प्रेसको वैरीले नै प्रेस स्वतन्त्रको आदर्श छाँट्ने ?
नेपालका नेताहरुले जनतालाई सायद मूर्ख ठान्छन क्यार । जस्तो आश्वासन पनि दिन्छन । आफ्ना, कमजोरी, बिगतका गल्ति र कर्तुतहरु सबै तुरुन्तै बिर्सने पटमूर्ख ठान्ने रहेछन हामी जनतालाई । नेपाली कांग्रेसका दोस्रो दर्ताका शक्तिशाली भनिने नेता शेरबहादुर देउवाले आफ्ना बिगतका कर्तुत जति सबै बिर्सिएर त्यसैगरि मूर्ख बनाउन खोजे बिदेशमा बस्ने नेपालीलाई । हरेकलाई थाह छ कि देउवा २०४६ सालको बहुदलिय प्रजातन्त्रपछिका सबैभन्दा नालायक, कलंकित पात्र हुन नेपाली ईतिहासका । पजेरो काण्ड उनैले भित्र्याए । सुरा सुन्दरीका ट्रेडमार्क उनै हुन । सांसद खरिद बिक्रि गराउने ठेकदार उनै हुन । नेपाललाई पत्रकारको जेलमा परिणत गराउने उनै । देउवाको पालामा जति पत्रकारले सास्ति पञ्चायती कालमा पनि भोगेनन नेपालमा । दुइ सय भन्दा बढिले त यातना भोगे । क्रिष्ण सेना लगायतका कयौं मारिए । ताहाशाही ज्ञानेन्द्रको ब्रित्तमा लागेर प्रजातन्त्रलाई बलिमा चढाए । सारा प्रेसमाथि सेन्सरसिप लगाए । देशलाई दश वर्षमा द्वन्दमा धकेल्ने कुशल खेलाडी उनै बने । तर अस्ति शनीबार उनी कतारको दोहामा पुगेर प्रेसका पक्षमा खुब खोकेछन ।
प्रसंग रहेछ पत्रकार उमा सिंका हत्यारा को भन्ने । उनले आरोप लगाए उनका हत्यारा माओवादी हुनभनेर । माओवादी हुन या होइनन भनेर अहिले हामीले ठोकुवा गर्नु उचित छैन । त्यत्रो पार्टीका जिम्मेवार नेता उनले पक्कै केहि आधारलेनै त्यसो भने होलान । विश्वास गरौं । तर त्यो कार्यक्रममा उनले माओवादीबाट प्रेस स्वतन्त्रताको अपेक्षा गर्न नसकिने बताए । उनले भनेछन्-‘हिमाल पत्रिकामा आक्रमण र उमा हत्या गर्ने पार्टीसँग मानव अधिकार र प्रेस स्वतन्त्रताको अपेक्षा राख्न सकिन्न । माओवादी प्रेस स्वतन्त्रताविरोधी हो‘ । गज्जब छैन त भाषण ?
अचम्म छैन त ? नेपालमा मानव अधिकार हनन र प्रेस स्वतन्त्रत बिरोधीका रुपमा जो सबै भन्दा कलंकित छ उसैले प्रेस स्वतन्त्रता र मानअधिकारका बारेमा आदर्श छाँट्ने ? कि बिगतमा मैले गल्ति गरेकोले अहिले म पूर्ण प्रेस स्वतन्त्रता र मानव अधिकारका पक्षमा छु भन्नु पर्थ्यो । बहुदलिय प्रजातन्त्रलाई तानाशाहको पोल्टामा पुर्याउने, प्रेस स्वतन्त्रता र मानव अधिकारको खिल्ली उडाउनेले नै प्रेस स्वतन्त्रताको बारेमा बखान छाँट्न मिल्छ ? कि बिदेशमा बस्ने नेपालीलाई केहिपनि थाह हुँदैन भन्ने भ्रमले हो ?





