आआफ्ना पार्टीलाइ स्थापित गराउन नेपाली पत्रकारिता अग्रसर
● खेमराज वली / सूर्खेत
पत्रकारिता जटिल हो या सामान्य बुझ्न कठिन छ । यसलाई जटिल हो भन्ने हो भने यस क्षेत्रमा लाग्न कुनै त्यती ठुलो संघर्ष गर्नु परेको देखिँदैन् । पत्रकारिता सामान्य हो भन्ने तर्क गर्ने आधारहरु पनि प्रशस्त भेटिँदैनन् । जो कोही यस क्षेत्रमा स्थापित हुन पनि सकेका छैनन् । पत्रकारिता भित्र वास्तवमै जटिलता छ । यसको आफैं मूल्य मान्यता, आचारसंहिता छन् । बिशिष्ट तथा जटिल र सम्मानजनक पेसाको रुपमा पत्रकारिता रहेता पनि यसका मूल्य–मान्यता र आचारसंहिता लोप हुँदै जानथालेपछि सामान्य नभई सस्तो पेसाको रुपमा स्थापित गर्न खोजिएको स्पष्ट छ ।
लाग्छ, हुर्किएको नेपाली पत्रकारितामा किरा लाग्न लागेको छ कि फेरी । बिभिन्न कालखण्डमा बिभिन्न अवरोधको सामाना गर्दै व्यवसायिक बन्दै गएको नेपाली पत्रकारितामा आगामि दिनहरुमा आशातित प्रगति हुन सक्ने सम्भावनामा कमी आएको छ । बिक्रम संम्बत २०६१ माघ १९ गते राजाको सक्रिय शासनले स्वतन्त्र सञ्चार माध्यामलाई धरासायि बनाउँदा अधिकांश सञ्चार माध्यामहरु बन्द हुने अवस्थामा पुगेका थिए । बि.स. २०६३ बैशाखमा लोकतान्त्रिक आन्दोलनले सफलता पाएपछि सक्रिय भएका रेडियो लगायतका सञ्चारमाध्याम तथा पत्रकारितामा फेरी दलिय राजनीतिले जरा गाड्न थालेको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन लगायतका सञ्चार माध्यमको स्थापना हुने क्रम ह्वात्तै बढेको वेला नयाँ खुलेका सञ्चार माध्याम कुन पत्रकार वा सञ्चार उद्यमीले स्थापना गर्यो, के लक्ष्य उद्देश्यले स्थापना गरेको हो भन्दापनि कुन पार्टीको व्यक्तिले कुन उद्देश्यले स्थापना गरेको हो भन्ने प्रश्न सर्बसाधारणमा सजिलै उठ्छन् ।
वास्तवमा पत्रकारिता सर्बसाधारण जनताका लागि हो । नेपाली पत्रकारिताको क्षेत्रमा एक दुई बर्षकै अवधिमा पूर्ण रुपमा राजनितिले प्रबेश गरिसकेको छ । समाज र सर्बसाधारणहरुलाई हक अधिकार र समाज बिकासका लागि सुसुचित तथा अग्रसर गर्न भन्दापनि आ–आफ्नो दललाई स्थापित गर्ने उद्देश्यले नेपाली पत्रकारिता अगाडि बढेको छर्लङ्ग देखिएको छ । यस्तो समस्या सबैभन्दा बढी यो समयमा मोफसलमा देखिएको छ । जब मालिकनै प्रत्यक्ष राजनीतिमा संलग्न छ, त्यो पत्रकारिता कसरी स्वतन्त्र हुनसक्छ ? जबसम्म सञ्चार उद्यमी स्वतन्त्र पत्रकार हुन्छ तव मात्रै पत्रकारितामा राजनीतिको अन्त्य हुन्छ ।
राजनीति उद्यान बनेको पत्रकारिताले समाजलाई सुसूचित गर्ने भन्दा पनि पत्रकारको अस्तित्व समाप्त पार्ने निश्चत छ । पत्रकारिता क्षेत्रमै लागेका श्रमजिवि पत्रकार पनि प्रत्येक्ष रुपमा दलिय राजनीतिमा आबद्ध भइरहेका छन् । कुनै एउटा व्यक्ति एउटा कार्यक्रममा जाँदा पत्रकार बनेको हुन्छ भने अर्को कार्यक्रममा जाँदा कुनै दलको नेताको भएर कार्यक्रमको अतिथीको रुपमा आसनग्रहण गरेको हुन्छ । सञ्चार उद्यमी देखि श्रमजिवि पत्रकार समेत बिचारबाट माथि उठेर प्रत्यक्ष राजनीतिमा लाग्दा पत्रकारिता र राजनीति कसरी मिल्न सक्छ । त्यस्तो व्यक्तिले कसरी पत्रकारितालाई निश्पक्ष रुपमा अगाडि बढाउन सक्छ ? एउटा पत्रकार नै दलिय राजनीतिमा प्रत्यक्ष संलग्न हुँदा राजनीतिका कारण पत्रकारिताका मूल्य–मान्यता संगै आचारसंहिताको पनि लोपहुँदै गएको छ । संचार माध्यम दलका मुखपत्र बनेका छन् । पत्रकारिताको मर्म भावलाई पाखा लगाइएको छ ।
साँच्चै भन्ने हो भने पत्रकार हक हितका लागि भन्दै बनाइएका पत्रकारहरुका संगठनहरुले पत्रकारिता भित्र राजनीति गरेका छन् । पार्टीका भातृ संगठनकै रुपमा रहेका एकिकृत नेकपा माओवादी निकटको क्रान्तिकारी पत्रकार संघ, नेपाली कांग्रेस निकटको प्रेस यूनियन, नेकपा एमाले निकटको प्रेस चौतारी, नेकपा–माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ, जनमोर्चा नेपाल निकटको प्रगतिशिल पत्रकार संघ लगायतले पत्रकारितालाई दलिय राजिनीतिमा बिभाजन गरिदिएका छन् । पत्रकारको संरक्षण, हक, हित र अधिकारका लागि त साझा संगठन नेपाल पत्रकार महासंघ छँदैछ । तर अपसोच त्यही महासंघको तीन बर्षे कार्यकालका लागि नयाँ समितिको चयन गर्दा पनि सहमति कहिल्यै हुन सकेन् । सहमतिको त कुरा के, चुनावमा राजनीतिक दलका नेता भन्दा कुनै प्रकारको कमी प्रचार–प्रसार तथा भाषण गर्दैनन् । चुनावका लागि प्रत्येक दल–दलका पत्रकारहरुले प्यानेल बनाएर चुनावी मैदानमा उत्रिन्छन् । यसरी चुनिएकाहरुमा कसरी तालमेल मिल्ला र पत्रकारको हक, हित र संरक्षणका पक्षमा लाग्लान ? बगैचाका फूलहरुमा घुम्ने पुतली जस्तै राजनीति पनि पत्रकारितामा घुम्ने पुतली बनेको छ । त्यसैले यसले पत्रकारिताबाट लिने सुगन्ध के छ भनि बुझ्न जरुरी छ ।
किन विस्थापित हुन्छन् पत्रकार ?
पत्रकारिता सेवा हो, धर्म हो । सेवा र धर्मको प्रतिफल के हो ? पत्रकारले सेवा धर्म गरेवापत यस क्षेत्रमै स्थापित हुनुपर्थ्यो । पत्रकारिताबाटै जीवन जीउने र जीवनभर पत्रकारिताकै साथमा रहनसक्नुपर्ने हो । तर थोरै पत्रकार मात्रै यस क्षेत्रमा स्थापित भई पत्रकारितालाई जीवन जीउने आधार बनाएका छन् । प्रत्येक बर्ष मोफसलमा सयौंको संख्यामा नयाँ पत्रकारहरुको जन्म हुने गरेको छ । प्रत्यक बर्ष त्यही संख्यामा पत्रकारहरु बिस्थापित भइरहेका छन् । पत्रकारले काम गर्ने वा यो क्षेत्रमा टिक्ने समयावधि दुई तीन बर्षको हुन्छ । कुनै जिल्लाको स्थापीत पत्रकारले दिनहूँजसो बदलिने पत्रकारहरुलाई चिन्न समेत गाह्रो छ ।
नयाँ हुँदा जस्तो जोस, जाँगर र आशाका साथ पत्रकारहरु पत्रकारिता क्षेत्रमा प्रवेश गर्दछन् त्यो जोस जाँगर केही समयमै मरिसकेको हुन्छ । वास्तबमै नयाँ पत्रकारहरु जति दुःख पूराना स्थापित पत्रकारहरुले गर्दैनन् । तर नयाँ पत्रकारको पारिश्रमिक दुई हजार, तीन हजार, चार हजार यस्तै हुन्छ । यसबाट श्रमको मूल्यको अपमान भएको ठहर पत्रकारमा हुन्छ । यसमा पनि सञ्चार उद्यमीको दास बनेका श्रमजिवि पत्रकार कहिल्यै स्वतन्त्र रुपमा पत्रकारिता गर्न सकिरहेका छैनन् । पत्रकारको पारिश्रमिकले नै उसलाई परिवर्तन गरिदिन्छ । यसबाट पत्रकारमा सिधै यो पेसा केही गर्न नसकेका व्यक्तिहरुका लागि मात्रै रहेछ भन्ने प्रभाव पर्छ । यो अवस्थामा ऊ यो पेसामा रहिरहन सक्दैन् र केही समयमै विस्थापीत हुन बाध्य हुन्छ । यसैले पनि होला, पत्रकारिता क्षेत्रमा धेरै पूराना अनुहारको अभाव छ । जसकारण नेपाली पत्रकारितालाई परिपक्क भन्न समेत गाह्रो छ ।
पत्रकार स्थापित हुन नसक्नुको अर्को कारण हो , नेपालको दलिय राजनीति । पत्रकारिता भित्र पसेको दलिय राजनीतिले सञ्चार उद्यमी र पत्रकारहरुलाई विस्थापित गरेको छ । यतिवेला राजनैतिक दलसंग नजोडिएका सञ्चार माध्यामहरु धेरै देखिँदैनन् । जसले गर्दा यस्ता सञ्चार माध्यममा काम गर्ने पत्रकार पनि जुन पार्टीसंग आबद्ध मिडिया हो त्यो पार्टीसंग आवद्ध हुनुपर्ने बाध्यता छ । राजनीति बिचार फरक भएका पत्रकारहरु पत्रकारिता क्षेत्रबाटै विस्थापीत हुनुपर्ने बाध्यता छ । नेपाली पत्रकारितामा दलिय राजनीति र पारिश्रमीक नै पत्रकार विस्थापीत हुनुका कारण बनेका छन् ।
आचारसंहिताको पालना
“समानताका लागि पत्रकारिता” भन्ने नारा पत्रकारिताका लागि उपयुक्त हो । तर “आफ्ना लागि पत्रकारिता” भन्ने नारा उचित हुने अवस्था छ । समाजतर्फ उत्तरदायि हुनुपर्ने पत्रकारिता व्यक्ति र संघ संगठनतफ मात्रै उत्तरदायि बनेको छ । जव कुनै चुनाव आउँछ । त्यतीवेला मिडियाले यस्तो भूमिका खेल्छकी पत्रकारिता आचार संहिताभित्र हन्छन या हुँदैनन् थाहा नै हँदैन् । प्रत्येक मिडिया हाउस हाउस जर्नल बनेका हुन्छन् । आफ्नो पक्षको समाचार प्राथामिकताका साथ प्रकाशन / प्रसारण तथा प्रचार प्रसार गर्नमै पत्रकारिताको प्रयोग हुन्छ । अर्को पक्षको समाचार नछाप्ने, छापियो भने पनि उसले गरेका नराम्रा कामलाई मात्रै चर्चामा ल्याउने र अरुको नजरमा उसको वदनाम गराउने प्रबृत्ति मिडियाको छ । यसैबाट थाहा हुन्छ पत्रकारिताका मूल्य र मान्यता कहाँ गए ।
पत्रकार आचारसंहिता २०६० ले के भनेको छ थाहा नभएर पक्कै होइन् । जानिजानि पत्रकार आचारसंहिताको उल्लंघन गरिँदै छ । समानता हुनुपर्ने पत्रकारिता दलको मुखपत्र बनेको छ । पत्रकार आचारसंहिता २०६० को बुँदा ३ को ४ मा सत्य तथ्य सूचनाको सम्प्रषण गर्नुपर्ने, ३ कै १० मा सामाजिक उत्तरदायि हुनुपर्ने उल्लेख छ । त्यस्तै बुँदा ४ क को ४ मा नीजि स्वार्थपूर्तीको लागि प्रयोग गर्न नहुने, ५ मा भेदभाव हुने गरी सूचना सम्प्रेषण नगर्ने लगायतका आचारसंहिताको उल्लेख गरिएको छ । यस्ता आचारसंहिता हुँदाहँदै पनि पत्रकार निष्पक्ष सूचना आचारसंहिता पालना गर्न किन हिचकिचाई रहेका हुन ? राजनीतिक प्रभावका कारण सम्प्रेषणमा बाधा पुगेको छ । यसले पत्रकारिताप्रतिको सर्बसाधारणको विश्वासमा समेत कमी आएको हो ।
बिक्रम संम्बत १९०८ बाट आधुनिक रुपमा सुरु भएको नेपाली पत्रकारिता पहिलेका जटिलतालाई चिर्दै सरल आधुनिकतातर्फ अग्रसर भइरहेको छ । नेपालमा सरकारी सञ्चारमाध्याम गोरखापत्र, रेहियो नेपाल, राष्ट्रिय समाचार समिति (सगरमाथा संम्बाद समिति), नेपाल टेलिभिजन पहिले स्थापना भएका हुन् । सरकारी सञ्चार माध्यामको सही प्रयोग हुन नसक्दा पत्रकारितामा थप अन्यौलता छाएको छ । सरकारी कामकाजलाई होच्याउन नसक्ने यि सरकारी मिडियामा पनि राजनीतिकै बलियो जरो अड्किएको हो । व्यक्तिगत तथा निजि मिडिया हाउसलाई त जसरी चलेपनि भयो । मिडियामा काम गर्ने पत्रकार, पत्रकार नै हुन कसैका कार्यकर्ता होईनन् भन्नेतर्फ स्वयम पत्रकार र राजनीतिक दलहरु सजग हुन जरुरी छ । पत्रकारिताबाटै सून्दर नेपालको निर्माण र पत्रकारिताको थप बिकास गर्नका लागि स्वतन्त्र पत्रकारिताको आवश्यकता छ । राजनीति तथा पारिश्रमीककै कारणले पत्रकार विस्थापित भएको अवस्थामा पत्रकारिताको सहि बाटो पहिल्याई अगाडि बढ्नु उचित हुन्छ । राजनीति गर्ने माध्याम पत्रकारितालाई बनाउने हो भने पत्रकारिता आम नेपाली जनताको नजरमा गिर्न सक्छ । पत्रकारितालाई विकास गर्न र विश्वश्निय बनाउन पत्रकार, सरकार र राजनीतिक दलले नै बुझ्न जरुरी छ ।
लेखक पत्रकारिताका बिद्यार्थी हुन् । हाल काँक्रेविहार दैनिक, सुर्खेतमा आबद्ध छन् ।





