मध्यरातमा थारुको माछा छेपाराले झ्याप्पै

सोमना थारु / बेल्जियम

OLYMPUS DIGITAL CAMERAटाइमन टापुबाट हामी मुख्य भुमिमा फर्क्यौं । हाम्रो साइकल भएको होटलमा फेरी एक रात बितायौ । अर्को दिन देखी हाम्रो साइकल यात्रा फेरी शुरु भयो । अब हामी मलेसियाको पुर्वी तट अर्थात पुर्वी समुन्द्री किनारै किनार थाइ सिमानाको कोटाबारुको गन्तव्यमा हिँड्यौं । यसको दुरी लगभग ८०० किमी थियो । हामी कहिले ६० किमी साइकलको पैडल चलाउँथ्यौं । कहिले १०० किमी चलाउँथ्यौं। कहिले १०० किमी भन्दा पनि बढी पैडल मारिन्थ्यो । हामीहरु प्राय आफ्नै टेन्टमा बस्थ्यौं । खानाहरु आँफैले बनाएर खाथ्यौं । त्यसको लागि हामी सँग त्यस्तै खाना पकाउने उपकरण र तयारी खानाहरु थियो ।

त्यही बिचमा कहिलेकाहिँ समुद्री किनरामा अवस्थित होटलमा साइकल थन्काएर टापुहरुमा गएर पनि घुमफिर र अवलोकन गर्दै हाम्रो साइकल यात्रा अघि बढदै गयो । हामी फेरी एउटा सानो टापुमा जाने भयौँ । त्यो टापुमा जानु भन्दा अघि मैले सुकेको सिध्रा माछा किनेको थिएँ । थारुहरुलाई मन पर्ने चिज । सुकेको माछा पकाउन कति सजिलो हुन्छ । पानी उमाल्यो माछा हाल्यो । अलिकती नुन र मसला । बस माछाको झोल र भात । हामी सँग चामल पनि एक किसिमको कागजमा पोको पारीएका थिए । त्यो चामल पाक्न पनि चाडै पाक्ने रहेछ ।

हामी एउटा सानो टापुमा पुग्यौं । त्यो टापुको नाम कपास रहेछ । त्यो टापुमा होटलहरु मात्र रहेछन । स्थाइ बासिन्दा त्यहा रहेनछन । होटलहरु सबै काठले बनेका जमिन देखी एक मिटर जति माथि उठाएर बनाइएका । हामी त्यस्तै काठले बनेको कोठामा सुत्ने भयौँ । दिनभरी साइकल हाक्दा हाक्दा सधैं लखतरान परिन्थ्यो । राती मरे सरह सुतिन्थ्यो । त्यो रात पनि त्यसैगरि सुतियो । तर त्यो राती मैले हाम्रो कोठाको मुन्तिर केही आवाजहरु सुनेको थिएँ, कुनै जनावरको जस्तो ।

भोली पल्ट बिहान उठेर मैले आफ्नो समुहका साथीहरुलाई त्यो कुरा जानकारी गराएँ । हामी हाम्रो घर अर्थात कोठाको पछाडि हेर्न गयौ । त्यहाँ एक किसिमको जनावरको पाइला भेटियो वालुवामा । साथीहरुले अनेक अडकल काटे । यो जनावर हो । त्यो जनावर हो भनेर । होटलका कर्मचारीहरु सँग सोधपुछ गरियो । त्यो जनावर रहेछ मोनिटर । एक किसिमको ठुलो छेपारो  । त्यो जनावर म सुतेको कोठा मुन्तिर आउनुको कारण रहेछ मेरो झोलाको सिध्रा माछा । उसले माछाको गन्ध पाएर खोज्दै आएको रहेछ । पछी पो थाहा पाइयो । उसले त काठको प्वालबाट जिब्रो छिराएर मेरो झोलामा प्वाल बनाएर सिध्रा माछा झ्वाम पारेछ । त्यो टापुमा ति मोनिटर भनाउँदा जनावरको सन्ख्या थुप्रै रहेछन । त्यो लगायत कछुवाहरु किरा सरह देख्न पाइने । ति कछुवाहरु समुन्द्री किनारामा अन्डा पारेका र ओरल्न बसेका धेरै देख्न पाइने रहेछ त्यहाँ ।

कपास टापुबाट फर्केर हाम्रो साइकल फेरी चालु भयो । बाटोमा पर्ने ठुल्ठुला र लामा लामा वन जंगल हामीले पार गर्नुपर्थ्यो । अनि कहिलेकाहिँ साना तिना गाउँहरु पनि । सानातिना गाउँ पुग्दा हामीले बढी स्वागत सत्कारको अनुभुती पाउथ्यौं । हाम्रै नेपाल तिरको झझल्को आउँथ्यो । त्यहाँ उनिहरु सँग भएका मेवा र खरभुजा खान दिन्थे मले जातिका स्थानियले । कतिपयले त मलाई मले जस्तो मान्थे । म मले होइन भन्दा पनि पत्याउदैन्थे उनिहरु । खै के हो कुन्नी ? मेरो अनुहार उनिहरु सँग मिल्दो जुल्दो भएको होकी ।

सतायो घरको यादले

मलेसियाको मौसम र नेपालको मौसम लगभग उस्ता उस्तै । तर तुलनानै गर्ने हो भने मलेसियाको अझ राम्रो अनुभुती भयो । एक दिनको घटना हो । साइकल गूड्दै गर्दा मलाई अचानक घर फर्कन मन लाग्यो । मलाई त्यहाँ एक मिनट पनि बस्न मन लागेन । तुरुन्तै नेपाल फर्की हालुँ जस्तो भयो । होम सिक भनेर सुनेको थिएँ तर भोगेको थिइन मैले आफ्नो जिन्दगीमा ।

मलाई अचानक के भयो ? मैले आफ्नो साइकल रोकें । रोकेर सडकको छेउमा रहेको ठुलो रुखको छहारीमा गएर बसें । मेरा साथीहरु अगाडि गएँ । अगाडि गएर मलाई पर्खेका रहेछन । धेरै समय हुँदा पनि म नआए पछि उनिहरु मलाई खोज्दै आए । उनिहरु आए पछि के भयो भनेर सोधपुछ गरें । मैले आफ्नो समस्या बताएँ । अब म अगाडि बढन सक्दिन भनेर खुलस्त भने । म जति सक्दो नेपाल फर्किन चाहन्छु भने । उनिहरुले कारण मागे । मैले त्यस्तो कारण केही नभएको तर मलाई नेपालकै र घर परिवारकै सम्झनाले सताएको बताएँ । उनिहरुले मलाई खुब सम्झाए । उनिहरु सँग छलफल, विवाद गर्दा गर्दै त्यही नै रात पर्‍यो । हामीले त्यहिनै टेन्ट गाडनु पर्ने भयो । राती पनि अबेर सम्म हाम्रो छलफल भै रह्यो ।

अन्त्यमा हाम्रो सहमति भयो । म कोटबारु अर्थात थाइ बोर्डर पुगे पछि छुट्टीन पाउने शर्तमा । हाम्रो साइकलको पांग्रा अर्को दिन बाट फेरी गूड्यो । त्यही विचमा अब हामी एक हप्ताको लागि मलेसियाको ठुलो जँगल तमन नेगरा नेशनल पार्कमा जाने भयौं । साइकल फेरी मुख्य सडकको एउटा होटलमा छोड्यौं । त्यहाँबाट गाडीमा नेशनल पार्क जाने घाटमा पुग्यौं । त्यहाँबाट हामी इन्जिनले चल्ने डुंगामा चढेर जानुपर्ने भयो । हाम्रो डुंगा पानीको बहावको उल्टो दिशा तर्फ हिँड्यो । ठुलो नदी र पानीको बहाव कडा थियो । जँगलको विचबाट बग्ने त्यो नदी र प्राकृतिक दृश्यको  अवलोकन गर्दै हामी तमन नेगरा नेशनल पार्क पुग्यौं । त्यहाँ पुग्दा हामी लगायत त्यहाँ पुग्ने सबै पर्यटकहरुलाई प्राकृतिक तरिकाले नै स्वागत गरे, त्यहाँका पर्यटन व्यवसायीहरुले । हरियो पातहरुले बनाइएका माला हामी सबैलाई लगाइ दिए महिलाहरुले । सुनसान, घनघोर जँगलको विचमा पुगेको अनुभव भै रहयो ।

नदिको दुवै तिर जँगल थियो । खानाखाने ठाउँ भने नदिमा थियो । त्यहाँ नदिमा तैरिरहने घरहरु थिए पानी माथि नै । बेलुका सररररर हावा चल्ने नदिको खुल्ला ठाउँ । अर्कै खालको आनन्द । खाना खाँदै र पिउदै हामीले भोलिको कार्यक्रम बनायो । हामी भोली तमन नेगरा नेशनल पार्क भित्र जाने कुरो भो । उनिहरुले मलाई निम्ता गर्नुको प्रमुख उद्देश्य यही नै थियो । तमन नेगरा नेशनल पार्कमा मलाई गाइड बनाउने । म कहाँ नेपालको मान्छे अनि मलेसियाको जङगलमा गाइड गर्ने ? जे परे पर्ला सक्छु भन्दिएँ । एड्भान्चर नै भयो भनेर । यो नेशनल पार्कमा जँगली मान्छेहरु, जँगली हात्ती ,अनेक डरलाग्दा जिव जनावर, विषालु सर्प रहेछन ।

बाँकी अर्को अंकमा

तपाइँको प्रतिक्रिया