होक्काईदो देखी हिरोशिमासम्म

डा़. कृष्णपसाद पौडेल

photo

(हातमा नेपालको झण्डा बोकेका जापानका प्रसिद्द अर्थोपेडिक चिकित्सक सिगाओ माचुनोसित लेखक)

मेरो सोचाईको जापान थियो, समुद्रले घेरेको एऊटा सूदूर पूर्वी देश । अहिले देखेको जापान भने ७० प्रतिशत पहाड़हरूले सुन्दर बनाएको भुभाग रहेछ । बाँकी ३० प्रतिशत जमीन मात्र समथर । बसोबास छ, क़रीब १५ करोड़ जनताको । यहि मुलुकमापनि अहिले २६,२७ हज़ार नेपाली पूगिसकेका छन् । आफ्नो ठाउँमा रोजगारी र व्यपारको रामो उपाए नभएपछि यहाँ आउनु अस्वभावीक मान्न पनि सकिएन । यहाँ कमाएको पैसा नेपालमै लिएर जानु पनि खुसीकै कुरो भो । रेस्टुरेन्ट, रेमिटेण्स, ब्यबसाय, बिद्यार्थी र पेशाकर्मीहरु सबै हुनुहुँदो रहेछ यहाँ । मुख्य पेशा चाहीँ रेस्टुरेन्ट ब्यबसाय रहेछ । नेपाली र इन्डियन परिकार पस्कनु र यसको लोकप्रियता पनि बढ्दै गएकोले यसबाट हाम्रा दाजुभाईहरुले राम्रो उन्नती गर्नुभएको रहेछ । सोलबाट सापोरो आउँदै गर्दा नै मैले सुनें, होक्काइदोमा दुई थरीका नेपाली रेस्टुरेन्टहरु छन । एउटा ‘‘बिस्तारै बिस्तारै’ ग्रुप र अर्को सुर्य ग्रुप ।

अगस्ट २४ शनिवारका दिन होक्काइदो प्रान्तकै दोश्रो ठुलो शाहर आशाहीकवा जाने भनेर म तम्तयार बसेको थिएँ । एन आर एन होक्काइदोका संयोजक अर्जुन अधिकारीलाई चोमे भन्ने ठाउँमा भेटेर निस्किँदा देखेको नेपाली रेस्टुरेन्ट पहिलो नेपाली रेस्टुरेन्ट थियो मेरालागि । त्यहाँ धित मरुन्जेल नेपाली खानापनि खान पाइयो । असहिकावा जाने बाटोमा थाकिकावा भन्ने ठाउँ रहेछ । त्यहाँ पनि रहेछन्, दुइ वटा नेपाली रेस्टुरेन्ट । तर नेपाली रेस्टुरेन्टको नाम नेपाली-इन्डिइन रेस्टुरेन्ट राख्दा रहेछन् सबैले । यसको कारण नेपाली भन्दा सबैले नबुझ्ने र इन्डियन भन्दा बुझ्ने भएकोले रहेछ ।

मैले जापानमा अनेक अनेक रमाईला, घत लाग्दा कथाहरु सुने, प्रसंगबारे जान्न पाएँ । एक दिन जापान मै एम बिबिएस पढ्दा त्यहि एम डी गर्दै गरेका डा ससिम पौडेलले त्यहाँ पत्रकार र चिकित्सक विचको कथा सुनाए । जापानमा मान्छेले काममा मात्र ध्यान दिन थालेपछी बच्चा पाउन छोडेछन । यसरी जनसंख्या कम हुन थालेपछी प्रत्येक बच्चाको जन्ममा धेरै निगरानी हुन थालेछ । हुने नै भयो, बच्चाको कमी हुन थालेपछि । अनी सुरु भएछ साधारण दुर्घट्नामा पनि डाक्टर लाई केरकार गर्ने काम । केहि दशक अगाडीबाट यसरि धेरै मिडियावाजी हुन थालेपछी यहाँ Gynaecology/Obstretrics बिषय पढ्न छाडेछन । त्यसले गर्दा यो बिभागमा काम गर्ने डाक्टर पाउन पनि कमी हुनेनै भयो । यसरि डाक्टरलाई हतोत्साही बनाउने यस्ता समाचारहरुको प्रभाब देखिएपछी पत्रकारहरु यस्ता समाचारहरुमा बिचार गरेर, अलि गम्भिर भएर न्युनिकरण गर्ने हिसावले मात्र लेख्न थालेछन । त्यसैको प्रभावले गर्दा अहिले यो समस्या यहाँ देखिँदैन ।

काम र पढाईको चाप निकै भएका बेला रमाईलो गर्न मन लाग्नु स्वभाविकै हो । यस्तोबेला कहिलेकाहीँ कोही मानिसलाई भेट्न पाए हुन्थ्यो । साथै बसेर फोटो खिच्न पाए हुन्थ्यो भन्ने लाग्छ । मलाई यस्तै मन लागेको एक जना हुनुहुन्छ प्रोफेसर डा शिगाओ माचुनो । उहाँ जापानको प्रसिद्द अर्थोपेडिक सर्जन हुनुहुन्छ । अहिले ९० वर्षको हुनुहुन्छ । रमाइलो कुरा यो फोटो मैले उहाँको घरमा गएर लिएको नभै होक्काईदो अर्थोपेडिक हस्पिटलको उहाँको कार्यालयमा लिएको हुँ । यसको अर्थ, उहाँ अहिलेपनि काम गरिरहनु भएको छ । र आश्चर्यको कुरा उहाँले अहिले पनि बिरामीको शल्यक्रिया गर्नुहुन्छ । हाम्रो तिर ४० वर्ष नलाग्दै ‘बुढो हुन लागियो’ भन्ने र ५० पुगेपछी खुइय खुइय गर्ने उक्ती सम्झेर मलाई यो सान्दर्भिक लागेकाले यहाँ उल्लेख गरेको हुँ । आफ्नो काम त मानिसले गरिरहनु पर्ने रहेछ जुन स्वास्थ्यको लागिपनि फाइदाजनक छ । मेरो पनि अलिअली कपाल फुलिसक्यो । मलाई पनि ‘बुढो हुन लाग्यो है’ भन्लान भनेर चिन्ता लाग्थ्यो । तर अब भने लाग्दैन । यो सकारात्मक पाटो मैले यिनै माचुनोबाट सिकेको हुँ भन्दापनि फरक पर्दैन ।

photo (1)

थाकिकवा आफैंमा त्यति ठूलो शहर थिएन । तर पनि एउटा साधारण जापानी शहरमा देखिने सबै कुरा यहाँ थियो । रात्री जीवन जसले जेमा रमाउँछ त्यस्तै कुराहरु त्यहाँ थिए । एउटा केटी एक्लै कुनै डर, त्रासबिनानै, आफूलाई असुरक्षित महसुस नगरिकन निस्फिक्री हिनिरहेकी हुने । जापानमा केटी जिस्काउन पनि त्यति सजिलो कहाँ रहेछ र ! केटी रिसाएर पुलिसलाई खबर गरिदिई भने जिस्काउनेको हालत खराब बनाइदिन्छन् रे त्यहाँका प्रहरीले । केटीहरु कानुनले नै बढि सुरक्षित रहेछन । थाकिकवादेखी अशाहीकवासम्म लमतन्न फैलिएका ति पहाडले सधैं मात्रिभूमीको झल्को दिने रहेछन् । पहाडी जिवन, खोच र थुम्काको सम्झना आइरहने रहेछ ।

अघिल्लो वर्ष जापानमा केही नेपालीले आत्महत्या गरेका घटनाहरू सुन्नुपर्यो । आफ्नो देशका नागरीकहरूको काम र बसाईको स्थिति राजदुतावासहरूले जिम्मेवारी पूर्वक हेरेमा यस्ता घटनामा कमी हुन सक्ने मलाई लाग्यो । किनकी जसरी भएपनि ऊनिहरूलाई विदेशमा आफ्नै देशको दूरावस्थाले पुर्‍याएको हो  |

ususan-300x225एक दिन अचानक डा ताकौचीले ‘घुम्न जाउँ’ भन्दै लिएर हिँडे । म घुमन्तेलाई के चाहियो ! म मख्ख । उनले राम्रो इङ्लिस नजान्दा र मैले जापनिज नजान्दा अलि गाह्रो पर्थ्यो बेला बेला । जे भन्दापनि अँ अँ भन्दा भन्दा दिक्कै परिने । अनी उनले भनेको कती महत्वपूर्ण कुरा बुझिएन होला भनेर बेमोज लाग्ने । एस्तै यता उता हेर्दै गर्दा मैले अलिक पर समुन्द्र जस्तै पानीको बनावट देखें । ‘अरे कसरी जापान सि आयो’ भनेर दङ्ग परेको त त्यो त प्रशान्त महासागर पो रहेछ । यो प्रशान्त महासागारको पहिलो झल्को थियो मेरो ।

माउन्ट उसु पुरै जापानको एउटा पर्यटकिय स्थल रहेछ । यो पहिलो झल्कोले निकै बेरसम्म मेरो मन प्रफुल्ल भईरह्यो । साँच्चै नै बच्चादेखि सुन्दै र पढिँदै आएको आहा यो हिमाल आज देख्नै पाईयो नांगो आँखाले भनेर हर्षित भयो मन । त्यसपछि थियो हाम्रो उसु माउन्ट र तोया लेक सम्मको यात्रा । उसु हिमाल ज्वालामुखी जाने पहाड पो रहेछ । प्रत्येक १२ वर्षमा यहाँ जाने रहेछ त्यसरि ज्वालामुखी । त्यसो त ज्वालामुखीले बनाएको नयाँ पहाडपनि रहेछ त्यहाँ । यसरि मैले नदेखेको र नछोएको चिज देखेको दिन थियो त्यो । उसु पहाड माथि केबल कारबाट चढेर पुगेपछी धुवाँ निक्लेको देखिने रहेछ ठाउँ ठाउँबाट ।

JP_laketoya1

यहाँबाट हेर्दा एक तिर प्रसान्त महासागर । अर्को तिर तोया लेक देखिने । तिनको द्रिष्यपनि उस्तै सुन्दर । जिवनमा देखेका सबै द्रिष्यलाई तुलना त तत्कालै कसरि गर्नु र ! तरपनि त्यो द्रिष्य सम्झिँदा अहिलेपनि लाग्छ, मैले अहिलेसम्म देखेका दृस्यहरुमा यो सबै भन्दा सुन्दर यहि हो ।

(लेखक चितवनको भरतपुर अस्पत्तालका हाडजोर्नी, मेरुदण्ड विशेषज्ञ हुन्)

तपाइँको प्रतिक्रिया