बैधानिक कागज नभएका नेपाली जुर्मुराए बेल्जियममा
बेल्जियममा नाचगान, संगित, नेताको भाषण र खानपिनको खबर खुब सुनिन्छ । धेरै नेपालीले भोग्ने सास्ति, दुखको पहाड, कतै हिँड्नपनि लुक्नुपर्ने अवस्थाका बारेमा कसले सुन्ने ? कहाँ पढिने ? आवाशिय भिसा वा अनुमती छैन भने प्रहरीको नजरमा पर्नु भनेको गुटुमुटु पारेर नेपाल फर्काईनु हो । तर अब भने केहि उपाय लाग्ला ? किनभने त्यहाँ सक्रिय नेपाली संगठनहरु नेपाली जनसम्पर्क समिति -बेल्जियम, प्रवासी नेपाली मंच -बेल्जियम, नेपाली एकता समाज -बेल्जियम, प्रवासी नेपाली समाज – बेल्जियम, नेपाली संघिय समाज-बेल्जियम, नेपाली जनप्रगतिशील मंच -बेल्जियम, नेपाली जनप्रगतिशील मोर्चा – बेल्जियम तथा नेपाली समुदाय बिना कागज संघर्ष समिति, बेल्जियमका प्रतिनिधिले त्यहाँको बसाईसराइसित संवन्धित निकायसित छलफल गरेका छन् । बेल्जियममा बस्न र काम गर्ने बैधानिकता नपाएर कष्ट भोगेका नेपालीका समस्या समाधान गर्न आवाज उठाएका छन् ।
ति संस्थाको अगुवाईमा बेल्जियममा रहेका नेपालीहरुले भोग्दै आएको बैधानिक तथा सुपुर्दगी समस्या सम्बन्धि बिषयलाई लिएर त्यहाँको फेडरल माइग्रेसन सेन्टर, ब्रसेल्समा औंपचारिक छलफल भएको छ । कार्यालयको तर्फबाट नेपालीहरुको फाइललाई सुक्ष्म अध्यन गरेकी गवेन्दा दे कॊमनले ति समस्यालाइ सुक्ष्म रुपमा केलाउँदै यसको समाधानार्थ आवश्यक प्रकिया अगाडी बढाउने सहमति नेपाली संघ संगठनसित गरेकि छन् । यसबाट नेपालीहरुमा नयाँ आशा पलाएको छ । खाली राजनिति मात्रै गर्छन्, दुख पाएका नेपालीका लागि केहि गर्दैनन् भन्ने गुनासोलाईपनि यसले मत्थर पार्ने छ ।
नेपाली प्रतिनिधीहरुले नेपालीलाई नेपाल सरकारको कुनैपनि इजाजत र स्विक्रिति नलिई बेल्जियम सरकारले सुपूर्दगी गर्ने गरेकोमा आप्त्ती जनाएका थिए । सुपुर्दगीका फाईलहरु आफ्नो शाखाले हेर्ने नभएतापनि उनले त्यसमा चासो राखिन् । नेपाल सरकार र बेल्जियम सरकारको बिचमा नेपालीलाइ नेपाल फिर्ता पठाउन कुनै कागजातको आवस्यकता नपर्ने भन्ने सम्झौता दुई देशबिच भएकाले नेपालीलाइ बिना कागजात सुपुर्दगी गर्ने गरिएको उनले जनाईन् । यो राजनैतिक बिषय भएकोले दुइ राज्यको बिचमा नयाँ सम्झौता नभई आफूहरुले मात्रै केहि गर्न नसक्ने बेल्जियमको माईग्रेसन सेन्टरकि प्रतिनिधि गवेन्दा दे कॊमेनले बताईन् ।
नेपालीहरुको समस्यालाई सम्बोधन गर्दै फेडरल माइग्रेसन सेन्टर, ब्रसेल्सको नाममा नेपालीहरुले ज्ञापनपत्र लेखेका थिए । त्यो ज्ञापनपत्र र सम्बन्धित रिफरेन्स सहित बेल्जियममा बैधानिकता प्राप्तिको लागि संघर्षरत नेपालीहरुको नामावली र बिवरणयूक्त संकलित सूची माईग्रेसन सेन्टरलाई बुझाईयो । बेल्जियममा रहेका नेपालीहरुले भोग्नुपरेका बिबिध समस्याहरुलाई संस्थागत नेपाली प्रतिनिधिहरुले प्रस्टाउने काम गरे । त्यसपछि बेल्जियमको बर्तमान आप्रवासी नीति अनुसार नेपालीहरुलाई हेर्ने धारणाको बारेमा कार्यालय प्रतिनिधि गवेन्दा दे कॊमेनले ब्याख्या गरिन् । बिगत लामो समयदेखि बेल्जियममा बसेका, रेगुलराइजेसन भरेर पनि त्यसमा नपरेका, बिमारीको रुपमा औषधि उपचार गरिरहेका, वर्क परमिट (काम गर्न पाउने अधिकार) को आधारमा जसले काम गरेका छन, जसका बच्चा स्कुल गैरहेका छन् उनीहरु प्राथमिकतामा पर्ने जानकारि सेन्टरले दियो । प्राथमिकताको आधारमा क्रमश : पुन फाइल हेरी बैधानिकता प्रदान गर्न आयकवश्क पहल गर्ने प्रतिबदता कोमेनले गरिन् ।
यस प्रक्रियाको लागि बिगतमा शरणार्थी आबेदन दिएको दिनदेखि सो घटना दर्ता भएको (केस चलेको) दिन र ५ महिना भित्रमा सो दर्ता गरि (आर्टिकल भरि) उक्त केस चलेको अवधिको आधारमा फेरी पनि फाइल पुन : ओपन गर्न सकिने भएकोले त्यसको लागि सम्बन्धित व्यक्तिको व्यक्तिगत विवरण भरेर पठाउन उनले आग्रह गरिन् । त्यसको सुबिधाका साथै कार्य रुपतामा एकताको लागि यस अभियान को मेल [email protected] मा आफ्नो व्यक्तिगत केस चलेको बिबरण भरेर पठाउन यस अभियानमा संलग्नहरुले आग्रह गरेका छन् ।
बेल्जियमको सबै ठाउँमा आप्रवाशी संबन्धि एकै किसिमको नियम नभएकोले बैधानिकताको प्रक्रियामा रहेका नेपालीहरुलाई भलान्दर भन्दा ब्रसेल्स र वालोनिमा केहि नरम नीति अपनाइएको जनाउँदै सम्भव भएमा त्यतातिर स्थानतरण गर्ने सुझाव उनले दिईन् । उनले सम्बन्धित अन्य निकायहरुमा पनि सम्पर्क अगाडी बढाउन सुझाव सहित सम्पर्कको लागि सुझाव दिईन् ।
झन्डै साँढे दुइ घण्टाछलफल भएको थियो । त्यसपछि नेपाली समुदाय बिनाकागज संघर्ष समिति, बेल्जियमका सचिव बिष्णु क्षेत्रीले आफ्नो झन्डै १० बर्ष को बसाइको अन्तरालमा आजको यो भेटघाट पहिलो र अति महत्वपूर्ण रहेकोले महसुस गरेको बताए । “यो अभियानलाइ यहाँसम्म ल्याई हामी बिनाकागजका साथीहरुलाई गरेको सहयोग प्रति यस अभियानमा लागेका सात बैचारिक संगठनहरुलाइ सम्पूर्ण समितिको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु” उनले भने । उनले सबै साथीहरुलाई आशावादी हुँदै यस अभियानमा छुटेका साथीहरुलाई बेलैमा समाहित हुन् अनुरोधपनि गरे ।






