हली पत्रकारिता
• लक्ष्मण देवकोटा
जे हुनसक्छ भन्ने अनुमान गरिएको थियो, पत्रकारहरुको पेरिस जमघटमा त्यही भयो । राजनीतिक दलका टाँगावाल हलीहरुले एकबार आफ्नो हैसियत देखाइछाडे । मैले तिनको हर्कत देखेर यस्तो खाले पत्रकारितालाई हली पत्रकारिता र हली पत्रकारिताका अभियन्तालाई हली पत्रकार भन्दा उपर्युक्त हुन्छ भन्ने ठानेँ ।
हली र श्रमिक भिन्न कुरा हुन् । श्रमिकले श्रम गरेबापत ज्याला लिन्छ । तर हली बन्धक हुन्छ । उसको स्वाभिमान कसैले हरण गरिदिएको हुन्छ । कालान्तरमा नूर गिरेको स्वाभिमानहीन यन्त्रमा अनुवाद हुन्छ हली ।
ददीराम सापकोटाले लेखनमा फर्काइदिए धेरैलाई । साधुवाद छ तिनलाई । युरोपको अति व्यस्त जीवनमा पनि फुर्सदमा गरिने पत्रकारिता जीवनलाई अझ परिस्कृत बनाउने बारे उनले यौटा अभियान नै छेडे । तर तिनै ददीराम त्यहाँ मौन बस्नु पर्यो । को कस्तो खाले पत्रकार हो ? यो अर्को बहसको विषय हो । कसको लेखन कस्तो छ त्यो पनि भिन्दै बहसको पाटो हो । तर, पत्रकारिता जस्तो स्वाभिमानी पेशामा कुनै राजनीतिक दलका अगुवा जस्ता लाग्ने मानिसहरुको अरन खटनमा रुझेको मुसा जस्तो यता र उता दौडिने मानिसहरुप्रति भने घृणा लागेर आयो ।
काँग्रेस भित्रको यौटा कुनै पत्रकारले आफ्नो पत्रकारिता पेशाको निष्ठा देखाइदियो । उसले पत्रकार महासँघ युरोप शाखालाई कब्जा गर्नू भन्ने तिनका नेपालवासी अगुवाको निर्देशन लेखिएको पत्र जस्ताको तस्तै सामाजिक सन्जालमा छापिदियो । उसमाथि हलिहरुका मुखियाले किन गोप्य कुरो चुहाइस् भनेर गनगन गरिरहेछन् भन्ने पनि सुनियो । त्यसो त वामपन्थी खेमामा पनि दबाब नआएका होइनन् । तर युरोपमा बसेर कब्जा गर्ने मानसिकता स्वीकार्य छैन भनेर आफूलाई वाम विचारधारासँग नजिक ठान्ने पत्रकारहरुले त्यसलाई अस्वीकृत गरे । झण्डै एकदशक जस्तो युरोपमा बसेर कम्तिमा यति हदसम्मको निकृष्टतामा उनीहरु नओर्लेलान् भन्ने अरु मानिसको सोचाइ थियो । त्यही उदार विचारमाथि आफूलाई डेमोक्रेट ठान्नेहरुले बरफ पानी खन्याइदिए । विडम्वना छ उनीहरु अझै पनि दास मानसिकतामा गर्व गरिरहेछन् ।
अखबार, पुस्तक र रेडियोमा सुनिएका अग्रज एवम् सहकर्मीहरुको जम्काभेट अविस्मरणीय भयो । बिबिसी नेपाली सेवाका भगिरथ योगी, विमर्शका सम्पादक तथा अग्रज शशी पौडेल दाइ, अर्का अग्रज दीपक न्यौपाने, लेखक तथा पत्रकार ददी सापकोटा, क्रान्तिमा कलम बोकेर होमिएकी योद्धा अनुराधा पौडेल, काठमाण्डूका गल्लीमा जीवनका सपना खोज्दै लखरलखर हिड्दाको दोस्त गुमनाम सापकोटा, स्वीजरल्याण्डका जल्दाबल्दा पत्रकार युवा मित्रहरु निराजन श्रेष्ठ, दिपक खतिवडा, जर्मनका सँचारकर्मी टेक नेपाली, दोग्लो हुन नजान्ने लाल नेपाली, लण्डनमा क्रियाशील चिरन शर्मा, सज्जन बौद्धिक व्यक्तित्व प्रकाश ढकाल । डेनमार्कको व्यस्त जीवनमा पनि लेखनमा सकृय सरस्वती कार्की । बन्धु केजिन राई, अनि हँसिला पुष्प बरुवाल लगायत सबैसँग नयाँ चिनजान र चिनजानीको नविकरण हुन पुग्यो ।
ती सबै समयमा मलाई यौटा सज्जन काँग्रेसको इमान्दारिता देखेर श्रद्धा लाग्यो । त्यो काँग्रेस मेरा सँघर्षकालीन जीवनको सहकर्मी थियो । जर्मन काँग्रेसको अध्यक्ष शरण केसी । उ पत्रकार थियो तर उसले राजनीतिलाई मूल बाटो बनाउँछु भन्दै सँचारकर्मी भएर पनि महासँघको लन्ठामा सामेल भएन । हलीहरुका बीच उसको निष्ठा देखेर लाग्यो, देशले यस्तै इमान्दारहरुको नेतृत्व पाए फेरिन सक्छ । आस्था आफ्नो स्वेच्छाको विषय हो ।
म यौटा भ्रममा रहेँछु । पोर्चुगलका काँग्रेस अध्यक्ष पूर्ण हमाल, बेल्जियममा गँगाधर गौतम, काँग्रेसी राजनीतिमा सकृय इन्द्र क्षेत्री पकवान भोलि देशको भविष्य कोर्ने काममा युरोपको अनुभव लिएर जानेछन् भन्ने लागेको थियो । निर्वाचन अधिकृत शशी दाइसँग पाखुरा मिचिरहेका पूर्ण, श्रमजीवी पत्रकारका अगुवा शिव गाउँलेसँग जोरी खोजिरहेका गौतम, बेलाबखत कलम चलाएर पनि पार्टीको हुकुम शिरोपर गर्न दौडादौड गरिरहेका पकवानको त्यो जीवन्त चित्र मेरा स्मृतिमा ताजै छन् । त्यो देखेर मलाई टीठ लाग्यो । कज्याउनेले त कज्याउनै बल गर्छ । राजनीतिक दलका ती मानिसहरुको छहारीमा बसेर गरिने पत्रकारिता कस्तो होला ? यस्तै प्रश्नहरु खेलिरहे । फेरि गुमनामको शब्द आद आयो, पेरिसमा पार्टीले जित्यो तर पत्रकारिताले हार्यो ।
अधिवेशन सकिएको रात । युरोपभरीका सहभागी, पाहुनाहरु लाखापाखा लागे । निम्तो मान्न जानेहरु राजदूत निवासतिर लागे । मैले सभास्थल हेरेँ । सामानहरु सम्बन्धित ठाउँमा पुर्याउनु थियो । सफाइ गर्नु थियो । ददीजी, अनुराधाजीसँगै म पनि सभास्थल जस्ताको तस्तै बुझाउने काममा लागेँ । लण्डनका पाहुना दीपक दाइले अन्तरँग कुरा गर्नुभयो । “यात्रा हो आरम्भ भएको छ । गन्तव्य पुग्न खोज्नेहरु निरन्तर लागिरहन्छन्” उहाँले भन्नुभयो ।
आइफल टावरमुनि कावा खाँदै गुमनाम फेरि देखा पर्यो । फेरी पुराना बातहरु दोहोरिए । स्मृतिमा रम्दारम्दै बिहानको साढे ५ भएछ । हिजो पनि भाले बास्दासम्मै सँगै बात मारिएको थियो । याद न हो जो सधै यादगार हुन्छ । उडिरहेछ जीवन सिमलको भुवा जस्तै । स्वतन्त्र आकाशमा कावा खाँदै उडेका हामी आजादहरुलाई कसैको दासत्व स्वीकार छैन ।
मदन पोखरा, ७ दमकडा, पाल्पा
हाल : पोर्चुगल
(यो लेखमा एउटै आइ पी प्रयोग गरेर भिन्न नामबाट आएका केहि प्रतिक्रियालाई डिलिट गरिएको छ-नेपालप्लस एडमिन)





