उजाड बगरलाई हराभरा तरकारी खेतीमा बदल्ने पौरखी हात
● लक्ष्मी खतिवडा
केही वर्षअघिसम्म उजाड र फोहोरको थुप्रो मात्र देखिने विष्णुमती खोला किनार वरपरको जमिन अहिले लाखौं रुपियाँ आम्दानी गर्न सकिने स्रोत बनेको छ । काठमाडौँको खड्ग भद्रकाली गाउँ विकास समिति क्षेत्रमा पर्ने विष्णुमती नदी किनारको जग्गा भाडामा लिएर स्थानीय बासिन्दाले व्यावशायिक रूपमा गरेको तरकारी खेती र पशुपालनबाट बर्सेनि लाखौं रुपियाँ आम्दानी गर्दै आएका छन् ।
खड्ग भद्रकाली गाविसमा पर्ने विष्णुमती नदी किनार आसपासमा करिब दुईसय परिवार अस्थायी बसोवास गरी प्रत्येक घरले कम्तीमा ५० देखि २०० को सङ्ख्यामा हाँस, बङ्गुर, कुखुरा तथा माछापालन सँगसँगै तरकारी खेती गरेका छन् । ठूलो लगानी बिना नै यी प्रत्येक परिवारले छ महिनामै दुईदेखि पाँच लाख रुपियाँको हाराहारीमा आम्दानी गर्ने गर्छन् । कुखुरा, हाँस, माछा र बङ्गुर छ महिनामा बेच्न सकिन्छ । हाँस र कुखुराको मूल्य प्रतिगोटा आठ सयदेखि पन्ध्र सयसम्म पर्ने गर्छ । त्यसैगरी बङ्गुर प्रतिगोटा दशदेखि २० हजार रुपियाँमा घरैबाट बिक्री हुन्छ भने बाह्रै महिना हरियो तरकारी बेचेर हुने आम्दानीले प्रत्येक घरलाई जीविकोपार्जनका लागि आत्मनिर्भर बनाएको छ ।
यसरी एकैठाउँमा गरेको कृषि र पशुपालनको मिश्रित व्यवसाय नमुनाकै रूपमा रहेको छ । व्यावसायिक कृषि विकासको उनीहरूको सोच भने दीर्घकालीन देखिन्छ । कामको खोजीमा पाँच वर्षअघि संखुवासभाबाट काठमाडौं आएका अशोक राईले पाँच रोपनी जग्गामा सुरु गरेको तरकारी खेती र कृषि व्यवसायबाट पाँचजनाको परिवार पालनपोषण, छोराछोरीलाई उच्च शिक्षामा लगानी गरेर पनि वार्षिक एक लाख रुपियाँसम्म जगेडा गर्न सक्षम बनाएको छ । उहाँजस्तै धरानबाट आउनुभएकी विमला मगरले पनि मिश्रित पशुपालन गर्नुभएको छ । तीन वर्षको अवधिमा यो व्यवसायबाट उहाँले सोचेभन्दा बढी नै आम्दानी गरेको बताउनुहुन्छ ।
यस्तै सीता निरौला र निलम रायमाझी दुईजना दिदीबहिनीले सञ्चालन गरेको सृजनशील महिला कृषि फर्म पनि यहाँ नमुनाकै रूपमा रहेको छ । सहकारीबाट सात लाख रुपियाँ ऋण लिएर १० रोपनी जग्गामा तरकारी खेती गरेको एक वर्ष नपुग्दै उहाँहरूले ऋण तिरिसक्नुभएको छ । गोलभेँडा र अन्य मौसमी तरकारी खेतीबाट मात्र दैनिक रु। ४० हजारको आम्दानी भएपछि यो खेतीबाट उहाँहरू उत्साही बन्नुभएको छ । यहाँ उत्पादित तरकारी बेच्न कतै जानु पर्दैन । तरकारी खेतीबाटै उत्पादित कम्पोस्ट मल र गोबर मलको प्रयोग गरी बनाइने यहाँ उत्पादित तरकारी अर्गानिक हुने भएकाले पनि तरकारी किन्न स्थानीय बासिन्दाको भीड लाग्ने गर्छ ।
यस्तै, हात्तीगौडास्थित भद्रकाली एग्रो फर्म अर्गानिक र थोपा प्रविधिमा आधारित छ । पाँच वर्ष इजरायलको कृषि फर्ममा काम गरेर फर्किएका इन्द्रबहादुर बलले १६ रोपनी जग्गामा सञ्चालन गरेको यो व्यवसायमा उहाँले इजरायली कृषि प्रविधि भित्र्याउनुभएको छ । टहरा सिस्टम भन्दा छुट्टै प्रविधिको प्रयोग गरी बनाइनेहरित ग्रिह (ग्रिन हाउस)मा थोरै कामदारको प्रयोग गरी बढी उत्पादन र आम्दानी गर्न सकिन्छ । तरकारीको मौसममा फर्मले दैनिक दुई सय किलोसम्म गोलभेँडा बेच्ने गर्छ । केही वर्षमै लगानी उठाएर कृषिबाटै राम्रो आम्दानी गर्न सकिने बलको विश्वास छ ।
नदी किनार वरपरको जग्गा भाडामा लिएर यसै गरी सामूहिकरूपमा अर्गानिक खेती गर्ने चुनदेवी कृषि तथा पशुपालन समितिले भने गाईपालन पनि सँगै गरेको छ । यो फर्मले पनि मौसमी र बेमौसमी तरकारी खेतीबाट मात्र बर्सेनि लाखौं रुपियाँ आम्दानी गर्न सफल भएको छ ।





