प्रचण्डका पीताको ‘मुक्ति टावर’ हेरेर मन अमिल्याउँदै शहिदकी आमा
● जयन्ति लुइँटेल
हँसिलो मुहार, गोरो अनुहार, मझौला कद हेरेक बोलीमा छुट्टै खालको मिठास उनका विशेसता हुन् । सायद साथमा नभएको आफ्नो आमाको तृष्णा मान्छेहरु उनलाई “आमा” भनेर बोलाएर मेट्छन् ।
वानेश्वर स्थित ह्राइट हाउस कलेज र रत्नराज्य लक्ष्मी स्कुलको वीचबाट पस्चिमपटिको अगाडि लाग्ने सानो बाटो समातेपछि करीब ५० मिटरको दुरीमा उनको सानो काठले बारेको कटेरो दाँया साइटमा उभिएको छ । कटेरोभित्र एउटा माटोको गाग्रो, एउटा ग्याँस चुलो, केही सामान्य खालका भाडाकुँडा, केही पाकेट सुर्ती, पानपराग, ६।७ पिस सावुन, माना चारेक अटाउने चिउरा राख्ने भाडो र एउटा कुनामा पल्टिरहेको जुठो भाँडोले उनको कटेरो र उनी स्वयंको आर्थिक सामाजिक अवस्थाको परिचय दिइरहेका छन् ।
एउटा सानो डेक्चीमा तरकारी पकाउछीन् उनी । माग भयो भने दुइचार कप चिया वरिपरिका पसलमा पुर्याइदिन्छीन् । चार पाँचवटा पसल र पछाडिपट्टिको काठ गोदाम उनको व्यापारको मुख्य ग्राहक हुन । बाटो हिड्ने एकाध मान्छेले एक दुई पाकेट सुर्ती र पानपराग किन्छन् उनको कटेरोमा । त्यस्तोलाई के पस्ल भन्नु ? पसल पसल भन्ने न्युनतम आधारसम्म देखिदैन ।
चिनेजानेका बाटो हिड्ने मान्छे “आमा पानी खाउ” भनेर गाग्रोमा राखेको पानी पिएर हिँड्छन् ।
अर्घाखाँची जिल्लाको छाप डाँडा गाविसकी स्थायी वासिन्दा उनी बाढी पहिरोको चपेटोमा सबै जायजेथा गुमेपछि वषौं पहिले चिचिला सन्तानका साथमा काठमाडौं भित्रिएकी रहिछन् । अत्यन्तै सोझो र दीर्घ रोगी श्रीमान, एउटी नन्द र आफ्ना पाँच वटा सन्तानका साथमा यो विरानो मुलुकमा जीवनको डुङ्गा खियाउदाका उनका कठिनाइहरुको बेलिविस्तार उतार्ने हो भने छुट्टै महाकाव्य बन्ने रहेछ । साँचै कसैकालागि जीवन कत्ति क्रुद्ध हुँनेरहेछ ।
शुरुमा त उनले छोरा शहिद भएको कुरा नै स्वीकारिनछन् । पछि माओवादीका नेता कार्यकर्ता आएर घटना विवरण सुनाएपछि “देशको लागि जान्छु आमा पार्टीमा” भनेर छोरा हिँडेको र आफूले टीका लगाएर विदा गरेको पछिल्लो घटना संझिदै उनी रोहेकी रहिछन् पार्टीका मान्छेहरुसंग । पछि पार्टी खुल्ला भएर सबै नेताहरु काठमाडौं आएपछि शहिदका निम्ति गर्ने, शहिद परिवारका निम्ति गर्ने भनेर बाडेका बडे बडे मौखिक कोसेलीप्रति आमाको ठूलै भरोसा रहेछ । सुरुका दिनमा उनले आफन्त र वरिपरिका मान्छेसँग मेरो छोरा देश र जनताको निम्ति शहिद भयो भनेर गर्व गर्ने गर्दिरहिछन् । जव पार्टीका बडे बडे केही नेताहरुको उठबस, रुपरङ्ग, चालढाल बदलिदै गएको देखेपछि आमाको चीन्ता, शंका,पीडाका साथै आक्रोशको पारो पनि चुलिन थालेको रहेछ ।
नयाँ वानेश्वर चोकको नजिकै पुष्पकमल दहालको वाबुको नाममा निर्मित “मुक्ति टावर” त्यो बाटो ओहोर दोहोर गरेपिच्छे हेर्दिरहिछन् उनी अर्थात शहिदकि आमा कमला शाही । । आफ्नो छोराको शालिक कुनै ठाउँमा बन्छ भनेर पार्टीकै मान्छेले भनेको कुरा संझेर उनको मन अमिल्लिन्छ रे । शहिदका नाममा राज्यकोषको ठूलो धनराशी निकासा भएको सुचना पनि उनीसंग रहेछ । तर त्यो वास्तविक शहिद परिवारले नपाएको र बीचका टाठाबाठाले अकूत रकम कुम्ल्याएको उनको ठहर रहेछ । “हामीलाई त चाहरो मात्र छरेका छन् ” उनको थप कथन छ ।
एक लाख रुपैयाँ पाउने भनेपछि उनी चार वर्ष पहिले अर्घाखाँची गएकी रहिछन् । बाटोमा मोटर साइकलले हानेर त्यो पाएको पैसाले नै नपुग्ने गरी उपचार गर्नु पर्ने भएछ । राज्यले शहिद परिवारलाई रु दश लाख दिने निर्णय गरेको भन्ने पनि उनले पार्टीकै मान्छेबाट सुनेकी रहिछन् । तर त्यो आउनेमा उनी विस्वस्त छैनन् ।
दशै तिहारको अवसरमा गत साल वाबुराम भट्टराईले शहिद परिवारलाई बालुवाटार बोलाएर खानपान गराएका थिए रे । उनले त्यो भेटमा ३ पेज लामो आफ्ना भावना र शहिद परिवारका माग उल्लेख गरेकी थिइन रे । आफ्नो लागि छुटै कुनै माग राखिन भन्छिन् उनी । उनका छोराहरु जे गर्न भनेर हिँडेका थिए त्यही गरिदिनुपर्छ भन्दै भक्कानो परिन् । उनको छोराले गरीबको व्यवसथा ल्याउँछु भनेका थिए । अहिले थोरै नेताहरुको मात्र व्यवस्था आएको उनले टेलिभिजनमा नेताहरुलाई हेरेर थाहा पाएको रे ।
राहत लिन जाँदा दुर्घटनामा परेर भाँचिएको खुटो, सुगर, ब्लडप्रेसर, अन्य विभिन्न भित्री रोगसगँ जुध्दै बूढो शरीर सकिनसकी शहरको पेटीमा बसेर घिसारिराखेकीछन् उनले । अस्पतालमा गएर उपचार गर्न पैसा नभएर निशुल्क स्वास्थ्य सिविरमा जचाँउन जाने गर्दिरहिछन् उनी । अर्कोतिर बुढाको हालत उनको भन्दा चर्को रहेछ । करीब दुई घण्टा लामो मसँगको. भेटमा उनका आँखा सुरुका केही मिनेट बाहेक ओभाना रहेनन् । उनले रुदै रुदै आफ्ना बह पोखिन ।
उनको अहिलेको मुख्य चिन्ता भनेको दशैपछिदेखि उनको कटेरोको पछाडिको काठ गोदाम हट्दै रहेछ । काठ गोदामसँगै उनको कटेरो पनि उठाउने रहे। अर्थात् चिन्ता रोजिरोटी र बास कसरी बस्ने भन्ने नै रहेछ । जमिनको धरो छैन रे । कुरै कुरामा उनले पार्टी र राज्यले उनको लागि एउटा बासको व्यवस्था गरिदिन सक्दैन भन्दै प्रश्न तेस्र्याइन मसँग । मैले उनको भनाइमा सहमति जनाएर मुन्टो मात्र हल्लाए । देश र जनताको पूर्ण आजादीको लागि आफ्नो जीवन बलिदान गर्ने शहिदकी आमा एउटा बासको लागि आज सहिद भएको छोरालाई संझिदै पुकार गर्दै छिन् । म हिजो माओवादीले जनयुद्धका क्रममा जनतालई बाँडेका सपनाको गहिराईमा डुब्दै गएँ ।
उनका पाँचवटा छोरा मध्ये एउटाको पहिल्यै मुत्यु भएको रहेछ । बाँकी चारवटा मध्ये साहिलो छोरो रमेश नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेपछि देश र जनताको पूर्ण मुक्तिको लागि भनेर २०५८ सालदेखि पूर्णकालीन कार्यकर्ता भएर लागेका रहेछन् । उनलाई २०५९ सालमा यएरपोर्टमा बम राखेर फर्कने क्रममा प्रहरीद्धारा नियन्त्रणमा लिई चरम यातना दिएको रहेछ । पछि ७ महिना जेल राखेरपछि २०६० सालको सारकार माओवादी वार्ताका क्रममा उनी जेल मुक्त भएका रहेछन् । अत्यन्तै मिलनसार, नम्र, सहयोगी र अन्याय सहन नसक्ने स्वभावका उनी २०६० सालदेखि सैन्य फर्मेशनमा आवद्ध रहेछन् । पार्टीको जिम्मेवारी निर्वाह गर्ने क्रममा उनलाई ज्ञानेन्द्र शाहद्धारा परिचालित संयुक्त सुरक्षा बलले धादिङ्गको भूमिस्थान गाविसको आग्रा खोला नजिकैबाट नियन्त्रणमा लिई चरम यातना दिएर हत्या गरेको त्यस समयमा धादिङ्ग जिल्लामा कार्य थलो भएका नारायण लामिछानेले बताए ।
हाम्रो पनि आग्रह राज्यले शहिद परिवारको भरणपोषणको जिम्मा लेओस । शहिदका सपना पुरा गर्ने दिशामा गंभीरतापूर्वक अघि बढोस् । सिंगै देश यो राष्ट्रकी आमा कमला शाहीको पीडामा मलम लगाउन अग्रसर बनोस । महान् सहिद अंमर रहुन !
(जयन्ति लुइँटेलको फेसबूकबाट लिईएको हो)






