पत्रकार युरोप भेला बारे मनमा उठेका तरंग

राजन भट्टराई / पेरिस

“हामी अधिवेशन गर्न परिपक्व बनिसकेका रहेनछौ । आज पत्रकार साथीहरुको माहोल देख्दा यस्तै  लागि रहेछ ।”  बिगत दुइ दशक भन्दा अघि देखि पत्रकारिता क्षेत्र संग जानकार हुनु भएका पत्रकार तथा हाल लण्डनमा प्राध्यापन पेशा गर्दै आउनु भएका शशी पौडेलले यहि सेप्टेम्बर २ तारिख फ्रान्सको पेरिसमा भएको नेपाल पत्रकार महासंघ युरोप शाखाको पहिलो ऐतिहासिक भेलामा ब्यक्त गर्नु भएको एउटा वाक्य बाट बिषय बस्तु  प्रस्तुत गर्न खोज्दै छु  । उहाँ सो अधिबेशनको लागि निर्बाचन प्रमुख पनि हुनुहुन्थ्यो ।

थुप्रै पत्रकारहरु रहेछन् यूरोपमा ! म एउटा पत्रकारिताको बिद्यार्थीको लागि एक किसिमको उत्सुकता र पर्व जस्तै  थियो  । त्यसो त, मेरो रेडियो तथा छापा पत्रकारितामा ज्यादै छोटो मात्र अनुभव छ । त्यसैले म पत्रकार भन्दा पनि पत्रकारिताको विद्यार्थीको रुपमा आफुलाई पाउँछु । 

भगिरथ योगी, शिव गाउले, शशी पौडेलको अगाडी आफुलाई पत्रकार भनेर शान देखाउने कुरा पनि भएन । यस भन्दा अगाडी यूरोपको तदर्थ समिति बन्दा देखिनै मलाई एउटा खुशी लागेको थियो । युरोपमा पनि अब नेपाली पत्रकार जाग्ने भए । संगठित हुने भए । यूरोपमा भएका पत्रकारहरु मिलेर सूचनाको हक अधिकारको लागि संगै लड्ने भए । युरोपमा बसेर पत्रकारिता गर्नेहरुलाई हौसला मिल्ने छ । सुचनाको लागि समन्वय हुने छ । यस्तै आशाहरु लाग्यो । शुरुमा करिब ४० भन्दा बढीले पत्रकार महासंघ सदस्यको लागि आबेदन दिएका थिए  । निर्बाचन समितिले २० जनालाई मात्रै सहभागीको लागि योग्य देख्यो ।

तर कार्यक्रमको अन्त्य सम्म करिब करिब सबैजसो योग्य बने । करिव एक दशक देखि नेपाली पत्रकारितामा एउटा विद्यार्थी रुपमा चासो राख्दै आएको छु । नेपाली पत्रकारहरुको यूरोपियन स्तरीय पहिलो एतिहासिक जमघटमा सहभागी हुन् पाउनु मेरो लागि राम्रो अवसर बन्यो । कार्यक्रम स्थल फ्रान्सको मेजो अल्फोड़को हलमा छिर्दै गर्दा मन फुरुङ्ग भयो । यूरोपमा बसेका धेरै बुझेका बौद्धिक वर्गको माझमा पुगेको अनुभव गरे । पत्रकार साथीहरुको निकै दौड धुप थियो । कता कता गतिबिधि हेर्दै जाँदा नेपालका राजनीतिक दलहरुको कार्यकर्ता  भेला भए जस्तो पनि भान भयो । यूरोपमा बसोबास गरिरहेको पत्रकार साथीहरु विच चिनजान गर्ने भन्दा पनि नेतृत्व पाउनको लागि मोर्चाबन्दि हुँदै थियो । यूरो जोन भित्र सक्रिय पत्रकार साथीहरु र त्यहाको पत्रकारिताको अवस्था र सम्भावना बारे जान्न  बुझ्न सुन्न खासै पाईएन ।

बिशेषत युरोप बस्नेहरुको लागि पत्रकारिता बैकल्पिक पेशा हो ।  ब्यवसायिक नेपाली पत्रकार खासै हुनुहुन्न विविसीका बाहेक । यति सानो संख्यामा रहेका पत्रकार साथीहरुको विचमा पनि एउटा सहज ढंगले कार्य समिति बन्न सकेन । आजका दिनसम्म नेपाल पत्रकार महा संघ युरोप शाखा निर्माण गर्न कसले कति भूमिका खेल्यो त्यो त भावी पुस्ताले मूल्यांकन गर्ला नै । अध्यक्ष गाउँले भन्दै हुनु हुन्थ्यो “तपाईहरु यति सभ्य र सु-सस्कृत भनिने मुलुकमा बसेर पनि सहज ढंगले सहमति र सम्झौता गर्न सक्नु भएन । काठमाडौँ जस्तो सबैभन्दा धेरै गैह्र पत्रकार रहेको भनिने शाखामा पनि यस्तो हुँदैन । फेरी उहाँले थकित र निराश माहोललाई उर्जा थप्दै हुनुहुन्थ्यो ” मैले यस्तो धेरै झेलेको छु । यो द्वन्दको सामान्य मान्यता हो । यसलाई सामान्य रुपमा नै लिउँ ।”

वास्तवमा शिव गाउँले, शशी पौडेल सरले सहज बनाउने प्रयत्न गर्नु भएको भए पनि मलाई चाहिँ केहि ननिको लाग्यो । तथ्यगत रुपमा भन्ने हो भने आधा दर्जन भन्दा कम सक्रिय पत्रकार भएको लण्डन बाहेक यूरोपमा तिन वटा उपाध्यक्ष पद आरक्षण गर्नुपर्यो । शाखा निर्माणमा लामो समय देखि निकै सक्रिय अग्रज पत्रकार ददिराम सापकोटालाई संरक्षकमा  पद पूर्ति गर्नुपर्यो । करिब ८ बर्ष भन्दा बढी नेपाली पत्रकारितामा सक्रिय कान्तिपुर दैनिककी सरस्वती कार्की निरिह जस्तै बन्न पुगिन । यूरोपमा सक्रिय पत्रकार सन्तोष न्यौपाने पाखामा नै बस्नुपर्यो । हुन त नयाँ युरोप शाखामा निर्वाचित हुनु भएका अग्रज सबै पत्रकारहरु योग्य हुनुहुन्छ । उहाँहरुको नेपाली पत्रकारिताको बिकासका लागि धेर थोर सबैको योगदान छ । तर पनि अलि सक्रियतापुर्बक लागिरहनु भएकाहरुको कति मुल्यांकन भयो त्यो त नेतागिरी गर्ने साथीहरुलाई नै थाहा होला । साँच्चै पत्रकारितामा केहि गर्छु भन्नेहरुलाई हौसला र प्रोत्साहन गर्नु पर्छ । यसो गर्न सकिएन भने गैह्र पत्रकार हावी हुनेछन् । यसले महासंघ र सिंगो नेपाली पत्रकारिता जगतलाई पक्कै पनि फाइदा गर्ने छैन । पत्रकारको अभिभावक संस्था महासंघले यी सवाल बारे गहिरो संग सोच्नु पर्छ होला ।

नेपाली राजनीतिमा देखिने गरेको घिन लाग्दो संस्कृतिको प्रतिविम्व युरोपका केहि नेपाली पत्रकारहरुमा पनि देख्दा खुशी लाग्ने कुरै भएन । नेपालका केहि राजनीतिक दल र तिनका केहि नेताहरुलाई प्रजातन्त्रको दुहाई दिँदै सामान्य राजनीतिक मूल्य र मान्यता बिहिन राजनीति गर्ने छुट भएजस्तै हामीमा पनि पत्रकार बन्न र पत्रकारिता गर्न पत्रकारिताको मूल्य र मान्यताको ज्ञान नभएपनि हुन्छ भन्ने संस्कार हावी हुँदैछ । पत्रकारिता अध्ययन नगरेपनि पत्रकार हुन सकिन्छ भन्ने सोच र प्रवृति नेपाली पत्रकारिताको लागि अभिशाप बन्ने खतरा बढ्दैछ ।

अन्तत यूरोपमा लामो समयको प्रयत्न पछि भएपनि पत्रकारहरुको अभिभाबक संस्था जन्मिएको छ । त्यसको प्रमुख जिम्मेवारीको अवसर बेल्जियमवासी पत्रकार महेश थापालाई मिलेको छ । उहाँबाट सबै पत्रकार साथीहरुले अभिभावकत्व पाउन सकौं । यहाँ पत्रकारिता गर्न कठिन नै भए पनि पत्रकार भनेर स्थापित गर्न सजिलो छ । यूरोपमा धेरै सम्भावना र अवसरहरु छन् । हामीले यूरोपमा भएका आर्थिक विकास र प्रबिधि बारे नेपाली मिडियामा राम्रोसंग सम्प्रेषण गर्न सक्यौं भने मात्र पनि नेपाली जनताले सहज रुपमा धेरै सिप र ज्ञान प्राप्त गर्ने अवसर पाउने छन् । यसले हामी आफैलाई व्यक्तिगत रुपमा पनि सफलता मिल्ने छ ।  तर लहड र रहरमा पत्रकार बन्न खोज्नु भन्दा बरु अरु कुनै अर्को पेशा अगाल्दा फाइदा हुन् सक्छ ।

प्रतिक्रियाकालागि [email protected]

तपाइँको प्रतिक्रिया