देश उस्तै राख्ने झण्डा बदल्ने ?

  • दिनेश पन्त

lasrgest-nepali-flag-5

काम पाइनौ बुहारी पाडाको कण्डो रेट भने जस्तै संविधन सभाका झण्डै आधा नेतालाई यहि झण्डा फेर्नुपरेको छ । संविधान सभामा एक मतले जोगिएको हो यो झण्डा । बाँकीलाई झण्डा फेरेर क्रान्तिकारि काम गर्नुपरेको थियो । समाज उस्तै राख, गाउँको हालत उहि रहनदेउ । जनतालाई आसे, परनिर्भर बनाउ । उत्तरबाट दैनिक उपभोग्य सामान र दक्षिणबाट खाद्द वस्तु ल्याएर जनतालाई बिदेशीकै उत्पादनमा निर्भर राख । आफूहरु काइते भाषण ठोक्दै हिँड । कुन्नी कति राज्य बनाउने भन । तर त्यो राज्य कसरि चलाउने ? स्रोत के हो ? कहाँबाट ल्याउने बैज्ञानिक, यथार्थ कारण नखोल । 

यो झण्डाले तिमीहरुको बाटो छेक्यो । मनमा काँडा रोप्न आयो । छातीमा सुइरो हान्यो । अधिकार दिएन । पानीको धारो अवरुद्द पार्यो । संसारमा यो भन्दा नराम्रो कुनैपनि अरु देशको झण्डा नै छैन । किनकि यो नितान्त अलग छ । सूर्यबंशी र चन्द्रबंशी भनेर कसैले परिभाषित गरिदियो ति राजा हुन्, त्यसैले यो झण्डा जलाइहाल्नुपर्छ भनेर । तिमीहरुको साँघुरो दिमाखले त्यसैलाई सूर्य जस्तो ताप दिने, चम्किलो, घाम दिने, टाढा भएरपनि तेज दिन सक्ने, चन्द्रमा जस्तो शालिन, सौम्य, चम्किने, अँध्यारोलाई चिर्ने, हेरुँहेरुँ लाग्ने भनेर परिभाषित गर्न कसले सिकाइदिने ? सूर्यवंशी र चन्द्रवंशी आएर शासन सत्ता हडप्लान भन्ने कत्रो त्रास यो झण्डा राखिरहेमा !

यो झण्डा बदल्नासाथ सार जनजतिको, पिछडिएका वर्गको, अछुत र सुकुम्बासीको समस्या हल हुन्छ ? के नेपालका सारा दुख यहि झण्डाको कारणले ब्यहोर्नु परेको हो ? कुन देशको झण्डा ऐतिहासिकतासित जोडिएको हुन्न ? सूर्य र चन्द्र के कुनै जातजाति, भाषाभाषीको मात्रै हुन्छ ? यि ब्रह्माण्डका सारा मानिस र जिवजन्तु, हावापानीको पनि साझा होइनन् ? यो बदलेर कसको चिन्ह राख्ने ? जनजातिको भाङ्ग्राको ? कि कम्युनिष्ट हँसिया हथौडाको ? के खोट छ चन्द्र सूर्य जस्तो सम्पूर्ण प्राणी जगतको साझा सूर्य र चन्द्र राख्नुमा ?

झण्डा फेर्नेनै हो भने फेर्न चाहनेका लागि अलग्गै बनाउ, हामी नेपालीकालागि यहि उत्तम छ । हिम्मत भए देश र समाज बदल हुती नभएपछि झण्डा बदलेर केको बहादुरी ? झण्डा बन्न ३५ हजार नेपाली छिनमै जम्मा भए यो बदल्छौंनै भन्ने हो भने करोडौं उत्रिन्छन् । उतार्नुपर्छ !

रेशम मगरको बिचार, यहि लेखमा

नेपालको पछौटेपनको मुल कारक तत्व नै यहाँको मौलिक परिस्थिती अनुरुपको राज्य सत्ता नहुनु हो । नेपाललाई जसरी बहुजातिय, बहुधार्मिक, बहुसाँस्कृतिक बहुराष्ट्रिय राज्य भनेर भनिन्छ त्यसरी नै यहाँको राष्ट्रिय चिन्हहरुले तिनीहरु सबैको प्रतिनिधित्व गर्नुपर्दछ । जहाँसम्म नेपालको राष्ट्रिय झण्डाको कुरा छ, त्यसलाई परिभाषा गर्न दन्त्य कथाका चन्द्रवंशी र सुर्यवंशी राजाहरुको मिथकहरु झुण्डाई त्यसको व्याख्या गरिन्छ जसको नेपालको प्रमाणिक ईतिहाँस सँग गोरु बेचेको समेत साईनो छैन । अर्को कुरा नेपालको प्रगतीको बाधक भनेको यही झन्डालाई राष्ट्रिय झण्डा मान्ने, मैले अहिले लेखीरहेको भाषा र लिपीलाई मात्र राष्ट्रिय मान्ने तर मैले जन्मेदेखि बोल्ने र लेख्ने सिकेको भाषा र लिपीलाई अराष्ट्रिय वा साम्प्रदायिक ठान्नेहरु नै हुन । ईजिप्टमा उत्पती भएको कपासबाट बुनेको दौरा सुरुवाललाई राष्ट्रिय र यही देशको लेकाली भुभागमा पाईने चाल्ने सिस्नु (अल्लो)बाट बुनिएको मेरो मौलिक पोषाक भाङ्ग्रालाई अराष्ट्रिय ठान्नेहरु नै हुन् । हामीले समानताको कुरा गर्दा साम्प्रदायिक र राष्ट्रघातीको ट्याग झुन्डाउने हरु नै हुन ।

यदी नेपालको साँच्चिकै प्रगती चाहने हो भने नेपालमा सबै जाती, भाषा, लिपी हरुको सहअस्तित्व हुन अत्यावश्यक छ । देशको हरेक अंगमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनु आवश्यक छ । सबै नेपालीको पहिचान खुल्नु जरुरी छ । हैन भने मुखमा राम राम बगलीमा छुराले देश अगाडि होईन पछाडी जाने छ । चिलको हुँईया देखाएर कुखुरा टिप्ने दाउ झिक्ने स्यालको जस्तो बुद्धी अब टिक्दैन ।

तपाइँको प्रतिक्रिया