बजेट भाषण र गरिबको पेट
● घमराज लुइँटेल
टेलिभिजनमा अर्थमन्त्री बजेट भाषण गर्दै छन् । होटलवाला काउन्टरमा बसेर टिभी हेर्दैछ । उसका केही ग्राहक पनि टिभी हेर्दै खाँदैछन् । मन्त्री आउँदो आर्थिक वर्षको अनुमानित आयव्यय विवरण भट्याइरहेका छन् ।
‘हैन, कति महँगी बढेको ए !’ होटलवालाले भन्यो । ‘तपाईहरूलाई ता के छ, जति महँगी बढ्छ, त्यसमाथि टन्न थपेर नाफा निकालिहाल्नुहुन्छ !’ कुखुराको साँप्राको आकार घटाउँदै एउटा ग्राहकले व्यंग्य कस्यो । ‘तै त, तपाई साहुहरूकै त दिन छन् नि जहिले पनि’, अर्काले खसीको भुटनसँग चिउरा र भट्मास चपाउँदै थप्यो ।
‘तपाई कर्मचारीहरूलाई झन कसले भेट्छ नोट बटुल्न । जागीर खरदार, मुखियाको खाएर चार तले घर ठोक्नुहुन्छ नि । हाम्रो के तुलना !’ होटलवाला पनि के कम । बोतलबाट बियर गिलासमा खन्याइदिँदै लक्षणायुक्त वाक बाण प्रहार गर्यो।
मन्त्री एउटै रफ्तारमा भाषण ठोक्दैछन्, ‘गरिबी हटाउन यस आर्थिक वर्षमा गरिबको पेट भर्नेगरी बजेट छुट्याएको छु’ । मन्त्रीको भाषण नेपालगन्जको टाँगा जस्तै अगाडि बढिरहेको छ ।
सटरको छेवैमा दुई प्राणी बसेका छन् । कुकुर र सन्तबीर । कुकुर बेलाबेलामा जुठो खानेकुरा र हड्डी पाइरहेको छ । उसमा खानेकुराप्रति खासै आशक्ति छैन । ऊ गुडुल्किएर सन्तोषसाथ सुतेको छ । तर कान ठाडा छन् । कुकुरको भन्दा भिन्न अवस्था छ सन्तबीरको । उसले खाना पेटभरि नखाएको दुई दिन भइसकेको छ । कुकुरको जुठोपुरो सहज छ । तर सन्तबीरका लागि खाना दुर्लभ छ । अस्ति भाँडा माझ्दा गिलास फुटेपछि पल्लो टोलको होटल साहुले निकालेपछि उसको दाना पानी पनि बन्द भएको छ ।
सन्तबीरको घर सिन्धुपाल्चोक । उमेर १२ वर्ष । मैलो बाहुला फाटेको कालो सर्ट । च्यातिएको आफूभन्दा ठूलो खैरो थोत्रो पाइन्ट । फितावाला एकजोर चप्पल । बुढीऔँला अड्याउने लोती चुँडिएर डोरी हालिएको छ । एकापट्टिको कुर्कुच्चाको दबाब बढी परेकाले चप्पल एकपट्टि खिएका छन् । महिनौँदेखि नकाटिएको र साबुन पानीको संगत नगरेको जिंगरिंग कपाल । पढाइ ४ कक्षा । आफ्नी आमा ८ वर्षको हुँदै मरेकी । बाबुले परार कान्छी आमा ल्याएपछि घरमा टिक्ने आधार नभएर लुसुक्क भागी काठमाडौं छिरेको ।
सन्तबीर सहनै नसक्नेगरी भोकै छ । हिजो कसैले उसलाई गन्हाउन थालेका दुईवटा डुनट दिएको थियो । तर आज पेटमा अन्न परेको छैन ।
सबैको ध्यान बजेटमै छ । ‘लौ कार फेरि महँगो हुने भो’, एउटाले भन्यो । ‘कारको के कुरा, यहाँ रक्सीकै भाउ बढिसक्यो,’ अर्काले गिलास चिरिप्प पार्दै थप्यो ।
सन्तबीरले बजेटका धेरै ठूला कुरा बुझेन । तर गरिबलाई पेटभरि खान दिने मन्त्रीको कुराले भने उसलाई मज्जाले छोयो । उसले ठान्यो– ‘अब गरिबले पेटभरि खान पाउने दिन आएछन् । अब हुटेलले मलाई पनि पेटभरि खान दिने भयो ।’
सन्तबीरले मनमनै हिम्मत जुटायो । तर हिम्मत आइरहेको थिएन । तैपनि भोको पेटले उसलाई बाध्य बनाइरहेको थियो । सन्तबीरले होटलवालालाई हेरेर भन्यो, ‘साहुजी, मलाई पनि केही खानेकुरा दिनुस् न ।’
साहु सन्तबीरसँग पैसा नहुनुपर्ने कुरामा विश्वस्त थियो । उसले कड्केर भन्यो, ‘एई फुच्चे, खानेकुरा त्यत्तिकै आउँछ? तँसँग खानेकुरा किन्ने पैसा छ ?’
‘साहुजी त्यसको व्यवस्था भइसक्यो । खानेकुरा दिनुस् न ।’ सोझो सन्तबीरलाई साहुले समेत बजेट भाषण हेरेकाले नयाँ व्यवस्था थाहै हुनुपर्ने विश्वास जागेको छ । सन्तबीरको आत्मविश्वासयुक्त कुरा सुनेर साहु अलमलमा पर्छ । ‘न यससँग पैसा छ,’ साहुले मनमनै सोच्यो र चेतावनीयुक्त स्वरमा भन्यो, ‘भरे पैसा भएन भने झुण्डाउँछु नि, के खान्छस् ?’
भोकले खहरिएको सन्तबीरले एकै सासमा भन्यो, ‘भात !’
एक प्लेट दाल-भात आइपुग्यो । सन्तबीर भातमाथि खन्नियो । एकैछिन्मा प्लेट रित्तियो । सन्तबीरले फेरि थपिमागेर खायो । टन्न पेट भरियो ।
मन्त्री भाषणमा भन्दै थिए ‘विद्यालय जान नपाएका केटाकेटीलाई सरकारले आफ्नै खर्चमा पढाउने छ । परिवारबाट अलग केटाकेटीको खानपान र शिक्षा सरकारले मिलाउने छ ।’
सन्तबीरलाई आनन्द लाग्यो । खानाको पैसा सरकारले तिर्छ र स्कूल पनि पठाउँछ । उसले साहुलाई सोध्यो, ‘साहुजी, खाना त भयो, अब स्कूल चाहिँ कसरी जान पाइन्छ ?
पहिले त साहु अल्मलियो । उसले सोध्यो, ‘खानाको पैसा खै ?
सन्तबीरले सीधा र सरल उत्तर दियो, ‘अहिले भर्खरै मन्त्रीले भनेका हैनन् साहुजी, गरिबलाई पेटभरि खान सरकारले मिलाएको छ भनेर !’
सन्तबीरको कुरा सुनेर साहुको दिमाग खराब भो । क्रोधाग्निले उसलाई लाललाल बनायो । ‘गधा, भातको पैसा नतिरी सित्तै भात भकुरेर अब स्कूल सोध्ने तँ ! तलाई ता ला…!’
होटल साहुका लात र हात दुबै सन्तबीरमाथि बर्सिन्छन् । एकएक हात खाइरहेकाले पनि थप्छन् ।
‘चोर, चोर, चोर !’ होटल साहु कराउँछ । छेवैमा बसेको प्रहरी तमास हेरिरहेको छ । किनकि, त्यही होटलवाला उसको पनि अन्नदाता हो । होटलवाला र खानेहरूको झम्टाइमा परेको सन्तबीर रगतले लथपथ भइसकेको छ । बाजका अगाडि परेको परेवाको हाल बनिसकेको छ । ‘ए, धेर नकुट, मर्ला, पुलिसलाई बुझाइ देऊ,’ एउटाले भन्यो । होटल साहुले अर्धमृत सन्तबीरलाई लगेर रमिते प्रहरीलाई बुझाइदियो, ‘लौ पुलिस सर, यस चोरलाई खोरमा हाल्नुपर्यो ।
टिभीमा भने अर्थमन्त्री भाषण गर्दै थिए, ‘बाल अधिकारको सुरक्षाका लागि सरकारले विशेष व्यवस्था लागु गर्ने छ । बालबालिकामाथि कुटपीट गर्नेलाई कडा सजाय हुनेछ !’
(यो सामाग्रि लुइँटेलको फेसबूकबाट लिईएको हो )





