स्विजरल्याण्डमा हुर्कंदै गरेको लोभलाग्दो टोली
(दाहिनेबाट, आशिस, गुणराज पौडेल, निराजन श्रेष्ठ र दीपक खतिवडा)
स्विजरल्याण्ड पुग्नु अगावै सुनेको हो, मुख्य त यि तिन हस्तीका चर्तिकला, काम र सक्रियताबारे । स्विस नेपाल डटकम स्विजरल्याण्डको विश्वाशिलो मानिने रहेछ । यिनले मलाई केहि महिना अघिदेखिनै स्विजरल्याण्डबाट चल्ने साईटहरुको यस्सो अनौपचारिक अनुगमन गर्न आग्रह गरेका थिए । केहि महिनादेखि आक्कलझुक्कल हेर्दै, मन भित्र लागेका कुराको नोट बनाउँदै थिएँ म । त्यहाँ पुग्नु एक साता अघि चाहिँ हरेक दिन त्यहाँका सबै साईट नियालें । यि यति सम्म हैरान परेका रहेछन् ‘यिनको समाचार हेरौंला र चिलले मुसो झाम्टा मारेझैं त्यो लगेर आफ्नोमा टाँसौंला’ भनेर कुरेर बस्नेहरुपनि रहेछन् ताजा समाचार पस्किने नाममा । समाचार चोरिएर र झाम्टा मारिएर हैरानी खेपेका यिसित बसेर त्यसलाई समाधान गर्ने, चोरलाइ ‘अर्काले चोरेको पत्तो पायो है’ भनेर जानकारिसम्म दिन सकिने केहि अक्किल त निस्किए । त्यसलाइ कत्तिको लागू गर्छन् यिनैमा भर पर्ला ।
यिनमा अदम्य उत्साह छ । काममा बिश्वास छ । लगनशिलता छ । केहि सिकौं, जानौं, बुझौं र देशकालागिपनि केहि गरौं भन्ने ढक्क फूलेको मन छ । त्यसैले स्विस नेपाल डट कमलाई समाचार मात्रै होइन एउटा समाजिक संस्थाको रुपमापनि विकास गर्न खोज्दै छन् । र यिनको टोलीमा केहि छन् हस्ती । कोहि नामका होलान् । कोहि थोरै कर्मका । दगुरादगुर गर्ने, असिन पसिन गर्दै समाचारको खेतीमा तल्लिन हुने मुख्य हुन् गुणराज पौडेल, निराजन श्रेष्ठ र दीपक खतिवडा । त्यसपछि आउँदा हुन् आशिस ।
संयोग कस्तो गज्जबको छ भने यि चारै जनाको राजनितिक आस्था र बिचार भन्ने हो भने स्वस्तिक चिन्ह जस्तो । चार जनाको चारतिर फर्किएको । तर समाचार र बिचार भने जहाँ जसको आओस् । जसुकैको राजनितिक बिचारसित नमिलोस् । त्यसलाई नाईनास्ती नगरि राखिहाल्ने समझदारी गरेका रहेछन् । कुनै कार्यक्रम भए त्यसमा कसरि प्रस्तुत हुने ? कस्ता सामाग्रि समेट्ने ? कति मिनेटको भिडियो दिने ? समाचारहरु, तस्विरहरुलाई कसरि समेट्ने ?
यि बैठक बस्ने रहेछन् । आआफ्ना भनाई र तर्क राखेर कि त जित्ने, कि विश्वस्त पार्ने वा बहुमतको निर्णय मान्ने रहेछन् ।
यहि सामूहिक भावना । यहि लगनशिलता र अलग अलग राजनितिक बिचार । आस्था अलग हुँदापनि माहुरीझैं टाँस्सिएर काम गर्ने यिनको समूह धेरैको टाउको दुखाइ बनेको छ स्विजरल्याण्डमा । यिनबाट केहि सिक्नु, साथ दिनु भन्दा यहि भिन्न बिचार, अलग आस्थालाई छिन्न भिन्न पार्न दुम्सीका जस्ता काँडा ठड्याउनेपनि निकै रहेछन् । र यिनलाई राम्रो जानकारि छ यसबारे । ‘हामीमा लागेका खुलस्त राख्ने, बहस र छलफल गर्ने, सामूहिक मत बनाउने थिति नबसालेको भे हाम्रो समूह छिन्नभिन्न भैसक्यो’ गुणराज सुनाउँथे ।
जेनेभा तालमा टहलिँदै गर्दा स्विजरल्याण्डको हिमाली रिसोर्टमा काम गर्ने भद्र घलेसित फोनमा कुरा हुँदा सुनाउँदै थिए “दीपक, निराजन, गुणराज र आसिसको एउटै टोली धेरैको टाउको दुखाइ भएको छ ।” उनलाई म आफ्नो यात्राबारे को सित छु, कसले कसरि सहयोग गरिरहेको छ भनेर कहँदासाथ उनले त्यो सुनाए ।
यहि सक्रियता, पत्रकारिता र लेखन प्रतिको चाहना, लगाव र समर्पण अनि जोखिम मोल्न सक्ने तत्परता लिने हो भने यि हस्ती युरोपमा टुसाएका बाँसका मुना हुन् भन्न हिच्किचाउनु पर्दैन । यिनलाई थोरै पत्रकारिताका केहि ज्ञान, फोटो पत्रकारिताको केहि अक्किल र जाने बुझेकाले केहि सिप र अनुभव साझेदारी मात्रै गरिदिने हो भनेपनि यिनले एक दिन धेरै पछुवा जन्माउने छन् । भर्खर भर्खर सिक्ने उमेरका दीपक र निराजनको सक्रियता र यिनले कोरेको गोरेटो लोभलाग्दो छ । त्यसैलेपनि स्विजरल्याण्डमा यिनले सानोतिनो आतंक र आशा दुबै मच्चाएका छन् । सत्य तथ्य खोज्ने, आड र भसोरा चाहने, पत्रकारिताको बास्तविक धर्म रोज्नेहरुका निम्ति यि ‘अल्लारेहरु’ आशाका त्यान्द्रा हुन् । आडम्बरी, पर्चाकारिता, कपाल फुलेकै भरमा बरिष्ठता, पत्रकारिताका नाममा बिज्ञापन खोज्ने, संघ संस्थालाई पेवा ठान्नेहरुकाबिचमा भने यिनले आतंकका सानातिन ढिस्का नै उभ्याइसकेछन् ।
आतंक छर्ने पात्रमा पर्छन् यी लामकाने क्यामरावालापनि । उज्ज्वल केसी । हामी गाडीको झ्यालबाट ‘नेपाल जस्तो स्विजरल्याण्ड’को रसस्वादन गर्दा यि चाहिँ ताल न बेतालसित लामकाने क्यामरा (मुभी क्यामरालाई म आफैंले आफ्ना लागि गरेको नामाकरण) झ्यालबाट बाहिरतिर सोझ्याउँथे । अनि हामीबिच आतंक छर्थे ‘यो लामकाने क्यामराकर्मीले के विशेष देखेको हो ?’ तर यस्सो हेर्यो ‘उहि शहर, तिनै थुम्का, उस्तै लाग्ने गोरा मान्छे, छोटा कदका तिनै घर ।’ हामीले त लामा लामा कान भएका यिनका क्यामरा देखेर त्रस्त हुन्थ्यौं । अरु किन नहुने ? ‘त्यो उज्जल केसी भन्ने आको छ रे क्या, तुलशी घिमिरेहरुसित फिल्म सुटिङ गर्ने मान्छे । च्याङबा होइ च्याङ्बा जस्ता गीतलाई रिमिक्स गर्ने पनि त्यहि हो रे ।’ यिनले आफ्नै खाले आतंक छरे । यिनैलाई मैले यस पटक सहयात्री रोजें । दुबैले रोज्यौं ।
मैले उनलाई भनेको थिएँ ‘गतिला कथा खोज्न नसके, मन छुने कहानी भेट्टाउन, फेला पार्न नसके मेरो कमजोरी । म असफल । किनकि त्यो खोज्ने मेरो मूल जिम्मेवारी थियो । तर प्राविधिक पक्षमा काजोरी भो, गतिलो भएन भने उज्ज्वल केसी असफल । हामी दुईमा जो असफल भएपनि असफल हुने दुबै हो । युरोपमा दगुरेको खर्च, फालेको समय । आफ्नो थोरै सिप । हाम्रा लागि भनेर बिदा लिइ लिईकन बसेका साथीहरुकोपनि समय, सिप, पैसो, मेहनत, सम्पर्ककालागि मान्छे खोज्दै दगुरादगुर । यो सबै दारे भिरमा गएर लड्छ नी ! त्यसैले दुबैले ध्यान दिनु जरुरि छ । उज्ज्वलले आश्वस्त पारे “ह्या हुन त्यस्तो । अहिलेसम्मको काम भनेजस्तो भएको छ । कहानी सोचे भन्दा राम्रा छन् । यसले तहल्का पिट्ने सामाग्रि निर्माण गर्छ ।” ‘म सित काम गर्न सजिलो छैन । हाकाहाकि । कुरा खस्रे भ्यागुता जस्ता नी उज्ज्वलजी । मन परोस् नपरोस् । लागेका कुरा हाकै भनिन्छ, लेखिन्छ ।’ हाँस्थे उनी ।






