उज्यालो अझै बाँकी छ

धनराज गिरी

जीवनमा एक दिन मात्र होइन एक क्षण पनि मूल्यवान हुन्छ, यदि त्यो क्षण, त्यो पल ‘moment’  सार्थक पल हुन्छ भने । मिति २०६९ साल असोज २२ गते सोमबार एउटा सार्थक दिन बनेर गयो । भर्खरै दाजु जगदीश घिमिरेको नयाँ आख्यान “सकस” पढेर भ्याएको थिएँ । मन तरंगित भएको थियो । यो संसारलाई कर्ण शाक्यको आँखाले हेरौं कि एउटा खाते बच्चाको आँखाले । भर्खरै जन्मिएको बच्चा बनौं कि अन्तिम सास गनिरहेको एउटा जराजीर्ण रोगी ।

मेरो देश नेपाल हो । निसन्देश म नेपाली हुँ । जहाँ गए पनि निराशाकै कुरा मात्र सुनिन्छ । सकारात्मक कुरा गर्नै बिर्सिएछ कि नेपालीले । विद्वान मित्र रमाकान्त सापकोटासित देशकै चिन्ता गर्ने क्रममा भनें, “हे नारायणीकान्त रमाकान्त बन्धु, तपाई हामी जत्तिको मान्छेले पनि खत्तम खत्तम सबै खत्तम भन्न मिल्दैन । हो, जति राम्रो हुनुपर्ने थियो त्यति राम्रो नभएकै हो, तर सबै चिलिम, यो अन्तिम सत्य होइन । नेपाली समाजमा धुन्धुकारी र भस्मासुरहरु मात्रै जन्मिएका छैनन । नराम्रोको बृद्धि दरले राम्रोको बृद्धि दरलाई उछिने जस्तो लागेको मात्रै हो । राम्रो पनि भएको छ । अझै समय लाग्छ । ८० प्रतिशत नेपाली इमान्दारीकै कमाइले तपाई हाम्रो हैसियतमा पुग्न सक्छन् ।

हुन त हामीले हामीलाई नै मूल्याङ्कन गरेर अन्तिम निर्णय गर्न हुँदैन । जीवनका निर्णयहरु निरपेक्ष हुँदैनन । आत्तिन पर्दैन । जाबो एउटा संविधानको खोस्टो नबन्दैमा आकाशै खस्दैन । प्रलय जाँदैन । एक दिन “त्यो” आउँछ । अवश्य आउँछ । र मेरो मोबाइलमा फोन आउँछ २१ गते आइतबार, “दाइ, भोली २२ गते एन आर एनका साथीहरुलाई लिएर म चितवन आउँदै छु । तीन ठाउँमा कार्यक्रम छ । दाई पनि संगै हुन पाए राम्रो हुने थियो” ।

भाइ जीवा लामिछाने । एउटा भूमिपुत्र । जीवाको प्रशंसामा प्रयोग गरिने शब्दहरु अब कमजोर लाग्दछ मलाई । २१ गते मदन पुरस्कार गुठी र २२ गते प्रज्ञामा पुग्नु थियो । विदुषी शारदा शर्मा र नरहरि आचार्य दुवैको निम्तो । उपन्यास “ताप” को लोकार्पण । राजधानीको कुनै पनि कार्यक्रममा सहभागी हुन सकिन । जीवा भाइको फोन आएपछि चेलो एवम् पत्रकार होमनाथ सापकोटालाई खबर गरें । चेलाले आवश्यक जिम्मेवारी बहन गर्ने वचन दियो । त्यसपछि दाजु एल.बी.क्षेत्रीसित राष्ट्रिय सहमति कायम भयो ।

२२ गते पनि आयो । बिहान ठीक १०: ४५ बजे बकुलहर चोकमा हामी “राम लखन” अर्थात् अंग्रेजी र गणितको मिलन भयो । विन्देश्वरी निम्न माध्यमिक विद्यालय, माधवपुर । भव्य तयारी । पाहुनाहरु मञ्चमा । विद्यालयका शिक्षक साथीहरु सबै आफन्त । जीवा लामिछाने प्रमुख अतिथि । वाह, के.पी. किरण, वाह, यिनी त एउटा फरिस्ता पो रहेछन । यिनले चेपाङका २५ सन्तानलाई कल्याण गर्न निकै कसरत गरेछन् । यिनको भावनालाई सलाम गर्नै पर्दछ । के.पी. किरणको ह्रदयको उज्यालो किरणले पुरै चेपाङ बस्ती झलमल्ल भएझै लाग्यो ।

उता “सिप्रदी” चेतनाथ र कमल अधिकारी बन्धुहरु पनि उदार मनका धनी । “दानीलाई हानी हुँदैन” परोपकार गर्ने मान्छेले कहिल्यै दुःख पाउँदैन । पढ्न पाए चेपाङका कोपिलाहरुले, खान पनि पाए । तर बस्ने घर छैन । आवास निर्माणका लागि एन आर एन ले पहिलो चरणमा रु. दश लाख सहयोग गर्यो। एन आर एन अध्यक्ष जीवा लामिछानेले स्वयम् आफ्नै हातले शिलन्यास गरे । अब त्यो भवन बन्यो, ढुक्क भए हुन्छ । “गरिबहरुकै कल्याण नभईकन धनीहरुको आत्माले स्थायी शान्ति पाउँदैन ।” अफू परियो नाम मात्रको धनराज । तर मन भने कहिल्यै गरिब भएन । जमाना, जीवा भाइले भनेझै “Showing” कै हो ।

“दानलाई गोप्य राख्नुपर्दछ” भन्दछन ज्ञानीहरु । त्यो पूरानो युगको पूरानै मान्यता । म पनि “Showin” मै विश्वास गर्न थालेको छु । २०४० सालदेखि एउटा न एउटा गरिबको सन्तानलाई पढ्नमा सहयोग गर्दै आएको छु । अझै सहयोग गर्ने छु । लेखेर पनि समाज सेवा हुन्छ भने त्यो पनि गरिरहेको छु । अरुले राम्रो काम गर्दछन् भने मुक्तकण्ठले प्रशंसा गर्दछु । एल.बी. दाजुलाई वचन दिएँ, “दादाश्री, तपाईले गर्ने शुभकर्महरुमा यो भाइले पनि मनसा, वाचासा, कर्मणा सहयोय गर्नेछ । अलि पछि । साना साना ब्यबहार मिलून । अब यो भाइ तपाईकै सहयात्री हो, Where where L.B. goes there there Giri goes,” एल.बी. क्षेत्रीको मन पनि गज्जबकै छ । तर सबैले अनुभत गर्न सक्दैनन । मन चिन्न मन चाहिन्छ । मनले मनसित यस्तै भन्दछ ।

दोस्रो कार्यक्रम, करैया, किशोर ढुंगाना, चेपाङका लागि इश्वर ढुंगाना । अनुहारमा जहिले पनि दशेकै चिन्ता बोकेझैं लाग्छ बालसखा दिलबहादुर बोगटीले । उता सावित्रीज्यू । “अन्तोदय” स्कूल पुगेपछि दिलबहादुरको “दिल” को आयाम थाहा पाएँ । उता घनश्याम प्रधान, पहिलेका “शेरे–खैरहनी” अहिले भीमकायाबाट “कुछ नही खाया” जस्ता । मलाई चेपाङका सन्तानको अनुहारले तानिरहयो । ६ कक्षामा पढ्ने बच्चालाई सोधे Do you speak English ? जवाफ आयो, “Little, Little”  लक्षण राम्रो । राजकुमार प्रधान, अष्टलाल श्रेष्ठ दाजुका छोरी ज्याइ । “ रु. एक लाख एक हजार एक सय एघार” दान गरे र भतिज दीनेश थपलिया भन्छन् “चाचाश्री, हमसे रहा नही गया, हम भी कुछ करेगे ।” ”पैसा ठूलो कुरा होइन, भावना ठूलो कुरो हो” भाइ जीवाको स्वर्णिम अभिव्यक्ति । म सुनिरहेको छु, सुखद दृश्य हेरिरहेको छु । शुभकर्मको साक्षी बनिरहेको छु । मनमनै आफैसित भनिरहेको छु, “केही त गरौंला, त्यसै कहाँ मरौंला । मसित धन नभए पनि धनराज छ, म मनराज पनि हुँ ।” मेरो मनले धेरै सोच्यो ।

दीनेश थपलियाले पत्रिका कायाकैरनको तर्फबाट रु.२४,०००।– प्रति वर्ष सहयोग गर्ने वचन दिए । उता ज्ञानी चेपाङको कथाव्याथा । जीवा भाइ थामिएनन् बोले,“ज्ञानी पढुञ्जेल खेमलाल हरिकला लामिछने समाज कल्याण प्रतिष्ठानको तर्फबाट रु. २५,०००।–प्रतिवर्ष सहयोग पाउँछिन । “उता नम्बरी सुन, महावीर पुन “Haves” हरुले यसरी नै “Have nots” हरुलाई सहयोग गर्दै जाने हो भने एक दिन यो सन्सारबाटै गरिबी नामको दुश्मन भाग्ने थियो । यो सपना हो । सपना देख्न पाइन्छ । NRN को तर्फबाट रु. ५ लाख र थप रु. ५० हजार सहयोग भयो । यो त थालनी मात्रै हो । जीवा जस्ता आत्माहरु सफल हुँदै गएमा, नदी बन्छन, फलको बृक्ष बन्छन्, कामधेनु गाई बन्छन्, आफू मात्र रमाउँदैनन, अरुलाई पनि रमाउने बनाउँछन् । उनलाई आशीर्वाद दिने आत्माहरु धेरै छन् । “अब अन्तोदयको अन्त हुँदैन “मेरो मनले भन्यो ।” मेरो तर्फबाट हरेक वर्ष रु. एक लाख भान्साका लागि आउँछ । यी बच्चाहरुले पोषणयुक्त भोजन खान पाउनुपर्दछ । ”प्रोफेसर एल.बी.क्षेत्री, चरैवेतिका मानसपिता ।

उता Room to Read  को लगानी पनि स्तूत्य । NRN को पनि आफ्नै सीमा होला, पक्कै छ । असीमित श्रोत  र साधन अमेरिका संग पनि छैन । भावना ठूलो कुरा हो । पवित्र भावनालाई “नगदीकरण” गर्न सकिएमा समाज आलोकित हुन्छ । चेपाङहरुको कल्याण भनेको चितवनको पहाडी गा.वि.स.हरुको कल्याण हो । यसरी नै शिक्षाद्वारा सीमान्तीकृत वर्गलाई राष्ट्रको मूलधारमा ल्याउन सके “नयाँ नेपाल” बन्दछ । नयाँ नेपाल नेताहरुले बनाउँदैनन् । हामी आफैंले बनाउनुपर्दछ । दुवै ठाउँमा प्रमुख अतिथिको हैसियतले भाइ जीवाले सारगर्भित मन्तव्य दिए । उनको बाणी, गंगोत्रीको पवित्र पानी ।

त्यसपछि नेपाल उच्च मा.वि. रत्नगर, चितवन । त्यहाँको बाताबरण झन दैवी । पूर्व प्राचार्य, पवित्रनारायण, पूर्णबहादुर बस्नेतले हामी सबैलाई द्रवित बनाउनुभयो ।“पूर्णबहादुर बस्नेत” नेपाल उच्च मा.वि.का लागि “वरदान” हुन । यस्ता पवित्र मान्छेसित “५ वर्ष, ६ महिना, १४ दिन” सहकर्मी बन्न पाएँ । जीवनको स्वर्णकाल थियो त्यो । दाजु खेमराज वस्तीको आँखामा स्नेह नै स्नेह ! शब्दतीत माया ! जीवा लामिछाने पनि सारै भावुक भए । यतिसम्म भावुक कि मूख्य कुरा भन्नै बिर्सिएका । नेपाल उच्च मा.वि.ले उनलाई सम्मान र अभिनन्दन गरेर आफैंलाई सम्मान गर्‍यो। “जीवाजी, यस विद्यालय को अभिभावक हुनुहुन्छ” रामबाबु सर पनि थामिनु भएन । जीवा भाइले नेपाल उच्च मा.वि. को आयमिक उत्थानमा कति सहयोग गरे, त्यो रत्ननगरलाई थाहा छ, विद्यालय परिवारलाई थाहा छ, जगजाहेर छ । बाचुञ्जेल केही न केही गरिरहनेछन । मेरो आत्माविश्वास । गरिबका छोराछोरीहरुले सस्तो शुल्कमा विज्ञान पढ्न पाउने भएछन । नेपाल उच्च मा.वि. पूर्वी चितवनको अर्को शैक्षिक धरोहर बन्नेछ, बनिसकेको छ । सबै साथीहरु इमान्दार हुनुहुन्छ, त्यहाँ पढाउने । म पनि त्यही मन्दिरको उपज हुँ । ह्रदयमा, “ नेपाल हाइस्कूल” कुँदिएको छ ।

यसरी २०६९ साल असोज २२ गते एउटा सार्थक दिन बन्न पुगयो । मन सारै रमायो । आफ्नो एक सेर संझिएँ :

टन्न दही खाएपछि मोही चाहिँदैन

पुगिसरी आएपछि कोही चाहिँदैन”

सबै हुनेखानेहरुको हकमा यो शेर लागू हुँदैन । मान्छेलाई मान्छेकै साथ चाहिन्छ । कानमा जीवाको आवाज गुञ्जिरहयो, “एउटा मान्छे सफल हुन उसको मात्र हात हुँदैन । उसलाई सफल बनाउन नातेदारको मात्र हात हुँदैन । उसले सफलता प्राप्त गर्दछ भने सहयोगी हातहरुले पनि शेयर गर्न पाउनुपर्दछ । सबैको हक लाग्छ । यही जीवन दर्शन बोकेर म यहाँसम्म आइपुगें । चितवन मेरो जन्मुभूमि हो । चितवनका लागि केही गर्नु मेरो नैतिक कर्तव्य हो । म केही गर्छु, गरिरहन्छु । यहाँहरुको न्यानो साथ चाहिन्छ, यहाँहरुको इमान्दारितामाथि मलाइ पूर्ण विश्वास छ । हामी ६३ देशमा छरिएका लगभग ३० लाख नेपालीको सञ्जाल हो NRN । यसैलाई मञ्च बनाएर राष्ट्र निर्माणमा हामी पनि केहि गर्न चाहन्छौं । हाम्रा सहयोगीहरु अत्यन्त उदार ह्रदयका मालिक हुनुहुन्छ । आजको दिनलाई, यहाँहरुको सम्मान र मायालाई बिर्सने छैन । म फेरी आउने छु । के.पी. किरणजस्ता देवदुतहरु यो देशलाई चाहिन्छ । हामी सबै हातेमालो गरेर अगाडि बढ्न सकिन्छ । नेपाल जस्तो सुन्दर देश अन्त कतै छैन । यसलाई ज्यूँदो स्वर्ग बनाउन सकिन्छ । हामी सक्छौं ।”

भतिज दीनेश थपलिया, तिमीलाई पनि धन्यवाद । घनश्याम प्रधान गुरु र मित्र दिलबहादुर बोगटीको सपना साकार हुनेछ । यो समाज त्यति कुरुप छैन । संन्सारमा राम्रा मान्छेको कमी छैन । पवित्र आत्माहरु खोज्न आफू पनि पवित्र हुनुपर्दछ, बोलीले मात्र होइन, कर्मले पनि । हाम्रो एल.बी.दाजु पनि जोशिएर समाज सेवामा होमिन आउनु भएको छ । हामी सबै मिलेर अघि बढौं र भनौं,”जीना तो है उसका जिस्ने ये बात जाना, है काम आदमीका औरों का काम आना” भाइ जीवा, मैले न्याय गरे ? यो संसारमा उज्यालो अझै वाँकी छ । यस्तै लाग्छ ।

(लेखक गजलकार, उपन्यासकार र चितवनमा प्राध्यापन पेशामासमेत संलग्न छन् )।

तपाइँको प्रतिक्रिया