संस्मरण : मलेशियामा साईकल पेल्दा नक्कली प्रहरीको फन्दामा
● सोमना थारु / बेल्जियम
चितवन राष्ट्रिय निकुन्ज भित्रको एक रिसोर्टमा केही वर्ष जागिर खाइयो । मेरो काम भनेको निकुन्ज भित्र पाइने सामान्य जिवजन्तु लगायत मान्छे देख्यो कि झम्टिन आइ हाल्ने जनावर समेत खोजेर पर्यटकलाई देखाउने । काम एकदमै जोखिम । सधैं बाघ ,भालु नभेटिए पनि गैंडा सँग जुध्नु नै जीवन र दैनिकी थियो मेरो ।
त्यही कामको सिलसिलामा युरोप, अमेरिका, अस्ट्रेलिया, एसिया तिरका थुप्रै विदेशिहरु सित मित्रता भयो । एक दिन अचानक फ्रान्सेली साथीहरुको एक समुहको पत्र आयो । पत्र खोलेर हेर्दा निमन्त्रणा रहेछ मलेसिया भ्रमणको । भ्रमणको योजना रहेछ साइकल टुर् गर्दै तमन नेगरा नेशनल पार्क पुग्ने । मलेसिया घुम्ने निमन्त्रणा पाएकोमा एक मनले खुशी पनि लाग्यो । तर त्यो भ्रमणको लागि लाग्ने खर्च कसले व्यहोर्ने ? यो कुराले मलाई चिन्तित बनायो । किनकी म सँग पर्याप्त बजेट थिएन ।
ति साथीहरु सँगको दुई तीन पटकको पत्र आदान प्रदान पश्चात जाने निर्णय गरेँ । भ्रमणमा लाग्ने सम्पूर्ण मेरो खर्च त्यही ग्रुपले व्यहोर्ने शर्तमा । काठमान्डुबाट सिंगापुर उडियो । एयरपोर्टमा फ्रान्सेली साथीहरु मलाई लिन आएका रहेछन । एयरपोर्टबाट होटल तिर जाँदै गर्दा सडकको बिचमै ट्याक्सी रोकियो । रातो बत्ती बलेको थियो । तर यता उती, वरिपरि कुनै गाडी थिएनन । मलाई लाग्यो, यो ट्याक्सी बिना कारण किन रोकी राखेको होला । म जान्ने भएर ट्याक्सीको ड्राइभरलाई भनी हालेँ – कतै पनि गाडी छैन । किन रोकेको ? ड्राइभर भारतीय थियो । उसले भनी हाल्यो -अरे भाई ए, इन्डिया नहिँ, नेपाल नहिँ है । फाइन मारेगा । ओ उधर क्यामरा पडा है भाई ।
आफुले नेपालमा कहिल्यै ट्राफिक लाइट नदेखेको । सधैं जंगलमा हिडडुल गर्ने मान्छेलाई ट्राफिक नियमको के खाँचो ? नेपालमा ट्राफिक लाइट भए पनि कल्ले पो नियम पालन गर्छ र ? सर्वसाधारणको त कुरै छाडौ । जापानी भिक्षुले नेपालमा ट्राफिक नियम लागु गर्न खोज्दा नेपाल प्रहरिको उच्च अधिकारिलाई पक्रेको कुरा ताजै छ ।
भोली पल्ट हाम्रो ग्रुपले सिंगापुरमा माउन्टेन बाइक खरिद गरयो । साइकलको छोटो अभ्यास सिंगापुरमा नै भयो । त्यस पछी हाम्रो साइकल टोली प्रस्थान गर्यो मलेसियाको गन्तव्यमा । सिंगापुर र मलेसियाको सिमानामा पर्ने पुल पार गरे पछी हामी मलेसियाको पहिलो शहर जोहोरबारु पुग्यौं । जोहोरबारु पुगेकै दिन हाम्रो यात्रा फेरी अघि बढ्यो । तर बसमा । साइकल बसमा लोड गरेर हामी मेरसिङ भन्ने शहरमा राती पुग्यौं ।
बसबाट झर्ने समयमा बसको चालकसँग हाम्रो विवाद भयो । साइकलको भाडाको बिषयमा । हामीले टिकट काटने बेलामा साइकलको भाडाको कुरा भएको थिएन । मेरसिङ पुगेर झर्ने बेलामा साइकलको पनि भाडा मागेपछि हाम्रो ग्रुपले दिन अस्विकार गर्यो । बस चालकले प्रहरी बोलाएको रहेछ । विवाद भै रहँदा सादा पोशाकमा एक जना मान्छे आयो । उसले एउटा परिचय पत्र देखाउँदै भन्यो ‘म प्रहरी हो ।’ उसले देखाएको परिचय पत्र मले भाषामा थियो । हाम्रो ग्रुपले फेरी अर्को अडान लियो । तपाईंको परिचय पत्र हामीले पढन सकेनौ अर्थात बुझेनौं । तपाईं प्रहरी हो कि होइन हामीले विश्वास गर्न सकेनौं । बरु हामी आँफै प्रहरी थाना जान्छौं भनेर हाम्रो ग्रुपले भन्यो । हामीले हाम्रो साइकल छाडेर प्रहरी चौकी खोज्न हिँड्यौं । रातको समय हुँदा चौकी हामीले भेट्याउन सकेनौं । रात छिपिँदै गएको हुँदा होटलमा गएर सुत्ने कुरा भयो । हामी होटलमा पुग्दा त हाम्रा साइकल होटलमा आइपुगेका रहेछन । बसको चालकले बोलाएको प्रहरी नक्कली प्रहरी रहेछ भन्ने हाम्रो बुझाई रह्यो ।
मेरसिङमा एक रात बस्यौ । अर्को दिन साइकल होटलमै छाडेर पानीजहाजबाट २ घण्टाको यात्रा पछि एउटा टापुमा पुग्यौं । यो मेरो पहिलो पानीजहाज यात्रा थियो । टापुमा पुगेको पनि जीवनकै पहिलो पटक । हामी पुगेको टापुलाई पुलाउ तियोमान भनिँदो रहेछ । त्यहाँ हामी महँगो होटलमा बस्ने भयौं । त्यो टापुमा हामीले पैदल भ्रमण गर्यौं । दिउँसो त्यहाँको समुद्रको निलो सफा पानीमा डुबुल्की मार्न अर्कै मजा । पश्चिमी मुलुकका पर्यटकहरु खचाखच । त्यहाँको वनस्पती, जिवजन्तु, चट्टान, माछा आदिको अवलोकन गर्यौं । अनेक रंगी विरंगि चरा, माछा, पुतली देखा परे । ठुल्ठुला जिवजन्तु पनि देखियो जुन चाँही नेपाल तिर देख्न पाईदैन ।
हाम्रो होटल महँगो र सुबिधा सम्पन्न थियो । आफु त सधैं सानो खरले छाएको र खडाइले बारेको झुप्रोमा सुत्ने गरेको सानैदेखि । त्यस्तो महँगो होटलमा सुतेको जीवनमै पहिलो पटक । मनमा लाग्थ्यो, यो भ्रमणले मेरो जीवननै पहिलो बनाइ दिने भो । सबै अनुभव पहिलो । हामी सुत्ने कोठामा सानो फ्रिज पनि रहेछ । फ्रिज भित्र थुप्रै फलफुल, जुस, रक्सी, बियर आदी भरिएका । मनमने सोचें -आहा ! यो त हामीलाई त होलानी । अरु साथीले के के पिए ? के के खाए उनैले जानुन । मैले भने लौजा भनेर हेनेकेन लेखेको क्यान फुटाइ दिएँ । दिनभरी डुल्दा डुल्दा र समुद्री पानीमा डुबुल्की मार्दा मार्दा थकाई मजाले लागेको थियो । यस्तो बेला बियर पाएको । आहा कति स्वादिलो, कति मज्जा । हेनेकेन बियर फुटदै गए । एक पछि अर्को गर्दै ३ वटा ।
दुई रातको बसाइ पछि हामी फेरी मलेसियाको मुख्य भुमीमा फर्कने भयौं । होटलबाट निस्कने समयमा हाम्रो ग्रुपले बिल तिर्यो । बिल तिर्दा बल्ल पो मैले चाल पाएँ । हाम्रो कोठामा भएको फ्रिज भित्रको खाने र पिउने कुराको बिल उठेको रहेछ । मनमनले सोचे -धुक्क थाहा भएको भए धेरै त पिउदैन थिएँ नि । यो पनि पहिलो अनुभव ।
(त्यसपछि के भयो ? अर्को अंकमा । प्रतिक्षा गर्नुहोला)





