किन रिसाइन सेती नदी ?

सधैं पोखराबाट उत्तरतिर हेर्दा हिमाल सँगै मुसुक्क मुस्कुराउने पोखरेलीमात्रै होइन, हिजो धेरैको मुख मलिन बनाए ति हिमालले । एकबिहानै हिमालसित मितेरी गाँस्ने पर्यटकहरुको ध्याउन्नपनि हिमाल हेर्नतिर थिएन । बरु अकस्मात फैलिएको हल्ला र अत्यासबाट बच्नु थियो । कास्कीका डाँडा पाखाबाट हिमाल चियाउँदै गर्नेपनि हिमनदीको विस्फोटले ल्याउने बाढीसितै बगिन्छ कि भनेर सुरक्षित ठाउँ खोज्दै दगुरेका थिए । पर्वतिय स्रिङ्खला बिमानबाटै चखाएर पोखरा फर्किँदै गरेका बिमान चालकले ‘लौ हिम पहिरो गएर सेती नदी रिसाउँदै उर्लेको छ, सुरक्षित रहन खबर दिनुस्’ भनेर सञ्चार माध्यमलाइ खबर गरिदिएपछि कास्कीको खासगरि पोखरा वरिपरि भगदौड चल्यो । तर बम्किएकी सेतीको अगाडी केहि लागेन । किनभने प्रक्रितिमाथि मान्छेको अत्याचारले सिमा नाघिसकेको थियो ।

तर यत्रो क्षती हुँदापनि मान्छेहरुमा अझै चेत आएको देखिन्न । यो सबै बिनासको कारण न सेती नदी रिसाएर हो । न हिमालहरु चिढिएर हो । बरु हाम्रै कमीकमजोरी र हाम्रा नितिहिन कामले गर्दा भोग्नु परेका सजायँ हुन् । तरपनि प्रश्न उठ्छ, सेती नदी रिसाएकि त हुन् नी ! किन रिसाइन त ? मान्छेका के त्यस्ता क्रियाकलापले सेती नदीलाई रिसाउने बनाए ?

हिमपहिरो भन्ने चिज त्यस्तो हो जुन हिमालका चुचुरामा धानिन नसकेपछि तल खस्ने हिउँको ठूलो रुप हो । साना तिन लप्का त हिमालबाट खसिरहन्छन् नै, त्यो बेला वास्ता हुन्न । किनकि ति त्यतै सिमित हुन्छन् । क्षती गर्दैनन् । जब ठूलो मात्रामा खस्छ तब चर्चा हुन्छ । हिमालमा नयाँ हिउँ बन्ने क्रम निरन्तर चलिरहन्छ । हो नयाँ हिउँ बन्दा सुख्खा हिउँ तलको पत्र (लेयर) मा टाँस्सिन्छ । नयाँ हिउँ एकदम कड र बलियो बनिसकेको हुन्न । त्यसैले यो हिमालबाट चिप्लिँदै तल बग्न सक्छ । हिमपहिरो कम्तिमा ३६ किमी प्रति घण्टा दगुर्छ । मध्यम गती १३६ किमी हुन्छ । यो प्रतिघण्टा ३८४ किमी सम्म दौडेको तथ्यांक फेला पारेका छन् । यो एकदम ठूलो आवाज निकालेर खस्न सक्छ । कहिले केहि आवाजै नसुनिइकनै पनि खस्छ ।

हिमपहिरो हरेक रात, हरेक हप्ता गैरहन्छन् । रातको समयमा हिमाल नजिक बस्दा अलि बढि सुन्न सकिन्छ । दिनमा मान्छेहरु काममा ब्यस्त रहनाले ख्याल नगर्ने वा दिनमा हल्लाले गर्दा ख्याल नहुने गरेको हो। मानव बस्तिबाट टाढा हुनालेपनि उति नसुनिने हो। जब हिउँ ज्यादै गह्रुंगो हुन्छ । तब त्यसलाई तलको भागले थाम्न सक्दैन । त्यो चिप्लिन्छ । अरु कारण के भने प्राक्रितिक तापक्रममा एक्कासी ठूलो बदली भयो भनेपनि हिमपहिरो जान्छ । त्यस्तै तिब्र गतीमा हावाको गति बदलियो भनेपनि जान सक्छ । अर्को कारण हो, मानव क्रियाकलापबाट स्रिजित गतिबिधी ।

यस्ता हिम पहिरोलाई नियन्त्रण गर्नै नसकिने होइन । सरकारले ध्यान दिने हो र लगानी गर्ने हो भने हिम पहिरो जाने संभावित ठाउँमा बारहरु लगाउन सकिन्छ । त्यस्ता बार पथ्थर, कडा माटोको पर्खाल लगाएर मानव वस्ति र बाटोमा आउन बाट रोक्न सकिन्छ । हिम पहिरो जाने संभावना देखिएपछि प्राक्रितिक रुपमा भत्किनुपूर्वनै बिस्फोट गराएरपनि नियन्त्रण गर्न सकिन्छ । तर नेपाल जस्तो देशकालागि यो अति खर्चिलो हुनाले उति ब्यवहारिक देखिन्न ।

हिमपहिरो भनेको हिउँको ठूलो भाग पल्टिँदै, गुल्टिँदै र चिप्लिँदै तलतिर खस्नु न हो । यसलाइ हिउँ चिप्लेकोपनि भन्न नसकिने होइन । त्यसो त हिम पहिरोपनि दुई खाले हुन्छ । एउटा अन्य हिउँको थुप्रोमाथि बसेको हिउँ । त्यो पग्लिएर चिप्लिन सक्छ । अर्को जमिनमै टाँस्सिएर बसेको भागदेखि माथिल्लो भागसम्मैको एकै चोटी चिप्लिने । पछिल्लो बढि खतरापूर्ण हुन्छ ।

हिम पहिलो जब भिरालो जमिनको पिँधमा आइपुग्छ तब यसले गति लिन्छ । शक्तिशाली बन्दै जान्छ । त्यसैले ठूलो प्रक्रितिक बिपत्तीको रुप लिनसक्छ । कास्कीमा गएको हिमपहिरोले एकदम छिटो सेती नदीमा बाढि ल्याएर क्षती पुर्‍याएको पनि यहि कारण हो । तर बुझ्नुपर्ने कुरो के छ भने यदि हामीले प्रक्रितिको रुप नबिगारेको भए सायद सेतीमा यति बिघ्न बाढि आउने थिएन । त्यो हिम पहिरोले ल्याएको पानी पनि यति ठूलो हुने थिएन । कसरि ? जिज्ञासा लाग्न सक्छ ।

आफूलाई नियन्त्रण गर्ने प्रक्रितिकापनि आफ्नै नियम हुन्छन् । त्यसैले प्रक्रितिले उबडखाबड जमिन निर्माण गर्छ । ढिस्काहरु बनाउँछ । साना खहरे र खोलाहरु, तालहरु बनाउँछ । उबडखाबड जमिनको काम के हो भने यसरि हिमताल वा हिमपहिरो बिस्फोट हुँदा त्यसको गतीलाई ति ढिस्काहरुले रोकिदिन्छन् । कतिपय गेगर, बालुवा, ढुंगा, पथ्थर त्यतै ढिस्काहरुमा रोकिन्छन् । साना खोलाहरुमा पानीको मात्रा बाँडिन्छ । त्यो अनेक साना खोला र तालमा बाँडिएर दशतिर जान्छन् र नियन्त्रित हुन्छन् । रुखविरुवाहरुले त्यसैगरि हिमालबाट ओइरिने माटो, गेगर, वालुवा लगायतका वस्तुलाई छेकिदिन्छ । वन जंगलमा भएको झाडी सोत्रन पर्छ । साना रुख र विरुवा ढल्दा माथिबाट बगेर आउने माटो र गेगर त्यसैमा टाँस्सिन्छ । बाढिको गतिलाई कम गरिदिन्छ ।

यसो गर्दा वन सुस्साउँछ । आवाज ठूलो आउँछ । मानिसलाई यसबारे जानकारीपनि छिटो हुन्छ । हिमाललाई थेग्ने, रोक्ने, संरक्षण गर्ने, साथ दिने र हिमालका बिपत्तीहरुलाई रोक्नैकालागि त्यसपछाडिका डाँडाहरु बनेका हुन् । जब ति पहाडी भागका वन मास्छौं, तालहरु पुर्छौं, ढिस्काहरु सम्म पार्छौं भने हिमालको बिपत्ती के ले रोक्ने ? माथिबाट आउने बाढी गुर्रिंदै तिब्र बेगमा बहन पाउँछ । उसलाइ रोक्ने कुनै माध्यम नै हुँदैन । अनि त्यसले जमिन बगाउँछ, गाउँनै सोरेर तल झार्छ ।

हामीले साना तिना खोलाहरु पुरिदिने, मासिदिने गरेपछि माथिको पानी कहाँ बाँडिने ? अहिले भएको त्यहि हो । हिमालबाट निस्केको पानी कहिँ बाँडिन पाएन । त्यो सिधै सेती नदीमा मिसिन आयो । वन र ढिस्का, कान्ला र थुम्का मासेर सम्म पार्ने, खेती लगाउने, वन मास्ने गर्नाले माथिको ढुंगा, माटो, गेगर, बालुवा, चट्टान केहिपनि बिचमा रोकिन, अल्मलिन र जम्न पाएन अनि त्यो सिधा सेतीमा मिसिन आइपुग्यो । सेती रिसाउनुको मुख्य कारण यहि हो । त्यसैले गर्दा रिसाएकी सेती नदीले गर्दा कम्तिमा आधा दर्जन गाउँ ध्वस्त भए । दर्जन भन्दा माथिको ज्यान सेतीले लिईन् । न ठडिएका ट्रक बँचे । न पूलहरु जोगिए । घरहरु सलल चिसो हिउँको पानी र बालुवा अनि गेगरसितै बगे । भकारीमा भित्रिन कुरेर बसेका बालीनाली खेतबाटै बगे ।

त्यो त हिमालको पाटो भयो । सेती नदीले क्षती गराउनुको अर्को कारणपनि छ । त्यो हो हाम्रो अतिक्रमण र बहुलठ्ठीपन । नदीलेपनि आफ्नो गति, आफ्नो फैलावट र क्षमतालाई नियन्त्रण गर्ने तरिका र अक्किल हुन्छन् । त्यसैले नदीका आसपासमा थुप्रै भंगाला हुन्छन् । नदी किनारमा रुखविरुवा हुन्छन् । तिनको काम नदीलाई आफ्नो बाटोबाट बाहिर फैलिन नदिने हो। नदीले बगाएर नदी किनारमा ढुंगाहरु पल्टाएको हुन्छ । त्यसको कामपनि नदीको गति रोक्ने हो। नदीलाई आफ्नै आकारमा सिमित राखेर बग्न दिने हो। तर अहिले न त नदी किनारका ढुंगा बाँकि छन् । न रुखविरुवा । मान्छेले त्यो मासेर घर ठड्याए । ढुंगा र अबलुवा ओसारेर सिध्याए । नदी हिँड्ने बटोमै थुनेर र छेकेर वस्ति बसालेपछि नदी आफ्नो बाटो छोडेर कहाँ हिँड्ने ?

अहिले यो बाढीले कति मान्छे हराए, कति घर बगायो भन्नेनै यकिन छैन । सरकार, गाउँ, स्थानिय निकाय र हामी ब्यक्ति ब्यक्ति नेपालीको लापर्वाही हो त्यसको कारण । पहिलो त सरकारले नदी किनारमा अतिक्रमण गरेर वस्ति बसाल्नै दिनै हुँदैन । त्यसको निगरानी गर्ने काम स्थानिय निकाय र सरकारको हो । जानी जानी नदी अतिक्रमण गरेर बस्ती बसाल्नेहरुपनि आफैं काल खोज्दै गए सरह हो । किनभने दशौं वर्ष नदीले जमिन छोडेपनि आफू बगेको ठाउँ कुनै बेला फर्केरै छोड्छ नदी । यो नदीको नियम हो । यो बुझाउने काम सरकारको हो । कुन गाउँमा कति घर छन् कति नागरिक छन् भन्ने थथ्यांक सरकारसित हुनै पर्ने हो। यस्तो तथ्यांक सरकारले बनाउन नसक्दापनि स्थानिय निकाय आफैंले पनि बनाउन नसक्ने होइनन् । तर आम नेपालीको बानी के छ भने जेपनि सरकारलाइ आरोप लगाउँदै बस्ने । मनपरी गर्ने, अतिक्रमण गर्दै जाने, चनाखोपनि नहुने, प्रक्रितिका विविध रुपको पहिचाननै मेटाउन तम्सिने गरेपछि छोड्छ त सेती नरिसाएर ?

(पहिलो र दोस्रो तस्विर, इन्डियाभिजन, दोस्रो त तेस्रो नेटबाट तानिएको हो)

तपाइँको प्रतिक्रिया