साउदीमा आममाफी : अवसर, अज्ञानता र अन्यौल
● धरम के.सी. / साउदी अरेबिया
आगामी ३ जुलाईसम्म साउदीमा रहेका सबै अबैध कामदारहरू बिना कुनै जरिमाना (सजाय) स्वदेश फर्किन या बैध बनेर साउदीमै रहन पनि सक्ने महान अवसर दिंदै साउदी सरकारले आम माफीको घोषणा गरेको आधा समय बितिसकेको छ । शुरूमा जसले जे जस्तो अपेक्षा, खुशी या उत्साह बोकेको भएता पनि समय गुज्रिदै जांदा भए भोगेका अडचन, ढिलासुस्ती, बिकृती, धोका र हण्डरहरूसँगै ती आसा, उत्साह र खुशीहरू क्रमशः निराशा र जटिल उल्झनमा अल्झिरहेको नियती देखिन्छ । कतिलार्इ नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार जस्तो निल्नु न ओकल्नु बनेको छ यो आममाफी ।
पासपोर्ट अफिसमा सरकारी कर्मचारीले त्यहाँ पुगेका कामदारहरूमाथी हातपात नै गरे । नेपाली दूतावासमा ५ जना कर्मचारीहरू केही दिन बिरामी नै पर्नुभयो । रोजगारदाताहरूले हिंजो अस्तीका दिनमा सहजै, सुपथ दरमै भाडामा पाउने कामदारहरू या रिलिज या ट्रान्सफर नै हुने कामदारहरू आज बढी तलब सुविधा दिंदा पनि पाउन सकेका छैनन ।
उता अबैध कामदारहरूले पनि न त भनिए जस्तो ट्रान्सफर भएर बैध रोजगारी पाउनसकेका छन । न त सहजै समयमै स्वदेश फर्किन नै पाएको अवस्था छ । कति त एअरपोर्ट पुगेर पनि उड्न नपाई बल्लतल्ल जोहो गरेको हवाई टिकट समेत गुमाएर थप बिचल्लीमा परेका छन । साप्ताहिक बिदामा समेत खुल्ने भनिएका पासपोर्ट (जवाजात) अफिस र लेबर अफिसहरूबाट नियमित दिनहरूमै समेत हुनुपर्ने कतिपय कामहरू भएका छैनन । यसरी जसरी क्यासिनोमा सबै खेलाडीहरूले बास्तवमै हार्छन (आज जितेकाले भोली हार्छन, भोली जित्नेले पर्सी हार्छन) र संधै जित्ने क्यासिनो मात्र हुन्छ । ठीक त्यसरी नै यहां यो आम माफीमा पनि निरन्तर जितिरहेको या फाइदा लिइरहेको पक्ष भनेको बिचौलिया (दलाल) हरू नै हुन जसले बाहिरी रूपमा सेवा (मध्यस्थता) गरेजस्तो तर यथार्थमा कमिशन (फाइदा) लिइरहेका छन, दिइरहेका छन ।
हो, निशुल्क, बिना जरिमाना सम्पन्न हुनुपर्ने कामहरूमा १५ हजार रियाल सम्मको लेनदेन भएको तथ्य यहांका छापाहरूमै आइसकेको छ । बिचौलिया (दलाल) हरूले नै साउदी मालिकहरूलाई मोटो कमिशन लिएर मात्र अबैधलाई बैध रोजगारी दिन सिकाएका (उक्साएका) छन । नेपाली कामदारहरूलाई पनि यो आममाफीको कागजी प्रकृयामा दूतावासले निशुल्क बांडेका फारम समेत बेचिएको छ । दूतावासको ढोकैमा यस्तै सामान्य सेवा, सहयोग पुर्याएको भन्दै १०,२० मात्रै होइन, १००, २०० रियाल सम्मको लेनदेन भएको छ । दमामको जवाजात अफिस र लेबर अफिसतिर त दलालहरूले सिधै २,५०० देखि ३,००० साउदी रियालसम्म लिएर मात्र काम गर्ने गरेका छन । यसरी कमिशन दिनेहरूको तुरून्तै काम भैरहेको देखिन्छ । अनि नदिनेको चाहिँ यो पुगेन, मिलेन, त्यो चाहियो आदि भन्दै झुलाउने मात्र गर्छन् । उनीहरु मागे अनुसार नगरे कामै नगरिदिने हुंदा सेवाग्रही कामदारहरू पनि त्यसरी दलालहरूले मागेको रकम (कमिशन) दिन बाध्य बनेका छन । साउदी मन्त्रीले नै ‘हामी त्यस्तो घुस या कमिशन नदिन मात्र भन्छौं । लिने दिनेलार्इ केही कार्बाही गर्दैनौं’ भन्नु र नेपाली दूतावासले पनि त्यस्तो अबैध रकमको लेनदेन नगर्नुस भन्ने मात्र तर लेनदेन भएको प्रमाण (गबाही) नै पेश गर्दापनि कुनै कार्बाही नगर्नुले पनि त्यस्ता दलालहरूले उच्च मनोबलका साथ कारोबार निर्बाध चलाइरहेको बर्तमान अवस्था हो ।
यस्तो बेथितीकै कारण दशकौं पछि आएको, हजारौं, लाखौंले मागेको, ब्यग्र प्रतिक्षा गरेको, थप पनि नहुने र फेरी कहिले आउने नआउने कसैले भन्न नसक्ने यस्तो सुनौलो महान अवसर ब्यर्थैमा गुम्दैछ ।
प्रशासनिक जटिलता, काममा एकरूपता र पारदर्शिता नभएर मोटो कमिशनको खेल हुँदा बल्ल बल्ल यो मौकाको सूचना पाए । साउदी अरबको दूर दराजबाट शहरतिर आएका कति अबैध (भगौडा) कामदारहरू पनि निराश बनेर अबैध नै रहिरहने सोंचमा पुगेको पाइन्छ । उनीहरूको बुझाई अझै पनि यही छ कि “आखिर हामी अबैध (भगौडा) लाई साउदी सरकारले झुण्ड्याउने पक्कै होइन होला । १-२ हजार रियाल घुस खुवाएपछि त हिंजो अस्ती पनि स्वदेश फर्किन पाएकै थियौ । भोली पर्सी पनि त्यस्तै केही उपाय फेरि निस्केला नि त ?” भन्ने सोंच अझै पालेकै छन । यो आममाफीको बेलामा फर्किदा फिंगर प्रिन्ट गरिएता पनि फेरी साउदीमै पनि फर्किन पाइन्छ । कुनै दाग लाग्दैन । कुनै जरिमाना पनि लाग्दैन । र यहीं बैध बनेर रोजगारीलाई निरन्तरता पनि दिनसक्नुहुन्छ । यसो नगर्दा जुलाई ३ उपरान्त अबैध कामदारलाई रोजगार दिंदा रोजगारदाताले लाखौं रियाल जरिमाना लगायतका ठूला ठूला सजाय पाउने पाउँछ । कसैले पनि अबैध ब्यक्तिलाई रोजगार दिंदैनन । कसैले आश्रय (संरक्षण) पनि दिदैनन । या त भोकभोकै मर्नुपर्ने या बर्सौंसम्म साउदीको जेलमा सजाय काट्नुपर्ने दिन आउंछ भनेर सम्झाउनेहरूको संख्या जति पातलो छ, त्यती नै पातलो छ यस्ता कुरामा बिश्वास गर्ने, मान्यहरूको संख्या पनि ।
यसरी कम्तीमा ५०-६० हजारको संख्यामा रहेका भगौडा (अबैध) कामदारहरूको ठूलो संख्या जुलाई ३ उपरान्त पनि अबैध नै रहिरहने नियति देखिएको छ । झण्डै यही भगौडा (पुरूष) कै हाराहारीमा यहां नेपाली महिलाहरू पनि घरेलु कामदारका रूपमा रहेको अनुमान छ । तर यो आममाफीले उनीहरूलाई छोएकै छैन । पूरै बेखबर छन, ति महिला । कमसेकम ती महिलाहरूका घर परिवारले खबर गरिदिएमा शायद उनीहरू पनि यो अवसरबाट लाभान्वित हुनसक्नेथिए । उनीहरूले सिधै दूतावासमा + ९६६ (०) ११ ४६१११०८ या ४६४५१७० मा फोन सम्पर्क गर्नसक्छन । यतिखेर नेपाली दूतावासले आफ्नो वेभ साइट www.neksa.org मा पनि आममाफीबारे प्रयाप्त सूचना सामाग्रीहरू राखेको छ । थाह पाउनेहरुलेपनि यो जानकारि थाहा नपाउनेलाई दिनु कर्तब्य हो ।
स्वदेश फर्किन चाहिने कागजात, प्रकृया र यही अर्को बैध रोजगारको खोजी र प्रकृया प्रति नेपाली कामदारहरूको अज्ञानता पनि ब्याप्त नै छ । साउदी सरकारी कार्यालयमै पनि फरक फरक प्रकृया देखिए पछि, कही स्वीकार हुने, काम हुने, कहीं नहुने, कहिं के नपुग्ने कही के चाहिने भए पछि सोझा सिधा नेपाली कामदारहरू झनै अलमल र सास्तीमा झेलिएका छन । भारत, पाकिस्तान, बंगलादेश, मिश्र, सुडान जस्ता मुलुकहरूका नागरिकहरू जवाजात (पासपोर्ट) कार्यालय र लेबर अफिस वरिपरी प्रसस्तै भेटिन्छन । तिनीहरूले राष्ट्रियता या भातृत्वको नाताले पनि आफ्ना मुलुकका नागरिकहरूलाई हर तरहले सघाइरहेको पाइन्छ । तर यी महत्वपूर्ण सरकारी कार्यालय र वरपर नेपालीहरूको पहुंच र उपस्थिती या उपलब्धता शून्य प्रायः हुनेहुंदा पनि निरीह र असहाय महसूस गर्दै चर्को कमिशनको चक्रब्युहमा फस्न बाध्य बनिरहेका छन अबैध नेपाली कामदारहरू ।
यस्तोमा नेपाली दूतावासले सरकारी र सामुदायिक सकृयता, सहकार्य र संलग्नता बढाउनै पर्थ्यो । नेपाली दूतावासका सबै कर्मचारीहरूले छुट्टी र अरू दिनहरूमा पनि एकाबिहानैदेखि राती अबेरसम्म खटेर काम गरिरहेको देखिएको छ । जेद्धा र दमाम क्षेत्रमा पनि आलोपालो गरी दूतावास (रियाद) बाटै कर्मचारीहरू खटिदै आउनुभएको छ । स्थानिय कर्मचारी तथा प्रतिनिधीहरू पनि अरूबेला भन्दा बढी नै खट्नुभएको छ । कतिपय संघ संस्थाहरू, पदाधिकारीहरू र समाजसेवी ब्यक्तित्वहरूले पनि उल्लेखनिय रूपमा स्वतः स्फूर्त रूपमा यो आममाफीमा सघाउन स्वयमसेवा गरिरहेकै स्थिती छ । तर नेपाली समुदाय र दूतावासको समेत सेवा र सहयोग पासपोर्ट र आउटपासमै सिमित देखिएको छ । जबकि स्वदेश फिर्ति होस या यहींको बैध रोजगारीका लागि होस, पासपोर्ट या आउटपास समग्र प्रकृयाको एउटा सानो हिस्सा (अंग) मात्र हो । प्रकृयालाई टुंगोमा पुर्याइ परिणाममुखी बनाउन श्रम कार्यालय, जवाजात अफिस र एअरपोर्ट सम्म सेवा, समन्वय र सहजिकरण (पुर्याउन) बिस्तार गर्नुपर्ने खांचो छ । यो खांचो जो कोहीले चाहेर पनि पुर्याउन सक्दैनन । स्वयम कामदारका हैसियतमा रहेका संघ संस्थाकर्मीहरूको स्वयमसेवा त त्यहांसम्म पुग्न सम्भवै छैन ।
त्यसैले समुदायले गर्नसक्ने काममा समुदायको अझै बढी सहभागिता जुटनु, जुटाउनुपर्ने र समुदाय पुग्न नसक्ने ठाउंमा नेपाली दूतावासले नै उचित ब्यवस्था मिलाउन जरूरी छ । साथै साउदी सरकारी कार्यालयहरूको काममा सरलता र सहजता ल्याउनका लागि र यस प्रकृयामा देखिएको कमिशनखोरी र दलालिकरणलाई दुरूत्साहित र दण्डित तुल्याउनका लागि पनि दूतावासबाटै कुटनैतिक पहल हुनु जरूरी छ । अन्यथा जुलाइ ३ बितिसक्दा आधा पनि अबैध नेपाली कामदारहरू बैध नबन्ने, स्वदेश फर्किन पनि नपाउने, नसक्ने र बिद्यमान समस्या (अबैध कामदारहरूको) को ठूलो अंश यथावत रहिरहने नियति देखिन्छ । त्यसैले थाह जानकारि नहुनेलाई जानकारि हुनेले दिनु, नबुझ्नेलाई बुझ्नेले बुझाउनु, सक्नेले सहयोग गर्नु, अबैध बसिरहेकामा रहेको भ्रम चिरिदिनु सबैको कर्तब्य हो । यसकालागि मेडिया र संघ संस्थाले ठूलो भूमिका खेल्न सक्छन् । यस्तो काममा सबैको सहयोग र चासो रहनु अति आवश्यक छ । दुतावास, एन आर एन वा केहि संस्थाको मात्रै जिम्मेवारी हो भनेर पन्छिनु हामी सबै नेपालीका लागिनै घातक हो ।
(लेखक गैह्र आवाशिय नेपाली संघ, साउदीका अध्यक्ष हुन् )





