सहयोग बटुल्दै विश्वभरिका नेपाली
विश्वभरिका नेपालीहरु यतिखेर नेपालमा बिपत भोगेका नेपालीहरुलाई राहत बटुल्न जुटेका छन् । भूकम्पको विनास थाहा पाउनासाथ स्वतस्फूर्त रुपमा प्रवाशी नेपालीहरु राहत संकलनमा जुटेका हुन् । कोही संस्थागत रुपमा जुटेका छन् भने कोही ब्यक्तिगत । कोही सांगठनिकरुपले राहत संकलन गरिरहेका छन् । कसैले केही राहत उठाए । तर फेरिपनि उठाउने तयारीमा छन् । एन आर एन अध्यक्ष शेष घलेका दम्पत्तीले दुई करोडको घोषणा गरे । त्यस लगत्तै एन आर एनका पूर्व अध्यक्ष जिवा लामिछानेले २५ लाखको घोषणा गरे । यसपछि बाँकी नेपालीहरुमापनि थप जाँघर भरिएको छ । प्रेरणा र जिम्मेवारीको बोध गरेका छन् । अमेरिकामा ज्याक्सन हाईटमा नेपालीले समूहमा मिलेर सहयोग जुटाइरहेका छन् ।
उता बेल्जियममा नेपाली मूलका युवायुवतीहरु मिलेर ब्यक्तिब्यक्ती पिच्छे सहयोग लिईरहेका छन् । पेरिसका नेपालीले हिजो पेरिसस्थित नेपाली दुतावासमा सामुहिक छलफल गरेर केहि रकम ज्म्मा गरे । स्विजरल्याण्डमा आफ्नै किसिमले केही संघ संस्थाहरु लागिपरेका छन् । त्यसैगरि अफ्रिकी मुलुक नाईजेरियाका नेपालीले पाँच हजार डलर उठाए । तान्जानियाकाले चार हजार डलर । अफ्रिकी महादेशका लागि एन आर एन संयोजक हिक्मत थापाको नेत्रित्व र सक्रियतामा केन्यामापनि सहयोग रकम उठाउँदै छन् । अष्ट्रेलियामापनि सहयोगका लागि टोली बनेको छ ।
नर्वेको ओस्लो निवासी नेपालीले हिजोबाट त्यहाँको रेडक्रससित मिलेर केही ठाउँमा सहयोगकालागि आग्रह गरेको छ । आज त्यहाँका नेपालीहरु फेरी जुट्दै छन् । स्पेन, पोर्चुगल, बेलायत, फिनल्याण्ड, डेनमार्क लगायत धेरै देशका धेरै ठाउँमा नेपालीहरु जुटेका छन् । हिजो फ्रान्सका नेपालीहरुले करिब दुई हजार दुई सय युरो उठाएको जानकारी प्राप्त भएको छ । आज फेरी छलफल गर्ने निधो गरेका छन् । जर्मनीका नेपालीहरुले १५ लाख उठाएका छन् । त्यहाँ शरण केसी लगायतका युवाहरु सकृय देखिएका छन् ।
जापानमा एन आर एन का पूर्व अध्यक्ष र हालका मुख्य संरक्षक देवमान हिराचननै भएकाले पक्कैपनि केही सहयोग नउठिछोड्दैन । बेलायतबाट राम्रै सहयोग जुट्ने पक्का छ । जहाँ जहाँ नेपाली छन् त्यहाँबाट केही न केही त पक्कै उठ्छ । बेल्जियममा बिभिन्न संस्थाले छुट्टाछुट्टै उठाइरहेका छन् । एन अर एन बेल्जियमलेनै १० लाख जम्मा पार्ने बताएको छ । शेष घले उद्दार टोली लिएर काठमाडौं जान लागेका थिए । तर विमानस्थल बन्द भएकाले उनी पुग्न सकेनन् । यो बिपतको बेला आँफैं सरिक नभए जिवा लामिछनेको मनलेपनि मान्ने छैन ।
त्यसैगरि स्विसजरल्याण्ड, फ्रान्स, बेलायत, बेल्जियम, भारत, चिन, इजरायल लगायतका मुलुकमा रहेका मानविय संस्थाहरुले त सरसामानसहितको टोली लिएर गैसकेकै छन् । केहि दिनमा नेपालीहरु पुगेका देशमा थप सकृय पक्कै हुने छन् । नेपालीहरुको बानी यस्तो छ, जतिसुकै समूह, राजनीति, जातपात र अनेक खेमामा बिभाजित भएपनि आपतबिपतमा सबै भुलेर एक जुट हुन्छन् हुन्छन् । त्यो नेपाली पहिचान हो । त्यसो नगरेसम्म नेपाली बाँच्नै सक्दैनन् ।
बिदेशमा दु:खजिलो बसिरहेका कतिपय नेपालीको नेपालमा घर भत्किएको छ । परिवार कता छन् पत्तो छैन । परिवारका सदस्य गुमाएका छन् । रपनि शोकलाई शक्तिमा बदलौं, अरुलाई सहयोग गरौं भन्दै सहयोगका हात फैलाएका छन् । यसरी सोच्ने विश्वमा धेरै देशका नागरिक छैनन् ।
तर अमेरिका निवासी ससाङ लामाले फेसबुकमा ब्यक्त गरेको यो चिन्तापनि जायज छ । यसमापनि ध्यान दिनै पर्छ ।
देशमा मात्र देश दुखेको छैन, बिदेशमा पनि देश उतिकै दुखेको छ। आज न्युयोर्कको ज्याकसहन हाइटमा जो नेपालीसित भेटेपनि ” लौ न केहि गरौँ भुकम्प पिडितहरुको लागी ” भन्ने थुप्रै भेटीए भने ” हाम्ले उठाएको पैसो कसैले क्वाम्म पार्यो भने के गर्ने “भनेर शंका पनि प्रकट गरे । पैसा दिन सबै तयार छन् । तर बिचौलियाले बिचमै बाँङ्बुङ् पारिदेला र राजनीति गर्नेहरुले हामीले दिएको पैसामा जस लेला भन्ने पिर पनि रहेछ । ज्याकसहन हाइटको डैभर्सीटि प्लाजामा आज न्युयोर्केली प्रवासी नेपालीहरुले नेपाल सम्झे । भूकम्पमा परि दिवंगत हुनेहरुको आत्माको चीर शान्तीको लागी मैनबत्ती बालेर दुइ मिनट मौन धारण गरे । राजनीति मिसिएको अन्य कुनै सभा समारोहमा कहिल्यै भाग नलिने हेलम्बुका (ह्योल्मोली) युवाहरुले आजको शोक सभा आयोजना गरेका थिए । मंचाशन, प्रमुख अतिथि, आसन ग्रहण ,भाषण आदि, इत्यादि केहि थिएन । मेरो छेउमै उभिएका एकजना महिला भक्कानिएको आवाजमा कसैसंग बात मार्दै थिइन । उनि मात्र होइन उपस्थीत नेपाली जनसमुदाय निदाउरो देखिन्थे !
(फोटो- पहिलो, यसु थापा (बेल्जियम) तेस्रो- ससाङ लामा (अमेरिका) र दोस्रो थाहा हुन सकेन, सबै फेसबुकबाट लिएको हो)








