विमानभित्र रुँदै रुँदै ‘दुखेको युरोप’
- निराजन श्रेष्ठ / स्विटजरल्याण्ड
बर्षाद याममा नदीमा भेल आउँछ । शिशीरमा त्यहि नदी सुख्खा बनिदिन्छ । त्यसरि नै जिन्दगीमा उतार चढाव आउनु स्वभाबिक । कहिले सुख त कहिले दुख । त्यस्तै, कुनै मानिस अस्पत्तालको शैयामा मृत्यु र जिवनसँग संघर्ष गरिरहेको बेला एउटा सिधा धर्का देखापर्यो भने त्यसैलाई भनिन्छ, जिन्दगी ●●●●●●●● त्यही जिन्दगी बिस्तारै विलय तर्फ लाग्दछ ।
यस्तै मेरो जीवनमा पनि बुबाको निधनले धेरै घोच्ने अनुभव र अनुभूती छोडेर गए । १४ बर्ष देखि असजिला खुड्किलाको छाँया पर्न सुरु भएको थियो, “उतार चढावका धर्का” हरूको । कसलाई रहर हुँदैन र सबै साथीभाई माझ सबै कुरो भरिपूर्ण भएर छाती फुलाउँदै हिँड्न ? कसलाई रहर हुँदैन र आफुलाई मनपरेको खेलौना किनेर साथी भाईहरुलाई देखाउने ?
सबैका आ-आफ्ना दुख । मेरो पनि वाल्यअवस्थादेखि अहिलेसम्म भोगेका दुख र बेदनाका पत्रा पल्टाएर साध्य नै छैन । तर के गर्ने ? ति दुख र बेदनालाई फेरि जिवित बनाएर किन सानो खुशीका पलहरुलाई धमिलो बनाउने ? तरपनि कहिलेकाहिँ यि बन्द भैसकेका पिटाराहरु, धमिराले खाईसकेका किताबका पानाहरु कुनै हुरि आएर खोलिदिँदारहेछन । बिगतका संझनामा लेखिएका ती अक्षरहरु भक्कानिएर छुटेका आँसुका थोपाले धमिलो बनाएर मेटिदिन्छन । त्यो वाल्य अवस्थाको घडीमा गरुङ्गो ढुङ्गाले थिच्दा भएको पिडाले बगेको आँसुले कति पिरल्थ्यो होला जस्तो अहिले लाग्छ । तर मेरो बुबा भन्नुहुन्थ्यो ‘छोरो मान्छे भएर रुनुहुन्न । आँसु देखाएर अरुको सामु आफू कम्जोर भएको देखाउँनु हुन्न ।’
बुवाका वाणी सम्झिएर मन रुँदापनी पिडाले भित्र भित्रै छट्पटिएँ । तर आँसु झारेर कहिले पनि रोइन । धेरै सँगालियो भने तलाउ बनेर बसेका ती एकै चोटि बाँध भत्काएर हानिन्छन् । थाम्नै नसक्नेगरी ति उर्लिएर बग्छन भनिन्छ । सायद त्यस्तै भयो, संभवत त्यस बेला जम्मा भएका आँसु यस पटक मेरा आँखाबाट छचल्किए ।
अहिलेसम्मको जिवन भोगाईमा आफूले त अनेक भोगियो नै । अरुले भोगेका कयौं दुखका कथाहरु पढेको थिएँ । प्रत्यक्ष रुपमा सुनेको पनि थिएँ । मन दुखेपनि कहिल्यै मेरो आँखाबाट आँसु झरेका थिएनन् । झर्छ भनेर सोचेको पनि थिइन । किनभने म बुवाका तिनै वाणी ‘छोरो भएर रुनुहुन्न’ भन्ने संझिरहन्थे । सकेसम्म आदर गर्न खोज्थें । तर यस पटक नचाहँदा नचाहँदै पनि मेरा आँखाहरु रसाए । सायद सानोमा बुवाले सुनाउनु भएका वाणीको हेक्का भएनछ की ? तत्कालकालागी बिर्सिएछु की ?
थुप्रै कथाका कितावहरु हात परे । पढियो । त्यो सिलसिलामा अर्को एउटा किताव मेरो हात परेको थियो । फ्रान्स निवासी मेरा आत्मीय दाजु ददि सापकोटा द्वारा लिखित “दुखेको युरोप” । यो किताब आफ्नो पारिवारिक भ्रमणमा स्विट्जरल्याण्ड आउँनु हुँदा मलाइ उपहार स्वरूप दिनुभएको थियो । “दुखेको युरोप” बारे विभिन्न देशबाट थुप्रै नेपालीहरुले आ-आफ्नै तर्क गरेका थिए । गुणगान गाएको सुनेको थिएँ । यो किताब पढ्दा नरोएको कमै छन् भन्ने कुरा पनि सुनेको थिएँ । सुनेको कुरामा सत्यता रहेछ ।
मैले “दुखेको युरोप” पढ्न शुरु गर्नुअघि मनमनै सोचेको थिएँ ‘अहिलेसम्म कैयौं दुखका कथाहरु पढें । प्रत्यक्ष रुपमा आफैंले भोगियो । त्यस्ता दु:ख भोग्नेका दुखपनि सुनेको छु । तैपनि म रोइन । यो किताबले पो मलाई के छोला र ? मनमनैको गफपछि शुरु गरेको थिएँ पढ्न । विभिन्न ब्यक्तिले सुनेका भोगेका कुराहरु त हुन् भन्दै आफुलाई पाएक परेको समयमा “दुखेको युरोप” पढ्न छोडिन । बिस्तारै किताबका पानाहरु घट्दै गए । मेरो मन किताबको दुखको भुमरीमा बिस्तारै डुब्दै गइरह्यो… डुब्दै गइरह्यो !!
सायद म कमजोर भएँ । या दुखका बेदनाहरुले छोयो भनौ । २६ अक्टोबरका दिन दिदीको हातबाट तिहारको टिका थाप्न म अघिल्लो दिननै बेल्जियम हानिएँ । त्यताबाट स्विट्जरल्याण्ड फर्कँदा जहाजमा “दुखेको युरोप” पढिरहेको थिएँ । अचानक मेरो आँखाबाट आँसुका थोपा नचाहँदा नचाहँदै झर्न थाले । मेरो छेउमा बसेको एक बिदेशीले मलाइ अत्तालिएझैँ अंग्रेजीमा भन्यो “सरि… के भयो ? मेरो प्रश्नलाई अन्यथा नलिनु होला !! म तपाईलाई केहि सहयोग गर्न सक्छु ?” अचानक झस्किएँ म । भनें ‘सरि मलाई केहि भएको छैन । किताब पढ्दा पढ्दै म त रुन पो पुगेछु ।’ ऊ हाँस्दै थियो । सोच्यो होला ‘कस्तो पागल बिदेशि रैछ यो । किताब पढेर सबैले देख्नेगरी रुने !’
विदेशीलाई के थाह दुखको मूल्य र पिँडा । मलाई लाग्यो, ऊसले कहिले नै अनुभव गरेको छ र युरोपका पिँडा । बिहान काममा जान्छ । स्तरिय होटलमा खाना खाएको खान्छ । आमा दाजुभाई र बहिनीलाई उसले पाल्नु पर्दैन, रेदेख गर्नुपनी परेन । आखिर ठूलो जिम्मेवारी के नै पूरा गरेको छ र उसले ? साहुको ऋणको पिडाले उ कहिल्यै पिरलिएको छ ? बहिनीको बिहेको खर्च जुटाउन नसकेर उसलाई कहिल्यै टाउको दुखाउनु पर्छ र ? भाईलाई क्याम्पस पढाउन नसकेर उसले कहिल्यै भुट्भुटिनु परेको हुन्छ र ? जाडोमा उ कहिले ट्रेन स्टेसनमा सुतेको छ ? बरु उ खुसीको यूरोपमा छ । दुखेको भएपनि धेरैजसोका दु:ख हाम्रा झैं अनेक दु:ख र पिँडाको बाध्यताले नभएर आफ्नै खुसीले खोज्दै भौंतारिएर दुखाएका हुन्छन् मनलाई । बेसाएका हुन्छन् बेसाउनु नपर्ने दु:ख । विदेशीलाई के थाह हामीलाई ‘दुखेको यूरोप’ बारे ? वास्तवमा नेपालीहरुका लागि यूरोप साच्चै नै दुखेको रहेछ । यो किताब पढेपछि मैलेपनि दुखेका नेपालीको युरोप पढें । तिनिहरुसँगै मैलेपनि मन दुखाएँ, रोएँ ।





