बोली बार्नेहरुसँग

लक्ष्मण देवकोटा / मदनपोखरा, पाल्पा

राति सुत्ने बेलामा औँला भाचेँ । कतिजना मानिस मसँग आँखा जुधेरपनि भेटमा बोल्दैनन् ? गन्ती गर्न मन लाग्यो । सँख्याले दुई दर्जन भन्दा धेरै पो नाघ्यो । मलाई यो सबै सम्झेर दुख लाग्यो । दश वर्ष अगाडिको सानोतिनो किचलोलाई पनि वर्षौँसम्म पेटमा कीरा परुन्जेल दुश्मनी साँधेर बस्नेहरु धेरै भए । धेरैजसो मेरा पेशाको कारणले बोली बारेर बसेका हुन् । म जिल्लाको अखबारी पेशाको दैनन्दिनी छोडेर विदेशिएर फर्कँदा पनि तिनले पेट अमिल्याएर बसेका रहेछन् ।

धेरै जनासँग मैले नै मुख फोरेर बोली शुरु गरेको छु । तर तिनको मन भित्रको तुष घट्नुको साटो झन् बढेको पाएँ । मलाई लाग्यो, यसरी छिमेकी र साथीभाइ चिढ्याउने मै ठीक होइन कि ? आफैलाई हेरेँ । दुनियाँको बिगार त केही गरिएको छैन । मेरा छिमेकीले साँध मिचे । मैले दाइ यसरी आली ताछ्ने काम नगरौँ भनेँ । उनी मसँग पाखुरा सुर्काए । हिँजका चल्लालाई साँध सिमाना के थाहा भनेर कुर्लिए । त्यसपछि उनको बोली बन्द भयो । म पनि भैराखोस् भनेर बोलिन । धेरैसमयपछि म आफैलाई असजिलो भएर बोलाएँ । उनी बाटाघाटामा भेटिदा बोल्छन् । घर पुगेपछि भने बोल्दैनन् ।

अर्का छिमेकी भाउजू छिन् । एकदिन देउरालीको रिपोर्टिँग सकेर देउगीरबाट लखतरान भएर घर फर्केको थिएँ । भोकले पेट कुक्याएको थियो । आँगन छेउको हडेला बेलौतिमा चढेर बेलौती टोक्दै थिएँ । भाउजूले भैँसीलाई चिर्पट दाउराले हान्दै थिइन् । अपशब्द पनि निस्किएको थियो तिनका मुखारबिन्दबाट । यसो हेरेँ । भाउजू त रणचण्डी झैँ भैँसीमाथि खनिएकी । बलिया दाम्लाले बाँधेर राखेको कठै भैँसी हार गुहार गर्दै ड्वाँ ड्वाँ कराइरहेको थियो । मलाई यस्तो लाग्यो कि कसैले कसैको हत्या गर्दैछ अनि म साक्षी छु त्यहाँ । बेलौतिको बुटाबाट हाम्फालेर भाउजू निर गएँ ।

यो के गरेको ? म उम्लिएँ ।

मेरो भैँसी मरोस् कि बाँचोस् तिम्लाई के को खन्खन् ? उनी रौद्र मुद्रामा मतिर सोझिइन् ।

तिनका हातको चिर्पट दाउरा थुतेर मल्खातामा फालिदिएँ । बिहान बेलुकी दूध दिने अनाथ भैँसीमाथि जाइलाग्ने तिमी पशुभन्दा पनि गएगुज्रेकी रहिछौ । धिक्कार छ तिम्लाई । म पनि सहन सकिन र बम्किएँ । मेरा आँखा रसाए । मुत्राशयबाट रगत छादिरहेको भैँसीको दर्दनाक दृष्यले म रोएँ । भक्कानिएको देखेर अर्का छिमेकी आए र मलाई सम्हाले । मैले चिच्याएँ र भने, यो आइमाइ पापी हो ।

त्यस रात सपनामा मलाई बिचरो भैँसीले मुसारिरहेको देखेँ । देउरालीको कुनै अंकमा मैले लेखेको पनि थिएँ यसबारेमा । त्यसपछि उनी बोलिनन् । आजसम्म पनि बोली बन्द छ । पापीहरु नबोलेकोमा मलाई कुनै चिन्ता छैन । 

००००००००००

म ठीक र मसँग नबोल्ने सबै खराब भन्ने मेरो आशय होइन । मानिसहरु भगवान् होइनन् जो सधै सद्दे कुरा मात्रै भनिराखोस् । मानिसहरु सबैका खराब र असल बेहोरा हुन्छन् । सानोतिनो विषयमा खटपट हुँदैमा, कुरा नमिल्दैमा अथवा असमझदारीका कारण बोली बार्नु राम्रो कुरा हुँदै होइन । धेरैले धेरै कारणले बोली बारेका भेटिन्छन् । घरभित्रै बाबु छोराको बोली बाराबार हुन्छ । सासू बुहारीको बोली बाराबार हुन्छ ।

शहरको कुरो अलि भिन्दै छ । मानिसहरु काममा बढी व्यस्त हुन्छन् । गाउँमा जस्तो वरिमपरिम, अथवा फुर्सदको समय अलि कम हुने भएकाले मानिसको बीचमा ठूलो रडाको हुन पाउँदैन । अरुको निजी जीवनका बारेमा चियोचर्चो गर्ने फुर्सद पनि काममा व्यस्त हुने मानिसलाई हुँदैन । गाउँमा कोही नयाँ आयो भने को हो त्यो ? कसको ज्वाइँ हो ? महिनावारी कति कमाइ गर्छ भन्ने सम्मका विषयमा चियोचर्चो गरेर पत्ता लगाउनमा केही फुर्सदिलाहरु खप्पिस हुन्छन् । रडाको र बबण्डर पनि यस्तै सानातिना कुराबाट हुन्छ । अनि शुरु हुन्छ बोली बाराबार ।

मेरो विचारमा सबै आआफ्ना काममा सकेसम्म व्यस्त हुने हो भने यो बाराबारको स्थिति कम हुने थियो होला । अरुको घरमा के पाक्यो भन्ने बारेमा चिन्ता लिन छोड्ने हो भने शान्ति हुन्थ्यो होला । अखबार पढ्ने रेडियो सुन्ने र टेलीभिजनका उपयोगी कार्यक्रमहरु हेर्ने हो भने पनि यसरी बोली बार्ने काम हुँदैनथ्यो होला । कुरो आयो पेशागत कुराको ।

पेशागत कारणले जन्मिएका यी पानी र बोली बार्नेहरुसँग दुख मनाउ गरिरहनु पर्ने कुनै कुरा छैन । गलतलाई गलत भन्दा कसैले चित्त र पित्त कुहाएर बस्छ भने कुहाउन दिए हुन्छ ।

(देवकोटा नेपाल पत्रकार महासंघका पूर्व पार्षद र नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व सचिव हुन् । )

तपाइँको प्रतिक्रिया