अमेरिकाका महामहिमबाट शिर झुकाउने काम

बिनोद कुमार नेपाल / टेनेसी, अमेरिका

dr-shankar-sharmaमहामहिम दूत डाक्टर शंकर प्रशाद शर्मा

नेपाली दूताबास

वासिङ्टन डिसि / संयुक्त राज्य अमेरिका

नेपाली दूत डाक्टर शंकर प्रशाद शर्मालाई खुल्ला पत्र

महामहिम दूत श्री शर्माज्यू,

सर्बप्रथम म मेरो परिचय गराउन चाहन्छु । म अमेरिका आएको ९ बर्ष भयो । मैले नेपाली पत्रकारिता क्षेत्रमा ३२ बर्ष बिताएको छु । नेपालमा दर्जनौ पत्र पत्रीकाहरुमा आफ्ना लेख रचना प्रकाशित गरेको छु । माओवादी द्वन्दको सुरुकै दिन २०५२ साल फागुन १ गते माओवादीहरुले सिन्धुलीमा घटाएका जघन्य घटनाहरुको तत्काल रिपोर्टिङ गरेर काठमाडौंका दैनिक र साप्ताहिक पत्र पत्रीकामार्फत देसबासीलाई सुसुचित गरेको छु । ‘माओवादी द्वन्द ठीक थिएन’ भनेर वकालत एकातिर हुन्थ्यो भने अर्कोतिर बिना हतियारका निर्दोष मानिसहरुलाई लक्षित गरी भएका द्वन्दका घटनाको यथार्थ जनमानसमा राखी दिने काम गर्दै आएको थिएँ । जसका कारण २०५२ फागुन २२ गते तत्कालिन माओवादी पूर्बी इन्चार्ज शेरमान कुवरले मलाई काठमाडौंबाट अपहरण गरी सिन्धुली जिल्लाको क्यानेस्वर गाबिस पुर्याए र भोलिपल्ट नजिकैको बागमती नदिमा बगाइदिएका थिए । तर म बाँच्न सफल भएको मान्छे हुँ ।

पत्रकारिताकै सिलसिलामा माओवादीहरुले पत्रीकाको कार्यालयमा धावा बोले र म माथि सांघातिक हमलाको प्रयास गरेका थिए । तर म त्यसबाट समेत बचेको मान्छे हुँ । २०५३ मा रोल्पा जिल्लाको थवाङ गाबिसका अध्यक्षलाई काटेर फालिएको बारे रिपोर्टिङ गर्दादेखी माओवादीहरुले तारो बनाइएको मान्छे हुँ । माओवादी ट्रेड युनिएनका नेता सालीकराम जम्मरकट्टेलको निसानाको केन्द्र हुँ । २०५९ को दशैंमा सिन्धुपाल्चोकको मुढेमा माओवादीहरुले हत्या गरेका एक जना पर्यटन ब्यबसायी मेजर मोहन खत्रीलाई ६० भन्दा बढी खुकुरीधारीहरुले नेता अग्नी सापकोटाकै उपस्थितीमा काटी काटी मारेको घटनाको पनि खोजी पत्रकारिता र रिपोर्टिङ बापत ज्यान माया मारेर लेख्ने पत्रकार हुँ ।  त्यो घटना गराउनमा प्रत्यक्ष भूमिका रहेका दोश्रो संबिधान सभाबाट निर्बाचित माओवादी नेता अग्नी सापकोटाले ज्यान मार्ने धम्की दिएका निसानाको पात्र पनि हुँ । यही कारणबाट म नेपाल छोडेर अमेरिका आएँ । 

यहाँ आएपछि नेपाली संघ संस्थाहरुका गतिबिधी सुन्न पढ्न थालें । घुम्दै फिर्दै जता गएपनि नेपालको जस्तै यहाँका नेपाली संघसंस्थाहरुमा चरम बेथिती देख्न थालें । समाजका नाउँमा खोलिएका संघ संस्थाहरुभित्र भ्रस्टाचार, सामाजिक अन्याय, प्रजातन्त्रहिनता, अपारदर्शिता, गुटबन्दि र हुँदा हुँदा निर्बाचित पदाधिकारीहरुलाई नमान्ने हस्तक्षेपकारी भूमिका र संस्था नै अपदस्त गर्ने काममा नेपालीहरु नै संलग्न भएको देख्न थालें । यस्ता गतिबिधिले मलाई समाजको बेथिती र बढ्दो अन्याय बिपरित लेख्न प्रेरित गर्यो । लेखन शुरु भयो । केही मिडियाले छाप्दै पनि थिए । तर पछी ति मिडियाहरुले यहाँका अप्रजान्त्रिक र अपारदर्शी संघ संस्थाहरुबाट पुरस्कार प्राप्त गर्दै गए । अनी मेरो लेख छाप्न छोडे । त्यसपछी मैले आफ्नै ब्लग र सामाजिक सन्जाल फेसबुक मार्फत समाज बिरोधी गतिबिधीका बिपक्षमा लेखन सुचारु गर्दै आएको छु । म स्वतन्त्र पत्रकारिताको माध्यमबाट समाज सेवा नै गरिरहेको छु । राम्रा कामको प्रशंसा गर्छु भने समाज बिपरितका कामको तिखो बिस्लेशण सहित लेख्छु ।

महामहिमले पहिलो पटक आयोजना गर्नु भएको सन २०१० को नेपालको प्रजातन्त्र दिबसका उपलक्ष्यमा आयोजित जलपान समारोहको लगत्तै मैले लेखेको ‘दारु प्रजातन्त्र” बारे महामहिमलाई हेक्का नै होला । एउटा स्वतन्त्र पत्रकारको नाताले नेपाली समुदायमा हुने अन्याय, अत्याचार र सबै प्रकारका गलत गतिबिधीका बिरुद्द न्यायका लागि आवाज उठाइदिनु मेरो कर्तब्य सम्झेको छु । आजसम्म एउटा सचेत नागरिकको दायित्व बोध गरी न्यायका पक्षमा आबाज उठाउदै आएको हुँ । हिजो गरें ।  आज गरिरहेकै छु भने भोली पनि यो पवित्र काम निरन्तर रहनेछ । लेखनको माध्यमबाट कसैकसैले ‘चरित्र हत्या र मानहानी गर्यो’ भनेर म बिरुद्द एएनएको नाम जोडेर मुद्दा मामिला गरेका छ्न । मैले कसैको चरित्र हत्या र मानहानी गरेको छैन । मैले समाजमा अन्यायमा परेकाको आबाज बुलन्द गरीदिएको मात्र हुँ ।

महामहिमज्युमा समाजका केही घटनाक्रमबारे स्मरण

सन २०१० मा एसोसिएसन अफ नेपलीज इन अमेरिकाज (एएनए) को १० औ बोस्टन सम्मेलनका बारे लेख्ने काम हुँदै थियो । त्यसै बेला एएनएका तत्कालिन पदाधिकारीहरुको लापरवाहिले सम्मेलनमा ८४ हजार भन्दा बढी  घाटा भएको तथ्यांक अन्य कुनै मिडियाले छापेनन । मैले छापी दिएँ । त्यसपछि एएनए भित्र झगडाको बास भयो । झगडाकै बिच सन २०११ मा निर्वाचन भयो । निर्वाचनले प्रह्लाद केसी अध्यक्ष रहेको समुह निर्बाचित भएको खबर निर्वाचन आयुक्तबाट घोषणा भयो । त्यसलाई पनि मैले छापें । निर्वाचनको अधिकारीकता माथि प्रश्न उठाउने र निर्वाचनको निर्णयलाई मान्यता दिनुपर्ने दुई पक्ष निर्माण भयो । यो कुरालाई पन्छाएर तत्कालिन एएनए अध्यक्षले २९ औ सम्मेलन सम्पन्न गरे भने एएनएको बाइलज मै नभएको अन्तरिम अध्यक्षको आफुखुसी ब्यबस्था गर्ने काम भयो । सम्मेलनको बैधानिकता माथि एएनएका संस्थापक र आजिबन सदस्यहरुले नै प्रश्न उठाए । उक्त सम्मेलनमा दुई पक्ष बिभाजन हुँदैगर्दा महामहिमज्युबाट प्रमुख आतिथ्यता ग्रहण भयो । त्यो निर्बाचित पक्षका लागि मान्य थिएन । महामहिमज्युलाई कतिले सम्मेलनमा सहभागी नहुन साबधानी गराएकै थिए । त्यसको पनि उल्लंघन भएको थियो । बिबादमा नेपाली दूताबास र दूत मुछिनु हुन्न भन्ने हिसाबले सजग गराएका थिए ।  त्यसको पालना भएन भन्ने कुरो तत्कालिन निर्वाचित पक्षले बताईरहेकै छ्न ।

महामहिमको जानकारीमै होला अहिले मैले डेढ महिनादेखी सामाजिक सन्जाल मार्फत एएनएका गतिबिधीहरुको बर्तमान बिकासक्रम बारे लेख्दै आएको छु । जुन कुरोको पुस्टि गर्दै काठमाडौंबाट प्रकाशित नागरिक न्युज र अन्य समाचारहरुले समेत प्रकाशित गरेकै छ्न । एएनएका तत्कालिन निर्वाचित पदाधिकारीहरूले अन्तरिम अध्यक्षविरुद्ध अदालतको मानहानी गरेको अभियोग लगाउँदै मुद्दा दर्ता गरेका थिए । एएनए विवाद, अदालतसम्म पुगेपछि अदालतका ट्रस्टीको उपस्थितीमा महामहिम दूत, अन्तरिम अध्यक्ष र पहिले निर्वाचित मध्येका उपाध्यक्षको तीन सदस्यिय समिती बनाउने । चुनाव गराउने र एएनएका हरेक गतिबिधिका विवरण पहिले निर्वाचित उपाध्यक्षलाई उपलब्ध गराउने भन्ने सहमती भएको थियो । अदालतका ट्रस्टीको रोहबरमा भएको त्यो सहमति अहिले झन्डै तीन वर्ष बित्दासमेत कार्यन्वयन नभएकोले अदालतको मानहानी भएको कुरो अदालती प्रकृयाबारे अहिले प्रचारमा आईरहेको छ । सम्झौताका बुँदाहरु महामहिमले स्मरण गर्नु भयो भने थाहा हुन्छ । ति कुनै पुरा भएका छैनन । तीन सदस्यिय समिती बनेको छैन । एएनएको चुनाव भएको छैन र पूर्व निर्बाचित उपाध्यक्षले एएनएका गतिबिधीहरुको कुनै विवरण नपाएको कुरो सार्वजनिक भईसकेको छ । यस्तो अवस्थामा सन २०११ देखि नै एएनएमा अन्तरिम अध्यक्ष बनी आएका छेवाङ शेर्पा लामा बैधानिक छैनन । महामहिमलाई जानकारीमै होला, एएनएका आजिवन सदस्यहरु २ सय पैतालिस जनामध्ये शेर्पा लामाको पक्षमा जम्मा ४ जना छ्न भने २ सय ४१ जना बर्तमान एएनएबाट बिमुख छन् । यसले एएनए नै बैधानिक नभएको देखाईरहेको छ ।

जो संस्थाका मालिक हुन, उनै संस्थामा नहुनु र अरु कसैले चलाऊनुको अर्थ त्यो संस्था लुटिएको प्रमाण हो । यसरी संघ संस्था लुटिनु के प्रजातान्त्रिक हो ? पारदर्शिता हो ? न्यायसंगत हो ? कानूनी राज्यको पालना हो ? कुनैहालतमा पनि होइन । यस्तो कुनै पनि कुरो न्याय संगत नभएको महामहिमलाई जानकारीमा हुँदा हुँदै अप्रजातान्त्रिक र अपदस्त सस्थाका अन्तरिम अध्यक्षसँगको महामहिमको गठजोड नेपालीहरु सबैको दूतको हिसाबले कुनै हालतमा सर्बस्विकार्य होइन । एएनएमा अन्तरिम अध्यक्ष बैधानिक नभएपछि उनले गर्ने सम्मेलन कसरी बैधानिक हुन्छ ? अनी अबैधानिक सम्मेलनको अतिथी बन्ने काम महामहिमका लागि कती बैधानिक हो ? यहिनेर महामहिम दूतबाट गम्भिर त्रुटी भएको छ ।

प्रमुख कुरो एएनएको वेब साइट अन्तरिम अध्यक्ष कै कारणले ४ महिनादेखी बन्द छ । अमेरिका जस्तो सुचना प्रबिधी भएको देशमा एएनएका गतिबिधीको जानकारी पाउने एक मात्र माध्यम एउटा ब्यक्तीको ईशाराले चल्ने, मन लागेको बेलामा खोल्ने र बन्द गर्ने काम कुनै हदमा पनि स्विकार्य बिषय होइन । महामहिम दूतलाई यो बारे राम्रो जानकारी छ । तर अन्तरिम अध्यक्षका हरेक प्रस्ताबको स्विकार गरेर ‘हुन्छ प्रशाद’ बन्ने कामले सार्वभौम दुताबासको श्रोत र साधनको दुरुपयोग उनै अन्तरिम अध्यक्षले गरेको कुरामा समेत दूतको ध्यान नजानु बिडम्बना हो । यो बिडम्बनाले बताउँछ, नेपाली दूत स्वयं अन्तरिम अध्यक्षबाट परिचालित हुनुहुन्छ । यो नेपाल सरकार र नेपालीहरुकै शिर झुकाउने काम भन्दा केही होइन ।

(यसको दोस्रो भाग नेपालप्लससित सुरक्षित छ, केहि दिनमा प्रकाशित हुने छ)

(फेरिपनि नेपालप्लसको आग्रह : लूटिएका, थुनिएका, शोसिएका, ठगिएका, अलपत्र पारिएका, भिसा र पासपोर्ट बनाउँदा घुस मागिएका, सिफारिस बनाउँदा दाम मागिएका, दुख बेदना, छटपटी, बिदेशको कुनैपनि तितो अनुभव । पिछाडिएका, जनजाति भनेर हेपिएका । महिलामाथिका अत्याचार, पीडा, उत्पिडन । धनीमानी, पहुँचवाला भनेर अरुले छाप्न नसकेका समाचार । धमाधम पठाउनुस् । नेपालप्लसको प्राथमिकतामा पर्छन् । बिना डर, त्रास, निर्धक्क जान्छन् त्यस्ता समाचार । सत्य हो भन्ने पुष्टी चाहिँ गराउनुपर्छ । आफ्नै नाममा मन नलागे, डर लागे अलग नाममा छाप्न सकिन्छ ।)

तपाइँको प्रतिक्रिया