प्रेस स्वतन्त्रता विरुद्द सबै दल एक मत, किन गोहीका आँसु ?
नागरिक दैनिकका बिराटनगार संवाददाता खिलानाथ ढकाल माथि एमाले नेता केपी ओलीले पालेका, संरक्षण दिएका गुण्डा, ज्यानमाराको समूहले आक्रमण गर्यो । त्यसमा पत्रकारमाथीको आक्रमण प्रजातन्त्र र देशामाथिकै आक्रमण भन्दै प्रधानमन्त्री झलनाथ खनाल कुर्लिए । कारवाहीको उद्घोष गरे । तर ओलीको आड र भरोसामा हुर्किएका संरक्षित अपराधीहरुले चेतावनी दिएका छन्, अपराधी हाम्रै संरक्षणमा छन् भनेर । देशको प्रधानमन्त्रीको द्रिढतालाई उनैको पार्टीका भुरेटाकुरे कार्यकर्ताले दिएको चुनौतीले देखाउँछ, देशमा अपराधीकरणको कति प्रभाव छ । प्रधानमन्त्री आफ्नै पार्टीमा कति निरिह छन् । नेताहरु पत्रकारको सुरक्षामा कति सफल छन् । पत्रकारीता नेपालमा कति असुरक्षित छ ।
उता नेकपा माओवादीका तर्फबाट सञ्चारमन्त्री बनेका अग्नी सापकोटा पत्रकारको आक्रमणमा युथफोर्स संलग्न रहेकाले कारवाहीका लागि कस्सिएका हुन् । नेपाली कांग्रेसका सभापती सुसिल कोइरालाको पत्रकारिता र प्रजातन्त्र एकै हो, मेडियामाथिको आक्रमण नेपाली कांग्रेसले सहँदैन भन्नु पनि स्वार्थ सिवाय केहि होइन । यी सब गोहीका अंसु सिवाय केहि होइनन् भन्ने तिनको ब्यवहारले प्रस्ट पार्छ ।
माओवादी जनयुद्दका बेला त पत्रकारको हत्या गरेकै हुन् माओवादीले । कतिलाई धम्कि दिए हाम्रो बिरुद्द लेख्यौ भने ज्यान जखम पार्छौं भन्दै । थुप्रैलाई कुटपिट गरे । सयौंलाई लघारे, बेइज्जती गरे। पेशागत क्षेत्रमा टिक्न दिएनन् । माओवादीको बिरोध गर्नासाथ तिनालाई वर्ग शत्रु भने । जनयुद्दले विश्राम लिएपछिपनि वीरेन्द्र शाह लगायत मारिएकै हुन् । समग्रमा भन्नुपर्दा माओवादी प्रेस जगतप्रति अनुग्रही हुनसकेको होइन । तिनका कार्यकर्ताले पत्रकारको ज्यान जोखिममा पार्दा, पत्रकारितालाई चुनौती दिँदा तिनले आम पत्रकारीता प्रति ओंठे भक्ति देखाउनुबाहेक अरु गर्न सकेका होइनन् । अहिले पत्रकारमाथि आक्रमण गर्ने समूह एमालेको युवा संघ परेकाले होला सायद सञ्चारमत्री अग्नी सापकोटाको सक्रियता कारवाही गर्छु भन्दै उचालिएको । उता, नेपाली कांग्रेसका सभापती शुसिल कोइरालाले सञ्चारमाध्यममाथिको आक्रमण नेपाली कांग्रेसले सहन नसक्ने, पत्रकारीता प्रजातन्त्र एक अर्काका परिपुरक हुन् भनेर खोकेपनि त्यो उनको देखाउने दाँत सरह हो हातीको दाह्रा जस्तो ।
ब्यवाहारले देखाउँछ, नेपाली कांग्रेसपनि पत्रकारको वास्तविक सुरक्षा, अधिकार र पेशागत संरक्षणका पक्षमा छैन । गुण्डाहरु पाल्ने काम नेपाली कांग्रेस लगायत सबै दलले गरेका छन् । जब ति दलको स्वार्थ बिरुद्द, तिनका बिरुद्द समाचार लेखिन्छन् तब तिनले पालेका गुण्डा र पेशेवार अपराधी लगाएर पत्रकारलाई धम्क्याउँछन् । थोरै र धेरै होला दलविशेषमा, नत्र पत्रकारको सुरक्षा, पेशागत अधिकारको संरक्षण र सुनिश्चितता अनि प्रेश स्वतन्त्रताको रक्षामा कुनैपनि दल प्रतिबद्द छैनन् । ति प्रतिबद्द पत्रकारको कलम किन्न, धम्काएर र लोभ्याएर आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्नमा छन् ।
२०४७ सालमा बहुदलिय प्रजातन्त्र पाप्तीपछि पटक पटक सत्तामा गएको नेपाली कांग्रेसले नेपाली पत्रकारको पेशागत सुरक्षा गर्न नसक्नु, श्रमजिवी पत्रकार कानुन लागू नगराउनु र पत्रकारितामाथिको आक्रमणलाई रोक्न कानुनी ब्यवस्था गर्न नसक्नुले देखाउँछ, प्रेस स्वतन्त्रा भन्दै नेपाली कांग्रेसको अहिलेको गर्जनपनि गोहीका आँसु सिवाय केहि होइनन् । प्रधानमन्त्री झलनाथ खनाल र उनको पार्टीमाथि त के टिप्पणी गर्नु र ? जब उनैको पार्टीका शक्तिशाली नेता केपी ओली गुण्डा र अपराधी पालेर पत्रकारको हत्या गराउन उद्दत छन्, प्रधानमन्त्रीलाइनै चुनौती दिन्छन्, अपराधी पालेको हाकाहाकी स्विकार्छन् भने ।
यदि प्रधानमन्त्री झलनाथ खनाल, माओवादी पार्टी, तिनका नेता र सुसिल कोइराला साँचो अर्थमा वास्तविक प्रेस स्वतन्त्रताको पक्षमा छन् भने नेपाली प्रेस जगत र आम जनताले अब बन्ने संविधान को प्रस्तावनामै प्रेस स्वतत्रताको उल्लेख गरेर त्यसको सुनिश्चितता गर्न माग गरिरहेका छन् । प्रेस स्वतन्त्रालाई नागरिक अधिकार र साँचो अर्थमा चौथो अंगका रुपमा स्थापित गर्न चाहेका छन् । तर कुनै पनि दलले त्यसमा प्रतिबद्दता जनाएका छैनन् । त्यसको सिधा अर्थ हो, कुनैपनि दल वास्तविक प्रेस स्वतन्त्रता र पत्रकारको हकहितका पक्षमा छैनन् । अहिले पत्रकारको हकहित, स्वतन्त्रता र अधिकार भनेर कुर्लनु तिनको गोहीका आँसु सिवाय केहि होइन ।
पक्कैपनि आम पत्रकारीता संख्यात्मक रुपमा फस्टाए झैं गुणात्मक रुपमा फस्टाएका छैनन् । नेपाली प्रेस जगतमात्रै स्वच्छन्दताबादी, जिम्मेवारीबाट उन्मुक्त रहन सक्दैन । उपनि देश र जनताप्रति उत्तरदायी हुनै पर्छ । त्यस्तो स्वच्छन्दतावादी पत्रकारीतालाई अंकुश लगाउन, बढि विश्वासिलो र भरपर्दो अनि जिम्मेवार बनाउन राज्यले कानुनको ब्यवस्था गरोस् ।





