सम्मान मात्रै लिने की सामाजिक दायित्वपनि बहन गर्ने ?
- भोला लामिछाने
भनिन्छ, मानिस सामाजिक प्राणी हो । ऊ समाज बाहिर टाढा रहेर बाच्न सक्दैन । उसको जिवनको शुरूदेखी अन्त्यसम्म समाजमा हुने हरेक गतिविधिले प्रतक्ष्य वा परोक्ष रूपमा प्रभाव पारिरहेको हामी सबैले अनुभव गर्दै र भोग्दै आएको कुरामा खासै बिवाद छैन । अहिले उठान गर्न खोजिएको विषय समाजलाई हामीले के दिन सक्यौ ? समाजले हामीलाई के सिकायो ? के साच्चिकै हामीले हाम्रो समाजलाई सोचेजस्तो बनाऊन सक्यौ ? के समाजले हामीलाई दिएको ज़िम्मेवारी पुरा गर्न सक्यौ ? किन हामी चुप छौ ? मौन छौ ? किन हामीले समाजमा भएका, घटेका हरेक घटनालाई गम्भिररुपमा रूपमा लिदैनौ ? लिन्छौ केवल समाजले कहिले सम्मान गर्ला, सबैको भिडको अगाडी सम्मान गर्लान् अनी आफु ठुलो भएर समाजमा गर्वको महशुस गरौला ।
हामी आफ्नो स्वार्थ पुर्ती गर्न र कसैले सम्मान गर्दै छ भने रातारात भ्याई नभ्याई समय निकालेर तछाड मछाड गर्दै सभा सम्मेलन गर्दछौ । तर त्यही समाज जसले तपाई हामीलाई सम्मानको पगरी गुथाएको छ, त्यस भित्र पिडामा परेर रोई कराईरहेको, आफ्नो जिन्दगीको सवालमा वेदना प्रकट गर्दै गरेको तथ्यलाई वेवास्ता गर्नु, वास्तविकता के हो भनेर बहस नगराउनु भनेको आखिर के ? के हामीले साच्चिकै समाजप्रतिको दायित्व पुरा गर्यौ त ? एक छिन सेच्नुस त ! तपाई हामी सबैको साझा समस्या होईन यो ? भाषण गर्दा हामी ठुला ठुला दर्शन छाट्छौ । आफु जत्तिको जान्ने सुन्ने कोहि छैन भन्ठान्छौ । समाजका हुने गरेका असल ख़राब गतिविधि छुट्याउने के हामीमा सामर्थ्य नभएको हो ? अब सोच्न पर्ने अवस्था आएको छ ।
हो वास्तविकता यही हो । तपाई हामी सबै सबै क्षेत्रमा जानाकार हुन्छौ भन्ने नै के छ र ? हरेक क्षेत्रमा सबै जानकार भए र पुग्ने भए कसैलाई कसैको मतलब नै हुदैनथ्यो होला । सबै आफुलाई परिआउने काम र समस्या आफै सुल्झ्याऊथे होलान्, यो समाजमा, यो संसारमा ! त्यसैले एकआपसी सहयोग लेनदेन गर्नु परेको होला यो जगतमा । यसरी समाजमा हरेक थरीका ब्यक्ती हुन्छन् र आपसी लेन देन कार्यहरू चालिरहन्छन् । चलाउनुपनि पर्छ । अनी समाजमा असललाई मात्र साथ दिनुपर्छ । सम्मान गर्नुपर्छ । खराब तत्वलाई पहिचान गरी कारवाही पनि हुनुपर्दछ र गर्नुपर्छ । यो समाजमा रहेका हामी सबैको दायित्व हुन आउछ होईन र ?
(लेखक नेपाली वेभ मिडिया यूरोपका यूरोप कोर्डिनेटर हुन् ।)





