स्विटरपनि नफेरी गए नरबहादुर दाई

nar-bahadur-karmacharya-2धेरैले कार फेरे । उनैका शिष्यहरुले गाडी फेरे । घर फेरे । तिनले बंगाला फेरी फेरी बसे । बिदेशी मुलुक फेरी फेरी घुमे । तर करिब दश वर्षसम्म यि नर बहादुर कर्माचार्य दाईले स्विटरपनि फेरेनन् । यहि कमेरो रङको स्विटरमा देखिन्थे उनी ।

मैले उनलाई राष्ट्रिय आन्दोलनका धेरै ठाउँमा सँगै भेटें । सडकमा नारा जुलुस लगाउँदा कहिलेकाहिँ सँगै परिन्थ्यो । पहिलो पटक उनसित बसेर मज्जाले गफ गर्ने अवशर भने नेपाल कम्युनिष्ट पार्टीका अर्का संस्थापक निरञ्जन गोबिन्द बैध बिरामी भएका बेला हो । उनलाइ त्यो बेला काठमाडै नर्सिङ होम (त्रिपुरेश्वर) राखिएको थियो । म तिनै बैध्यलाई भेट्न गएको थिएँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्य दाईपनि त्यहिँ रहेछन् । आफ्ना साथी बैध्यलाई भेट्न पुगेका । तर संयोग कस्तो पर्‍यो भने बैध्यलाई उनको पुतली सडकस्थित घरमा लगिसकिएको रहेछ । उनलाईपनि थाह रहेनछ । अनि हामीलाई पनि उनीसँगै बैध्यको घर जाने मेसो मिल्यो । हो त्यहिँ बैध्य लाई भेट्न जाँदा नरबहादुर दाईसित मज्जाले गफ गर्ने मौका मिल्यो ।

त्यहाँबाट लोकल बस चढेरै हामी बैध्यको घर गएका थियौं । पुतली सडक स्थित बैध्यको घरमा पुगेपछि नरबहादुर दाईले बैध्यकि पत्नीलाई साह्रै जिस्काए । हामीलाईनै अचम्म लाग्यो । बैध्यका परिवारसित नरबहादुर दाईको त्यस्तो निकट संवन्ध रहेछ । ‘चिया बनाउ न चिया बनाउ’ नरबहादुर दाइले भने ।

बैध्यकि पत्नीले हाँसेर भनिन् ‘बनाउँला नी, के हतार ? आर्काको स्वास्नीलाई अडर गर्न पाइन्छ ?’

नर बहादुर दाई ठट्टिए ‘तिमीलाई माया गरेको मानिनौ । मसित नगरेर निरन्जनजीसित बिहे गर्‍यौ । मैले तिमी जस्तो कोहि पाइन, अरु कोसैमाथि आँखा लागेन, अनि गरिन ।’

फेरी बैध्यकि पत्नीले थपिन् ‘तिमीले त आँट्न सकेको भए पो । तिमी त छेरुवा पर्‍यो नी, स्वास्नी पाल्न नसक्ने, त्यहि भएर कसैले नपत्याएको ।’

सबै हाँसियो । त्यहाँ नरबहादुर दाईले असाध्यै हँसाए । त्यहि बेला कम्युनिष्ट पार्टी स्थापनाका केहि कुरापनि सोध्यौं । निरन्जन गोबिन्द बैध्यको थप भूमिकाका बारेमा, उनको जिन्दगी, परिवारका बारेमापनि सोध्यौं । नरबहादुर दाईले धेरै कुरा खुलस्त पारे । भूमिगत कालमा कसरि काम गरिन्थ्यो । रुसबाट क्रान्तिकारि भनिने पुस्तक कसरि आउँथे । कसरि संगठन बनाइन्थ्यो ? कसरि भेष बदलेर हिँडिन्थ्यो । उनले धेरि कहानी सुनाए ।

मलाई अचम्मा के कुरामा लाग्यो भने उनीसित त्रिपुरेश्वरमा भेट हुँदा उनले यहि फुस्रो रङको स्विटर लगाएका थिए । पछि करिब दश वर्षसमम लगातार उनलाई बिभिन्न कार्यक्रममा देख्दापनि उनको शरिरमा यहि स्विटर थियो । उनलाई मोज मस्ति, सम्पत्ती, गाडी, बंगला, बिदेश भ्रमण केहिमा लोभ थिएन । कम्युनिष्ठ पार्टीका संस्थापक नेता । उनले चाहेको भए के जोड्न सक्थेनन् ? कुन देश पुग्न सक्थेनन् ? कस्तो गाडी चढ्न नपाउँदा हुन् ? तर उनी सार्वजनिक यातायतमा हिँड्थे । कि त कार्यकर्ताले गाडीमा लिएर यताउति गराए मात्रै हो।

उनले आफ्नो जिवनमा केहि कमाएनन् । पाटनमा भएको पूर्खौली सम्पत्तीमै रमाए । उहि घरमा बसे ।

उनको सबै भन्दा राम्रो बनी, उनी असाध्यै सकारात्मक थिए । ‘नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्न भनेर २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गरियो । तर अहिलेसम्म सकिएको छैन ।’ उनी भन्ने गर्थे । तर त्यो आकांक्षा पुरा हुन्छ भन्नेमा उनी ढुक्कपनि थिए । किनभने उनीसहित चार जनाले रोपेको नेपाले कम्युनिष्टको बिरुवा करोडसम्म भैसकेको थियो । सबै ठाउँमा फैलिएको थियो । सबैलाई जोड्न सकेको भए प्रमुख शक्ति बनिसकेको थियो ।

उनकालागि पाठशाला आफ्नै गाउँघर, पार्टी बन्यो । नेपाली जनता नै उनका गुरु बने । शरिर ढाक्नु र प्राण धान्नुमै उनले सर्वथोक देखे । उनलाई साम्यबाद बुझ्न, समाजवाद बुझ्न बिदेशीका दैला चहार्नु परेन । यि सबै उनले आफ्नै गाउँठाउँमै बसेर बुझे, देखे, छामे । बिदेशी प्रभुका ढोका ढोका चहार्ने र लम्पसार पर्ने काम कहिल्यै गरेनन् । आफु जन्मिए, देखे भोगेको पाटनवासी उनकालागि सर्वथोक भए । त्यहिँ खाए, त्यहिँ रमाए । त्यहिँको औषधी मुलोले उनलाई नौ दशकभन्दा बढि टिकायो । उनको यहि जिवन, बिचार, शैलीले धेरैलाई कम्युनिष्ट आदर्श, बिचार र आस्थामा तानिरह्यो सायद ।

उनले कहिँ कतै भत्ता थापेनन् । सत्तामा र्‍याल काढेनन् । कम्युनिष्टको सच्चा आदर्श र बिचारमा अडिग रहे । त्यसैमा रमाए । आफ्नै शिष्यहरुले बिदेशी महँगा बलेरो, प्राडो र पाजेरोमा हुइँकिँदापनि उनकालागि ति निरर्थक देखिए । भौतिक सुबिधाले उनलाई कहिल्यै जित्न सकेन । भौतिक सुबिधा, आराम, मस्ती, धन सम्पत्तीको रजाइँ जस्ता कुराबाट टाढा रहेकैले होला उनी अन्तिम समयसम्मपनि मुस्कुराईरहे । किनभने उनले उनले पछुताउनुपर्ने काम नै गरेनन् । आत्मसम्मान, गौरव, सन्तुष्टि, प्रशंसा सबै पाइरहे । सबैको प्यारो बनिरहे । भौतिक सुखसुबिधा रुचाउनेलाई उनले एक दशकसम्म नबदलि लगाएको खैरो रङको स्विटरले ब्यंग्य गरिरह्यो । अन्तिम अवस्थासम्मपनि उनी कम्युनिष्ट आदर्श, बिचार र आस्थामा अडिग रहेर, पालना गरेर लाखौंलाई रुवाउँदै बिदा भए । हिजोबाट उनले भौतिक रुपमा यो संसारबाट सदाकालागि बिदा लिए । अन्तिम श्वास फेरे । तर उनलाई लाखौं करोडौं जनताले उनलाई संझिरहने छन् । उनका आदर्शबाट पाठ लिईरहने छन् । उनको बाटोबाट सिकिरहने छन् । उनलाई संझिरहने छन् । नर बहादुर दाई, तपाईलाई युगौं युगले सम्झिरहने छ । हार्दिक श्रद्दान्जली !!!!

तपाइँको प्रतिक्रिया