रातो कभर भित्र छटपटिएको नेपाली राहदानी
- लक्ष्मण थापा / नेदरल्याण्ड
एक सेकेन्ड पनि मलाई घण्टा लागिरहेको थियो । एक घण्टा एक दिन । म जहाज उड्ने समयको प्रतिक्षामा बसिरहेको थिएँ अति नै ब्यस्त आम्स्ट्रडामको स्सिफुल एयरपोर्टमा । मिनट मिनटमा जहाज उडिरहेका थिए । प्रत्येक उड्ने जहाजमा मेरो मन उडिरहेको थियो । आँखाले कोहि नेपाली भेटिन्छकि भनेर । थिए, तर आँखाले भन्दा पहिला मेरा कानले भेटाई दियो मोबाइलमा कुरा गर्दै मै तिर आइरहेका एक महाशय । म हार्दिकताका साथ् नमस्कार गरें । उनले सहर्स स्वीकार्दै नमस्कार फर्काएर मेरो परिचय मागे । उनले आफ्नो परिचय दिन खोज्दै थिए, बिचैमा मैले चिन्छु भन्ने जवाफ दिएँ । उनि निकै खुशी भए । नहुन् पनि कसरी अनेक नाममा खोलिएका संघ संस्थाका कुर्चीका उम्मेदवार अनि भाँडा माझ्न छाडेरै पनि नेपालबाट आउने नेताको अघि पछि गर्ने नेता न थिए । त्यसकारण उनले नचिनेनी मैले उनलाई चिनेको थिएँ ।
हाम्रो यो छोटो परिचयसंगै आम्स्ट्रडामदेखि टर्की जाने जहाजको बोर्डिङ्पास खुलेको माइकिंग हुन्छ । हामी लाईनमा बस्यौं र जहाज चढ्यौ । मान्छेको जात न हो मेरो मन भने उनले हातमा च्यापेको रातो राहदानीमा लोभिरह्यो । तर उनि मलाई नचिनेका कारण म संग बोल्न आतुर थिए । तर हाम्रो सिट फरक थियो । संगै बस्ने इच्छा हुँदाहुँदैपनि सिट छेउमा सेता परेवाका जोडी जस्ता खैरे खैरेनी भएका कारण फरक सिटमा बसेर टर्कीका लागि उड्यौ । हामी दुबैको गन्तब्य भने मातृभूमि नेपाल नै थियो । साँढे तीनघण्टा जति खुल्ला आकाशमा उडेपछि स्तान्बुल एयरपोर्टमा ओर्लियौं । नेपाल जाने जहाजका लागि भने चार घण्टा कुर्नुपर्ने थियो । यहि मौकामा युरोप आएर भोगेका दु:ख सुख र युरोपको ग्रीनकार्ड बनाउन झेल्नु परेका अनेकन उतार चडाबका बारेमा हामी बिच केहि भलाकुसारी भए ।
मलाई उनको नाम थाहा थियो । बेला बेलामा हुने नेपाली कार्यक्रमका बेला भाषण गरेको सुनेको थिएँ । देखेको थिएँ । तर गोरेनीसंग बिहे गरेर ग्रिनकार्ड बनाएको कुरामा भने म अनविज्ञ थिएँ । उनले आफ्नो रोचक अनि दुखदायी कहानी यसरी सुनाए ।
बिहे गरेको केहि महिनामै युरोप छिर्ने मौका जुर्यो । नयाँ बेउली भएपनि युरोप आउने केटासंग बिहे भएकोमा उनि कति धेरै खुशी थिइन् । उनलाई बिहे गरेको केहि महिनामै युरोप आउन पाउँदा कति लच्छिनकि मेरी पत्नि भन्दै उनि भन्दा धेरै खुशी म थिएँ । तर उनको खुशी त केहि वर्ष टिके होलान । त्यो गाउँमा युरोप आउने म मात्र थिएँ । मेरो खुशी भने युरोप टेकेकै दिन देखि टुटे । मैले देखेको विदेशको सपना उल्टा हुन थाले । मैले देखेको यूरोप उल्टो घुम्न थाल्यो । कहिले शरणार्थी शिबिर त कहिले जेल । यसै गरि बर्षौ बिते ग्रीन कार्ड बनाउने चक्करमा । उता भने बर्षौसम्म न पैसा न मान्छे जाँदा ‘खैरेनी च्यापेर बसेको छ होला किन आउँथ्यो’ भनेर छिमेकीले श्रीमतीको कान भरिदिदा रहेछन ।
हाम्रो फोनमा रात दिन झगडा चल्न थाल्यो । मेरी आमाले तेरी श्रीमती पँधेरामा फलानोसंग मस्केकी थिई भन्दा, हाम्रो झगडाको आगोमा आमाले थपेको यो घिउले आगो झन् दन्कियो । यो रातदिनको झगडामा ग्रिनकार्ड बनाउनका लागि छोडपत्रको कागज माग्नुपर्ने भयो । यस्तो घडीमा कस्का बुडिले पो देलान र ? तर यो बाटो बाहेक मेरा सामु अरु कुनै बाटा थिएनन् । न त म संग नेपाल फर्कने आँट थियो किनकि यूरोप आउँदाको ऋणको ब्याजले आकाश छोएको थियो । त्यसकारण फोनमा बुडीलाई त्यो कागज नपठाए कहिल्यै नफर्कने घुर्की सुनाएँ । अनि मेरा फोन, फेशबुक, इमेल आइडी सबै बन्द गरेर अबला श्रीमतीलाई मेरो बहादुरी देखाएँ । तर आफ्नो कुमारीत्व लुटाईसकेकी, सातफेरोमा अनेकन कसम खाएकी नारीको मन न हो । मैले गरेका सबै घुर्की न थिए ।
मैले एक महिना पछि पहिला फेशबुक खोलें, मेसेज बक्समा मेसेज कति हो कति ।
पहिलो मेसेज : हुन्छ राजा
दोस्रो : भोलि बनाउन जादै छु राजा
तेस्रो : आज बनाएर ल्याएँ राजा
चौथो : हजुरलाई बिश्वास नलागे स्क्यानिङ्ग गरेर पठाएकी छु । इमेल खोलेर हेरिसिओस राजा ।
उनि अझ अरु सुनाउन खोज्दै । टर्कीदेखि नेपालका लागि जहाज उड्ने समय भएको माइकिङ्ग हुन्छ । बोर्डिंग पास देखाउन लाइनमा बस्छौं । मेरो लोभी मन फेरी ती महाशयले हातमा च्यापेको रातो राहदानीमा पर्छ । म अलि गौड गरेर नियाल्छु । यति खेर मेरा आँखाले नेपाली राहदानीमा रातो कभर लगाएको देख्छ । अनि म झस्किन्छु जति बेला उनिसंग युरोपमा बस्न पाउने कुनै आधिकारिक कागजात थिएन । तर उनि एन आर एनको जिम्मेवार पदमा आसिन भएर दोहोरो नागरिकता र एन आर एनको उद्धेश्यको बारेमा लामो भाषण गरेको स्मरण गर्छु । अनि मेरो कानमा उनको लामो भाषण गुन्जीन्छ । आँखाले भने टुलु टुलु रातो कभर भित्र छट्पटिरहेको नेपाली राहदानी हेरिरहन्छ । उ कता कता चिच्याईरहेको थियो, तर उनका ति कठोर हातले कतै भाग्छ कि भने जस्तो गरि च्यापिरहेका थिए । उ भन्दै थियो म तिम्रो साथमा हुदा तिमि मलाई देखाउन लाज लाग्छ । मलाई नफालेपनि हुने ठाउँमा तीमी फाल्न खुसी हुन्छौ । बार बार मलाई च्यात्छौ । म नच्यातिदानी च्यात्न बल लगाउँदा तिमीलाई रत्तिभर डर लाग्दैन । फेरी तिमीसंग म नहुँदा खै किन मेरो आबश्यकता हुन्छ र चाहियो भनेर कुर्लन्छौ ? उ जवाफ खोजिरहेको थियो ।
यो चिच्याहट ती महाशयले सुने या सुनेनन्, मलाई भने घोचीरह्यो । मैले पनि त यसलाई धेरै पटक च्यातें । फाल्न अनेक अनेक कोशिस गरें । आखिर म पनि त त्यहि बारीको मुला हुँ, हिनताबोध हुन्छ । त्यसलाई हेर्न सकिन । लाज पचाउन मायाँ गरे जस्तो गरि सुम्सुमाउदै मेरो हातको राहदानी कोटको भित्रि खल्तीमा हालें । केहि छिनमै जमिनमा दगुर्दै गरेको जहाज जमीन छोडेर आकाशिन्छ । तर उसको प्रश्नले भने मेरो मन पोलिरह्यो । केहि बेरमा जहाजका वेटर वेट्रेस सल्बलाउन थाले, खानाको परिकार र अनेक किसिमका सोमरस लिएर । मलाई राहात महसुस भयो । मेरो पोलेको मनलाई शान्त गर्न टुटे फुटेको अंग्रेजी बोल्दै जहाजको वेट्रेसलाई एक प्याक मागें । मोरी गोरेनीले मुस्कुराउदै दिई । जब प्याक चढाएँ दुखाई कम भएको महशुस गरे । अर्को प्याक थपें । सबै लज्जबोद्ध हराए । म बार बार माग्दै गएँ । उ खोल्दै दिँदैगई । म मात्दै गएँ । नशामा पत्तै भएन काठमाण्डौ आउन लागेछ । मोरी वेट्रेसले घच्घच्याई । ब्युझिएँ । मोरी मुस्कुराउँदै सिटको पेटी बाँध्न आग्रह गरि । झ्यालबाट बाहिर नियाँले । बिहानको हुस्सुमा कता कता पशुपतिनाथ देखियो । टाढै बाट दर्शन गरें। छिनमै जहाज अवतरण भयो ।
एक दशकपछि परिवार भेट्न जाँदै थिएँ । बाहिर निस्कन हतार भयो । छिटो छिटो खल्तीको राहदानी निकालेर लाइनमा बसें । साथमा युरोपको ग्रिनकार्ड । हातमा पुरानो त्यो पनि अक्षर खुइलिएको हरियो राहदानी । यो रातो नभएर हो या तिनीहरुलाई कुनै चिसो तातो । मेरो बाटो छेके ! फेरी एक पटक च्यात्न मन लाग्यो । केहि घण्टा पहिले प्रश्न गर्ने राहदानीलाई हेरें । उ लज्जावती फुल जस्तै लाजले शिर निहुराएको अनुभूति गरें । कता कता उ गुन्गुनाएको आवाज सुनें । अरु देशले त रोकेकै थिए । छेकेकै थिए । तर मेरो आफ्नो देशमा आफ्ना भन्ने मान्छेले तँलाई होइन मलाई बाटो छेके । धन्य हो मेरो यो देश । उ एकोहोरो गुन्गुनाई रह्यो । मबाहेक सुन्ने अरु त्यहाँ कोहि भएनन् । थिए त केवल शारिरीक रुपमा ढाडिएका । चुस्न पल्केका भोका जुकाहरु झैँ अनेक नामका गणेशहरू । मलाई परिवार भेट्न हतार थियो । त्यसैले त्यहाँ विराजमान गणेशलाई लड्डु चढाएँ । आफ्नो बाटो तताएँ ।





