पुस्तकमा खोजि आफ्नै कथा र ब्यथाको
उमेर जम्मा ६६ वर्ष हो । यो उमेरले बसेर खान मिल्छ । किनकि युरोपको कानुनले यो उमेरका आमैहरुलाई बसेरै खाने आर्थिक रकम, सहयोग दिन्छ । त्यसलेपनि नपुगे उहाँका दुई छोरा र बुहारी क्रमश बेल्जियम र अष्ट्रेलियामा राम्रो कमाइ गछन् । ति ब्यवस्थित तरिकाले बसेका छन् । तर मन न हो, जाँघरिलाहरुलाई त्यसले मान्दैन । टिका छन्त्याल दिनको १४ घण्टा काम गर्नुहुन्छ । बेल्जियममा पूर्ण कालिन काम हुनेले पनि दिनमा आठ घण्टा काम गरे पुग्छ । तर उहाँ १४ घण्टा काम गर्नुहुन्छ । काममै रमाउनु, काममै हाँस्नु, काममै जिवनको सार्थकता खोज्नु उहाँको दिनचर्या जस्तै बनेको छ ।
हाम्रा गाउँघरमा ४० वर्षे उमेर काटेपछि ‘म त बुढी भएँ’ भन्दै लत्तु छाड्ने प्रव्रित्ती छ । त्यसो त कतिपय आर्थिक समस्याले गाँजेर शरिर उभ्याउन सकुन्जेल काम नगरि हात मुख जोरिन्न । यि कुनैपनि बाध्यता उहाँलाई छैन । छोराहरुले ‘आमाकाम नगर, बस खाउ, रमाईलो गर’ भन्छन् । तर उहाँ काम गर्न नपाउँदा झगडा गर्नुहुन्छ । “छोराहरुले तपाई बुढी मान्छेले किन काम गर्ने, हामी छोराहरुले गर्छौं, बस खाउ भने । तर मैले मानिन, म त काम गर्न देओ भनेर झगडा गर्छु, काम नगरे त म बिरमी पर्छु” उहाँले भन्नु भयो ।
उहाँको मूल थलो म्याग्दी जिल्ला हो । छोरोको लहरोमा तानिएर उहाँ बेल्जियम हानिएकोपनि केहि वर्ष बितेका छन् । तर बेल्जियम आएपछि केहि समय भाषा सिक्ने बाहेक उहाँले काम नगरि बसेको क्षण छैन । रेस्टुरेन्टमा खानाका विभिन्न परिकारकालागि आवश्यक तयारि गर्न उहाँ ठमठमी हिँडेरै काममा पुग्नुहुन्छ । १४ घण्टा काम गरेरपनि उहाँमा कुनै थकानको महसुस हुन्न । “त्यस्ता नाथे काम, गाउँमा कुटोकोदालो, भारी, रातभरि खेतीमा काम गर, भैंसी बाख्रालाई वनबाट घाँस दाउरा ल्याउ, यताको काम त खेलेको जस्तो लाग्छ” उहाँको जाँघरले त्यसै भन्छ ।
गाउँमा औपचारिक शिक्षा नलिएको । अंग्रेजी भाषाको ज्ञान नभएको । उमेरले औपचारिक शिक्षा लिने हिम्मत र जाँघर जोकसैलाई नदिने । यस्तो उमेरमापनि बेल्जियम आएर उहाँले बेल्जिक भाषा अध्ययन गर्नु भयो । स्कूलमै गएर । मध्यान्तरका बेला अरु खाना खान जान्थे । पढ्नेहरु सबै युवा युवती थिए। उहाँका उमेरका कि त पेन्सन थापेर बार्दलिमा बस्दा हुन् दिन गन्दै । कि नाति नातिना खेलाएर रमाउँदा हुन् । यि हजुर आमा उमेर कि छात्रा भने कक्षामा पढाएका कुरा सिकेर, घोकेरै बिताउनुहुन्थ्यो । स्कूलबाट छुट्टी भएपछि नजानेका कुरा बाटोमा हिँडिरहेका स्कूले केटाकेटीहरुलाई सोधेर कण्ठ पार्नुहुन्थ्यो । अझ नबुझेका कुरा घरमा आएर बुहारीसित सिक्नुहुन्थ्यो । यसो गर्दागर्दै उहाँले त्यहाँको स्थानिय भाषा सिक्नुभयो । भाषा सिकेर बेल्जियन नागरिकले लेखेका रेस्तुरेन्टका परिकारहरुबारे पढ्न र त्यसै अनुसार आवश्यक सामाग्रि तयार पार्न थाल्नुभयो । नेपाली भाषापनि लेख्न र पढ्न सिक्नुभयो । लेख पढ गर्न र बिदेशी भाषा सिक्न उमेर र औपचारिक शिक्षाले रोक्छ भन्नेहरुलैऐ उहाँको कर्मले दरो जवाफ दिन्छ ।
संयोगपनि कस्तो पर्योभने, दुखेको युरोप पुस्तकका बारेमा जति मेडियाले चर्चा गरे । प्राय सबैले उहाँको प्रसंग उल्लेख गरेका छन् । पुस्तकका २८ पात्र मध्ये उहाँको कहानी आकर्षक र मार्मिक मध्ये एक रहेको छ । नरहोसपनि किन ? ६६ वर्षको यो उमेरमा अहिलेपनि उहाँको काम र सक्रियता देख्दा जोकोहि लोभिन्छ । कान्छो छोरो र बुहारी अष्ट्रेलिया । जेठो छोरो, बुहारी र नातिनी बेल्जियम । बेल्जियममै केहि नातेदार । उता नेपालमा त आफन्त झन हुनेनै भए । तर अष्ट्रेलिया, बेल्जियम र नेपाल ओहोर दोहोर गर्न उहाँलाई कसैले सहयोग गर्नु पर्दैन । कोहि साथ लाग्नु जरुरी छैन । आफैं ति देश एक्लै ओहोर दोहोर गर्नुहुन्छ । आफ्नो यात्रा आफैं तय गर्नुहुन्छ । बेल्जियममा उहाँलाई चिन्ने धेरै नेपाली उहाँको सक्रियता देखेर लोभिन्छन् ।
यहि अचम्मको जाँघर, युवायुवतीहरुका लागि प्रेरणादायी बनेको छ । बिदेशमा भत्ता खाएर काम नगरि बस्ने, बरालिने नेपालीहरुकालागि उदाहरणिय पात्र ठानेर उहाँलाई मैले युरोपका नेपालीहरुको दुखको कहानीमा लेखिएको पुस्तक ‘दुखेको युरोप’मा समेटेको थिएँ । ११ भन्दा बढि मुलुकका दुखका पहाड छिचोलेका नेपालीको कहानी समेट्दा उहाँको कहानीपनि समेटिएको थियो । हो त्यहि पुस्तकमा उहाँले आफ्नै कहानी पढ्दै गर्नुभएको हो, तस्विरमा । तस्विर शेर बहादुर छन्त्यालले खिचेका हुन् ।





