बेल्जियममा नेपाली सांस्कृतिक भवन : हाम्रो साझा लक्ष्य

युवराज गुरुङ / एन्टर्पेन, बेल्जियम

बेल्जियमका नेपाली समूदायको आफ्नो साझा घर बनाउने लामो समयको धोकोले सार्थकता पाउन शुरुवाती भएको छ । यहांका विभिन्न व्यक्तित्वहरु तथा संघ संस्थाले पटक पटक चलाएको बहश तथा अन्तक्रिया कार्यक्रमहरु र हाल सम्म गरिएका तमाम् सकारात्मक कदमहरुले सबैलाइ साझा नेपाली घर बनाउन मानसिक रुपमा तयार त बनाएकै छ, यस्तै यस्तै जागरुक नेपाली मनहरुलाइ ब्यवहारको धरातलमा उतार्न नेपाल देखि पाल्नु भएको छ – वाचन प्रवीण पण्डित दीन बन्धु पोखरेल, हामी माझ ।

‘जयतू संस्कृतम् वेल्जियम’को संयोजन र नेपाली दूतावास, एनआरएन लगायत वेल्जियमका सबै संघ संस्था तथा नेपाली जनसमुदायको सामूहिक आयोजनामा आगामी सेप्टेम्वर ७, ८, ९ र १० मा ल्यूभेन शहरमा संपन्न हुन गैरहेको ‘श्रीमद् भागवत ज्ञान महायज्ञ’बाट संकलित संपूर्ण रकम तथा पूंजी Nepal House (नेपाली सांस्कृतिक भवन) निर्माणमा लगानी गर्ने आम सहमती बनीसकेको छ । यो नै हामी समस्त नेपालीहरुको खुशी र गौरवको विषय हो । नेपाली दूतावास वेल्जियम, एनआरएन वेल्जियम र वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल नेपाली सांस्कृतिक भवन (Nepal House) को आजीवन संरक्षक रहने व्यवस्थाले त झन् यस बृहद् परियोजनाको दीगो स्थायीत्व र चीरकाल भविष्यसम्म ढुक्क रहन सकिने तुल्याएको छ हामी सबैलाई ।

“आध्यात्मिकबाट बृहत्तर समून्नयन” को मूल भावमा आयोजित यस विशेष समारोहको शिर्षक नेपाली सांस्कृतिक भवन (Nepal House ) निर्माण सहयोगार्थ वाचन प्रवीण पण्डित दीन बन्धु पोखरेलज्यूको समुपस्थितिमा संपन्न हुने चार दिने ‘श्रीमद् भागवत ज्ञान महायज्ञ’मा सरीक भई यथासक्य सहयोग पुरयाउन हामी वेल्जियमवासी हरेक नेपालीको कर्तब्य र दायित्व दुवै हो । आमन्त्रित वाचन प्रवीण पण्डित दीन बन्धु पोखरेलज्यूले एक साक्षात्कार कार्यक्रममा भन्नु भयो “मलाइ सकेसम्म उपयोग गर्नुहोस्, म कुनै धर्मको प्रचार गर्न नभई मानव धर्मको विकाश को लागि केन्द्रित छु । मानिसमा आध्यात्मिक चिन्तन जगाई त्यसको वैज्ञानिक विश्लेषण मार्फत मनमा शान्ति छाउने बृहद् अभियानमा छु” जस्ता गहन अभिव्यक्तिले यस आसन्न ज्ञान महायज्ञलाई सबैले कुनै पनि जातीय, दलीय, क्षेत्रीय र धार्मिक संकिर्णताबाट माथि उठेर सोंच्न र ब्यवहारमा उत्रन प्रशस्त प्रेरणा दिएको छ, हामी समस्त गैर आवासीय नेपालीहरुलाई ।

नेपाली सांस्कृतिक भवन निर्माण परियोजना अत्यन्तै महत्वकांक्षी, दूरगामी र महंगो विषय हो भन्नेमा हामी सहमत छौं । भर्खरै व्यवस्थित हुंदै गएको वेल्जियमको नेपाली समुदायको लागि यस्तो परियोजना आफैमा चुनौति पनि हो । यद्दपी हाम्रो पवित्र संकल्पलाइ थप गति दिलाउन अमूल्य समय दिएर नेपाल देखि एक राष्टिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाई सक्नु भएका मूर्धन्य व्यक्तित्व हामी माझ हुनुहुन्छ । वहांको असामान्य क्षमता, प्रतिभा र लगनशीलताले हामी माझबाट उठेको रकम हाम्रै हितको लागि हामीलाइ सुम्पनु हुनेछ, यो भन्दा पनि ठूलो कुरा त के भने हामी भौतिक सुख सुविधाको लागि मरिहत्ते गर्दा गर्दै यान्त्रिकतातिर उन्मुख मस्तिष्कमा माया, करुणा, शान्ति र भातृत्वको भाव थप उजागर गर्न प्रेरित गर्नु हुनेछ । त्यसैले वहांको वेल्जियम बसाईको महत्वपूर्ण समयलाई सकेसम्म हाम्रो हितमा उपयोग गर्न सकौं र सुसंस्कृत हुने मार्गको लाभ प्राप्ति गरौं ।

वेल्जियमको सानो नेपाली समुदायको सामाजिक सांस्कृतिक वितरणले सानो नेपालको झल्को त दिन्छ नै । यहांको सामाजिक संवेदनशीलता र चेतनाको स्तरलाई थप सुसंस्कृत बनाउन यो महायज्ञ आफैंमा एक अवसर पनि हो । विविधतालाई अनेकतासंग तूलना नगरी समग्रतामा एकता रोजिनु नेपाली पन हो । अत यस बृहद अभियान र पवित्र कार्यका लागि वेल्जियममा रहेका हरेक नेपालीहरु आयोजक सदस्य हुन्, यहांका संघ संस्था आयोजक संस्था हुन् भने वेल्जियम वरिपरिका मुलुकका नेपालीहरु हाम्रा पाहूना हुनेछन् । यसरी बन्ने हामो साझा धरोहरको आंगनीमा छठ पर्वमा सूर्यको पूजा हनेछ  ।  दशैंमा मालसीरि र मंगल धूनले गुन्जयमान हुनेछ ।  माघे संक्रान्तिमा तरुल र चाकु बांडिनेछ ।  तिहारमा देउसी र भैलोको राज हुनेछ अनि ल्होसार, म्हपूजा, साकेला, उंधौली उभौली, तीज ….. । कर्मकाण्ड, पूजा आरधना, भोज भत्तेर, ज्ञान विज्ञान, बहस कचहरी आदि इत्यादि सबै गतिविधको संगमथलो हुनेछ त्यो हामो नेपाल हाउस । जन्मभूमी र कर्मभूमीको संयोगान्त मिलन केन्द्रको प्रतीक स्वरुप ऐतिहासिक रुपमै स्थापित हुन गैरहेको नेपाली सांस्कृतिक भवन निर्माणमा खुलेर आर्थिक भौतिक र नैतिक सहयोग पुरयाउन हामी कोहि कसै पनि छुट्ने छैनौ, त्यसैले त हामी नेपाली हौं र सदा नेपाली रही रहने छौं ।

तपाइँको प्रतिक्रिया