मेडियाको अन्तरकुन्तर
● आनन्दराम पौडेल
अघिल्लो पुस्तासम्म चेतनशील नेपालीहरु सूचनाको प्यासले तड्पिरहेका हुन्थे, अहिले अत्यधिक सूचनाको आँधिबेहरीबाट ओत लाग्न खोजेका भेटिन्छन् । अखवारहरु थोरै थिए, तर सबै आ-आफ्नो अभियान, जिम्मेवारी र दायित्ववोधसहित कर्मक्षेत्रमा डटेका हुन्थे । २०\२२ बर्ष अघिसम्म मिशनपत्रकारिता थियो। १८\२० बर्षदेखि नेपाली मेडियाले कोल्टे फेरेको छ । प्रकाशन र प्रसारणका लागि प्रिण्ट मेडिया र इलेक्ट्रोनिक मेडियाको बाढी नै आएको छ । तर, सँगसँगै मिशन पत्रकारिता छाडेर ब्यवशायिक पत्रकारितामा हाम्फाल्न पुगेको छ । जतिजति ब्यवशायिक हुँदै गयो त्यति-त्यति वजारको नियम अनुसार चल्न थालेको छ । जति-जति वजारको अधिनस्थ हुँदैगयो त्यति-त्यति मानवीय पक्ष कमजोर हुँदै गएको छ । सत्य, न्याय र नैतिक मूल्यको क्षरण भैरहेको छ ।
सूचनाको आँधिबेहरी मात्र हैन, सूचनाको अतिशयोक्तिबाट पनि पाठक र श्रोताहरु आक्रान्त छन् । ‘ जसले जित्यो त्यही सिकन्दर’ भनेझैं वजारमा जुन बिक्छ त्यही मूल्यवान हुन्छ । मेडियामा बिक्ने सामगृ के हुन्छ ? जुन एक्सक्ल्युजिभ छ त्यही बिक्छ । प्रतिस्पर्धा भएकोले एक्सक्ल्युजिभ बनाउने नाममा नुन, खुर्सानि, मसला हालि ‘हट एण्ड सावर’ परिकार पस्कन होडवाजी भैरहेको हुन्छ । ‘हट एण्ड सावर’ बनाउन लाग्दा धेरैपटक नुन, खुर्सानि, मसला मात्र बाँकि रहेर परिकारको मुख्य तत्वचाहीं गायब भैसकेको हुन्छ ।
धेरै बर्षअघि ऋत्विक रोशन प्रकरणमा त्यस्तै भयो । ऋत्विक रोशनले नेपाल राष्ट्र र नेपालीलाइ अपमानित गर्ने वाक्य बोलेका थिएकि थिएनन्, त्यसतर्फ कसैको ध्यान गएको देखिएन । गर्दैनगरेको अपमानको जवाफी हमलामा सबै यति तल्लिन रहे कि ऋत्विक रोशनले कहिले, कहाँ, कोसँग, कुन सन्दर्भमा के बोलेको थियो भन्ने चुरो कुरोचाहीं छुट्यो । रच्छेन्द्र भट्टराई र अनुजा बानिञाको केसपनि त्योभन्दा फरक थिएन । रच्छेन्द्र भट्टराईको व्यक्तित्वलाइ भव्य बनाउँदाबनाउँदै असली रच्छेन्द्र गायब भैसकेका थिए । तात्तातो सामगृ पस्कन यति हतार हुन्छकि चाख्ने समयपनि हुँदैन भनेर अनुजा बानिञाले सावित गरिदिएकी थिइन्। रच्छेन्द्र भट्टराईको समाचारलाइ भव्य बनाउनको लागि सृङ्गारप्रसाधन र गेटअपमा यतिबिघ्न ध्यान पु-याइयो कि त्यसको अन्तरवस्तु र सारतत्व नै गायब भैसकेको थियो । अनुजा बानिञाको केसले अर्को केपनि सबित ग-योभने होहल्लाले छपक्क ढाकेपछि सत्यपनि मलिन हुन्छ । बहुमतको हल्ला र भीडबाट जोगिन सत्य किनारा लागेर बसेको त हामी सबैले देखेकै हो । हामी मेडियाको लतमा यतिसम्म फँसिसकेका छौं र मेडियाको नशाले झुम्म पारेका बखत यथार्थ वुझ्नभनि छेवैमा राखिएका सामगृसमेत् प्रयोग गर्न बिर्सन्छौं भनेर राष्ट्रपति रामबरण यादवले साबित गरिदिए ।
अनुजा बानिञाले ९२ लाख भेट्टाएकी हुन् कि होइनन् ? र त्यो रकम फिर्ता गरेको हो, होइन ? राष्ट्रपति रामबरण यादवको लागि यति वुझ्न सरकारी संयन्त्र काफि थियो । भरतपुर क्यान्सर अस्पतालका डाक्टर भक्तमान श्रेष्ठको अपहरण एउटा अमुक पार्टीको भातृ सङ्गठनले गरेको हो भनेर सावित गर्न एउटा आइकन पत्रिकाले भयङ्कर कसरत ग-यो । लगातार यति फलोअप न्युज दिईरह्यो कि योभन्दा दायाँबायाँ अरु विकल्प हुनैसक्दैन भन्ने ठोकुवामा पाठकहरु पुगे । अर्को बर्ष हनुमानढोकामा एसपी रमेश खरेल पोष्टिङ भए । उनले ती अपहरणकर्ताहरु भटाभट पक्डे । तर, ती कुनैपनि पार्टीका मान्छे थिएनन् ।
दु:खद पक्ष के रह्योभने माथिका चारवटै घटनामा प्रकाशक र सम्पादकले माफी मागेनन् । त्यसो त गल्ती स्वीकार नगर्ने र माफी नमाग्ने चलन-परम्परा अन्यत्रपनि देखियो । केही बर्षअघि त्रिभुवन एयरपोर्टबाट विमान अपहरण भयो । अपहरण भएको विमानमा काठमाडौंबासी नेवार परिवारका एकजना रमाइला व्यक्तिपनि थिए । अपहरण भएको विमानमा रहेका त्रशित र आतङ्कित यात्रुहरुलाई अपहरण अवधिभरी तिनले रमाइला कुरा गरेर टेन्शनमुक्त राखे । यता तिनी आफ्ना कलाकौशलता देखाएर वातावरण सहज बनाइरहेका थिए, ठीक त्यही बेलामा एउटा न्युज च्यानल ‘जी टिभी’ ले अपहरणकर्ताका मुख्य नाइके उनै हुन् भनि घण्टैपिछे प्रशारण गरिरहेको थियो । अपहरणकर्ताबाट विमान मुक्त भएपछि, त्यो समाचार गलत साबित भैसक्दापनि, उक्त न्युज च्यानलले आजसम्म माफी मागेको छैन । जीन्युज मात्र ह्वैन, इराक युद्धमा प्रायोजित समाचार प्रसार गर्ने मेडियाहरुमध्ये अधिकांशले माफी मागेनन् । माफी त धेरै परको कुरो भो, कसैको बिरुद्धमा आधारहीन, कपोलकल्पित समाचार प्रकाशित भएपछि पठाएका खण्डनको पनि बेहालै हुन्छ । कसैको व्यक्तित्व नै ध्वस्त पार्ने, इज्जत बर्बाद गर्ने र विश्वसनीयता समाप्त पार्ने समाचार भङेरटाउके शीर्षक राखेर पहिलो पृष्ठमा छापिएको हुन्छ । पठाइएको खण्डनले चाहीं १० प्वाइण्टको अक्षरमा भित्री पृष्ठको कुनामा स्थान पाउँछ ।
नेपाली मेडियाको सुन्दर पक्ष के छ भने यो भ्रष्टाचारविरुद्ध उभिएको छ । लोकतन्त्र आएपछि नेपालमा भ्रष्टाचार छलाङ मारेर बढेको छ । दक्षिण एशियामा अफगानिस्तानपछि सर्वाधिक भ्रष्ट मुलुक नेपाल भएको छ । नेपालमा भ्रष्टाचारविरुद्ध मेडियाले मात्र बोलेको छ । मेडिया नभएकोभए नेपाल विश्वकै अति भ्रष्ट मुलुकमा परिसक्थ्यो भनेर सहजै अनुमान गर्न सक्छौं । तर, के रूपैयाँको लेनदेन मात्रै भ्रष्टाचार हो त ? कर्तव्यच्युत हुनु, जवाफदेह नबन्नु, जिम्मेवारी बिर्सनु, गडबड गर्नु र प्रभावको दुरुपयोग गर्नु झन् भयङ्कर भ्रष्टाचार हो । यस हिसाबले सरकारी पदमा रही बजेट खानु, राजस्व मार्नु र घुस खानुभन्दा मेडियाको शक्ति र प्रभावलाइ दुरुपयोग गर्नु कम भ्रष्टाचार हैन ।
नेपाली मेडियाले मात्र यस्तो भ्रष्टाचार गरे भन्न खोजिएको ह्वैन । अमेरीकन मेडिकल एसोसिएशनले एउटा म्यागाजिन नियमित प्रकाशित गर्छ । यसमा चिकित्सा क्षेत्रमा भैरहेका खोज, अनुसन्धान र प्रगतिका बिषयबस्तुहरु रहन्छन् । १४ बर्षअघि राष्ट्रपति बील क्लिण्टन र मोनिका लेविन्स्की स्क्याण्डल चर्चाको शीखरमा थियो । ठीक त्यही बेलामा यो म्यागाजिनले मुख मैथुनको बिषयमा कलेजका बिद्यार्थीहरुको विचार सङ्कलन गरेर प्रकाशित ग-यो । मुखमैथुनलाइ यौनाचार नमान्ने विचारहरु समावेश थिए । अमेरीकन मेडिकल एसोसिएशनका पदाधिकारीहरुले यस्लाइ गम्भीरतापुर्वक लिए । अप्रत्यक्ष तवरले बील क्लिण्टनको पक्षमा समर्थन बढाउनका लागि म्यागाजिनको दुरुपयोग गरिएको ठाने । र, सम्पादकलाइ निस्काशन गरे ।
१३\१४ बर्षअघि टिभीमा अन्तर्वार्ता दिंदै आइ.के. गुजरालले भनेको सम्झन्छु । अन्तर्वार्ताको क्रममा उहाँले भन्नुभएको थियो, “हामी चारजना पूर्व प्रधानमन्त्रीहरुले ५ पेजको संयुक्त प्रेसबिज्ञप्ती निकालेका थियौं । कुनैपनि पत्रिकाले त्यो संयुक्त बिज्ञप्तीले के भन्न खोजेको थियो भनेर छापेनन् । हामीले त्यो वक्तव्य किन निकाल्यौं भन्ने अडकलचाहीं सबैले प्रकाशित गरे ।” यसरि ट्विष्ट गरेर सूचनालाइ मोडिदिनु गडबडी भित्र पर्छकि पर्दैन ? केलाएर हेर्ने होभने मेडियाले गर्ने भ्रष्टाचारको एउटा रुप योपनि हो ।
मेडियाशास्त्री जोन पिस्केले सूचनाको पोलिटिक्स र पपुलरिटीको व्याख्या गर्दै सूचनालाइ अफिसिएल र पपुलर गरी २ भागमा वाँडेका थिए । तर, अहिले अत्यधिक व्यवशायिक भएर वजारको नियममा चलेका मेडियाहरु हरेक सूचनालाइ पपुलर रुप दिन माहिर देखिन्छन् । पपुलरको सोझो अर्थ ‘लोकप्रियता’ हुन्छ । तर, यहाँ यस्लाइ अत्यधिक जनसमुदायमा प्रचारप्रसार हुनु वा अत्यधिक चर्चा ( क अफ दि टाउन ) पाउनु भनेर वुझ्नुपर्दछ । ‘टु दि प्वाइण्ट’ मा जाने होभने सूचनाको आकार सानो हुन्छ । र, कतिपय सूचनाहरु रोचकपनि हुँदैनन् । त्यसलाई कसरि रोचक, घोचक र स्वादीलो बनाउने भन्ने शिप-कला भएकाहरुले यस्लाइ पपुलर बनाइदिन्छन् । रच्छेन्द्र भट्टराईको बिषयमा थपथाप र मिसमास गर्दै अतिरञ्जनामा पु-याउन सामान्य सौन्दर्यकलाले सम्भव थिएन । सूचनालाइ अतिरञ्जित र स्वादीलो बनाउनको लागि कलाकारलाइ एउटा घटना, भावुक कथा र केही विवादास्पद तत्वहरु भए पुग्छ ।
मेडिया जव अत्यधिक व्यवशायिक बन्यो, तब यो वजारको हिस्सा बन्न पुग्यो । अन्य उद्योग, व्यापार र व्यवशाय जस्तै मेडियाको उत्पादनको स्वरुप पनि वजारको माँग र आवश्यकताले तय गर्नेभयो । यस्को असर-प्रभाव कहाँनिर प-योभने लोकतन्त्रको मानवीय-सामाजिक पक्ष मेडिया कवरेजबाट बाहिर पर्न थाल्यो । मूल्य, मान्यता, नैतिकता, विवेक, न्याय र मानवीय गरिमा जस्ता हिजोका अहंतत्वहरु आज वजारमा खोटा सिक्का भए । वजारमा पहूँच नभएका जनताको ठूलो हिस्सा मेडियाको कार्यसूचिमा परेनन् । यो भनेको तिनै जनता हुन् जो परिवर्तनको लागि आन्दोलन र क्रान्तिमा बेस्सरि प्रयोग भए, बलिदान दिए तर, सत्ताप्राप्तीपछि सबैले बिर्से । ठूलो हिस्सा भएको यी तिनै जनता हुन्, जसको आवाज व्यवस्थाले हिजो-अस्तिदेखि कहिल्यै सुनेन । जसलाई उपेक्षा र तिरस्कार गरेर मज्जाले अघि बढ्न सकिन्छ भन्ने व्यवस्थाको जवर्जस्त धारणा रह्यो ।
मेडियाकै कारणले स्थिति कस्तो बन्न पुगेको छभने आज जनसमुदायले गर्न लागेको कुनैपनि कार्यक्रममा बलिदानी जनताहरु, शहीदका आमाबुबाहरु र जीवनभरी राष्ट्रको चिन्ता गर्ने जिम्मेवारीवोध भएका पवित्र व्यक्तिहरु तलतिर, हुलमुलको पुछारमा, कुनाकानितिर भेटिने भए । जसको विगत अत्यन्तै विवादास्पद छ, त्यस्ता परमानन्द झाहरु माथि ड्यासमा ससम्मान बिराजमान गराइने भए । परमानन्द झाहरुलाइ शीरमा नराखी कार्यक्रम नै अगाडी नबढ्ने कारण के हो भनेर आयोजकसँग कसैले सोध्योभने, “उनीहरु नआईकन मेडिया आउँदैन, क्यामेरा आउँदैन” भन्ने प्रष्ट जवाफ पाइन्छ ।
परमानन्द झाहरुलाइ कवरेज गर्दागर्दै प्रसिद्ध कवि उपेन्द्र श्रेष्ठज्यू देहावसान हुनुभएको समाचार प्रकाशन र प्रशारण गर्ने स्थान रहँदैन । व्यवशायिक भैसकेपछि सर्वसाधारण जनता मेडियाको सरोकारमा परेनन्। फटाहा नेताहरुले सधैं उत्सर्जन गर्ने अर्थ-न-बर्थका हल्लाहरु, उनीहरुका अहंका टक्करहरु र उनीहरुले सधैं खोक्ने कुण्ठाहरु तथा फिल्मी हिरोइनहरुले आँखा झिम्क्याएका, मस्किएका र इतरिएका बर्णनहरु र ५ इञ्चको ब्रा र २ इञ्चको लगौंटी लगाएका युवतीले देखाएका मस्तीका पोजहरु मेडियाको उच्च प्राथमिकतामा परे । मेडियाले सधैं उच्च हैसियतका व्यक्तित्वले प्राथमिकता दिएको कार्यक्रमलाइ नै रोज्छ । त्यस्मापनि नामी र दामी अनुहार खोज्छ। त्यस्ता कार्यक्रम तथा नामी-दामी अनुहार खोज्दाखोज्दै सर्वसाधारणको लागि ठाउँ हुँदैन । वर्तमानको यथार्थ स्थिति ठ्याक्कै कस्तो छभने मेडियामा आम जनताको लागि ठाउँ बच्दैन र नामी व्यक्तिसँग सर्वसाधारणको निम्ति समय रहँदैन ।
स्थिति यस्तो बन्दैगएपनि सबकासब मेडिया वजारवादी भैसकेका छैनन् । समाज, राष्ट्र र जनताप्रति जिम्मेवारीवोध गर्ने मेडियापनि अझै प्रसस्त छन् । यी जिम्मेवारीवोध भएका मेडियाले वजारवादको प्रदुषणबाट जोगाउन खोजी पत्रकारितामा ध्यान दिए पुग्छ । त्यसको लागि साविकदेखि प्रचलित परिमाणात्मक र गुणात्मक अनुसन्धान विधिलाइ अबलम्बन गरिदिए पर्याप्त हुन्छ ।





