बेल्जियमका महामहिम र छोटे महामहिमहरु
● मोहनराज बराल “मुन” / बेल्जियम
हरेक बर्ष नोभेम्वर ११ मा बेल्जियमको इपर शहरमा पहिलो र दोस्रो विश्वयुद्धमा सहादत प्राप्त गरेका बिरहरूलाई श्रदान्जली दिइन्छ । ईपरमा जति पनि देशका योव्द्धाहरुले युद्धमा लडेर बीरगति प्राप्त गरेका छन ति सबै देशका स्मारकहरु त्यहाँ बनाइएका छन । नेपालका पनि कैयौ सपुतहरुले सो लडाईंमा विरगती प्राप्त गरे, जसको प्रमाण त्यहाँ छरपस्ट विभिन्न स्मारकहरुमा कोरिएका नाम र वतनहरुले बताइरहेका छन । जसका नाम देख्नासाथ एक स्वाभिमान नेपालीको अन्तर्स्मरणमा ईतिहासले झक्झक्याउँछ । अनी तिनका साहस, पौरख र गौरवले एकैछिनमा भावबिह्वल बनाउँछ ।
जब आँखाहरु ति स्मारकका यताउती डुल्छन् र कुनै एक बिन्दुमा गएर टक्क एकनासले सोचमग्न हुँदै अडिन्छन्, मन विरक्तिएर आउँछ, भक्कनिएर आउँछ र लाजले शिर निहुरिन्छ । यस कारणले कि ति साहसी, पौरखी र गौरवी योद्धाहरु हाम्रा हुँदाहुँदैपनी हाम्रा हुँदैनन । तिनलाई अरु कुनै राष्ट्रको सिपाही भनेर बिल्ला भिराइएको हुन्छ । तिनिहरु कतै वर्मेली स्मारकमा भेटिन्छन् त कतै भारतीय स्मारकमा । तिनका बिषयमा खोजिनिती गर्ने निकाय नहुँदा तिनलाई कालान्तरमा अरु कुनै राष्ट्रले हाम्रो भनी दावा गर्दछ । आफ्नो राष्ट्रको स्मारकमा तिनका नामहरु कोरिदिन्छ ।
हाम्रो नेपालको त्यहाँ कुनै पनि स्मारक छैन । सन् २००२ देखि यो कुरामा लड्दै आएको एक मात्र समाज हो तमु समाज बेल्जियम । सन् २००२ नोवेम्बेर ११ देखि तमु समाजले बिरगति प्राप्त गोर्खाहरुको सम्झनामा सो स्थानमा श्रदान्जली मनाउँदै आइरहेका छन । त्यहाँ मात्रै श्रदान्जली सभा गरेनन उनिहरुले, नेपालीको पनि स्मारक हुनपर्ने कुराहरुलाई उठाए । नेपाली योद्दाहरुको पहिचान हराएको कुरालाई बाहिर ल्याए । सबैसामु सो बिषयको ध्यानाकर्षण गराउन सफल भए । जसको फलस्वरुप बेल्जियम सरकारपनि बाध्य भएर नेपालीहरुलाई पनि स्मारक बनाउन दिन सहमत भयो । वास्तवमै यो एउटा सुन्दर अवसर थियो ति विरहरु प्रती श्रदान्जली दिन तथा विरहरुको राष्ट्र भनेर नेपाल र नेपालीलाई अनन्त कालसम्म चिनाइरहन । तर त्यहाँ त्यसो भएन, ठीक त्यसको बिपरित भयो । त्यहाँ सुरु भो कथित राजनीति । त्यो पनि पहिचान गुमाएका गोर्खाली योद्दाहरुको नाममा ।
बेल्जियमकालागि नेपाली राजदुत छन् महामहिम राममणी पोखरेल । यी पूर्व माओबादी कार्यकर्ता तथा माओवादीको कोटाबाट चुनिएर पठाइएका राजदुत हुन् । बेल्जियमको ईपरमा तमु समाजले गरेको योगदानलाई लात हान्दै नेपाली दुतावासमा आउँदा नेपाली भएर आउनु भन्ने कुराहरु गर्छन । नेपालीहरुको आभिभाबकको भूमिकामा रहन पर्ने तिनीले आजकल त्यहाँ नेपालीहरुलाई बिभाजन ल्याउने काम गरेका छन् । के एक गुरुङको छोरा उसको पहिरन लगाएर नेपाली दुताबासमा जानु नेपाली नहुनु हो ? के मगरको छोरो, के नेवारको छोरा, के थारुहरुले आआफ्नो पहिरन लगाएर दुताबाश जानु नेपाली नहुनु हो ? यदी त्यसो होइन भने नेपालीहरुको आभिभाबकको भूमिका निर्बाह गर्नुपर्ने महामहिमले किन दुताबासको ढोका बन्द गर्छन ? त्यहाँ तमु समाजले कुनै जातिय स्मारक बनाउने माग लिएर गएका थिएनन दुतावासमा । त्यो त नेपाली बिरहरुको सम्मान र सम्झनाको स्मारक थियो । तर यि महामहिमले तमु समाजले एसो गरेमा यो जातिय हुन जाने रङ्ग न ढंगका कुरा गरेर फिर्ता पठाइदिए ।
नेपालीमा एउटा उखान नै छ नि ‘बाँदरले आफ्नो नि घर बनाउदैन अर्काको नि बिगार्दै हिँड्छ । हो यि महामहिमले ठ्याक्कै त्यस्तै गरे । एक गुरुङ, एक मगर, एक थारु, एक नेवारको छोराहरुको नाम पछाडी थर झुन्डिनु, या पोसाक पहिरिनु नेपाली नै नहुनु हो ? या जातीय हुनु हो ? बरु यस्तो लाग्छ जातिवादी त यी राजदुत हुन् । हैन भने किन निषेध गर्छन त यिनी ?
हाम्रा बेल्जियमका महामहिम राजदुतले २०१२ अक्टोबर १४ मा भूमिगत रुपमा सुटुक्क माओबादीको अधिवेशनमा पनि भाग लिएका र त्यहाँपनि भाषण दिएको कुरा हालसालै मिडियाहरुद्वारा खुलासा भयो । बिगतमा जुन पार्टीको भएपनि अब त यिनी राजदुत पो हुन् त ! एउटा बहालवाला राजदुत एक पार्टी विशेषको भेलामा कुन नैतिकताको आधारमा भाग लिएर भाषण दिए ? हैन राजनीति नै गर्ने मन हो भने राजदुतको बर्दी किन भिर्ने ? अचम्मै लाग्दो छ । यी त हाम्रा महामहिमको कुरा भए । तर यहाँ दशकौ देखि आएका मान्छेहरुको चिन्तन र आचरणपनि पुरानो अतिबादी छ ।
यो सात समुन्द्र पार हाम्रा महामहिम जस्ता छोटे महामहिमहरु टन्नै छन् । जो जोगीको पहेलो बस्त्र पहिरिन्छन । अनि माओबादी, काँग्रेस, एमाले जस्ता राजनीतिक पार्टिका सम्मेलनहरुमा जान्छन । अनी म फलानो मन्दिरबाट आएको पहेलो बस्त्रधारी जोगी हो भनेर खुलेआम राजनीति गर्छन । भोलिपल्ट जोगीहरु राजनीतिक सम्मेलनमा अतिथि भनेर आफ्नो नाम कुनै पत्रीकामा आउँदा नाक फुलाएर दम्भ दिँदै हिँड्छन् । वास्तबमा जोगीको भेष हुनेहरुलाई लाज हुनपर्ने हो । यस्तै हो यो मुग्लानमापनि । नेपालमा के छ र राजनीति, यहाँ पो छ त ।
पहिलो कुरा हामी नै परिवर्तन छैनौ त हाम्रा महामहिमहरु, छोटे महामहिमहरु परिवर्तन हुने त पर को कुरा हो । जो २१ औ शताब्दी, आधुनिक युगका मान्छेहरु भैकन पनि १८ औ शताब्दीको चिन्तन लिएर बसेका छौं ।





