पेरिसमा पत्रकार अधिबेशनका प्रजातान्त्रिक शैली

युरोपमा कार्यरत नेपाली पत्रकारहरुको पहिलो अधिबेशनको मिति तोकियो सेप्टेम्बर ०२ का लागि । तदर्थ समितिमा अपवादलाई छोडेर सक्रिय पत्रकार थिए । कलम घोटेका, धाक धम्की सहेका । बिगतमा भोकै पनि कलम रगडेका, रेकर्डर बोकेका । त्यो बढि समाबेशीपनि थियो । हामी चाहन्थ्यौं, अबको समिति झन समाबेशी बनोस् । झन सक्रिय पत्रकारहरु आबद्द होउन् । बिचार र आस्थाका आधारमा होइन, पत्रकारितामा बढि धसिएका, खटिएका, भिजेका र दुखजेलो गरेकाहरुको छरितो टोली आओस् भन्ने थियो । धेरैले त्यस्तै आशा गरेका थिए । तर त्यसो भयो भनेर हामीले भनेपनि युरोप देखि नेपाली बस्ति छिचोलिएका अन्य महादेश र नेपालसम्मका सर्व साधारण देखि पत्रकारिताका बुझकिहरु कसैलेपनि पत्याउन सकेका छैनन् । त्यसो हुनुको कारण कोहि नभएर हामीनै हौं ।

राजनितिक दलहरुले आआफ्ना स्वार्थ अनुसार पत्रकारहरुलाई हिंडाउन खोज्नु सामान्य हो । तिनका ध्येय बुझ्न सकिन्छ । ति पाएसम्म मुलुकका धारो, पानी, पार्टी र धुर्सुलका बोटसम्मलाई आआफ्नो पार्टीको ट्याग लगाउन चाहन्छन् । रुखका पातपनि सकेसम्म आफु हिँडेकै हावामा हल्लिउन् भन्ने तिनको आकांक्षा हामीलेनै बुझेर सतर्क रहन सक्नुपर्ने हो । पत्रकारहरुलाई आफ्ना स्वार्थ अनुसार डोहोर्‍याउन खोज्नु अनौठो होइन । त्यसैले पत्रकारहरु स्वयं त्यसमा चनाखो हुनुपर्ने हो । तर भएनन् ।

पोर्चुगलका असल भनिएका कम्तिमा दुई जना पत्रकारलाई मैले मेल मार्फत थुप्रै पटक आग्रह गरेको थिएँ, कार्यक्रममा आउनुपर्‍यो भनेर । बाबुराम भुसाललाई त दर्जनौं पटक फोनबाटैपनि सम्पर्कमा भनिएको हो । तर उनले कुनैपनि हालतमा आउन नसक्ने असमर्थता जाहेर गरे दुई दिन अघिसम्मपनि । अर्का हस्ति भनिएका पत्रकार बिनोद घिमिरेजीलेपनि जवाफ दिए, – मेरो भर्खरै रेस्टुरेन्ट खोलेकाले लथालिंग हुन्छ छोडेर जाँदा । त्यसैले मिल्दैन”।

तर अधिबेशन हुने अघिल्लो दिन नेपाली कांग्रेसका पोर्चुगलका नेता पूर्ण हमालको छायाँले तिनलाई छहारी प्रदान गरेछ र तिनको शरिरमा रक्त संचार प्रवाह भएछ । हमालजीले आफ्नो गाडीमा खाँदेर ल्याउने भए । त्यसपछि कामबाट फुर्सदपनि मिल्यो एकाएक । रेस्टुरेन्टपनि लथालिंग नहुने भो । शनीबार बिहान एक बजे स्पेनको सिमामा आइपुगेको गाडी भोली पल्ट अधिबेशन हुने ठाउँमा आइपुगेन । तिनैका निकट भनिने एक जना मित्रले सुनाए ‘बिचैमा त्यो गाडी पेरिसस्थित नेपाली दुतावास निवास छिर्‍यो । ढिलो गरि मात्रै कार्यक्रम स्थल आइपुग्यो । पत्रकारको अधिबेशनमा आउन लागेकाहरु राजदूत निवासमा भुल्नुको कारण सायद नेता पूर्णजी आफ्नो कामकालागि उता हानिएर होला ।

ति एक नेताको निगाहामा गाडी चढे । तिनले आजसम्म जोगाएका कलमका निव भाँचे, मसि पोखे, आफ्नो स्वतन्त्र लेखन र निजि स्वतन्त्रतालाई सामान्य सुबिधामा लगेर बिसाइदिए । हेर्दाहेर्दै एउटा नेताको पकेटको काइँयो झैं बने । अधिबेशन हलमा आएर केहिबेर बातचित गर्न भ्याएका पूर्ण हमालजीले मैसित हाकै भने “के गर्ने ददीजी, साथीहरुको पिर मर्का बुझ्नै पर्‍यो, नहुनेलाई सहयोग गर्नै पर्‍यो । त्यहि भएर म आफैंले गाडी हाँकेर साथीहरु लिएर आएँ ।”

पोर्चुगलबाट पेरिस आउने गाडी सित्तैमा पाउन साथै तिनका आदेशको पत्रकारहरुले शिरोधार्य गर्ने हो भने भोली साथीहरुका कलमको सामर्थ्य कहाँ पुग्ला ? १६ घण्टाको यात्रा प्रायोजन गरिदिएकै भरमा एक हुल पत्रकारलाई आफ्नो बनाउन सकिने यति सजिला पत्रकार त सायद कहिँ भेटिँदैनन् । यो मानेमा पूर्णजीको क्षमतालाई मान्नै पर्छ ।

अधिबेशन हलमा सर्व सम्मतीकालागि प्रयास भए । स्वभाबिकै हो, नेत्रित्व चुन्न समय लाग्छ । बिचार बिमर्श हुन्छन् । चिन्तनमनन् हुनु जरुरि हुन्छ । आफ्नो अधिबेशनमा जे जे हुन्छ पत्रकार आफैंले गर्ने हो । आफैं लड्छन् ति, आफैं सहमती गर्छन् । आज झैझगडा गर्लान् भोली आफैं मिल्न बाध्य हुन्छन् । तर यो अधिबेशनमा त्यस्तो भएन । सायद पहिलो हुनाले हो कि ? पत्रकारहरु हलमा पस्थे । कुनै सहमती गर्नु पर्दा निर्णय दिनै सक्दैनथे । ति हलबाट तत्कालै बाहिर निस्कने र नेतालाई सोध्न जाने । कुनै विषयमा सहमती गरौं भनेर बहस गर्‍यो, अनि क्षणभरमै ति उठेर नेताको शरणमा पुग्थे ।

नयाँ समिति बनाउने बेला सन्तोस न्यौपानेको नाम प्रस्ताव गरियो । अध्यक्ष पदका दाबेदार लगायत केहि साथीले स्विकार गरे । काम गर्ने जोस र जाँघर भएको साथीको सिप र उत्साहलाई कायम हुन दिउँ भन्ने सोच थियो । तर ईन्द्र क्षेत्री, ओम शर्मा, गंगाधर गौतम र दिल्ली अम्माइले हुन्न भने । तिन जना त पत्रकारको सदस्यता पाउने भए, तिनले बोले । तर नेपाली कांग्रेसको जनसंपर्क समितिका गंगाधर अगाडि सरेर गंगाधर गौतमले हुन्न भनेर कस्सिनासाथ बाँकि लेपनि हुन्न भन्नु यहिँनिर पत्रकारको कमजोरी भयो । अधिबेशनमै नआउनेलाई राख्न सकिन्न, त्यसो नगरौं” भन्नासाथ अध्यक्ष पदाका दाबेदार मित्र बोल्नै सकेनन् र त्यहि सदर भयो । केश पाकेको र अनुहार छिप्पिएको आधारमा हेर्नुहुन्न । सक्रिय साथीहरु, काम गर्ने उत्साह, तत्परता र पत्रकारितामा बढि सक्रियलाई स्थान दिए संस्थाको उन्नती हुन्छ । सन्तोस न्यौपाने, महेन्द्र पौडेल जस्ता सक्रियहरुलाई राख्दा सहयोग पुग्छ । यीनीहरुले योगदान गर्न सक्छन् भनियो । कुरो जायज हो, अधिबेशनमा नआउनेलाई राख्ने नैतिक आधार नहोला । तर पत्रकारलेनै अगाडि सरेर त्यहि निर्णय गरेको भए कति मनासिव हुन्थ्यो होला !

पेरिसमा अधिबेशन हुँदै थियो । राजनितिक पार्टीका उद्देश्य आआफ्ना भएपनि नेताहरु पत्रकारको अधिबेशनमा आउनु जरुरी थिएन । नेपालमा भए भरका राजनितिक दलका दैलामै अधिबेशन हुँदापनि हलमा नेता छिर्दैनन् । आठ हजार पत्रकारको अधिबेशन हुँदापनि नेताको उपस्थिति देखिन्न भलै ति आआफ्नो ढंगले आफ्नो प्रभाव जमाउन लागि पर्छन् भित्र भित्रै । यस मानेमा युरोपको प्रजातान्त्रिक, लोकतन्त्रको नमूना भनिने मुलुकमा छरिएर रहेका धेरै पत्रकारहरुले त्यो सिकेको देखिएन । हामी बिदेशमैपनि हाम्रै राजनितिक दलका नेताको भरिया हुन चाहने रहेछौं भन्ने देखियो । यहि देखेर अहिले यो अधिबेशनमा युरोपका नेपाली पत्रकारको मानसिकता र बुझाइ देखेर नेपालका पत्रकारहरुले हाँसोको पात्र बनाइरहेका छन् ।

बेल्जियममा गरेको भए सित्तैमा हुने ?

अधिबेशन हलमा प्रबेश शुल्कका रुपमा पाँच युरो रकहिएको थियो । त्यसमा दिउँसोको खाना, न्रित्य, गायन लगायत सबै सुबिधा थियो । तर जब पाँच युरो प्रबेश शुल्क उठाउने कुरो भो, बेल्जियमका नेता, सामाजिक कार्यकर्ता, प्रजातन्त्र र लोकतन्त्रका धेरै पाठ सिकाउन अभ्यस्त गंगाधर गौतम बम्किए “के हो पत्रकारको अधिबेशनमा पनि पाँच युरो तिर्नुपर्ने ?”

मैले जवाफ दिएँ “कार्यक्रम गर्न, हल लिन, खाना खुवाउन खर्च हुन्छ नी हैन र ?”

त्यति भन्दापनि उनले पचाएर भने “बेल्जियममा गरेको भए हुने नी, हामी सित्तिमै गरिदिन्थ्यौं”।

हामीलाईपनि थाह छ, बिदेशीहरुसित हात थाप्दै हिँडेको भए पेरिसवासीले पनि सित्तिमै गर्न सक्दाहुन् । तर नेपालीले सामान्य कार्यक्रम गर्दा सकभर आफैंले तिरेर गरे हाम्रै साख जोगिन्छ । बेल्जियमबाट मान्छे ओसारेर पत्रकारको अधिबेशनसित कुनै साईनो नगाँसिएका उनले गाडीमा मान्छे ओसार्न सके तर अधिबेशनको हलमा सबै सुबिधा लिए बापत पाँच युरो तिर्न उनलाई त्यति बिघ्न कष्ट परेछ । बेल्जियमले त्यसरि सित्तैमा यस्ता कार्यक्रम गर्न सक्छ भने हरेक नेपाली कार्यक्रमको मुल आयोजक समितिका अध्यक्ष गंगाधरजीजीलाईनै किन नबनाउने ? र यस्ता हल लिएर सबै सित्तै गर्न सक्ने उनमा त्यति राम्रो अक्किल, सामर्थ्य र स्रोत छ भने हरेक हप्ता हलमा ठूलो नेपाली कार्यक्रम किन नगर्ने ?

बोल्न नपाउने भए किन बोलाएको त ?

पत्रकारको सदस्यता र प्रतिनिधी छनौट हुँदै थियो । साथीहरु अनावश्यक रुपमा नेताका कुरा सुन्ने, सुनाउने र अधिबेशनबारे बढि सामिप्यता देखाएपछि मैले बिरोध गरें “तपाईहरुले पत्रकारको अधिबेशनबारे बढि बोल्नु, सक्रियता देखाउनु जरुरी छैन, आफ्नो नेत्रित्व छान्न पत्रकार आफैं सक्षम छन्, क्रिपया बढि सक्रियता देखाउने, हाम्रा विषयमा तपाईहरुले बढि बोल्ने नगर्नुहोला।” त्यसरि बिरोध गर्नु पर्ने छरिता, बौद्धिक, तर्कशिल र सुसिल पात्रपनि तिनै गंगाधर गौतम थिए । ओहो उनको प्रजातान्त्रिक शैली सारै लोकतान्त्रिक तरिकाले देखियो । उनले तत्कालै प्रतिबाद गरे “के हाम्ले बोल्न नपाउने ? बोल्न नपाउने भए किन बोलाएको त ?” कार्यक्रममा बोलाउने वा नबोलाउने आयोजकले हो । हामीले गौतमजीलाई न बोलायौं न निम्ता दियौं । बरु उनी आफैं लुरुलुरु आएका थिए । बेल्जियममा कुनै कार्यक्रम हुँदा जोकसैले बोलाओस् लुरुरु उपस्थित हुने उनको बानी छ र यहाँपनि त्यसैगरि आए बन्ने आयोजक पेरिसबासीले बुझ्न सकेनौं ।

त्यसो त अधिबेशनमा नाम चलेका पत्रकार शरण केसीपनि थिए । उनी पत्रकार मात्रै होइनन्, नेपाली जनसंपर्क समिति जर्मनीका अध्यक्षपनि हुन् । उनीपनि कार्यक्रममा आए । सौम्य रुपमा प्रस्तुत भए । राजनितिमा लागेकाले नेपाल पत्रकार महा संघ युरोप शाखाको सद्स्य बन्नसम्म उनले ईन्कार गरेका थिए हजारौं पटक बिन्ति बिसाउँदापनि । अधिबेशनमा उनले नत कहिँ कतै प्रभाव जमाउन खोजे न लोकतन्त्रका, प्रजातन्त्रका बखान छाँटे । न त नेत्रित्वका लागि पार्टीको ह्विपलाईनै सिरोपर गरे । आखिर मान्छेको नैतिक मूल्य र मान्यता, उसले देखेजाने, बुझेका पद्दती, शैली र ज्ञान यस्तै ठाउँमा प्रस्तुत गर्ने न हो ।

तपाइँको प्रतिक्रिया