पोखरामा विश्व शान्ति केन्द्र बनाउन कस्सिए हिराचन

जापानीसित काम गर्ने हिराचन । टाठा बाठा त हुने नै भए । मनकारीपनि  । आफू जन्मे हुर्केको माटोप्रति जिम्मेवारी बोधपनि । एन आर एन मार्फत चिनिएका उनी अहिले अनेक अनेक सामाजिक सेवाका काम लिएर नेपालका गाउँ गाउँ दौडिरहेका छन् । कहिले बाख्रापालन  त कहिले पुस्तकालय । कहिले भत्किएको स्कूल पूनर्निर्माण । एन आर एनका प्रमुख संरक्षक देवमान हिराचन अहिले विश्व शान्ति केन्द्र बनाउन कस्सिएका छन् । उनको योजना र प्रयासले साकाररुप पाउने भएको छ ।

अहिले मान्छेलाई धेरै भौतिक सुविधा छ । तर यो भौतिक सुविधाभित्र अशान्ति ज्यादा छ । त्यसैले मान्छे शान्ति चाहन्छ । विश्वका धेरै मान्छे शान्ति चाहिरहेका छन् । त्यसैले कास्कीको हेम्जास्थित पेमा छाल शाक्य मोनास्टिक केन्द्रलाई विश्व शान्तिको केन्द्र बनाउने भनेर देवमान हिराचन कस्सिए । पोखरा यसैपनि हिमालको काखमा रहेको सुन्दर र शान्त शहर । यस्तो ठाउँमा शान्तिको श्वास फेर्न झनै आनन्द आउँछ ।

विश्वका धेरै मानिसहरु यसमा खर्च गर्न तयार पनि भैसकेका छन् । हिराचन र उनका सहयोगीले वृहत योजना तयार पारेका छन् । छिट्टै नै त्यो योजनाले सफलता पाउने हिराचनले सुनाए । पेमा छाल शाक्य मोनास्टिक केन्द्रमा निर्मित नयाँ गुम्बाको फागुन २५ गते ठूलै समारोह गरेर ४१ औं शाक्य ट्रिजिन रिन्पोछेले औपचारिक रुपमा उद्घाटनपनि गरे । उद्घाटनका क्रममा बिध्यार्थीहरुपनि थिए । तिनले आफ्नो बिध्यालयका निम्ति प्रार्थना गरे ।

पेमा छाल शाक्य मोनास्टिक इन्टिच्युट पहिले काठमाडौंमा थियो । सन् २००२ पछि कास्कीको हेम्जामा सारे । हिराचनकै अगुवाईमा हेम्जामा त्यो संस्था स्थापना भयो । कतिपयलाई लाग्न सक्छ, गुम्बा बनायो । पूजापाठ गर्‍यो । धर्मकालागि काम गर्‍यो । के फाइदा भयो त  ?  तर यो गुम्बा त्यस्तो होइन । यो संस्थाकै सहयोगमा अहिले विद्यालय तथा उच्च माध्यमिक तहमा हिमाली भेगका गरिब तथा विपन्न परिवारका ९० बालबालिका र बिध्यार्थी आवासीय रुपमा अध्ययन गर्छन् । राष्ट्रिय र अन्तराष्ट्रिय तहबाट सहयोग संकलन गरी संस्था तथा विद्यालय संचालन हुँदै आएको छ ।

करिब ३० रोपनी जग्गामा हालसम्म करिब आठ करोडको रुपैयाँ खर्चेर संरचना तयार छ । गुम्बा, माध्यमिक तह र उच्च मावि तहको विद्यालय भवन, पर्याप्त पार्किङ स्थल दान र सहयोगकै भरमा निर्माण गरिएको हो । यसमा मनकारी हिराचनको अक्किल, चलाखि र सेवाको भावनालेपनि काम गरेको छ । किनभने केहि वर्ष अघि जापानको कोबे शहरमा ठूलो भूकम्प गएको थियो । उनका साथी, चिनजान र जापानी मित्रले आफन्त गुमाए । हिराचनले साथीहरुको दुखलाई बाँड्ने कोसिस गरे । ति रुँदा उनलेपनि मन थाम्न सकेनन् । म्रितहरुको आत्म शान्तिका लागि के गर्न सकिएला आफ्नो तर्फबाट ? हिराचनले नेपालबाट बौद्द धर्म गुरु लगेर पूजापाठ गराए  । उनको त्यो कामको जापानीहरुले सराहना गरे । क्रितज्ञ बनेका जापानीले नेपालमा कुनै स्कूल खोल्ने चाहना देखाए । जापानीहरुको त्यहि चाहना अनुसार काठमाडौंमा स्कूल खोलियो । तर अब त्यसलाई किन सानो तहमा राख्ने ? त्यसलाई फैलाउन, अझ ब्रिहद रुपमा चलाउन हेम्जा सारिएको हो ।

तपाइँको प्रतिक्रिया