सुरुङ भित्र भगवान जप्दै ईजरायलका नेपाली चेली

“आज राति के के हुने हो, कसले जान्ने हो ?

मध्यरातमा साइरन बज्यो भने बुडी लिएर कता जाने हो ?

पशुपतिनाथ रक्षा गर प्रभु एक मुठी भएको श्वासलाई ! ”

“ल यो लडाई साम्य भएर बाँचियो भने नेपालमा दशैं तिहारको रमझम हेर्न पाइएला । ल्होसार मनाउन पाउँछ होला । मरियो भने त्यत्तिकै हो । “

ईजरायलमा एक ब्रिद्द महिलाको हेरचाहको काम गर्ने शेर्पिनी कान्छीले तिहारकै भाइटिकाको दिन ब्यक्त गरेकि हुन् यि माथिका मन छुने भावना । हमासका आक्रमणकारीहरुले हानेको बम ईजरायलको तेल अभिभ नजिकै खसेपछि आतंकित बनेकि शेर्पिनी कान्छीले ब्यक्त गरेकि हुन् । पैसा कमाउन भनेर परिवार नेपालमै छोडेर ईजरायल हान्निएका उनी जस्ता धेरै नेपाली अहिले ईजरायलमा राम राम जपेर बसिरहेका छन् । संयोगपनि कस्तो पर्‍यो भने तिहार लागेकै बेला ईजरायल र प्यालेष्टाईनबिच बमबारी शुरु भयो । त्यसले गर्दा ईजरायलमा कार्यरत धेरै नेपाली चेलीहरु त्रासमा बाँचे ।

अस्ति बिहिबार तिहारको टिको थियो । स्वदेशदेखि बिदेशसम्मका अधिकांश नेपालीले खुब रमझम गरे । रमाइलोसित मनाए । तर कोहि नेपालीकालागि त्यो रात कहाली लाग्दो गरि बित्यो । बंकर जस्तो भुइँ तल्लामा राम राम जप्तै बिताए । कोहि रुँदै पशुपतिनाथ जपेर रात कटाए । अधिकांश नेपालीले ईजरायलमा काम गर्न गएका हजारौं नेपालीको तिहार यसरि रोएर बित्यो भन्ने मेसोपनि पाएनन् ।

अझ कतिपय नेपालीहरुले त आफू सुरुङभित्र ज्यान जोगाउन लागेको जानकारि बाँडेका छन् । त्यस्तै मध्येकि हुन् कल्पना भावुक । उनले आफ्ना साथीहरुलाई सुरुङमा लुकेर ज्यान जोगाउन भन्दै फेसबूकमा यसरि सम्झाएकि छन् —

“मेरा प्यारा मित्रहरु नमस्कार ! बिहान देखिको बम वारिसले निक्कै चिन्ता लागेको छ ! सिमावर्ती क्षेत्रतिर काम गर्ने साथीहरुले आफ्नो ख्याल राख्नु होला ! सुरुङमा बस्नुहोला । म पनि सुरुंग मै बस्ने ब्यवथा मिलाइसकें । मित्रहरु निक्कै ठुलो लडाई हुँदै छ । बाँचे अब नेपाल पुगिएला । मरे यही माटोमा । सबैको दिन शुभ रहोस । नमस्कार !

बमको आवाज डंग डंग आउँदा भन्दा पनि बम खस्दैछ है भनेर दिइने आजका साइरनले पो टाउको खाइ सक्यो त ! यो हमासको सोरुम कहिले रित्तिन्छ होला मित्रहरु ?

अहिले भर्खरै पड्किएको बमको गन्ध सुँघेर धुवाको मुस्लो नियाल्दै जन्मभूमिको सम्झनामा !!

दुबै पक्षका गरी १६ जनाले ज्यान गुमाइसकेको अवस्था ! मनमा डर त्रास बोकेर पनि त भएको छैन ! ल हेर्नुस इजरायलमा बमको वर्षा ।”

शेर्पिनी कान्छी र कल्पना भावुक मात्रै होइन । यसरि कहालीलाग्दा रात तिहारकै दिन बिताउने धेरै नेपाली चेलीहरु छन् । ईजरायल र प्यालेष्टिनको सिमा क्षेत्रमा बमबारी हुन लागेपछि त्रासमा बाँचेकि बिनु न्यौपानेले त झन तिहारकै दिन कवितामै आफ्नो बह यसरि पोखिन् —

“सुरु भयो बम बारुद पड्कन
बढ्न थाल्यो मुटुको धड्कन

००००००००००००००००००

मनमा डर धेरै नै लाको छ
घर फर्केर जाउँ जस्तै भाको छ

००००००००००००००००००

रकेट बम खसीसके एक सय बत्तीस
अझै बाकी खस्नलाइ कति छ

००००००००००००००००००

दुइ घाइते तिनले ज्यान गुमाए
शोकमा इजराएल प्यालेस्टाइन रमाए

००००००००००००००००००

स्कुल कलेज सब बन्द भाको छ
युद्द झन् चर्कन लाको छ

००००००००००००००००००

आस्कोलोंन, आस्दोत, बेरुसेबा र नितिबोद प्रभाबित भाको छ
युद्द बढ्ने संकेत आको छ

००००००००००००००००००

कति सहनु बिदेसी मर्का
समाचार हेर्दै पिर मान्छन घरका

००००००००००००००००००

बाँचे घर गइन्छ प्लेनमा चढेर
मरे भने आउछ लास बाकसमा सडेर

ईजरायलतिर सोझ्याएर हानिएको बमको भिडियो लिंक हाल्दै फेसबुकमा अर्को रोदन यसरि छरपस्टिएको छ “ल है हेर्नुस इज़्राइलको हालत ।।। के पो गर्नु सक्छौ र भगवान सम्झिनु सिबाए ।”

राई अन्जलिनाले त झन यहि आउँदो आइतवारसम्मपनि बाँचिन्न कि क्या हो भन्दै पिर गरेकि छन् । आफु बाँचे भेटौंला । नबाँचेपनि बाँकि साथीहरुलाई ह्याप्पी विक इन्ड भन्दै शुभकामना दिएकि छन् —

“१२ वर्षमा एक चोटी घुमघामको प्रोग्राम गरेको । घरमा पनि किच किच । दिमाग खराब । त्यसैमाथि जताततै रकेट प्रहार । खै कति बेला पनि केहि हुन् सक्छ । जिन्दगिको केहि भरोसा छैन । न मरी बाँचे फेरी आइतवार भेटौला ! सबै फेसबुक मित्रहरुलाई हेप्पी वीक ईन्ड । बाई ……”

ईजरायलकै सिमा क्षेत्रमा सुसारेको काम गर्छिन् ज्योती ढुंगानापनि । उनीहरुपनि अहिले रातदिन हुटहुटी र त्रासमा बाँच्न बाध्य छन् । उनलेपनि आफ्नो फेसबुकमा आफ्ना मित्रहरुलाई यसरि जानकारि दिएकि छन् –

“मरिन्छ कि क्या हो यतै ? येस्तो ६ हलत् उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् इजरायलमा”

ईजरायलमा बसेर कलमपनि चलाउने दिप शाहको स्टाटसमा त झन यस्तो लेखिएको छ —-

“रिसोन ले चियोन सम्म त गाजाको रकेट आइनै सक्यो !! अबको बाँकी १०,१५ किलोमिटर अरु हान्नियो भने यो ज्यानको के हाल होला ?!!! देश र माटोको माया कस्तो हुन्छ यी गाजा र ईजरायलले ज्यान बाजी राखेर डटिरहेको हेरे पुग्छ । हाम्रातिर त अन्तरदेशिय फाइट नभएर होला है नेपाली-नेपाली ग्याङ्गफाइट भैरहने ।”

नेपालीहरु कति त्रस्त छन् भन्ने उनीहरुको फेसबूकमा राखिएको अवस्थाले देखाउँछ । सिमा क्षेत्रमा काम गर्ने अधिकांश नेपाली ज्यान जोगाउन जमिनमुनी बसेका छन् । कि त साना कोप्चेराबाट बम आउँछ कि भन्दै सिमा क्षेत्रतिर नियाल्छन् । उनीहरु सुरुङमा ज्यान जोगाउनैमा तल्लिन छन् । कि त टिभीमा बमबारीको समाचार हेर्छन् र आक्रमणको खबर पाउनासाथ लुक्न दगुर्छन् । तिनलाई डर त्रासलेनै ईन्टरनेट चलाउने फूर्सद र आँटपनि छैन । तर अलिकति मौका पाउनेहरुले चाहिँ फेसबूकमा केहि न केहि बेदना लेख्ने गरेका छन् । अघिल्लो दिन मर्ने त्रास ब्यक्त गरेकि शेर्पिनी कान्छीले त्यसको भोली पल्टै फेरी बाँच्ने आशा मारेझैं गरेर यस्तो लेखेकि छन् –

“लौ यो पाली चाहिँ बाँचिएला जस्तो छैन् । भर्खर तेलाभिभ तिर बम झरेको हल्ला । यहाँ सम्म थर्किने घरि पड्क्यो । तर् के पड्क्यो ? लौ है साथी हो २, ३ दिन कान्छी फेसबूकमा देखेन भने चिलिम फर्केछ भन्ने सोच्नु होला ।”

उनले हिजो साँझ फेरी यस्तो गजल लेखेर मर्ने त्रास ब्यक्त गरेकि छन्
बम बारुद पडकेको धमाका सुन्दैछु
पर्देशमा एक्लै मर्छु कि भनेर रुँदैछु
आर्काको नामको बम बारुद खाँदै
मर्छु की भनेर मनमा कुरा गुन्दैछु
(ईजरायल र प्यालेस्टिनबिचको लडाईको असर, आफ्नो भोगाई, नेपालीहरुको अवस्थाबारे मनमा लागेका कुरा लेखेर पठाउँदै गर्नुहोला । लेख, समाचार, भोगाई, त्यहाँ बस्दा भोग्नु परेको त्रास, अन्य नेपालीका खबर लेख्नु भो भने नेपालप्लसमा प्रकाशित गरिने छ । सामाग्रि यो ईमेल ठेगानामा पठाउन सक्नुहुन्छ [email protected] फोटो नेशनल पोष्टबाट लिईएको हो ।)

तपाइँको प्रतिक्रिया