैले मलाई बिश्वास छ हामीले दिएको यो पैसा पक्का नेपाल पुग्छ र पिडितको हातमा राहत बन्दै केहि हदसम्म भएपनि भए पनि पिडितलाई साथ दिन्छ । यति भने पछि उहा बिदा माग्दै जानु भयो| मैले पनि दशौ पटक झुक्दै  आरिगातोउगोजाइमास आरिगातोउगोजाइमास ( धन्यवाद ) भन्दै बिदाई गरे ।

म त्यहि खामलाई ओल्टाई पल्टाई हेर्दै सोचे  । मैले पनि एउटा राहतकोषको नाममा अलिकति रकम संकलन गरेर पिडित सामु पुर्याउन पाए हुन्थ्यो भन्दै सम्पूर्ण साथीलाई फोन खबर गर्दा धेरैले आफ्नै समस्या महान सम्झे । आफुलाई त कस्ले देयोस भन्ने तुच्छ शब्द समेत बोले ।  फेरी फेरी गरौला नि अहिले मलाई नै समस्या छ भने ।  मैले कसैलाई वाध्य पारिन । सहयोग भन्ने आफ्नो मनले दिने कुरा हो । आफ्नो मन खुलाएर दिएको सहयोग एक पैसा र एक मुठ्ठी राहत पनि पिडितको लागि महान लाग्छ । यस्तो जटिल परिस्थतिमा सहयोग गर्न मन नआउने साथिमा पक्कै मानवता छैन झैँ लाग्यो । कति साथीले के बहाना बनाए ।  कतिले के के भने | तर सबैको मनको अध्यन गर्न पाइयो । यस्तो  बिकट परिष्थितिलाई सामान्य सम्झेर फेरी फेरी गरौला भन्ने साथीका मनमा कुनै एकदिन मानवता पलाओस भन्ने कामना गरे ।

आज नचिनेको जापनिजले मलाई खोज्दै भुकम्प पिडितको हात सम्म पुगोस् भन्दै आफुले आफ्नो टोलबाट संकलित रकम म सामु आएर जम्मा गराउनु भयो तर आफ्नै नेपाली साथीहरुको मन देखेर मलाई कता कता आफैलाई लाज लाग्यो ।

तपाइँको प्रतिक्रिया